कात्तिक शुक्ल पक्षमा पाटनको नासल चोक पुग्ने हो भने तपाईं फरक दृश्य देख्न सक्नुहुनेछ । जब डबलीमा ढोल, मुरली र झ्यालीको ताल गुञ्जिन्छ, नेवारी संस्कृति मिसिएको त्यो धुन तपाईंको ढुकढुकी बनेर उमंगमा परिणत हुन्छ । दर्शकहरूको भीडमा देखिने युवाहरूको उत्साह र जोसले तपाईंमा पनि ऊर्जा थप्छ । रंगीन पोसाकमा कोही देवी, अप्सरा, राधा त कोही भैरव र सत्यवती बनेर मञ्चमा उभिएका हुन्छन् । कहिले इन्द्रगण बनेर दर्शकलाई मोहित बनाउँछन् ।
यी सबै पात्रलाई जीवन्त बनाइरहेका छन् नयाँ पुस्ताका जेनिस, अभिषेक, सुप्रिम, रिजन, मसक, देनिस, रिजेन र निश्चलहरूले । कात्तिक नाचबारे अग्रजबाट सिक्दै र बुझ्दै आएका उनीहरू आफ्नो परम्परा, कला र संस्कृति जोगाउन लागिपरेका छन् ।
१९ वर्षे जेनिस महर्जन अहिले स्नातक दोस्रो वर्षमा पढिरहेका छन् । उनी दाइको नाच देखेर प्रभावित भएका हुन् । उनी महिलाको भेषमा नाच्छन् । सुरुमा उनलाई साथीहरूले जिस्काउँछन् कि भनेर डर लाग्थ्यो । तर अहिले अवस्था फेरिएको छ । साथीहरू नै डबलीमा आएर उनको नाच हेर्छन्, मेकअपमा सघाउँछन् । सारीमा सजिएर राधा वा सत्यवती बन्नु, शरीरको चाल, आँखाको हावभाव सबै सिक्नु उनका लागि सजिलो थिएन । तर अहिले उनले आत्मविश्वासका साथ राधाको लीला, वत्सहरण र अन्य नाटकमा भूमिका निर्वाह गरेका छन् । उनी भन्छन्, ‘सुरुमा लाज लाग्थ्यो, अहिले भने रमाइलो लाग्छ । साथीहरूले समर्थन गरेपछि अझै सहज भयो ।’
अर्का युवा अभिषेक कोनाजू एउटै विधामा रमाउँदैनन् । उनी फरक–फरक भूमिका निभाइरहेका छन् । परम्परागत नृत्यहरू अप्सरा, दधिलीला, वत्सहरणदेखि इन्द्रगणसम्मका पात्रको भूमिका उनले निभाइसकेका छन् । उनी भन्छन्, ‘इन्द्रकी श्रीमती शची भएर नाच्दा फरक अनुभूति भयो । कहिले सारी, कहिले जामा, फरक–फरक पहिरनमा आफूलाई नयाँ रूपमा पाउँछु,’ उनी भन्छन्, ‘यसले उनलाई नाच्नमा ऊर्जा थपिदिएको छ ।’ उनका लागि अप्सरा नाच भने छुट्टै चुनौती हो । अप्सरा सबैको नजरमा पर्ने र राम्रो कला देखाउने विधा हो । भन्छन्, ‘अप्सरा नाचमा कम्मर मजाले हल्लाउन सक्नुपर्छ र हिँडाइमा लचकता हुनुपर्छ । पुरुष भएकाले यो पात्रको भूमिका निभाउन निकै अप्ठ्यारो हुन्छ ।’ यसका लागि उनले निकै मेहनत गर्छन् । परम्परागत नृत्यमा रमाउँदा संस्कृति र परम्पराको अर्थ बुझिने उनको अनुभव छ ।
सुप्रिम शाक्य अहिले भैरवको भूमिकामा छन् । सुरुमा दर्शक बनेर हेर्ने उनी अहिले आफैं पात्र बनेर डबलीमा उत्रिन्छन् । कहिले महिला, कहिले पुरुष, फरक–फरक भूमिकामा उनले विविधता भोगेका छन् । यसरी नृत्यमा डुब्दा देवी–देउताको साथ पाएझैं महसुस हुने उनी सुनाउँछन् । उनका लागि यो नाच मात्र होइन, कला र संस्कृति संरक्षण बुझ्ने अवसर पनि हो । ‘नृत्यमा हाम्रो इतिहास र परम्परा मिसिएको छ, जसलाई हामी युवाहरूले बुझ्न पाएका छौं,’ उनी भन्छन् । उनी सामाजिक सञ्जालमार्फत पनि यस्ता सांस्कृतिक नृत्यलाई फैलाइरहेका छन् । ‘नेवारी समुदाय कला संस्कृति र परम्पराले धनी छ, यसलाई बुझाउन आवश्यक छ,’ उनी भन्छन्, ‘जात्रा, कात्तिक नाचजस्ता परम्परालाई मैले टिकटकमार्फत सेयर गरिरहेको छु ।’
२०७० सालदेखि निरन्तर नाचिरहेका रिजन महर्जनलाई सुरुमा केटीको भेष धारण गर्न निकै गाह्रो लाग्थ्यो । ‘गुरुले केटीको जस्तो लचकता ल्याऊ भन्नुहुन्थ्यो, म धिमे नाचजस्तो नाच्थें,’ उनी भन्छन्, ‘चार महिना त गाली खाएर नै बित्यो ।’ सुरुमा उनी आफै मेकअप गर्थे । आमाको लिपस्टिक, पाउडर, गाजल लगाएर सजिन्थे ।
उनले कृष्ण भजनबाट नाच सुरु गरेका हुन् । अहिले राधा, द्यःला जस्ता भूमिका निर्वाह गरेका छन् । खाली खुट्टा नाच्ने उनी खुट्टामा घाउ लाग्दासमेत नाच्न छाड्दैनन् । ‘एकपटक नाच्न तयार भएको थिएँ, साथीहरूले नचिनेर खोज्दै हिँडेछन्,’ उनले सुनाए, ‘म उनीहरूको अगाडि नै थिएँ, तर उनीहरूले मलाई केटी ठानेर चिन्न सकेनन् ।’
मसक ताम्राकार कृष्णगणको सत्यभाव नारी पात्रबाट कात्तिक नाचमा प्रवेश गरे । उनलाई यो रहर मामा नाचेको देखेर लागेको थियो । ‘म पनि एकदिन केटी भएर नाच्छु भन्ने सपना थियो, त्यो पूरा भयो,’ उनी भन्छन् । नृत्यले आफूलाई छुट्टै पहिचान बनाउन सफल भएको उनको अनुभव छ । उनी सबै पात्रको भूमिका अहिले सहजै निभाउन सक्ने भएका छन् ।
जेनिस महर्जन पनि २०७२ सालदेखि नै कात्तिक नाचमा होमिएका हुन् । उनी आफ्ना शिक्षकबाट प्रभावित भएका थिए । शिक्षक नाच्थे, उनी हेरेर रमाउँथे । उनी भन्छन्, ‘शिक्षकले अप्सरा नाच्दा मलाई पनि रहर लाग्यो । त्यसपछि इन्द्रगणको भूमिकाबाट सुरु गरें ।’ उनका लागि नाच नेवारी कला–संस्कृतिलाई जोगाउने माध्यम हो । नाचमा प्रवेश गरेपछि उनले आफ्नो समुदायका धेरै कला–संस्कृति बुझेका छन् ।
निश्चल शाक्य २०७२ सालदेखि नै नाचिरहेका छन् । शची, सत्यभावजस्ता भूमिकामा उनले निरन्तरता दिएका छन् । उनी भन्छन्, ‘हामीले गर्ने नाच मात्र मनोरञ्जन होइन, यसले परम्परा जोगाउँछ । पुस्तादेखि पुस्तासम्म लैजान सकिन्छ ।’ उनलाई कहिले साथीहरूले जिस्काउँछन् त कहिले दर्शकले केटी ठानेर कागजको डल्ला फाल्छन् । यसलाई उनले सहजै स्वीकार गर्छन् । ‘हाम्रो समाजमा केटीलाई जिस्काउने परम्परा छ । हामीलाई पनि केटी सम्झेर जिस्काउँछन्,’ उनी भन्छन् ।
‘पुर्खाबाट आएको परम्परा धान्नु नै उपलब्धि’
उत्तमकुमार कलाकार
कोषाध्यक्ष, कात्तिक नाच संरक्षण समिति
कात्तिक नाचले कहिलेदेखि निरन्तरता पायो ?
कात्तिक नाच २० सालदेखि विधिवत् रूपमा चलिरहेको छ । सुरुमा यो २७ दिनसम्म चल्थ्यो तर अहिले १२ दिनमा सीमित भएको छ । यो नाच २० सालको जनक्रान्तिसँग जोडिएको छ । त्यतिबेला अशान्ति थियो, बलि दिनुपर्छ भन्ने मान्यता पनि थियो । जनतालाई शान्ति दिलाउन, बलि दिने परम्परा रोक्न यो नाचको सुरुवात भएको हो ।
नाचमा के–के नियम छन् ?
नाचको समयमा कुखुरा र अण्डा खानु हुँदैन भन्ने मान्यता छ । खाएर नाच्दा मानिसलाई हानि हुन्छ भन्ने विश्वास छ । मैले आफैं भैरवको भूमिका निर्वाह गर्दा मासु खाएर आएका बेला असहज महसुस गरेको छु । अभ्यास र प्रदर्शन गर्दा पनि कलाकारहरूले यो नियम पालना गर्नैपर्छ ।
अहिले यो नाचको संरक्षण कसरी भइरहेको छ ?
समितिमा ६० जनाको टोली छ, जसले बाजागाजा, गायन र अभिनय गर्छन् । कात्तिक नाच संरक्षण समिति २०७१ सालदेखि संस्थागत रूपमा अगाडि बढेको छ । म पनि लामो समय नाच्दै आएको थिएँ, तर अहिले अभिभावकको भूमिकामा पुगिसकेको छु । हाम्रो इच्छा छ, यो संस्कृतिलाई भविष्यमा पनि निरन्तरता दिन सकियोस् ।
कस्ता–कस्ता नाच प्रस्तुत गरिन्छ त ?
कृष्णा गण, बाठो नाटक (लोक नाटक) बाट सुरु भएको परम्परा हो । १२ दिनमा फरक–फरक नाच देखाइन्छ । जलसेन, वराह, देवी नृत्य, वत्सहरण आदि नाच छन् ।
केटीको भेषमा नृत्य गराउँदा पुरुषको चयन कसरी हुन्छ ?
केटीको भूमिकामा केटाहरूलाई नचाइन्छ । त्यसका लागि उमेर, शरीर र रूपलाई आधार मानेर कलाकार छनोट गरिन्छ । कोही पातलो र सुन्दर भए केटीको भेषमा देखाइन्छ, मोटो भए भैरवको भूमिकामा देखाइन्छ । सौन्दर्यलाई ध्यान दिइन्छ किनकि केटीलाई सौन्दर्यको प्रतीक मानिएको छ ।
महिलालाई नचाउन मिल्दैन ?
परम्पराअनुसार नाचमा पुरुषहरूलाई मात्र सहभागी गराइन्छ । महिनावारीका कारण ‘अशुद्ध’ मान्ने सामाजिक मान्यताले गर्दा महिलालाई प्रवेश नदिने परम्परा छ । महिला पात्रहरूको भूमिकासमेत पुरुषहरूले निभाउने परम्परा स्थापित भएको छ ।
युवा पुस्ताको चासो कस्तो देखिन्छ ?
अहिलेका युवाहरूले चासोका साथ कात्तिक नाचलाई अंगालेका छन् । यो उनीहरूका लागि गर्वको कुरा हो । पुर्खाबाट आएको परम्परा धान्न पाउनु नै ठूलो उपलब्धि हो । समितिले पनि संस्कृतिको धरोहर युवापुस्तामा हस्तान्तरण गरिरहेको छ ।