भाषाका गुरुआमा
रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जाने ट्रेन्ड बढ्दै जाँदा विश्वभाषाको प्रभाव नेपालमा विस्तार भइरहेको छ । यहाँ जापानिज, चाइनिज, जर्मन, फ्रेन्चजस्ता अन्य देशका भाषा पढाउन थाालिएको छ ।

सडकमा नारा गुञ्जिरहेको थियो, भीड जोशमा थियो । कतै अश्रुग्यास, कतै ढुङ्गा प्रहार । भ्रस्टाचारविरुद्ध नारा गुञ्जँदै गर्दा सडक आक्रोशले मात्र होइन, मानवीय करुणाले पनि भरिएको थियो ।
भीडभाडबिच महिलाहरुले आ–आफ्नो तरिकाले योगदान दिएका दृश्यले आन्दोलनलाई फरक रंग भरेको थियो । कोही आन्दोलनकारी र प्रहरीलाई पानी र बिस्कुट बाँडिरहेका थिए भने कोही घाइतेलाई अस्पताल पुर्याउन थाले । कोहीले जेन–जीको आवाजलाई सम्बन्धित ठाउँमा पुर्याए भने कसैले आफ्नै कार्यालय जल्नबाट जोगाए । यी स–साना कामले आन्दोलनलाई प्रतिरोधको होइन, संवेदनशीलताको पनि चित्र बनायो ।
स्कुटीमै जीवन बोक्ने किशोरी
जेन–जी आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर चोक एकाएक अराजकतालाई सम्झाउने दृश्यमा बदलिएको थियो । अश्रुग्याँसको धूँवा, भीडको चिच्याहट र गोलीको आवाजबीच अचानक युवाहरु भुँइमा ढल्न थाले । उनीहरुको शरीरबाट रगत बगिरहेको देख्दा वरिपरिका धेरैजना अचेत भए, कति भागे । तर त्यही क्षण २५ बर्षिया किशोरी कार्कीले फरक र आसाधारण निर्णय लिइन् ।
कानुनकी विद्यार्थी किशोरी त्यहाँ आन्दोलन हेर्न गएकी थिइन् । ‘संसद् भवनसम्म पुगेको थिएँ । म उभिएको ५० मिटरभन्दा अगाडि एकजना भाइलाई गोली लाग्यो । त्यहाँ वरिपरि एम्बुलेन्स थिएन भिड एकदमै बाक्लो थियो । म उभिएको नजिकै चाबीसँगै बाइक देखेँ,’ उनी भन्छिन्, ‘बाइक देख्नेबित्तिकै मैले स्टार्ट गरेँ, अलिक परबाट भाइले मेरो बाइक भन्दै कराइरहेको थियो । मैले ‘इमरजेन्सी’ भनेपछि उनले मलाई लानु लानु भन्दै अनुमति दिए ।’
वरिपरि भिडभाड थियो । भिडबाट आवाज आयो, ‘ट्राफिक जाम छ, हिंस्रक भिड छ, तपाईंले लैजानु सक्नुहुन्न ।’ तर उनी अडिइनन् । उनले जवाफ दिइन्, ‘यदि अहिले नलगे त उसको प्राणै जान सक्छ ।’
साहस जुटाएर उनले रगताम्य युवकलाई आफ्नै बाइकमा राखिन् । भीडले बाटो बनायो । केही युवाले पछाडिबाट समातेर घाइतेलाई सम्हालिदिए । त्यसरी उनले ज्यान जोखिममा राखेर भिड र बाधा चिर्दै नजिकैको अस्पताल पुर्याइन् । ‘सुरुमा मैले उनलाई सिभिल अस्पतालमा लिएर गएँ । उनको मुटुमा गोली लागेकाले त्यहाँ चिकित्सकले उपचार नहुने टिचिङ अस्पताल पुर्याउनुपर्ने भनेकाले हामी त्यतैतिर लाग्यौं ।’ अस्पताल पुर्याएपछि चिकित्सकहरुले तत्काल उपचार सुरु गरिहाले । अफसोस, चिकित्सकको लगातार ३ घण्टाको प्रयासपछि पनि उनको ज्यान गयो ।
आन्दोलनको दोस्रो दिन उनले दर्जनौं घाइतेलाई बोकेर उपचारका लागि अस्पताल पुर्याइन् । ती कति घाइते युवक अहिले उपचारत छन् । उनीहरुको जीवनलाई बचाउने साहसिक कदमका लागि किशोरीको नाम सामाजिक सञ्जालभरि फैलिएको छ । तर उनी आफ्नो चर्चाभन्दा पनि त्यो क्षणलाई सामान्य ठान्छिन् । उनी भन्छिन्, ‘त्यो बेला मसँग दुई विकल्प मात्र थिए । हेरिरहनु वा केहि गर्नु । मैले केही गर्ने बाटो रोजेँ ।’
उनको यो कदमले आन्दोलनमा एउटा सन्देश छाडेको छ । यो आन्दोलन क्रोध र प्रतिरोधको कथा होइन, सहानुभूति र मानवीयताको पनि आन्दोलन हो ।
आन्दोलनभित्रको मानवीय अनुहार आशिका
जेन–जी आन्दोलनमा धेरै अनुहार देखिए, धेरै आवाज उठे । तर भिडभित्र आशिका तामाङको छुट्टै पहिचन बन्यो । साहसिली उनी मानवीयताका कारण पनि चर्चामा रहिन् । सामाजिक कार्यकर्ता आशिकाले सधैं भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनले जेन–जी आन्दोलनबारे पनि टिकटकमार्फत जानकारी पाएकी हुन् ।
‘धेरैले मलाई चिन्ने भएकाले यो आन्दोलनबारे पनि आवाज उठाइदिन म्यासेज र फोन आएको थियो,’ उनले भनिन् । आन्दोलनको अघिल्लो दिन, अर्थात् सेम्टेम्बर ७ मा उनले आफ्नो टिकटक एकाउन्टमार्फत जेनजी आन्दोलनको समर्थनमा भिडियो पोस्ट गरेकी थिइन् । भोलिपल्ट बिहानै उनी माइतीघरदेखि बिजुलीबजारसम्म आन्दोलनमा सहभागी भइन् । करिब ३ घण्टा आन्दोलनमै रहिन् ।
आन्दोलनमा कराएकाले घाँटी सुकेको थियो । खाना पनि खाएकी थिइनन्, यही कारण उनी आराम गर्न गएकी थिइन् । अचानक समाचारमा गोली लागेको खबर सुनिन् । त्यसपछि उनी दौडिएर पुगिन्, सिभिल अस्पताल । ‘यहाँ पानी थिएन, घाइतेहरू भुइँमै लडिरहेका थिए,’ उनले भनिन् ।
आफूविरुद्ध पक्राउ गर्ने तयारी भइरहेको सूचना पाएपछि उनी रातारात काठमाडौं छाडेर धादिङ पुगेकी थिइन् । ‘प्रहरी सिभिल अस्पतालमै खटिएको र मेरो बस्ने ठाउँमा खोजी भइरहेको थाहा पाएपछि म तत्काल धादिङ गएँ,’ उनले सुनाइन् ।
सत्ता ढलेपछि आन्दोलनको दोस्रो दिन उनी पुनः काठमाडौं फर्किएर सहयोगमा जुटेकी छन् । आन्दोलन चर्कदै जाँदा सडकमा प्रहरी र प्रदर्शनकारी दुवै थाकेका देखिन्थे । त्यहिबेला उनले पानी र बिस्कुट दुवै पक्षलाई बाँड्न थालिन् । यति मात्र होइन घाइतेहरुलाई तत्काल आवश्यक सामग्री पानी, कपडा, खर्च वितरण गरिन् । घाइतेलाई राख्नका लागि म्याट र रगतको व्यवस्था गरिन् । साथीहरुलाई संगठित गरेर नजिकैको पसलबाट सामान ल्याइन् । आर्थिक सहयोग जुटाइन् । उनले घाइतेका परिवारलाई समेत केही रकम हातमै पुर्याइन् ।
उनको यो संवेदनशीलताले आन्दोलनलाई नयाँ अर्थ दियो । यसले देखायो, यो आन्दोलन केवल आक्रोशको प्रतिक होइन, सहानुभूति र जिम्मेवारीको पनि हो । आशिका भन्छिन्, ‘देश बदल्ने कुरा नारामा मात्र होइन, सानो सहयोगबाट पनि सुरु हुन्छ ।’ उनले सडकमा उत्रिएर मानवताको पाठ सिकाइन् ।
टेलिभिजन जोगाउने आरती
आन्दोलनकारीले आक्रमण गर्न लागेको नेपाल टेलिभिजनको भवन बचाउन आरती चटौतले लिएको साहसी कदमले त्यो भवन जल्नबाट जोगियो । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक रहेकी उनले लगातार तीन घण्टासम्म आफ्नो ज्यानको परवाह नगरी आक्रोशित आन्दोलनकारीसँग शान्तिपूर्ण संवाद गरिन् । उनीहरूको मनोबललाई थाम्न लगातार प्रयास गरिन् ।
आन्दोलनकारीले गेटमा हातहतियारसहित नाराबाजी गर्दै टेलिभिजनमा आगो लगाउने प्रयास गरेका थिए । आरती त्यस बेला बाहिर निस्किइन् र उनीहरुसँग संवाद गर्न थालिन् ।
घटनाको प्रत्यक्षदर्शी रहेको दियो पोष्टकी सम्पादक रीता बुढाथोकी भन्छिन्, ‘उनले तपाईंहरूको विचार व्यक्त गर्ने स्थान सञ्चारमाध्यम हो । यदि यो संस्थालाई जलेर नष्ट गरियो भने तपाईंहरूको आवाज कहिले सुन्न पाइने छैन भन्दै सम्झाइन् ।’ आरतीका शब्दले आन्दोलनकारीका बीचमा एउटा विभाजन ल्याइदियो । एक पक्ष जलाउन चाहन्थ्यो भने अर्कोपक्ष टेलिभिजन जोगाउन चाहन्थ्यो ।
‘यसलाई जलाउनु भनेको आफ्नै इतिहासलाई जलाउनु हो’ भन्दै आरती लगातार भिडमा कराइरहिन् । उनका शब्दमा एउटा गहिरो सत्य थियो । यो एउटा भवनको रक्षा मात्र थिएन, यो राष्ट्रका सबै नागरिकको साझा धरोहर र विचार व्यक्त गर्ने थलोको रक्षा थियो । सिंहदरबार, संसद् भवनदेखि अन्य प्रशासनिक भवनमा आगजनी भयो । कतिपय सरकारी कार्यालय भग्नावशेषमा परिणत भए, तर नेपाल टेलिभिजन सुरक्षित रह्यो । एक कर्मचारीको अपूर्व साहस र बुद्धिमत्ताको परिणामले आज नेपाल टेलिभिजन सुरक्षित रहेको रीताको भनाइ छ ।
आरतीको साहसिक कार्यले नेपाल टेलिभिजनलाई बचाएको मात्र होइन, सम्पूर्ण सञ्चार संस्थाहरूको महत्वलाई पुनः प्रमाणित गरेको छ । उनको साहसले नेपालको सार्वजनिक प्रसारण संस्थालाई ठूलो क्षती हुनबाट जोगायो । आन्दोलनको बीचमा उनले देखाएको स्थिरता र निष्पक्षताले धेरै युवाहरुलाई प्रेरणा मिल्यो ।
जेन–जी आन्दोलनको स्वर रक्षा
२६ वर्षीया रक्षा बमले कहिल्यै कल्पना गरेकी थिइनन् कि एक दिन उनलाई राष्ट्रको उच्च सुरक्षा नीति बन्ने स्थान जंगीअड्डामा छलफलका लागि बोलाइनेछ । तर जेन–जी आन्दोलनले उनलाई यति सशक्त बनायो कि उनी राष्ट्रिय निर्णय प्रक्रियामा समेत सहभागी हुन पुगिन् ।
‘जतिबेला ‘नेपोकिड’ नामक ट्रेन्ड सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । हाम्रो पुस्ताले ‘हामीले तिरेको करको पैसा कहाँ गयो ?’ भन्दै प्रश्न गर्न थाले,’ उनी भन्छिन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त यसको प्रतिकारमा युवाहरूले पुनः डिजिटल माध्यममै शान्तिपूर्ण आन्दोलनको रणनीति बनाउन थाले ।
एकातिर, नेताहरू र तिनका सन्तानको ‘ल्याभिस लाइफस्टाइल’ खुलासा भइरहेकै बेला, अर्कोतिर आम जनता दैनिक जीवनको लागि संघर्ष गरिरहेका थिए । ‘यही अन्तरले हामीले महसुस गर्यौं हाम्रो पुस्ताको सामुहिक चेतनाले मात्र परिवर्तन सम्भव छ,’ रक्षा भन्छिन् ।
डिस्कर्ड र रेडिटजस्ता सामाजिक सञ्जालमार्फत युवालाई संगठित गर्न सक्रिय रहेकी रक्षा, आन्दोलनको पहिलो दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्मको र्यालीमा अग्रपङ्क्तिमा देखिएकी थिइन् । हातमा प्लेकार्ड बोकेर नारा लगाउँदै उनी अघि बढिरहेकी थिइन् । हजारौं युवाहरू उनका नारामा स्वर मिलाउँदै आन्दोलनमा सहभागी थिए ।
तर त्यही दिन, आन्दोलनमा भएको गोली प्रहारले १९ जना युवाको ज्यान गएपछि वातावरण झनै तनावपूर्ण बन्यो । ती दृश्य अझै पनि रक्षा बमलाई झकझक्याइरहेको छ । उनले भनिन्, ‘हाम्रो माग सरल थियो, भ्रष्टाचार अन्त्य गर । तर जवाफमा हामीलाई गोली हानियो ।’ आन्दोलन शान्तिपूर्ण नै भए पनि, सुरक्षाकर्मीको तयारी पर्याप्त थिएन । राज्यले हामीमाथि अमानवीय व्यवहार गर्यो ।