Successfully Copied

बिथोलिँदै तिहारको आफ्नोपन

घर–घरमा बल्ने दियो र बत्तीको झिलिमिली, ढकमक्क फुलेको सयपत्री र मखमली, सेलरोटी, देउसी–भैलोले तिहारको रौनक थप बढाइदिन्छ । पुस्तौंदेखि मनाइँदै आएको तिहारसँग हामी भावनात्मक रूपमा जोडिएका छौं । तर पछिल्लो समय तिहारको आफ्नोपन हराउँदै गएको छ ।

तिहारसँगै मनमा उल्लास छाउँछ । घर–घरमा बल्ने दियो र बत्तीको झिलिमिली, ढकमक्क फुलेको सयपत्री र मखमली, सेलरोटी, देउसी–भैलोले तिहारको रौनक थप बढाइदिन्छ । पुस्तौंदेखि मनाइँदै आएको तिहारसँग हामी भावनात्मक रूपमा जोडिएका छौं । तर पछिल्लो समय तिहारको आफ्नोपन हराउँदै गएको छ । माटोको दियोको साटो विद्युतीय बत्तीहरू बाल्न थालिएको छ । सेलरोटीको ठाउँ बजारको मिठाईंले ओगटेको छ । सयपत्रीको साटो प्लास्टिकका फूलले घर सजिन थालेका छन् ।
सप्तरंगी पर्व तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ । लक्ष्मीपूजा, भाइटीका हुँदै दीपावली र देउसी–भैलो खेलेर मनाइन्छ । तिहारका हरेक दिन उत्तिकै महत्वपूर्ण छन् । पूजाआजा गर्ने आफ्नै तौरतरिका र विधिविधान छ । तर पछिल्लो समय तिहार भड्किलो हुँदै गएको छ । आयातीत प्लास्टिकका फूल तथा सजावटी सामग्रीले हाम्रो स्वास्थ्य र पर्यावरणमा समेत असर पारिरहेको छ ।


सयपत्री र मखमली
बारीको कान्लामा फुल्ने सयपत्री र मखमली फूलबाट निस्कने सुगन्धले तिहार आएको आभास गराउँछ । तिहारमा घर सजाउनका लागि सयपत्रीको फूलको प्रयोग गरिन्छ । दिदीबहिनीहरूले दाजुभाइलाई सयपत्री र मखमलीको माला लगाइदिन्छन् । यी दुवै फूल लामोेसमयसम्म टिक्ने भएकाले माइतीको लामो आयुको कामनासहित प्रतीकात्मक रूपमा यी फूलको माला लगाइन्छ । त्यससँगै घरमा सयपत्रीको माला उनेर सजाउने गरिन्छ । भाँडाकुँडा, पूजा गर्ने ठाउँ सयपत्री फूलको मालाले सजाइन्छ ।
त्यसैले सयपत्री र मखमली फूल बारीमा रोप्ने गरिन्छ । तर पछिल्लो समय सयपत्री रोप्ने झन्झट धेरैले गर्न छोडेका छन् । सहर–बजारमा बस्नेले सयपत्री रोप्ने प्रशस्त ठाउँ पाउँदैनन् । त्यसकारण धेरैले बजारमा पाइने प्लास्टिकका फूलले घर सजाउँछन् किनभने यस्ता फूल पटक–पटक प्रयोग गर्न मिल्ने र सयपत्री फूलको जस्तो रोप्न, टिप्न र उन्न झन्झट हुँदैन । तर प्लास्टिकका फूलले सयपत्री फूलले जस्तो घरको शोभा बढाउँदैनन् । त्योसँगै प्लास्टिकको प्रयोगले हाम्रो पर्यावरणमा नराम्रो असर पारिरहेको हुन्छ ।


इको फ्रेन्डली माटोको दियो
तिहारमा झिलिमिली बनाउन बत्ती बालिन्छ । घरलाई झलमल्ल उज्यालो बनाए लक्ष्मीले बास गर्ने मान्यता रहँदै आएको छ । बत्ती बालेर औंसीको अँध्यारो रातलाई उज्यालो बनाइन्छ । तर पछिल्लो समय बजारमा विद्युतीय बत्ती छ्यापछ्याप्ती देख्न सकिन्छ । बत्तीको ठाउँमा विद्युतीय बत्तीले झिलिमिली बनाउन थालिएको छ । त्यसैकारण तिहारमा विद्युत् बढी खपत हुन्छ तर बाहिरबाट आयातीत हुने भएकाले महँगो पनि पर्छ ।
माटोको दियोले पर्यावरणमा कुनै असर पार्दैन । विनारसायन बनाइने यस्ता दियो नेपालमै बन्छन् । नेपालमै बन्ने भएकाले सस्तो पर्न जान्छ । बिजुलीको प्रयोग पनि कम हुन्छ । तिहारमा माटोको दियोको प्रयोग गरे हाम्रो परम्परा पनि जोगिन्छ । एकपटक किनेपछि पटक–पटक प्रयोग गर्न सकिन्छ । माटोको दियोलाई पेन्टिङ गरेर विभिन्न डिजाइनमा सजाउन पनि सकिन्छ ।

सेलरोटी
तिहारमा सबैको घरमा पाक्ने परिकार भनेकै सेलरोटी हो । तिहारमा माइतीलाई ख्वाउनका लागि सेलरोटी अनिवार्य हुन्छ । सबैले सहजै पकाउन सक्ने सेलरोटी चामलको पिठो, घिउ, चिनीबाट बनाइन्छ । पछिल्लो समय भने सेलरोटी घरमा पकाउने भन्दा बजारबाट खरिद गर्ने चलन सुरु भएको छ । सेलरोटीसँगै अन्य बजारमा पाइने मिठाईंहरू राख्न थालिएको छ । घरमा सबैजना मिलेर बनाइने सेलरोटीको जस्तो स्वाद बजारको सेलरोटीमा पाइँदैन र साथै खर्चिलो पनि हुन्छ । यस्ता मिठाईं लामो समयसम्म भण्डारण गरिने भएकाले विभिन्न रसायन मिसाइएको हुन्छ । यसले हाम्रो स्वास्थ्यलाई क्षति पु¥याउन सक्छ ।


पटकाको प्रयोग
तिहारमा रमाइलो गर्ने अनेक तरिका छन् । धेरैले पटका पड्काएर तिहार मनाउँछन् । पटका बेच्न नपाइए पनि बजारमा लुकिछिपी किनेर पड्काउँछन् । पटका पड्काउँदा त्यसबाट निस्कने आवाजले बच्चा र वृद्धवृद्धालाई असर पार्न सक्छ । पटकाको आवाज र त्यसबाट निस्कने गन्ध दुवै स्वास्थ्यका लागि हानिकारक हुन्छन् साथै अरूलाई डिस्टर्व पनि हुन सक्छ ।


सजावटमा विशेष ध्यान
तिहारको समयमा बजारमा विभिन्न किसिमका सजावटका सामग्री भित्रिन्छन् । हेर्दा राम्रा देखेर हामी अनावश्यक सामग्री खरिद गर्छौं । बजारमा पाइने कतिपय सामग्रीहरू हाम्रो स्वास्थ्य र वातावरणको हितमा हुँदैनन् । प्लास्टिकका सजावटी सामग्री सजिलै नष्ट हुँदैनन् । जसले गर्दा पर्यावरणमा असर पर्छ । त्यसैले सजावटी सामग्री खरिद गर्दा पटक–पटक प्रयोग गर्न मिल्ने हुनुपर्छ ।

उपहारमा देखावटी
तिहार दिदीभाइ र दाजुबहिनीको सम्बन्ध प्रगाढ बनाउने पर्व पनि हो । भाइटीकाकादिन दिदीबहिनीले आफ्ना दाजुभाइको लामो आयु र स्वास्थ्य लाभको कामना गरी एक–अर्कालाई उपहार दिने चलन छ । उपहार दिँदा आफ्नो क्षमतानुसार दिनुपपर्छ । देखासिकी गर्नुहुँदैन । मोबाइल, ल्यापटप, स्कुटर, मोटरसाइकल, कारजस्ता महँगा उपहार दिने प्रचलन पनि बढेको छ । यस्ता उपहार खर्चिला हुन सक्छन् । एक–अर्काको आवश्यकता बुझेर उपहार दिँदा सम्बन्ध अझ प्रगाढ हुन्छ । साथै स्वस्थ खानेकुरा उपहार दिन सकिन्छ ।


रंगोलीको महत्व
रंगोली विभिन्न रंगको संयोजन मिलाएर बनाइएको सुन्दर कलाकृति हो । तिहारमा घरको आँगन वा प्रवेशद्वारमा रंगोली बनाउने परम्परा छ । रंगोली रंग, चामल, फूलबाट बनाउन सकिन्छ । रंगोली बनाउँदा धेरैले स्वस्तिक, कमलको फूल, भगवान् गणेश, लक्ष्मीको चरण, शुभ–लाभ, फूल आदिको चित्र बनाइन्छ । दियो, फूल र रंगबाट बनेको रंगीबिरंगी रंगोलीले घर आकर्षक देखिन्छ ।
साजसज्जाका लागि रंगोली बनाइए पनि यसको धार्मिक महत्व छ । रंगोली बनाउँदा लक्ष्मीको आगमन हुने मान्यता रहँदै आएको छ । घरको सरसफाइ गरेर रंगोली बनाए घरको सुख–समृद्धि बढ्ने विश्वास छ । त्योसँगै घर वा आँगनमा बनाइएको रंगोलीले हाम्रो मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । आकर्षक डिजाइनको रंगोलीले हाम्रो मन निकै खुसी हुन्छ । घर र आसपासको वातावरणमा सकारात्मक ऊर्जा सञ्चार गर्छ । रंगोली बनाउने समयमा हाम्रो औंलाको संयोजनले ज्ञानमुद्रा बन्छ । यसले एक्युप्रेसरको काम गर्छ । एक्युप्रेसरका अतिरिक्त औंलाबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।

तिहार भनेको पूर्ण आयु जिउन सिकाउने कला हो ।

डा. वीणा पौड्याल संस्कृतविद् संसारभरि परिवर्तन सबै कुरामा भइरहेको छ । त्यसलाई रोक्न सकिँदैन । मुख्य कुरा भनेको चाडपर्वको मौलिकता भने हराउनु भएन । तिहार पर्यावरण संरक्षण र सम्मान गर्न मनाइने पर्व हो । गोवर्धन पूजाका रूपमा रुख, बिरुवा, पशुपंक्षी आदिको पूजा गरिन्छ जसले गर्दा सुरक्षा दिन्छ । त्यसैले हामीले तिनलाई सम्मान गरी जोगाउनुपर्छ । पृथ्वीलाई हाम्रा पुर्खाले संरक्षणको लागि हस्तान्तरण गरेका हुन् त्यो हामीले बुझ्दैनौं । यमपञ्चकमा काग, कुकुर, गाई, गोरु, लक्ष्मी, गोवर्धन पर्वत र भाइपूजा गरिन्छ । तिहारमा यी सबैलाई सम्मान गरी पूर्ण आयु जिउन सिकाउने कला हो । तर पछिल्लो पटक तिहार मनाउने शैली भड्किलो हुँदै गएको छ । तिहारको आफ्नोपन हराउँदै गएको छ । मनोरञ्जन र देखाबटी बन्दै गएको छ । तिहारमा सयपत्री र मखमलीको प्रयोग गर्नुको बेग्लै महत्व छ । प्लास्टिकका फूल, विद्युतीय बत्तीको प्रयोग बढेको देख्न सकिन्छ । यस्तो हुनुमा एउटा अर्थसँग जोडिएको छ र अर्को बाध्यता पनि हो । जस्तो सयपत्री खरिद गर्नुभन्दा बजारमा पाइने प्लास्टिकका फूलसस्ता हुन्छन् र धेरै पटक प्रयोग गर्न सकिन्छ । हाम्रो मौलिकता जोगाउन सबै ठाउँमा नभए पनि केही ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।

 Image