Successfully Copied

‘मेरा प्रश्न सकिएका छैनन्’

पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।


पार्वती तिवारी एक सक्षम, सबल, आत्मनिर्भर, आशावादी, सफल अनि प्रेरणादायी र उदाहरण्ािय महिला हुन् । समाज र अरुका निमित्त समेत कलमका माध्यमबाट केही सकारात्मक परिवर्तन गर्न प्रयासरत निडर पार्वतीको पुर्पुरो उपन्यास हालै प्रकाशित भएको छ । पुस्तकको सेरोफेरोमा उनीसँग गरिएको कुराकानी :
पुर्पुरो कस्तो पुस्तक हो ?
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ । यसले पूरै राज्य व्यवस्थालाई प्रश्न छोड्दै शासन व्यवस्थाको उजागर गर्न सफल भएको छ । हाम्रो समाजको यथार्थ दर्पण हो पुस्तक पुर्पुरो ।


पुस्तकको नाम पुर्पुरो राख्नुको कारण ?
पुस्तक पढिसकेपछि पाठकहरूले एकपटक आफ्नै पुर्पुरोमा हात राख्नुहुनेछ । त्यसपछि आफ्ना बालबालिकाको पुर्पुरो सुम्सुम्याउन पनि बाध्य हुनुहुनेछ । मेरो पुर्पुरोसँग आफ्नो पुर्पुरो दाँजेर आफू कुन र कस्तो समाजको हिस्सा रहेंछु भनी सोच्न बाध्यजस्तै हुनुहुनेछ ।


पुस्तक लेख्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
जब म उमेरसँगै अलि परिपक्व हुँदै गएँ, समाजमा घट्ने घटना र मानिस–मानिसबीचमा हुने व्यवहार जान्दै गएँ तब धेरै प्रश्न मनमा उब्जिँदै गए । समाधान र उत्तर कता पाइन्छ, कसलाई सोध्ने र कस्तो जवाफ पाइएला भन्नेमा घोत्लिन थालें । मेरो बाल्यकाल पनि अलि फरक माहोलमै बित्यो । त्यसैले होला, यस्ता घटनाहरू केही पाच्य भए र केही अपाच्य । तब यी सम्पूर्ण जिज्ञासा मेटाउने ध्येयका साथ आफ्नै जीवनमा भएका भोगाइहरू समेट्दै पुस्तक लेख्ने निधो गरें ।


लेखनमा कस्ता घटनाले प्रेरणा प्राप्त हुन्छ ?
ठ्याक्कै यही र यस्तै घटना भन्ने हुँदैन । जीव, प्रकृति र ऊ वरिपरिको समाज, घटना, परिदृश्य इत्यादिलाई हेर्ने, बुझ्ने र महसुस गर्ने क्षमतामा भर पर्न सक्छ । त्यस्तै व्यक्तिको रुचि र झुकाव कतातिर छ भन्ने कुरा समेत महत्वपूर्ण हो ।


लेखनलाई निरन्तरता दिनुहुन्छ ?
मेरो पहिलो पुस्तक नै पुर्पुरो हो । साहित्यकार बन्ने हुटहुटी भन्दा पनि आफ्नै भोगाइका र वास्तविक जीवनका केही टिठलाग्दा कुरा असह्य भएको महसुस भएर पाठकसामु आएकी हुँ । मेरा भन्ने कुरा र ममा उब्जिएका प्रश्न सकिएका छैनन् । अलि फरक प्रस्तुति होला, तर लेखनको निरन्तरता कायमै रहन्छ ।

 Image