Successfully Copied

भविष्य देखाउने गुरुआमाहरू

शिक्षण–सिकाइका क्रममा प्राप्त अनुभव, विद्यार्थीको सफलताबाट मिल्ने आनन्द, शिक्षण पेसाका चुनौती र सफल शिक्षक बन्न आवश्यक सूत्रलाई समेट्दै ‘नारी’ ले यस अंकमा देशका विभिन्न भूगोलमा ज्ञानको ज्योति फैलाइरहेका सामुदायिक विद्यालयका शिक्षकका संघर्ष, अनुभव र प्रेरणादायी यात्रालाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

आरती पौडेल
शिक्षक कक्षाकोठामा पाठ्यपुस्तकका अक्षर पढाउने व्यक्ति मात्रै होइनन्, विद्यार्थीका सपना पहिल्याउने, सम्भावना चिन्ने र भविष्यको बाटो देखाउने मार्गदर्शक पनि हुन् । एउटा असल शिक्षकले किताबका पाठसँगै जीवनका अनेक पाठ सिकाउँछन् र जिज्ञासा जगाउँछन् । आफ्ना विद्यार्थीलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्छन् । त्यसैले हरेक सफल शिक्षकको यात्राभित्र संघर्ष, समर्पण, अनुभव र प्रेरणाको एउटा फरक कथा लुकेको हुन्छ ।  शिक्षण–सिकाइका क्रममा प्राप्त अनुभव, विद्यार्थीको सफलताबाट मिल्ने आनन्द, शिक्षण पेसाका चुनौती र सफल शिक्षक बन्न आवश्यक सूत्रलाई समेट्दै ‘नारी’ ले यस अंकमा देशका विभिन्न भूगोलमा ज्ञानको ज्योति फैलाइरहेका सामुदायिक विद्यालयका शिक्षकका संघर्ष, अनुभव र प्रेरणादायी यात्रालाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको २०८२ तथ्यांकअनुसार

आधारभूत साथै माध्यमिक तह गरी ७१ हजार १ सय ५३ जना महिला शिक्षक रहेका छन् ।
तह
महिला
आधारभूत तह १–५
५२१०७
आधारभूत तह ६–८
११३३३
माध्यमिक तह ९ –१०
६३४३
माध्यमिक तह ११–१२
१३७०
जम्मा ७१,१५३





अभावले अवसर सिर्जना
रविना महर्जन
प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, काठमाडौं
आमाले काम गर्ने घरमा फालिएका कापीका बाँकी रहेका खाली पाना हुन्थे । आमा तिनलाई संकलन गरी सियोले सिलाएर कापी बनाइदिन्थिन् । त्यही कापीमा लेख्दै–पढ्दै उनी हुर्किएकी थिइन् । अभावमा संघर्ष गरेर रविना अगाडि बढिन् । आज हाल मनमैजु माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर ११ सय ५ विद्यार्थीको शैक्षिक यात्राको नेतृत्व गरिरहेकी छन् ।
काठमाडौंमै जन्मिए, हुर्किए पनि रविनाको बाल्यकाल अभाव र संघर्षबीच बित्यो । बुबा–आमा दुवै मजदुरी गरेर जसोतसो घर चलाउँथे । उनी स्कुल बिदा हुनासाथ आमाबुवासँगै काममा पुग्थिन् । कहिले बालुवा चाल्थिन्, कहिले इटा बोक्थिन् । रविनाका आमाबुवा सधै छोराछोरीलाई पढाउन चाहन्थे । तर आर्थिकस्थिति नाजुक थियो ।
रविना कक्षा ६ मा पढ्थिन् । उनले खर्च जुटाउन छिमेकमा रहेका साना भाइबहिनीलाई जम्मा गरेर ट्युसन पढाउन थालिन् । बिहान ६ बजेदेखि ७ बजेसम्म पढाउने र प्रतिविद्यार्थी महिनाको ५० रुपैयाँ लिन्थिन् । ‘म आफैं विद्यार्थी थिएँ । बिहान घर वरिपरिका साना भाइबहिनीलाई जम्मा गरी ५० रुपैयाँ लिएर ट्युसन पढाउँथें,’ उनले भनिन्, ‘मेरा लागि स्रोतभन्दा माथि इच्छा शक्ति रहेछ । इच्छा राखेपछि स्रोतहरू आफैं जुट्दै जाँदा रहेछन् ।’
कक्षा १० पढ्दै गर्दा आर्थिक समस्याले पढाइ रोक्नुपर्ने अवस्था आउँदा विद्यालयको सहयोगले उनले अध्ययनलाई निरन्तरता दिइन् । सानो हुँदा शिक्षकप्रति समाजले देखाउने सम्मानले उनलाई गहिरो प्रभाव पारेको थियो । ‘शिक्षकलाई सबैले नमस्कार गर्थे । प्रहरीको पोसाक लगाएर आउने मान्छेले पनि शिक्षकलाई नमस्कार गर्थे । ठूला पदमा भएका मान्छेहरू पनि शिक्षकलाई आदर र सम्मान गर्थे । मेरो बालमस्तिष्कमा संसारमा शिक्षकभन्दा ठूलो पेसा केही रहेनछ भन्ने छाप पर्‍यो,’ उनले भनिन् ।
एसएलसीपछि बिदाको समयमा उनले आफू पढेको स्कुल ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा करिब छ महिना स्वयंसेवकका रूपमा काम गरिन् । तत्कालीन प्रधानाध्यापक धनेन्द्र शर्मा अधिकारीले उनलाई महिनाको २७ सय रुपैयाँ तलब दिने प्रस्ताव गरे । त्यस समय उनका लागि त्यो रकम ठूलो उपलब्धि थियो ।
रविना आफूले काम गरेर बाआमालाई खुसीका साथ राख्ने सपना बुनेकी थिइन् । तर, शिक्षकका रूपमा काम गर्न थालेको केही समयमै बुवाको निधन भयो । त्यसपछि परिवारको थप जिम्मेवारी उनको काँधमा आयो । आमाको हेरचाहसँगै भाइको शिक्षाको जिम्मेवारी पनि उनले सम्हाल्नुपर्‍यो । नियमित कलेज गएर पढ्न सम्भव भएन । त्यसपछि उनले स्वअध्ययनलाई माध्यम बनाइन् । दिउँसो विद्यालयमा पढाउँथिन् र बेलुका आफू पढ्थिन् ।
२०७२ साल उनको जीवनमा अर्को महत्वपूर्ण मोड बन्यो । उनले माध्यमिक तहको शिक्षण लाइसेन्स परीक्षामा उत्तीर्ण गरिन् । त्यसपछि २०७३ सालमा शिक्षक सेवा आयोगको गणित विषयको परीक्षा दिइन् । कुनै कक्षा नलिई स्वअध्ययन गरेर पहिलो प्रयासमै माध्यमिक तहको स्थायी शिक्षकका रूपमा उनको नाम निस्कियो । उनको नियुक्ति नुवाकोटको च्वाडी पब्लिक माध्यमिक विद्यालयमा भयो ।
काठमाडौंमा हुर्किएकी उनलाई बाहिरी जिल्लामा जानु सहज भने थिएन । ‘छोरी मान्छे किन जानुपर्‍यो बाहिर ?’ भन्ने प्रश्नहरू नआएका पनि होइनन् । तर उनले ती प्रश्नलाई आफ्नो यात्राको अवरोध बन्न दिइनन् । ‘मेरो सपना शिक्षण पेसामै थियो । समाजले के भन्छ भन्ने कुरालाई ध्यान दिइन,’ उनले भनिन् ।
गणित शिक्षकका रूपमा नुवाकोट पुगेपछि उनले ग्रामीण समाज बुझ्ने मौका पाइन् । ‘गणितमा कमजोर विद्यार्थीलाई पढाउने क्रममा शिक्षणको पद्धति परिस्थिति र विद्यार्थीअनुसार बदल्नुपर्ने बुझेकी थिएँ,’ उनले भनिन् । विद्यार्थीलाई सिकाउन व्यावहारिक सिकाइलाई ध्यान दिइन् । सहजै गाउँमा उपलब्ध हुने दैनिक प्रयोगमा आउने तरकारीदेखि विभिन्न सामग्री प्रयोगले सिकाउने गर्थिन् । सुरुका दिनमा पढाइ कमजोर भए पनि पछि विद्यार्थीले मेहनतका साथ पढेर राम्रो नतिजा ल्याए ।
नुवाकोटमा दुई वर्ष बस्दा उनलाई अझ परिपक्व बनायो । उनले नुवाकोट आदर्श बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा समेत अध्यापन गर्ने अवसर पाइन् । ‘जीवन र संघर्षको गहिराइ बुझ्न मान्छेले ठाउँ परिवर्तन गर्नुपर्ने रहेछ । त्यहाँ जाँदा मलाई उमेरले भन्दा जिम्मेवारीले परिपक्व बनाउँछ भन्ने सिकायो,’ उनले भनिन् । रविनाले शिक्षाशास्त्र, कानुन संकायमा स्नातक, व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरेकी छिन् । एमफिल अध्ययन गरेकी उनी थेसिसको प्रक्रियामा रहेकी छिन् ।
जीवन बदलिएको क्षण
२०७५ सालमा उनले फेरि शिक्षक सेवा आयोगको माध्यमिक तहको परीक्षा दिई कार्यालय सञ्चालन तथा लेखा विषयमा नाम निकाली २०७६ मा नियुक्ति लिएर काठमाडौं फर्किइन् । त्यसपछि उनले मनमैजु माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकका रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको क्षमताप्रति छोटो समयमा सबैजना प्रभावित भएका थिए । विद्यालयका तत्कालीन प्रधानाध्यापक भक्तमान महर्जनले ४० वर्षको सेवा पूरा गरी २०७७ साल साउन ८ गते अनिवार्य अवकाश लिएका थिए । त्यसपछि विद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी उनको काँधमा आयो ।
उनी प्रशासनिक जिम्मेवारीमा नयाँ भएकाले मनमा डर थियो । ज्ञानोदय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसँग सल्लाह लिइन् । उनले सम्झाउँदै भनेको एक वाक्यले उनको निर्णय बदलियो । ‘पदले इतिहास लेख्दैन, तिमी त्यो पदमा बसेर गर्ने असल कर्म र सकारात्मक प्रभावलाई सबैले सम्झने हुन् । दुई घण्टाकै लागि अवसर पाए पनि छाड्नु हुँदैन भन्नुभयो,’ उनले सुनाइन् ।
२०७७ साउन ९ गतेदेखि उनको प्रधानाध्यापकका रूपमा प्रशासनिक यात्रा सुरु भयो । तर उनले जिम्मेवारी सम्हालेको समय सामान्य थिएन । देश कोभिड–१९ को महामारी र लकडाउनको चपेटामा थियो । स्कुल–कलेज बन्द र शिक्षण प्रणाली अस्तव्यस्त थियो ।
उनको नेतृत्वमा मनमैजु माध्यमिक विद्यालयले विस्तारै आफ्नो स्वरूप बदल्दै गयो । प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दा विद्यालयमा ४ सय ९७ विद्यार्थी थिए । अहिले विद्यार्थी संख्या ११ सय ५ पुगेको छ । तर उनी यो उपलब्धिको श्रेय आफूलाई मात्र दिन भने चाहँदिनन् । ‘सामुदायिक विद्यालय एक व्यक्तिले बन्दैन । त्यसका लागि टिम चाहिन्छ । शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समीति र स्थानीय सरकारको सहयोगले विद्यालय अघि बढेको हो,’ उनले भनिन् ।
शिक्षकको अभाव भएपछि तारकेश्वर नगरपालिकाले स्कुललाई आठ जना शिक्षक उपलब्ध गराएपछि शिक्षक अभाव केही सहज भएको रविना बताउँछिन् । तर उनको प्राथमिकता विद्यार्थीको संख्या वा जीपीए मात्र भने होइन । ‘हाम्रो प्राथमिकता संस्कार र मुस्कानसहितको शिक्षा हो । विद्यार्थीले प्रमाणपत्रभन्दा पहिले व्यवहार सिकून्, जीवनोपयोगी शिक्षा सिकून् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन् ।
रविना विद्यार्थीले व्यावहारिक ज्ञान सिकून् भन्ने चाहन्छिन् । ‘राम्रो जीपीए ल्याउनु पनि महत्वपूर्ण छ । तर त्यससँगै समाजमा बाँच्न सक्ने, जिम्मेवारी बुझ्ने र राम्रो व्यवहार गर्ने नागरिक बन्नु अझ महत्वपूर्ण छ,’ उनले भनिन्, ‘प्रमाणपत्रमा चार जीपीए ल्याउनु राम्रो हो । तर व्यवहारमा पनि चार जीपीए ल्याउन सक्ने विद्यार्थी बन्यो भने कम जीपीए आए पनि ऊ समाजमा टिक्न सक्छ ।’
विद्यालयको अर्को महत्वपूर्ण प्रयास भनेको समुदायसँग सम्बन्ध बलियो बनाउनु रहेको रविना सुनाउँछिन् । विद्यालयको कुनै भौतिक संरचना मर्मत गर्नुपरेमा सम्बन्धित सीप भएका अभिभावकलाई प्राथमिकता दिने, खाजाको व्यवस्थापनमा आमाहरूलाई सहभागी गराउनेजस्ता अभ्यासमार्फत उनले स्थानीय समुदायलाई विद्यालयसँग जोड्ने प्रयास गरेकी छन् । ‘सामुदायिक विद्यालय भनेको समुदायको अपनत्व भएको विद्यालय हो । स्थानीयलाई नै विद्यालयका काममा सहभागी गराउन थालेपछि विद्यालयलाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ,’ उनले भनिन् ।
स्कुलले विद्यार्थी भर्नाका लागि ठूलो विज्ञापन गर्ने अभ्यास पनि गरेको छैन । ‘एक विद्यालय, एक अभिभावक, एक नयाँ विद्यार्थी अभियान चलाएका छौं । त्यसले ठूलो सहयोग गरेको छ,’ उनले भनिन् । विद्यालयमा अहिले देशका करिब ७० जिल्लाबाट विभिन्न पृष्ठभूमिका विद्यार्थी पढिरहेका रविना सुनाउँछिन् ।
विद्यार्थी संख्या बढ्नु खुसीको विषय भए पनि विद्यालयको क्षमता र स्थायी शिक्षक दरबन्दी पर्याप्त नहुनु चुनौती बनेको उनको भनाइ छ । ‘स्कुलमा ४९७ विद्यार्थी हुँदा जति स्थायी दरबन्दी थियो, ११०५ विद्यार्थी पुग्दा पनि दरबन्दी उस्तै छ,’ उनले भनिन् ।
सामुदायिक विद्यालयप्रति अझै पनि ‘गरिबका छोराछोरी पढ्ने विद्यालय’ भन्ने धारणा समाजमा रहेको देख्दा उनलाई दु:ख लाग्छ । ‘जति नै राम्रो गरे पनि स्थानीय बालबालिकालाई भर्ना गराउन चुनौती छ । सामुदायिक विद्यालयप्रति समुदायको अपनत्व कसरी बढाउने भन्ने विषयमा अझ धेरै काम गर्न आवश्यक छ,’ उनले भनिन् ।

निरन्तर मेहनतले सफल
दीपाकुमारी पौडेल, प्रधानाध्यापक, श्री भारती भवन माध्यमिक विद्यालय, पुरनचौर, पोखरा
साधारण परिवारमा जन्मिएकी दीपाकुमारी पौडेल सधै समाज परिवर्तनमा भूमिका खेली आफ्नो खुट्टामा उभिने सपना देख्थिन् । ठूलो मेहनत र आत्मविश्वासले दीपाले आफ्नो सपना पूरा गरेर देखाएकी छिन् । पोखरा महानगरपालिका–१९, पुरुञ्चौरस्थित श्री भारती भवन माध्यमिक विद्यालय स्थापनाको ७२ वर्षको इतिहासमा दीपा स्कुलको प्रथम महिला प्रधानाध्यापकका रूपमा चुनिएकी छिन् ।
२०४१ सालमा कास्की अन्नपूर्ण गाउँपालिका–५ मा दीपा सामान्य परिवारमा जन्मिएकी थिइन्् । उनको बाल्यकाल खेलकुद र साथीभाइसँगको रमाइलोभन्दा पनि घरको काम, खेतीपाती, घाँस–दाउरा र मेलापातमा बित्यो । बिहान सबेरै घाँस काटेर विद्यालय जाने र बेलुका घर फर्किएपछि पुन: घरायसी काममा जुट्ने उनको दैनिकी थियो । उनले घरको काम गरेर परिवारलाई सहयोग गर्थिन् र कक्षामा पनि सधैं मेहनती विद्यार्थीका रूपमा चिनिन्थिन् । उनको पढाइप्रतिको लगाव देखेर शिक्षकहरूले सधै हौसला दिन्थ्थे । त्यही कुराले उनको आत्मविश्वास अझ बढ्यो । अध्ययन गर्दै गरेको केही समयमा उनी वैवाहिक जीवनमा बाँधिइन् । २०६० सालमा विवाह भएपछि नयाँ जिम्मेवारी थपियो ।
त्यतिबेला विवाहपछि धेरै महिलाले पढाइ छोडेरै भए पनि घर हेरेर बस्नुपर्छ भन्थे । तर उनलाई पढाइ र सपना अधूरो छोड्न हुँदैन भन्ने लाग्थ्यो । त्यसैले कक्षा १२ उत्तीर्ण गरेपछि बी.एड. अध्ययन सुरु गरेकी थिइन् । अध्ययनकै क्रममा उनी एक सन्तानकी आमा बनिन् । मातृत्व, परिवार र पढाइलाई एकैसाथ अघि बढाउनु उनलाई सहज त थिएन । ‘सानो बच्चालाई हुर्काउँदै परीक्षा दिनु, घरको जिम्मेवारी पूरा गर्दै अध्ययन गर्नु र सपना पूरा गर्ने सोच राख्नु सबै कुरा मेरा लागि चुनौती थिए,’ उनले भनिन् ।
‘उनले सानो बच्चालाई हुर्काउँदै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट २०६६ सालमा एम.एड. उत्तीर्ण गरिन् ।
त्यसपछि जामुने डाँडा मा.वि स्याङ्जामा २०६६ देखि २०७१ सम्म नेपाली राहत दरबन्दी शिक्षकका रूपमा सेवा सुरु गरेकी थिइन् । ‘शिक्षण पेसामा लागेको सुरुवाती दिनदेखि नै विद्यार्थीको भविष्य निर्माणलाई मैले मेरो धर्म ठानेर पढाइलाई जागिर मात्र सोचिन । समाज परिवर्तनको माध्यमका रूपमा लिएकी थिएँ,’ उनले भनिन् ।
उनी शिक्षण पेसालाई नै सधैभरि अंगालेर अगाडि बढ्न चाहन्थिन् । स्कुल पढाएर कोठामा आएपछि खाली समयमा शिक्षण सेवा आयोगको तयारी गर्थिन् । उनी २०७१ सालमा शिक्षक सेवा आयोगमा खुला प्रतिस्पर्धाबाट महिलातर्फ प्रथम भइन् । त्यसलाई उनी जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्छिन् । ‘म स्थायी शिक्षकका रूपमा सिफारिस भएपछि निकै खुसी भएकी थिएँ,’ उनले भनिन् ।
त्यसपछि उनले स्याङ्जाको आँधीखोला गाउँपालिका–५ रंगठाँटीस्थित प्रद्युम्न पनेरु माविमा अध्यापन गराउन थालिन् । सोही वर्ष उनले सम्मानित हुने अवसर पाएकी थिइन् । २०७६ सालदेखि उनी भारती भवन माध्यमिक विद्यालयमा सरुवा भइन् । कक्षा ९ देखि १२ सम्म अध्यापनका क्रममा उनले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका कारण पटक–पटक सम्मान भएकी छिन् ।
उनको नेतृत्व क्षमता, सिकाइको गुणस्तरका कारण अहिले सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन् । ‘विद्यालयमा अनुशासन, गुणस्तरीय शिक्षा, शिक्षकको व्यावसायिक विकास, सूचना प्रविधिको प्रयोग, विद्यार्थीमैत्री वातावरण र समुदायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिँदै आएकी छु,’ उनले भनिन्, ‘शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, व्यक्तिको सोच, संस्कार र समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति हो ।’
विद्यालयलाई गण्डकी प्रदेशको नमूना विद्यालयका रूपमा विकास गर्ने आगामी योजना रहेको उनी सुनाउँछिन् । ‘प्रत्येक शिक्षकलाई स्पष्ट जिम्मेवारी दिने, अतिरिक्त क्रियाकलाप, नेतृत्व विकासमा जोड, अभिभावक तथा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन् ।
नेतृत्व क्षमताले निर्धारण गर्ने कुरा हो भन्ने विश्वास गर्ने दीपा आज स्कुलको मात्र नभएर सिंगो गाउँका लागि उदाहरणीय बनेकी छिन् । उनको जीवनले एउटा सशक्त सन्देश दिएको छ । महिलाको सपना विवाह वा मातृत्वसँग समाप्त हुँदैन । दृढ संकल्प, निरन्तर मेहनत र आत्मविश्वास भए जुनसुकै कठिन परिस्थितिलाई पनि जित्न सकिन्छ ।

नेतृत्वमा पुग्दा चुनौती
एण्डिला रिजाल, शिक्षक, शारदा माध्यमिक विद्यालय, शारदानगर, चितवन
विज्ञानजस्तो कठिन विषय महिलाले कसरी पढाउन सक्लान् ? समाजका केही व्यक्तिको प्रश्न हुन्थ्यो । एण्डिला रिजालले पनि शिक्षण यात्राका सुरुवाती दिनमा यस्तै प्रश्नहरूको सामना गरेकी थिइन् । तर उनले कसैसँग बहस गरेर जवाफ फर्काइनन् । पहिलो वर्षमै विज्ञान विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएपछि भने उनैलाई प्रश्न गर्नेहरू उनको शिक्षण शैलीको प्रशंसा गर्न थाले । ‘महिलाले विज्ञान पढाउन सक्दैनन्’ भन्ने धारणालाई विद्यार्थीको सफलताबाट बदल्दै एण्डिला अहिले माध्यमिक तहमा विज्ञान विषय पढाइरहेकी छन् । शिक्षण क्षेत्रमा उनको यात्रा एक दशकभन्दा लामो भइसकेको छ ।
चितवनमा २०४४ सालमा जन्मिएकी एण्डिला बाल्यकालदेखि नै पढाइमा अब्बल थिइन् । उनलाई पढाइमा निकै रुचि थियो । उनका बुवा निजामती सेवामा कार्यरत थिए । कामको सिलसिलामा गोर्खा पुग्दा सबै गोर्खामा स्थायी रूपमा बसोबास गर्न थालेका थिए । एण्डिलाको विद्यालय तहको शिक्षा गोर्खाबाट अघि बढ्यो । महेन्द्र ज्योति माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनले गोर्खा क्याम्पसबाट गणित र विज्ञान विषय लिएर आईएड गरेकी थिइन् । त्यसपछि महेन्द्र रत्न क्याम्पसबाट विज्ञान विषयमा बीएड र त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड पूरा गरेकी थिइन् । शिक्षक बन्ने हुटुहटी भने उनमा बाल्यकालदेखि नै थियो । शनिबार आध्यात्मिक स्थलमा आफूभन्दा साना बालबालिकालाई मानव ‘मूल्य शिक्षा’ साथै विभिन्न विषय सिकाउने अवसर पाउँदा उनी निकै रमाउँथिन् । ‘भाइबहिनीलाई सिकाउने क्रममा मलाई फरक महसुस भएको थियो । मलाई पढाउन बढी रुचि रहेछ भन्ने पछि महसुस गरें,’ उनले भनिन् ।
उनको एसएलसीमा राम्रो नतिजा आएको थियो । त्यतिबेला राम्रो अंक ल्याउने विद्यार्थीले विज्ञान पढेर डाक्टर वा इन्जिनियर बन्नुपर्छ भन्ने सामाजिक सोच थियो । उनका बुवाले ‘नर्सिङ पढ्छौ त छोरी ?’ भनी सोधेका थिए । एण्डिलाले फरेस्ट्रीमा समेत नाम निकालेकी थिइन् । उनले सपना र आफ्नो रुचि पछ्याउँदै शिक्षा संकायबाट गणित र विज्ञान विषय पढ्ने निर्णय गरिन् । एण्डिलाका परिवार उनको हरेक निर्णयमा साथ दिन्थे । त्यस समय उनका बुवाले ‘आफूले रोजेको विषय र क्षेत्रमा राम्रो गर्नुपर्छ’ भनी हौसला दिएका थिए ।
उनी परिश्रमले अगाडि बढिरहेकी थिइन् । २०६६ सालमा बीएड पूरा गरेपछि नुवाकोटस्थित कुम्भेश्वर माध्यमिक विद्यालयबाट उनको शिक्षण यात्रा सुरु भयो । केही समयपछि गोर्खाको रत्नराज्य माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा पुगेकी थिइन् । एण्डिला विज्ञान विषयको शिक्षक भएर पुग्दा महिला शिक्षकप्रति समाजको धारणा अलि भिन्न थियो । उक्त विद्यालयमा लामो समयदेखि पुरुष शिक्षकले विज्ञान पढाउँदै आएका थिए ।
उनले विद्यालय पढाएको पहिलो वर्षमा नै विज्ञान विषयमा एसएलसीमा शतप्रतिशत विद्यार्थी पास भएपछि सबैले उनको प्रशंसा गरेका थिए । ‘सुरुका दिनमा विज्ञान कसरी पढाउन सक्नुहुन्छ र भन्नेहरूले पछि निकै राम्रो पढाउनुहुँदो रहेछ भनेर प्रशंसा गरे’ उनले भनिन् ।
एण्डिलाले परिश्रम गर्दै गइन् । फलस्वरूप २०७२ सालमा शिक्षक सेवा आयोगको माध्यमिक तह विज्ञान विषयमा उनको नाम निस्कियो । उनी निकै खुसी भइन् । चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयमा उनले अध्यापन सुरु गरेकी थिइन् । केही वर्षपछि भरतपुर महानगरपालिका–१९ स्थित शारदा माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गर्न थालिन् ।
त्यहाँ उनले साढे चार वर्ष निमित्त प्रधानाध्यापकका रूपमा काम गर्ने अवसर पाइन् । प्रधानाध्यापक भएपछि भवन निर्माण, आर्थिक व्यवस्थापन, प्रशासनिक काम, शैक्षिक नेतृत्व र समुदायसँगको सहकार्यजस्ता जिम्मेवारी उनको काँधमा आएका थिए । ‘कक्षाकोठामा शिक्षक भएर काम गर्दा नदेखिने धेरै चुनौती नेतृत्वमा पुगेपछि महसुस गरेकी थिएँ,’ उनले भनिन् ।
अहिले पुन: उनी माध्यमिक तहलाई पढाउँदै आएकी छिन् । विद्यालय राम्रो बनाउन समुदाय, अभिभावक र शिक्षक तीनै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । शिक्षण क्षेत्रमा महिलाको पहुँच बढे पनि नेतृत्व तहमा पुग्दा चुनौती अझै रहेको उनी सुनाउँछिन् । ‘माध्यमिक तहमा विज्ञान, गणित र अंग्रेजीजस्ता विषयमा महिला शिक्षकप्रति कतिपय समुदायमा अझै अविश्वासको भावना समेत देखिन्छ,’ उनले भनिन्, ‘महिला शिक्षकले समय दिन सक्दैनन्, नेतृत्व गर्न सक्दैनन् वा कठिन विषय पढाउन सक्दैनन् भन्ने धारणा कतिपय ठाउँमा अझै देखिन्छ । यस्तो देख्दा दु:ख लाग्छ ।’ उनका लागि विद्यार्थीको सफलता नै सबैभन्दा ठूलो प्रमाण हो । ‘आफूले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा सफल भएको देख्दा आफूले गरेको मेहनत सार्थक भएको महसुस हुनुका साथै आत्मसन्तुष्टि मिल्दो रहेछ,’ उनले भनिन् ।
एण्डिला विज्ञानलाई किताब र प्रयोगशालामा सीमित विषय मान्दिनन् । प्रकृति, घरको भान्सा र वरपरको वातावरणलाई समेत सिकाइको प्रयोगशाला बनाउन सकिन्छ,’ उनले भनिन्, ‘फिल्डमा आधारित सिकाइ, प्रयोगात्मक गतिविधि र अडियो–भिजुअल सामग्रीमार्फत विद्यार्थीलाई सिकाउन सकिन्छ । विद्यार्थीको सिकाइ शैली फरक हुन्छ । त्यसैले एउटै विषयवस्तु विभिन्न तरिकाबाट सिकाउनुपर्छ जस्तो लाग्छ ।’
शिक्षण पेसालाई मर्यादित पेसाका रूपमा पहिचान गराउनका लागि जवाफदेही, जिम्मेवार, असल र अब्बल शिक्षक/प्रशासक रूपमा स्थापित भई शैक्षिक उन्नयनमा लागिपर्ने उनको योजना छ । एलएलबी पास गरेर अधिवक्ताको लाइसेन्ससमेत प्राप्त गरेकी उनी अहिले ‘एजुकेसनल स्टडिज’ मा एमफिल अध्ययन गरिरहेकी छिन् ।

सपना नै शिक्षक
सुष्मा केसी, शिक्षक, जनप्रिय माध्यमिक विद्यालय, सिमलचौर, पोखरा

सानैदेखि विद्यालयमा आफ्ना शिक्षकलाई देख्दा सुष्माले सपना देखेकी थिइन्, ‘ठूलो भएपछि म पनि शिक्षक बन्छु ।’ उनी केटाकेटीमा भाँडाकुटी खेल्दा पनि शिक्षक नै बन्थिन् ।त्यही सपना, मेहनत र ठूलो संघर्षले आज उनी माध्यमिक तहमा शिक्षकका रूपमा उभिएकी छिन् ।पोखराको बाटुलेचौरमा जन्मिएकी सुष्मा सानैदेखि पढाइमा अब्बल थिइन् । उनले पोखराको श्री विन्दवासिनी माविबाट एसएलसी दिएकी हुन् । पढाइसँगै उनलाई कथा, कवितामा पनि त्यसरी नै रुचि बढ्दै गयो । विन्दवासिनी स्कुलमा प्लस टु सुरु भएपछि उनले त्यही नै एसएलसीपछिको पढाइलाई निरन्तरता दिइन् ।

सुरुमा गणित विषय लिएर पढ्ने सोच बनाइन् तर कलेजमा थिएन । ‘अंग्रेजी र नेपाली अप्सनमा थियो । कथा मन पर्ने भएकाले नेपाली विषय लिएर पढ्ने निधो गरें,’ उनले भनिन् । उनलाई नेपाली विषयप्रति प्रेम र लगाव बढ्यो । उनी अझ धेरै मेहनतसाथ पढिन् । घर परिवार, साथीहरूको साथ र आफ्नै मेहनतले उनको आत्मविश्वास अझ बलियो भएको थियो ।
स्नातकपछि उनले स्नातकोत्तर अध्ययन सुरु गरिन् । त्यतिबेलै उनको विवाह भयो । दिउँसो एउटा बोर्डिङ स्कुलमा पढाउने, बेलुकामा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्थिन् ।
श्रीमान्ले ‘तिमीले त्यति धेरै मेहनत गर्छौ अब शिक्षक सेवा आयोगको तयारी गर्नुपर्छ’ भनेर हौसला दिए । बिहान विद्यालयमा पढाउने, बेलुका कलेज जाने र राति बच्चा सुतेपछि शिक्षक सेवा आयोगको तयारी गर्नेे दैनिकी बन्यो । ‘मेरो बच्चा सानो थियो । बच्चालाई सुताएपछि मात्रै म किताब हेर्थें । बिहान चार बजे उठेर फेरि पढ्न थाल्थें । कहिलेकाहीँ पढाइमा यति डुब्थें कि बच्चा रोएको पनि थाहा हुँदैनथ्यो,’ उनी सम्झिन्छिन् ।
उनको संघर्षमा श्रीमान् र बुवाआमाको साथ र हौसला रह्यो । ‘घरमा बच्चासँग पढ्न गाह्रो हुन्छ, माइतीमा बसेर तयारी गर,’ भनेर श्रीमान्ले भन्नुभएको थियो,’ उनले भनिन् । आमाबुवाले नातिलाई सम्हालेर छोरीलाई पढ्न समय मिलाइदिए । ‘श्रीमान्, बुवाआमा एवं सम्पूर्ण परिवारको हौसला र साथले नै म यहाँसम्म आएकी हुँ,’ उनले भनिन् ।
उनी बेलुका अबेरसम्म र बिहान चार बजे उठेर पढ्ने गर्थिन् । परीक्षाको तयारी गर्दा एउटै किताब मात्र पढिनन् । विभिन्न लेखकका पुस्तक किन्ने, नोट बनाउने गर्थिन् । ‘आमाले मैले दिनरात पढेको देखेर भन्नुहुन्थ्यो, तेरो मेहनत हेर्दा जसरी पनि पहिलो पटकमै नाम निस्किन्छ, म भने हाँस्थें । किनकि मलाई पढाउने अनुभवी शिक्षकहरूसमेत मेरो प्रतिस्पर्धामा हुनुहुन्थ्यो,’ उनले भनिन् । उनले शिक्षक सेवा आयोगमा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक गरी तीनै तहको परीक्षा दिएकी थिइन् । परीक्षा दिएपछि उनी कालिकास्थानस्थित जनज्योति माध्यमिक विद्यालयमा अस्थायी शिक्षकका रूपमा काम गरिरहेकी थिइन् । अन्तत: वर्षौंदेखि गरेको मेहनत र संघर्षले २०७१ सालमा शिक्षक सेवा आयोगको नतिजा प्रकाशित हँुदा उनको तीनै तहमा नाम निस्कियो ।
अन्तर्वार्तापछि प्रकाशित अन्तिम नतिजामा उनी दोस्रो स्थानमा नाम निकाल्न सफल भइन् । त्यससँगै बाल्यकालदेखि उनले देखेको सपना पूरा भयो । शिक्षक सेवा आयोगबाट नियुक्तिपत्र लिएपछि पोखराको सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा माध्यमिक तहमा नेपाली विषय पढाउँदै आइरहेकी छिन् ।
उनका लागि शिक्षण पेसाको सबैभन्दा ठूलो पुरस्कार भनेको विद्यार्थीको माया र अभिभावकको विश्वास हो । विद्यार्थीहरूले आफ्ना व्यक्तिगत समस्या, सपना र जीवनका हरेक कुरा उनीसँग निर्धक्क सुनाउँछन् । त्यसबेला उनी आफूलाई शिक्षकभन्दा पनि अभिभावकको भूमिकामा पाउँछिन् । ‘विद्यार्थीले मलाई विश्वास गरेर आफ्ना कुरा सुनाउँछन् । त्यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनी भन्छिन् ।
सुष्माको जीवनमा कक्षाकोठामा भावुक बनाउने क्षण पनि कम छैनन् । ‘कुनै विद्यार्थीले आर्थिक अभावका कारण किताब किन्न नसकेको सुनाउँदा, कसैले परिवारको पीडा सुनाउँदा वा अभिभावकविहीन बालबालिकाको अवस्था देख्दा उनको मन भारी हुन्छ,’ उनले भनिन् ।
यद्यपि खुसीका क्षण पनि उत्तिकै छन् । ‘आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा, विद्यार्थीले ४.० जीपीए ल्याउँदा र विद्यालयले उत्कृष्ट शिक्षकका रूपमा सम्मान गर्दा उनलाई आफ्नो संघर्ष सार्थक लागेको महसुस हुँदो रहेछ,’ उनले भनिन् । सुष्मा आज आफूले रोजेको पेसाप्रति जीवनकै सही निर्णय मान्छिन् र गर्व गर्छिन् ।
शिक्षक बन्न चाहने नयाँ पुस्तालाई उनी एउटा स्पष्ट सन्देश दिँदै आफूले निरन्तर मेहनत गरी आफ्नो सपनाप्रति विश्वास राख्न सुझाव दिन्छिन् । ‘शिक्षण पेसा केवल जागिर होइन, यो राष्ट्र निर्माणको जिम्मेवारी हो । डाक्टर, इन्जिनियर, पत्रकार, वैज्ञानिक सबैको यात्रा शिक्षकबाटै सुरु हुन्छ । त्यसैले यो पेसाप्रति गर्व गर्न सिक्नुपर्छ,’ उनले भनिन् । तर नेपालमा शिक्षण पेसामा अझै सुधार आवश्यक रहेको उनलाई महसुस हुन्छ । लामो समयसम्म एउटै तहमा काम गर्दा पनि बढुवा नहुने, योग्य शिक्षकलाई प्रोत्साहनको कमी हुने र पेसाप्रति युवाको आकर्षण घट्दै गएकोमा उनी चिन्तित छिन् । सरकार शिक्षकलाई समयानुकूल तालिम, स्पष्ट बढुवा प्रणाली र सम्मानजनक वातावरण दिनुपर्ने सुनाउँछिन् ।
शिक्षक पाठ्यपुस्तकका अक्षर सिकाउने व्यक्ति मात्र होइनन् । उनीहरू भविष्यका नागरिक निर्माण गर्ने शिल्पी हुन् । कक्षाकोठामा ज्ञान बाँड्ने हरेक शिक्षकको आफ्नै संघर्ष, सपना र प्रेरणाका कथा हुन्छन् । सुष्माको कथा पनि एक हो । भाँडाकुटी खेल्दादेखि सुष्माले देखेको बालसपना परिवारको साथ, अनगिन्ती संघर्षका रात र निरन्तर मेहनतले आज हजारौ विद्यार्थीको भविष्यसँग जोडिएको छ ।
आज पनि बिहान विद्यालय पुग्दा विद्यार्थीको मुस्कानले उनको दिन सुरु हुन्छ । अब उनको अर्को सपना छ, शिक्षण पेसालाई निरन्तरता दिँदै आफ्नो अध्ययनलाई पनि अगाडि बढाउने । ‘विद्यार्थीको सफलतामा म आफ्नै सफलता देख्छु । त्यसैले उनीहरूलाई निरन्तर पढाउने र आफूले पनि एमफिल गर्ने सोचमा छु,’ उनले भनिन् ।

गर्विलो पेसा
सजिना ढकाल, शिक्षक, श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय, गोरखा
सजिनाका बुवाले छोरीलाई डाक्टर बनाउने सपना देखेका थिए । तर आर्थिक अवस्था बलियो थिएन । सामान्य निजामती कर्मचारीको आम्दानीमा जसोतसो परिवार चलेको थियो । सजिनालाई डाक्टर बनाउन खेत बेचेर पढाउने सोचेका थिए । आर्थिक अवस्था, बढ्दो घरको जिम्मेवारी देखेर उनलाई डाक्टर पढ्ने सोच बनाउन मनले मानेन । बुवाको सपना अस्वीकार गर्दै उनले आफ्नो परिस्थितिलाई बुझेर फरक बाटो रोजेकी थिइन् । आज उनी माध्यमिक तहको विज्ञान विषयकी शिक्षक भएर लामो समयदेखि अध्यापन क्षेत्रमा अगाडि बढिरहेकी छिन् ।
गोर्खाको बारपाक–४ जन्मिएकी सजिनाको परिवार सामान्य थियो । खान–लाउन अभाव नभए पनि सुविधा सम्पन्न जीवन पनि उनले बाल्यकालमा कहिल्यै महसुस गरिनन् । उनका बुवा हुलाकका सामान्य कर्मचारी थिए । सानैदेखि पढ्नमा रुचि राख्ने उनी सधै अब्बल थिइन् । गाउँमा हुर्किएकी उनी विद्यालय जानुअघि र पछि घाँस–दाउरा गर्ने, घरायसी काममा सघाउने गर्थिन् । सजिनाले एसएलसी पास गरिन् । तर उनी सोचेजस्तो खुसी हुन सकिनन् । ‘डिस्टिंसन आउँछ भन्ने सोचेकी थिएँ । ७६ प्रतिशत आउँदा दु:खी भएँ,’ उनले भनिन् ।
उनका बुवाको सपना सजिनालाई डाक्टर बनाउने थियो । उनी सानैदेखि आफ्ना सपना सुनाउँथे । ‘ऋणधन गरेर भए पनि तिमीलाई डाक्टर पढाउँछु’ भन्थे । तर सजिनाले घरको आर्थिक अवस्थालाई नजिकबाट नियालेकी थिइन् । ‘बुवाको सम्पत्ति बेच्दा हामीलाई गाह्रो हुन्छ । त्यसैले महंँगो विषय पढ्दिन भन्ने भयो,’ उनले भनिन् । सजिनाले गोर्खा क्याम्पसमा शिक्षा विज्ञान रोजिन् । प्रवेश परीक्षामा पाँच सय विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेकी थिइन् ।
उनको पढाइको यात्रा रोकिएन । पीसीएल, बीएड हुँदै बायोलोजी एजुकेसनमा स्नातकोत्तर गरिन् । पढाइमा पनि उनी क्याम्पस तथा संकायमा उत्कृष्ट हुँदै प्रथम हुन्थिन् । उनले धेरै पटक छात्रवृत्तिसमेत पाइन् । उनको सानै उमेरमा विवाह भयो । विवाहपछि उनले पढाइ रोकिनन् तर बीएड तेस्रो वर्षमा पुग्दा उनी आमा बनिन् । केही समय उनले पढाइ रोक्नुपर्‍यो । त्यसपछि बच्चा हुर्काएर फेरि अध्ययन गर्दै स्नातकोत्तर पूरा गरिन् ।
निकै मेहनतले अगाडि बढेकी सजिनाले शिक्षक सेवा आयोगको पहिलो प्रयासमा माध्यमिक तहमा नाम निकालिन् । उनी निकै खुुसी भइन् । तर अन्तर्वार्तामा असफल भइन् । ‘त्यो मेरो जीवनको सबैभन्दा पीडादायी क्षण थियो । जिन्दगीमा कहिल्यै असफल महसुस गरेकी थिइन । सोच्दै नसोचेको भयो । मलाई त्यतिबेला निकै गाह्रो भएको थियो,’ उनले भनिन् ।
एकपटकको असफलताले उनको यात्रा रोकिएन । उनले मेहनतका साथ पढ्न थालिन् । दोस्रो प्रयासमा माध्यमिक र निम्नमाध्यमिक दुवै तहमा नाम निकालिन् । २०७२ पुस १७ गते नियुक्ति बुझेर अन्तत: माध्यमिक तह अध्यापनका लागि पर्वतको विश्वज्योति माध्यमिक विद्यालय, सिल्मीमा पुगिन् । ‘सुरुमा पाएको असफलताले गाह्रो भए पनि दोस्रो पटकमा खुसी भएँ,’ उनले भनिन्, ‘बच्चा सानै थियो । उसलाई साथमै लिएर म कहिल्यै नगएको नयाँ ठाउँमा पुगें ।’ २०७४ जेठ २२ गते उनी सरुवा भएर पुन: गोर्खा आएकी थिइन् ।
२०८१ जेठ १८ देखि २०८२ असार १५ सम्म उनलाई गोर्खाको रत्नलक्ष्मी माध्यमिक विद्यालय, डुम्रीडाँडामा आफ्नो मूल विद्यालयको दरबन्दी कायम रहने गरी कामकाजका लागि प्रधानाध्यापकका रूपमा पठाइएको थियो । विज्ञान शिक्षकका रूपमा विषय पढाउन उनी अभ्यस्त थिइन् । तर प्रधानाध्यापक बन्नु उनका लागि बिल्कुलै फरक अनुभव थियो ।
नयाँ ठाउँ, नयाँ जिम्मेवारी र प्रशासनिक कामको अनुभव सीमित थियो । ‘शिक्षकका रूपमा आफूलाई विज्ञान कसरी पढाउने भन्ने थाहा थियो, तर विद्यालयको प्रशासन कसरी चलाउने भन्ने अनुभव थिएन,’ उनले भनिन्, ‘तर विस्तारै अनुभवले सिकायो । विद्यालयमा नियमित बैठक राख्ने, शिक्षकहरूसँग छलफल गर्ने, बिहान र बेलुकाका अतिरिक्त कक्षाको व्यवस्था गर्ने गरेकी थिइन् । त्यस समय शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको सुनाउँछिन् ।
एक वर्षमै त्यसको परिणाम राम्रो आयो । ‘म त्यहाँ जान भन्दा अघिल्लो वर्ष एसईईमा शून्य रहेको विद्यालयबाट हामी सबैको मेहनतले सात जना विद्यार्थी नियमिततर्फ उत्तीर्ण भएका थिए,’ उनले भनिन् ।
महिला प्रधानाध्यापक हुँदा आफूले कहिलेकाहीँ पुरुष शिक्षकबाट नेतृत्वलाई सहज रूपमा स्वीकार नगरिएको अनुभवसमेत उनले सुनाइन् । त्यसलाई उनले व्यक्तिगत द्वन्द्वभन्दा पनि समाजमा अझै बाँकी रहेको पुरुषप्रधान सोचको एउटा प्रतिबिम्बका रूपमा लिइन् र आफ्नो लक्ष्यप्रति अगाडि बढिन् । अहिले उनी कक्षा ८, ९ र १० का विद्यार्थीलाई विज्ञान तथा प्रविधि पढाउँछन् । ‘बाटोमा आफूले पढाएका विद्यार्थीसँग भेट भई ‘नमस्कार मिस’ भन्दा निकै आनन्द आउँदो रहेछ,’ उनले भनिन् ।
बुवाले देखेको सपनालाई पूरा गर्न नसके पनि सजिनाले आफ्नै बाटोबाट सफलता हासिल गरेकी छिन् । उनी अहिले बुवाले भनेका कुरा सम्झदा भावुक हुन्छिन् । ‘त्यति राम्रो पढ्ने भएर पनि तिमीलाई गरिबीका कारण पढाउन सकिन, माफ गर भनेर बुवा भावुक हुनुहुन्छ,’ उनले भनिन्, ‘म शिक्षक भएर निकै खुसी छु बुवा भनेर सम्झाउँछु ।’ आफ्नो सपना पूरा गर्न परिवारमा सबैको साथ र सहयोग मिलेको उनी सुनाउँछिन् ।
व्यक्ति जुन क्षेत्रमा पुगे पनि सफलता उसको इच्छाशक्तिमा भर पर्छ । ‘मानिसले जुन क्षेत्र रोज्छ, त्यसमा इमानदारीपूर्वक राम्रो गर्न सक्यो भने त्यही नै सफलता हो,’ उनले भनिन् । 

 Image