आशा भण्डारीको जीवनमा दुई मोड निर्णायक बने– बाल्यकालमा संस्कृत पढ्ने अठोट र मातृत्वपछि उद्यमी बन्ने निर्णय ।
पहिलो सपनाले उनलाई बनारस पुर्यायो, दोस्रोले आफ्नै गहना बेचेर ‘बुलबुल’ जन्माउन प्रेरित गर्यो । आज उनको यो यात्रा सफल व्यवसायको कथा होइन, महिलाका लागि सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्ने अभियान पनि बनेको छ ।
आशाको कथा वास्तवमै अनपेक्षित र अनौठो छ । जाडो बिदामा सपरिवार देवघाट घुम्न गएका बेला महेश संन्यास गुरुकुलका बटुकहरूले संस्कृतमा सस्वर स्वस्ति वाचन गरिरहेको दृश्यले उनलाई अत्यन्तै आकर्षित गर्यो । उनीहरूको उच्चारण, अनुशासन र ज्ञानप्रतिको समर्पणले मन जित्यो । त्यसपछि उनले संस्कृत पढ्ने इच्छा व्यक्त गरिन् तर आमाले संस्कृत त केटामान्छेले मात्र पढ्छन् भनेपछि उनलाई अझ दृढ बनायो । त्यही क्षणदेखि उनले संस्कृत पढेरै छाड्ने अठोट गरिन् ।
त्यही क्रममा गुरुकुलका मठाधीश डा. स्वामी रामानन्द गिरीजीको मुखबाट ‘छोरीहरूले पनि संस्कृत अध्ययन गर्न सक्छन् र त्यसका लागि भारतको बनारसस्थित आनन्दमयी आश्रममा व्यवस्था छ’ भन्ने कुरा सुन्नासाथ उनले बनारस गएर संस्कृत पढ्ने सपना देख्न थालिन् । त्यसपछि दिनरात बनारस जाने र संस्कृत पढ्ने जिद्दी गरेपछि अन्तत: उनको बाल्यकालको त्यो अठोट पूरा भयो । सात वर्षको उमेरमा उनी बनारस पुगिन् र त्यहाँ तीन वर्षसम्म संस्कृत अध्ययन गरिन् । त्यही समयमा भागवत, वेद, गीता, चण्डीका अनेकौं श्लोक र ऋचाहरू अध्ययन गरेकी आशा तीमध्ये धेरै श्लोक आज पनि सुनाउँछिन् । पछि नेपालमै कक्षा छदेखि दरबार हाईस्कुलमा संस्कृत विषय अध्ययन गर्ने व्यवस्था भएपछि स्वदेश फर्किएर आफ्नै देशमा शिक्षालाई निरन्तरता दिइन् ।
पढाइमा सानैदेखि अब्बल उनको परिवारका अधिकांश सदस्य शिक्षण पेशामा आबद्ध भएकाले आमा–बुवा, गुरुहरू र चिनजानका धेरैले भविष्यमा उनलाई शिक्षण क्षेत्रमा नै केही गर्छे भन्ने आशा राख्थे । उनले पनि केही समय विद्यालय र क्याम्पसमा अध्यापनसँगै विभिन्न प्रतिष्ठित शिक्षण संस्थाहरूमा जिम्मेवार र उच्च पदमा रहेर धेरै वर्ष काम गरिन् । तर उनी आमा बनेपछि उनको जीवनले नयाँ मोड लियो ।
‘मातृत्वको त्यो महत्वपूर्ण समयमा मैले अपेक्षित सुत्केरी बिदा र अन्य आधारभूत सुविधासमेत नपाएपछि सोच परिवर्तन भयो । त्यही बेला डा. एपीज अब्दुल कलामको एउटा भनाइ बारम्बार स्मृतिमा आयो, तिम्रो पेसा वा जागिरलाई माया गर तर तिम्रो कम्पनीलाई होइन, किनभने तिमीलाई थाहै हँुदैन कि कहिले तिम्रो कम्पनीले तिमीलाई माया गर्न छोड्छ । त्यस घटनाले मलाई केवल राम्रो कर्मचारी भएर मात्र होइन, आफ्नै मूल्य, उद्देश्य र भविष्य निर्माण गर्ने बाटो रोज्न प्रेरित गर्यो,’ व्यवसायको जग बसाल्ने ती दिन सम्झिंँदै आशा भन्छिन् ।
एउटी नारी आमा बनेपछि उसको दोस्रो जन्म हुन्छ भन्ने भनाइ आफ्नो जीवनमा सत्य साबित भएको उनको भनाइ छ । ‘जब मैले आफ्नै काखमा आफ्नो सन्तानलाई देखें तब मेरो सोच र जीवनप्रतिको दृष्टिकोण नै बदलियो । त्यही क्षणदेखि मलाई अब आफ्नै केही सिर्जना गर्नुपर्छ, आफ्नै बाटो बनाउनुपर्छ भन्ने दृढ भावना जाग्यो र उद्यमशीलताको यात्रा रोजें,’ उनी भन्छिन् ।
उनको उद्देश्य आफ्नै व्यवसाय स्थापना गर्ने मात्र नभई क्षमता हुँदाहुँदै पनि काम गर्ने अनुकूल वातावरण नपाएका महिलाहरूलाई साथ दिने, उनीहरूका लागि सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्ने पनि थियो । आज यो उद्यम त्यही सपना र उद्देश्यलाई साकार पार्ने यात्राको परिणाम भएको आशा बताउँछिन् । कार्यस्थलमा महिलामैत्री नीतिको अभाव, अनुकूल कार्यपरिवेश नहुनु तथा लैङ्गिक कारणले ज्यालामा असमानता आदि कारणले निराश भएका आफूजस्ता धेरै दिदीबहिनी समाजमा भएको र यही अनुभूतिले आफूलाई एउटा फरक उद्देश्यतर्फ डोर्याउँदै यस्तो उद्यम स्थापना गर्ने अठोट लिएको उनको भनाइ छ, जहाँ महिलाले मातृत्व र करियरबीच कुनै एक रोज्न बाध्य हुनु नपरोस् ।
त्यसपछि उनले करिब डेढ वर्षसम्म बच्चा र सुत्केरी आमाहरूका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पोसाकको बजारबारे गहिरो अध्ययन र अनुसन्धान गरिन् । त्यतिबेला उनी स्वयं पनि नयाँ आमा भएकीले ग्राहकका आवश्यकता, चुनौती र अपेक्षालाई नजिकबाट महसुस गर्न सकेकी थिइन् । यही अनुभवले यस क्षेत्रमा प्रशस्त सम्भावना रहेको स्पष्ट देखायो र उनको उद्यमको आधार तयार हुँदै गयो । आशा भन्छिन्, ‘बजार अध्ययनका क्रममा मैले स्पष्ट चुनौती देखें, त्यो हो, बच्चा र सुत्केरी आमाका लागि उपलब्ध अधिकांश लुगाहरू निकै निम्न गुणस्तरका वा असाध्यै महँगा । राम्रो गुणस्तरका, सुरक्षित र सहज मूल्यमा सबैको पहुँचमा पुग्ने उत्पादनको अभाव खड्कियो । अर्कातर्फ, विदेशी ब्रान्डका लुगाहरूका लागि भने एउटा वर्गका उपभोक्ताहरूले जति मूल्य परे पनि तिर्न तयार रहेको पनि पाएँ । त्यही बेला मेरो मनमा एउटा प्रश्न उठ्यो, यदि नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएका, आकर्षक डिजाइन र सुपथ मूल्यका बालबालिकाका लुगाहरू उत्पादन गर्न सकियो भने, किन नेपाली उपभोक्ताले अनावश्यक रूपमा महँगा विदेशी ब्रान्ड रोज्ने ? यही प्रश्नको उत्तर खोज्ने प्रयास नै पछि बुलबुल जन्मिनुको कारण र प्रेरणा बन्यो ।’
आशाको ब्रान्ड नाम बुलबुल हो जो आज नेपालमा मात्रै नभएर विदेशमा पनि क्रमश: विस्तार हँुदैछ । यति मात्रै नभएर यस्ता गुणस्तरीय लुगाहरू नेपालमै उत्पादन गर्न सकियो भने नेपाली उपभोक्ताले राम्रो विकल्प पाउने मात्र होइन, रोजगारीका अवसर पनि प्राप्त गर्नेछन् भन्ने विश्वासँगै बुलबुल सुरु गर्ने उनको सपनाले वास्तविक रूप लियो । सुरुमा पचास हजारको लगानीबाट आफ्नै घरमा दुई जना दिदीको सहयोगमा उत्पादन सुरु गरेकी आशाले हरेक चरणमा सिक्दै गइन् । डिजाइनदेखि प्याटर्न ड्राफ्टिङ, कपडा छनोट, वेस्टेज कम गर्ने उपाय, सिलाइ, गुणस्तर नियन्त्रण र फिनिसिङसम्मका लगभग सबै पक्ष उनी आफै सिक्दै, गर्दै र सुधार्दै अघि बढिन् । यही निरन्तर सिकाइ, मेहनतले आजको बुलबुल निर्माण गर्ने बलियो जग तयार भएको आशा बताउँछिन् ।
शिक्षण क्षेत्रबाट आएकीले सुरुमा उत्पादन र व्यवसाय सञ्चालनका धेरै पक्षहरू उनका लागि पूर्णत: नयाँ थिए । कहिलेकाहीँ आफ्नो पृष्ठभूमिले गर्दा यो क्षेत्र मेरा लागि होइन कि भन्ने असहजता पनि उनलाई महसुस हुन्थ्यो, तर उनले अनुभवबाट सिकेको कुरा, आँट गरेपछि नसकिने भन्ने केही हुँदैन रहेछ । सिक्ने इच्छा, निरन्तर प्रयास र हार नमान्ने अठोट भए नयाँ क्षेत्र पनि आफ्नै बन्छ भन्ने उनको भोगाइ र गराइले बताउँछ । यही विश्वासले हरेक चुनौतीलाई अवसरमा बदल्दै मलाई अघि बढ्न प्रेरित गरेको उनी प्रस्ट्याउँछिन् ।
‘उद्यमको सुरुवाती चरण पार गरेपछि मैले सामना गरेको अर्को ठूलो चुनौती, वित्तीय व्यवस्थापन नै थियो । व्यवसाय सुरु गर्न आवश्यक पुँजी जुटाउनु निकै कठिन थियो । अझ परिवारका अधिकांश सदस्यलाई मैले यो व्यवसाय रोजेको निर्णयप्रति पूर्ण विश्वास थिएन । हाम्रो परिवारमा यसअघि कसैले पनि यस्तो व्यापार–व्यवसाय गरेको अनुभव थिएन । मेरो आफ्नै पृष्ठभूमि पनि शिक्षण क्षेत्रको थियो,’ उनी भन्छिन्, ‘परिवारका सबै सदस्यलाई मेरो निर्णयप्रति विश्वस्त बनाउन सकेकी थिइन । त्यसैले व्यवसायका लागि आवश्यक प्रारम्भिक पँुजी जुटाउन ठूलो चुनौती बन्यो ।’
त्यही समयमा आशाले एउटा साहसी निर्णय गरिन् । परिवारका आमा–बुवा, दिदीबहिनी र आफ्नै श्रीमान्लाई समेत नभनी आफ्ना गरगहनाहरू बेचेर व्यवसायको सुरुवाती पुँजी जुटाइन् । आज त्यो घटना सम्झिदा मनमा एकैसाथ दुईवटा भावना आउने उनी बताउँछिन्, पहिलो, परिवारलाई जानकारी नदिई यस्तो निर्णय गरेकोमा अहिले पनि उनलाई केही खेद छ तर आफ्नै सपनामाथि विश्वास गरेर त्यो जोखिम उठाएकोमा भने गर्व र खुसी पनि लाग्छ उनलाई । यदि त्यतिबेला त्यो साहस नगरेकी भए, सायद आजको बुलबुल सपनामै सीमित हुन्थ्यो ।
यसरी विस्तारै बुलबुलको यात्रा अघि बढ्न थाल्यो । आफूले तयार पारेका सामानहरू बोकेर उनी पसल–पसल पुग्थिन्, आफ्ना उत्पादन चिनाउँदै किनिदिनका लागि आग्रह गर्थिन् । उत्पादनको गुणस्तर, डिजाइन र अवधारणाको अधिकांश पसल सञ्चालकहरूबाट उनले सकारात्मक प्रतिक्रिया पाइन्, उक्त प्रशंसाले आफ्नो आत्मविश्वास अझ बढाउँदै लगेको र साना–साना सफलताले मैले सही निर्णय गरेकी रहेछु भन्ने विश्वास दिलाउँदै गयो । उनी उत्साहका साथ आफ्नो उद्यम अगाडि बढाउन सक्रिय हुँदै गइन् ।
प्रारम्भिक लगानीको व्यवस्थापछि उद्यम त खुल्यो तर उनका लागि अर्को ठूलो चुनौती व्यवसायको वित्तीय व्यवस्थापन नै बन्यो । विशेष गरी क्रेडिट व्यवस्थापन, नगद प्रवाह सन्तुलन, वित्तीय योजना, लेखा व्यवस्थापन र स्टक व्यवस्थापन आदि विषयहरू उनका लागि नौला थिए ।
आशा भन्छिन्, ‘उद्यमी बन्नु भनेको निरन्तर सिक्ने यात्रा रहेछ । त्यसैले मैले यी विषयहरू सिक्दै गएँ, आवश्यक पर्दा विज्ञहरूको सल्लाह लिएँ, आफ्ना कमजोरीहरू सुधार्दै व्यवस्थित प्रणाली निर्माण गर्न थालें । यसरी उद्यमशीलताको यात्रामा मैले अनेकौं चुनौतीको सामना गर्नुपर्यो । ती चुनौती प्राविधिक वा सञ्चालनसम्बन्धी मात्रै थिएनन् वित्तीय व्यवस्थापन, नेतृत्व, संवादकला, निर्णय क्षमता, सञ्चार तथा अन्य धेरैसँग सम्बन्धित थिए । यी सबै कुरा मैले कुनै पाठ्यपुस्तकबाट होइन, दैनिक अनुभव, गल्ती र निरन्तर सिकाइबाट आत्मसात् गर्दै गएँ ।’
यो यात्राले आशालाई एउटा गहिरो अनुभूति गरायो । यदि विद्यालय र कलेजमा यस्ता व्यावहारिक सीप, वित्तीय साक्षरता, उद्यमशीलता र नेतृत्वका आधारभूत विषयहरू पढाइने भएको भए, धेरै युवाले आफ्नो व्यावसायिक यात्रा अझ आत्मविश्वासका साथ सुरु गर्न सक्ने थिए । अहिले उनको ध्यान बजार विस्तार, अझ धेरै ग्राहकसम्म पुग्ने, वितरण सञ्जाल बलियो बनाउने र ग्राहकलाई अझ उत्कृष्ट सामान सुपथ मूल्यमा कसरी दिन सकिन्छ भन्ने कुरामा केन्द्रित छ ।
बुलबुलको प्रतिस्पर्धा विदेशबाट आयात हुने सम्पूर्ण बेबी र म्याटरनिटी ब्रान्डहरूसँग भएको र ग्राहकले उचित मूल्यमा गुणस्तरीय स्वदेशी उत्पादन पाउन सक्छन् भन्ने आफ्नो उद्देश्य रहेको आशाको दावी छ । बुलबुलका करिब ९५ प्रतिशत अर्डर रिपिट अर्डर हुने गर्छन् यो तथ्य नै आफ्नो उत्पादनको गुणस्तर र ग्राहकहरू विश्वासको सबैभन्दा ठूलो प्रमाण भएको उनले बताइन् ।
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको यो यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ । यो उपलब्धिलाई आशाले व्यवसायको वृद्धिका रूपमा मात्रै नभएर केही परिवारको जीविकोपार्जनमा योगदान पुर्याउन सकेकोमा सन्तुष्टिका रूपमा लिएकी छिन् । आज बुलबुलका उत्पादनहरू नेपालभरका धेरै वितरक तथा खुद्रा विक्रेतामार्फत ग्राहकसम्म पुगिरहेका छन् । त्यसका साथै फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत पनि प्रत्यक्ष बिक्री हुँदै आएको छ । ग्राहकलाई अझ सहज पहुँचका लागि काठमाडौंको रातोपुलमा आउटलेट सञ्चालनमा छ ।
विश्वासभन्दा ठूलो पुरस्कार केही नहुने र आफूहरूले यही विश्वासलाई सबैभन्दा ठूलो सम्पत्ति मानेको बताउँदै आशा भन्छिन्, ‘आज बुलबुलको वार्षिक कारोबार करिब एक करोड नाघिसकेको छ । नेपालभरि अझ विस्तार गर्ने, नयाँ वितरकहरू थप्ने र अझ धेरै परिवारसम्म पुग्ने हाम्रो योजना छ । साथै, हामीले सानो स्तरबाटै भए पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु गरिसकेका छौं ।’ आगामी दिनमा विदेशी बजारमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने र विशेष गरी नेपाली डायस्पोरासम्म बुलबुलका उत्पादनहरू अझ सहज रूपमा पुर्याउने उनको लक्ष्य छ । यसलाई नाफामुखी व्यवसायका रूपमा मात्रै होइन, एउटा जिम्मेवार र उदाहरणीय उद्यमका रूपमा अघि बढाउने प्रयास गरिरहेको उनले बताइन् । ‘हाम्रो लक्ष्य राम्रो उत्पादन बेच्नु मात्र नभएर गुणस्तर, सम्मानजनक रोजगारी, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वलाई सँगै लिएर दिगो व्यवसायको एउटा उदाहरण स्थापित गर्नु हो,’ उनी भन्छिन् ।
बाल्यकालमा संस्कृत अध्ययन गर्ने दृढ इच्छाबाट सुरु भएको आशाको यात्रा मातृत्वको अनुभवसँगै नयाँ मोडमा प्रवेश गर्यो । शिक्षण पेसाबाट उद्यमशीलतामा पाइला राख्दै, उनले महिलाहरूलाई करियर र मातृत्वबीच सन्तुलन कायम गर्न सक्ने वातावरण सिर्जना गर्ने सपना देखिन् । ५० हजार लगानीमा दुई जना सहकर्मीलाई मनाउँदै, आफ्नै गहना बेचेर पुँजी जुटाउने साहसिक निर्णय, बजारमा गुणस्तरीय तर सुपथ मूल्यका बच्चा र सुत्केरी आमाका लुगाहरूको अभाव देखेर समाधान खोज्ने दृष्टि, अनि निरन्तर सिकाइ र लगनले ‘बुलबुल’ जन्माएको आशा बताउँछिन् । आज ‘बुलबुल’ ले करिब २०–२२ जना महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ भने ग्राहकहरूको विश्वास र ब्रान्डलाई बलियो बनाएको छ । यो केवल एक उद्यमको मात्र होइन, महिलाहरूका लागि अवसर र सम्मानजनक रोजगारी सिर्जना गर्ने सामाजिक उद्देश्यको कथा पनि हो ।