पछिल्लो समय ज्वलन्त विषय बनेको छ–जलवायु परिवर्तन । त्यसको असरले किसानहरूको खेती गर्ने तरिकामा पनि परिवर्तन हुँदै गएको छ । जलवायुमैत्री खेती प्रविधिको अभ्यासमा किसानअग्रसर छन् । यस्तो प्रविधिबाट किसानकत्तिको लाभान्वित छन्, यसका सबल र दुर्बल पक्षहरू केलाइरहेकी छन्–कृषि वैज्ञानिक शोभा पौडेल । युरोपियन युनियन (इयु) मार्फत म्याडम क्युरी फेलोसिपबाट उनले अध्ययन–अनुसन्धान गरिरहेकी छन् । फेलोसिप मार्फत नेपाल, बंगलादेश, भारत र श्रीलंकामा जलवायुमैत्री खेती प्रविधिको प्रभावकारिताको अध्ययन गरिरहेकी छन् । नेपालमा उनले नवलपुर र काभ्रेपलाञ्चोकको भकुन्डेबेसीलाई आधार मानेर अध्ययन गरिन् । जलवायुमैत्री खेती प्रविधिबारे किसानमा अझै चेतना नभएको उनी बताउँछिन् । यसबारे किसानहरूलाई वर्कसप गराउने, चेतना फैलाउने,हरितगृह ग्यास उत्सर्जन कसरी कम गर्न सकिन्छ भनेर उनले ज्ञान बाँडिरहेकी छन् ।‘जलवायुमैत्री खेती प्रणाली आजको आवश्यकता हो,’ उनी भन्छिन्, ‘सोलार सिस्टमबाट सिँचाइ गर्न नयाँ प्रविधिको विकास भइसकेको छ, जसले गर्दा उत्पादनवृद्धि हुनुका साथै सहजता पनि हुन्छ ।’
जलवायुमैत्री खेतीको विषयमा किसानहरूमा अस्पष्टता रहेको उनले देखिन् । नेपालमा नीति–नियमदेखि अनेक परियोजनासञ्चालनमा छन् तर तिनले किसानलाई गहन तरिकाले बुझाउन सकेकाछैनन् । यसलाईबृहत् रूपमा अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ । चार देशमा अनुसन्धान गर्दा उनले एउटा मुख्य समानता भेटिन्– कृषि क्षेत्र महिलाहरूले धानेका छन् । ‘कृषिकर्ममा महिलाहरूको महत्वपूर्ण भूमिका छ, जसले गर्दा उनीहरूलाई कामको भार बढी परेको देखिन्छ ।’ सोलार प्रविधिबाट सिँचाइ प्रविधि भित्र्याउँदा सोलार फिट गर्ने, प्लम्बिङ, पाइपिङ फिटजस्ता प्राविधिक कुरामा पनि महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने र प्रविधि लैंगिकमैत्री हुनुपर्ने उनको भनाइ छ ।
जापानबाट (इन्भायरोमेन्टल स्टडिज) मा पिएचडी सकेकी उनी नेपालमा कार्यक्षेत्र बनाएर अगाडि बढिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरी केही समय उनले बैंकमा काम गरिन् । बैंकमा सिईओ बन्ने सपनालाई महिला वैज्ञानिकका रूपमा परिचित गराइन् । ‘नेपालको शिक्षाले हामीलाई आफ्नो रुचि बुझ्न दिँदैन, पिएचडी गर्न जाँदा आफूलाई बुझ्न पाएँ,’ लमजुङ पुगेर जलवायु परिवर्तनको विषयमा पिएचडी गरेकी उनी भन्छिन् । त्यहाँको जीविकोपार्जन र खाद्य सुरक्षाका असरबारे उनले रिसर्च गरिन् । यही समयबाट उनलाई जलवायुको विषयले छोएको हो ।युनेस्कोको अर्ली करिअर अवार्डले पनि उनलाई अनुसन्धानमा अगाडि बढायो ।
बुहारी भएपछि घरको जिम्मेवारी सँगसँगै रिसर्चमा लाग्न चुनौतीभएको उनको भनाइ छ । नेपालमा रिसर्च गर्ने कुनै पनि इन्स्टिच्युट नहुँदा क्षमता र रुचि भएकाहरू निराश बन्नुपर्ने अवस्था छ । ‘यहाँ अनुसन्धानलाई अगाडि बढाउने ट्रेन्ड छैन, अरुकै अनुदानमा कतिन्जेल चल्ने ?’ उनी भन्छिन्, ‘यसले गर्दा काम गर्न रुचि राख्नेहरूमा पनि निरुत्साहित हुने अवस्था छ ।’