Successfully Copied

गर्मीमा केश झर्ने समस्या ?

सामान्य अवस्थामा एक दिन बिराएर केश धुनु राम्रो हुन्छ । यदि पसिना धेरै आउँछ वा चायाँ बढी छ भने दैनिक धुन पनि सकिन्छ । तर धेरै कडा स्याम्पु प्रयोग गर्नु हुँदैन ।



गर्मीयाम सुरु भएसँगै धेरै मानिसले अनुभव गर्ने साझा समस्या हो, केश झर्नु । तापक्रम बढ्दै जाँदा पसिना, धूलो–धूवाँ, टाउकाको छालामा बढ्ने तैलीयपन र जीवनशैलीमा आउने परिवर्तनले केश कमजोर बन्न थाल्छ । जसका कारण सामान्यभन्दा बढी केश झर्ने समस्या देखिन सक्छ । आखिर किन गर्मीमा केश झर्ने समस्या बढ्छ ? यसको कारण, असर र समाधानबारे बुझ्न आवश्यक छ ।


गर्मीमा केश बढी झर्छ
गर्मी मौसम सुरु भएसँगै धेरैले केश झर्ने समस्या देखाउँछन् । यसको मुख्य कारण हो–पसिना धेरै आउनु, धूलो–धूवाँ बढ्नु र सूर्यबाट आउने परावैजनी किरण (युभी) को प्रत्यक्ष असर । यसले केश र टाउकाको छालामा असर पुर्‍याउँछ । साथै, गर्मीमा जीवनशैलीमा हुने परिवर्तन–जस्तै बढी तैलीयपन, पसिना र जीवनशैलीको बदलावले फंगल र ब्याक्टेरियल इन्फेक्सनको सम्भावना बढाउँछ, जसले केश झर्ने समस्या निम्त्याउन सक्छ ।


चायाँ र टाउको चिलाउने समस्या
गर्मीमा पसिना, धूलो र तैलीय ग्रन्थिको सक्रियता बढ्ने भएकाले चायाँ र सेबोरिक डर्मेटाइटिस बढ्ने सम्भावना हुन्छ । यो अवस्थामा टाउको चिलाउने, सेता कतला आउने, केश कमजोर हुने र झर्ने समस्या देखा पर्छन् । कहिलेकाहीँ टाउकोमा चायाँ धेरै हुँदा केश नझरे पनि सुक्खा र चिलाउने समस्या देखा पर्न सक्छ ।


गर्मीमा केश चिप्लो र गन्हाउने
गर्मीमा टाउकोमा रहेका तेल उत्पादन गर्ने ग्रन्थिहरू बढी सक्रिय हुन्छन् । त्यसैले कहिलेकाहीँ केश चिल्लो, पसिनायुक्त र गन्ध आउने हुन्छ । यही कारणले अरू मौसमभन्दा अलि बढी पटक केश धुनु आवश्यक हुन्छ ।


केश कति पटक धुनु उपयुक्त हुन्छ ?
सामान्य अवस्थामा एक दिन बिराएर केश धुनु राम्रो हुन्छ । यदि पसिना धेरै आउँछ वा चायाँ बढी छ भने दैनिक धुन पनि सकिन्छ । तर धेरै कडा स्याम्पु प्रयोग गर्नु हुँदैन ।


घामले केशमा पार्ने असर
लामो समय घाममा बस्दा युभी किरणले केश कमजोर बनाउँछ । यसले केश सुक्खा, रङ परिवर्तन र झर्ने समस्या ल्याउन सक्छ । बाहिर निस्कँदा क्याप, छाता वा घामबाट जोगिने उपाय अपनाउनु राम्रो हुन्छ ।


स्विमिङले केशलाई असर
हो, स्विमिङ पुलमा भएको क्लोरिनयुक्त पानीले केश र टाउकाको छालामा असर गर्छ । यसले केश सुक्खा, रङ परिवर्तन हुने र कमजोर हुने समस्या ल्याउँछ । त्यसैले स्विमिङपछि केश सफा पानीले राम्ररी धुनु आवश्यक छ ।


फंगल इन्फेक्सनले केश झर्छ
गर्मी र पसिनाका कारण डर्माटोफाइट नामक फंगस बढ्न सक्छ । यस्तो अवस्थामा टाउकोमा गोलो–गोलो दाग देखिने, पोका परेजस्तो हुने र त्यस क्षेत्रमा केश झर्ने समस्या देखा पर्छ । केश तान्दा सजिलै निस्किनु पनि यसको संकेत हो ।


केश झर्ने समस्या रोक्न के गर्नुपर्छ ?
–एन्टी–ड्यान्ड्रफ स्याम्पु नियमित रूपमा प्रयोग गर्नुपर्छ ।
–धेरै तेल लगाउनुहुँदैन ।
–घामबाट केशलाई जोगाउनुपर्छ ।
–केश सफा र सुख्खा राख्नुपर्छ ।
–अत्यधिक हेयर स्टाइलिङ गर्नुहुँदैन ।
–धेरै कसिलो गरी केश बाँध्नुहुँदैन ।



जीवनशैलीले केशको प्रभाव
जीवनशैली अत्यन्त महत्वपूर्ण हुन्छ । प्रशस्त पानी पिउनु, प्रोटिनयुक्त खाना, फलफूल र हरियो सागसब्जी खानु आवश्यक छ । पर्याप्त निद्रा, तनाव नियन्त्रण र सन्तुलित आहारले केश स्वस्थ राख्न मद्दत गर्छ ।


स्याम्पु र कन्डिसनर छान्दा
सकेसम्म सल्फेट–फ्रि स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । समस्या धेरै भए बेबी स्याम्पु पनि प्रयोग गर्न सकिन्छ । सामाजिक सञ्जाल वा अरूको सल्लाहमा भर नपरी व्यक्तिगत समस्याअनुसार डाक्टरसँग परामर्श लिनु उत्तम हुन्छ ।


दैनिक कति केश झर्नु सामान्य हो ?
सामान्यतया दिनमा करिब ५०–१ सय वटा केश झर्नु सामान्य हो । गर्मीमा अलि बढी झर्न सक्छ । तर १ सयभन्दा बढी लगातार झरिरहेमा वा गोलो–गोलो भागमा केश झर्न थालेमा विशेषज्ञलाई देखाउनु आवश्यक छ ।


केश झर्ने अन्य कारणहरू
तनाव, शरीरमा आइरनको कमी, भिटामिन डीको कमी, थाइराइड समस्या, पोषण अभाव, मल्टिभिटामिनको कमी तथा अन्य स्वास्थ्य समस्याले पनि केश झर्न सक्छ । समस्या लामो समयसम्म रह्यो भने छाला रोग विशेषज्ञसँग परामर्श गर्नु उत्तम हुन्छ ।

(डा. पौडेल इलाइट स्किन क्लिनिक, लगनखेल र पाटन अस्पताल कार्यरत हुनुहुन्छ ।)

 Image