संसारलाई हेर्ने उनीहरूको दृष्टिकोण र जीवन जिउने तरिका पृथक् छ । पहिरनशैलीदेखि हाउभाउ अनि सोचको स्तर पनि असाधारण भएको यो जोडीलाई अरुको तुलनामा अलि अनौठो मान्दा फरक नपर्ला ।
श्रीमान् छन्, ‘सकें भने दुनियाँलाई शाकाहारी बनाइदिन्थें’ भन्ने खालका । श्रीमतीको सर्वप्रिय खाना भने माछामासु । श्रीमती फेमिनिस्ट एक्टिभिस्ट, श्रीमान् नाटकका हस्ती । श्रीमती अन्तर्मुखी, श्रीमान् सबैसँग घुलमिल हुन मन पराउने फरासिला ।
यी सबै कुरा सुनिरहँदा धेरैलाई लाग्न सक्छ, उनीहरूको दाम्पत्य कठिनले चलिरहेको होला । कहाँ त्यसो हुनु ? यी दुवैलाई बाँधेर राखेको छ–प्रेम, भावना, एक–अर्काप्रतिको सम्मान र विश्वासले ।
आज हामी रंगकर्मी घिमिरे युवराज र अधिकारकर्मी लुना भट्टराईको जीवनबारे सुनाउेछौं ।
आम मान्छेको सोच हुन्छ, विवाहपछि सन्तान जन्माउने । तर उनीहरू विवाहको १९ वर्ष बितिसक्दा पनि एक–अर्काका सन्तान बनेर खुसीसाथ बाँचिरहेका छन् । जिज्ञासा राख्नासाथ युवराजले मानव विकासको इतिहास उधिन्न थाले, ‘यो सन्दर्भलाई प्रस्ट्याउने हो भने १२ हजार वर्षअघि जानुपर्ने हुन्छ, जुनबेला मानिस स्थायी रूपमा परिवार बनाएर बस्दैनथे । कसकी श्रीमती कसका सन्तान पत्तै हुँदैनथ्यो । शिकार खेल्ने, पशुपालन र खेतीपाती गर्ने युगमा मानिस आइपुग्दा अब म मरेपछि यी भेंडाबाख्रा, गाईवस्तुको मालिक को हुने अर्थात् यसको संरक्षण कसले गर्ने ? भन्ने प्रश्न उठ्न थाल्यो । सम्पत्ति रक्षाका लागि आफ्ना स्वास्नी र छोराछोरी चिन्नलाई परिवार बनाएर बस्न थाले ।’
आफूहरूले आपसी समझदारीमै सन्तान जन्माउन नचाहेको कुरा उनले खुलाए । ‘आफ्नो रगत र वंशप्रतिको माया संसारकै डिजास्टर हो जस्तो मलाई लाग्छ,’ उनको आफ्नै तर्क छ । ‘यसले आफ्ना सन्तान मात्रै राम्रा, सर्वोच्च–सर्वश्रेष्ठ र मायाका खानी अर्काका नराम्रा र पराई देख्ने सोच र वातावरण पैदा गर्छ, जुन आइडिया मलाई लास्टै झुर लाग्छ ।’
आफ्नै मर्जीमा बाँचिरहेको यो जोडीको पहिलो भेटको प्रसंग पनि रोचक नै छ ।
मोरङको सुन्दरहरैंचामा जन्मिएका युवराज १७ वर्षमा करियर बनाउने ध्येयले काठमाडौं आइपुगे । त्यसपछि उनी मीनभवन क्याम्पसमा भर्ना भए । २०५६ सालमा राष्ट्रिय नाचघरमा वर्ष दिने अभिनय तालिम लिए । त्यसपछि अन्डरलाइन साप्ताहिक हुँदै, हिमालयन टाइम्स र नयाँ सडकमा पत्रकारिता गरे । कान्तिपुर पब्लिकेशन्सद्वारा प्रकाशित हुने नेपाल पाक्षिकमा स्तम्भकारका रूपमा लेख्न थाले । सँगसँगै गुरुकुलमा पनि काम गर्थे ।
सोही सिलसिलामा दमक झापाकी लुनाले उतै प्लस टु सकेर डिल्लीबजार कन्या क्याम्पसमा ब्याचलर पढिरहेकी थिइन् । कला, साहित्य र लेखनमा दख्खल राख्ने परिवारमा जन्मिएकी उनी नाटक हेर्न जाने, आर्ट फेस्टिभलमा सहभागी हुने क्रम चलिरहन्थ्यो । लुनाका काका देवेन्द्र भट्टराईले एकदिन लुनालाई लिएर गुरुकुलमा नाटक हेर्न गए ।
युवराज र देवेन्द्र साथी । ‘परिचयका क्रममा लुनाले उहाँले त हामीलाई वास्तै गर्नुहुन्न भनेर काकासँग भनेको सुनें अनि वास्ता गरिदिएको’ युवराज सुनाउँछन् ।
त्यही बेलादेखि हो उनीहरूबीच बढी हिमचिम बढेको । फोन नम्बर साटासाट भयो, कुरा हुन थाल्यो, दुईजनाको भेटघाटको क्रम बाक्लिँदै गयो । एकदिन युवराजले ‘के हामी सँगै हुने हो त ?’ भनेर सोधे अनि लुनाले परिवारको सहमति चाहिन्छ भनिन् । दुई वर्षको लभ अफेयरपछि युवराज लुनाको हात माग्न झापा पुगे । पहिल्यैदेखि अड्कल काटेकाले परिवारले पनि सहर्ष स्वीकार गरे अनि २०६४ सालमा उनीहरूको विवाह भयो । ‘विवाहपछि धेरैजसो हामी दुईजना मात्रै काठमाडौं बस्थ्यौं । कहिलेकाहीँ मोरङ जाँदा बुहारीको लवाइखवाइदेखि जिम्मेवारीसम्म फेरिएको महसुस त भयो तर युवराजले मलाई यसमा भरपुर सघाउनुभयो, सहज बनाइदिनुभयो ।’
एक–अर्कासँगको भाइब्स र केमेस्ट्री मिलेकाले यो साथ सुन्दर छ भन्ने लुनाको अनुभवले बताउँछ । करिब दुई दशकको सामूहिक यात्रामा यिनीहरूले सुन्दर पल बिताएका छन् । एक्सन एडमा काम गर्ने लुना करिब ३ वर्ष म्यानमारमा हुँदा युवराज डेनमार्कस्थित ३ वर्षे थियटर फेलोसिपमा थिए । यस क्रममा पनि दुईजनाले सँगै उतै समय बिताए ।
युवराजका अनुसार धेरैले उनीहरूलाई लिभिङ टुगेदर सम्बन्धमा रहेको सोच्दा रहेछन् । यसमा पनि उनको कुनै तातो प्रतिक्रिया छैन, ‘यति लामो समयसम्म पनि सन्तान नदेखेर हो कि वा हामीलाई बेस्ट फ्रेन्ड जस्तै देखेर पनि होला ।’
बच्चा नहुँदा कुनै फरक नपरेको लुनाको भनाइ छ । ‘स्वतन्त्र रूपले काम गर्न र जीवन जिउन पाएकै छौं । दुवैतिरको परिवारबाट पनि यसमा कुनै दबाब र प्रभाव छैन,’ उनी भन्छिन् ।
अहिलेको आधुनिक समयमा सम्बन्ध दीर्घकालीन नहुनुमा सामाजिक रूपमा महिलामा आएको परिवर्तन, आत्मनिर्भरताका साथै अहिलेको सहयोगी कानुन पनि कारक हुनसक्ने उनको अनुमान छ । ‘पहिले छोरीलाई हुर्काउने तरिका फरक थियो । छोरीलाई कन्यादान गर्ने समाज हो हाम्रो । तर अहिले फरक छ,’ उनी भन्छिन्, ‘हाम्रै पुस्तासम्म विविधखाले सेक्सुआलिटी हुन्छ, डिभोर्स गर्न मिल्छ भन्ने थाहा नै थिएन । एकखाले पारिवारिक अनुसाशन र परिधिभित्र थियौं तर अहिलेको समाज स्वनिर्भर हुँदैछ । यसले केही हदसम्म महिला हिंसामा पनि कमी आएजस्तो लाग्छ ।’
यो जोडी सम्बन्धलाई तरोताजा राख्न सँगै समय र संवादमा सरिक हुन्छ । उनीहरूले विदेशतिरै हुँदा पनि धेरैजसो समय सँगै बिताएका छन् । आफूले भनेको सुनिदिँदा युवराजलाई लुनाले आफूलाई अगाध प्रेम गर्छिन् भन्ने लाग्छ भने व्यस्त समय निकालेर बनाएका योजनामा सहभागी भइदिँदा लुनालाई लाग्छ, मैले संसारकै असल श्रीमान् पाएकी छु ।
उनीहरू सातामा २–३ पटक मुभी हेर्न जान्छन् । प्राय: बाहिरै खान्छन् र व्यावसायिक कामकुरामा बढी वार्तालाप गर्छन् । काम र करिअरमा कसरी सहयोगी हुन सकिन्छ भन्ने दुवैको ध्येय रहन्छ ।
‘जिरोबाट सँगै यात्रा सुरु गरेका हौं । एक–अर्काको साथ, सहयोग र विश्वासले आज हामी यो ठाउँमा छौं,’ लुना भन्छिन्, ‘पछाडि फर्किएर हेर्दा सुन्दर यात्रा सँगै पार गरियो भन्ने लाग्छ ।’
असाध्यै व्यस्त युवराजले समय नदिँदा कहिलेकाहीँ ठाकठुक पर्छ तर फकाउनमा युवराज माहिर छन् । घरको काम मिलेर गर्ने हुनाले यो जोडीको दिनचर्या सहज बनेको छ । ‘म त घरमा सधैको डिस वासर हो । उनी मीठो पकाउँछिन्,’ ठट्यौली पारामा युवराजले भने ।
दम्पतीबीचको सम्बन्धलाई बलियो बनाउने भनेकै मन मिल्नु हो, त्यसैभित्र आपसी विश्वास, प्रेम, सम्मान र समझदारी परिहाल्छ भन्ने दुवैको ठम्म्याइ छ । शिल्पी थिएटरका संस्थापक निर्देशक युवराज भन्छन्, ‘लुनासँगको बानी नै परिसक्यो । उनी सँगै छैनन् भने कुनै पनि सिर्जनात्मक काम मबाट हुनै नसक्ने भइसकेछ ।’
लुनाको नजरमा युवराज
बलियोपक्ष : काम
कमजोरी : झनक्कै रिसाइहाल्ने
लत : शिल्पी थियटर
मनपर्ने रंगकर्मी : जर्मनी नायिका तथा रंगकर्मी सान्ड्रा हुलर
मन परेको पुस्तक : द फादर
वोल्ड तथा आकर्षक नारी : पारिजात
प्रभावशाली महिला : भारतीय अभिनेतृ रेखा
सुधार्नुपर्ने : अरुको कुरा सुन्ने, स्वीकार गर्ने र कम रिसाउने
कस्ता श्रीमान् : मलाई धेरै माया गर्ने
के भएको हेर्ने रहर छ ? : अझ धेरै सिर्जनशील रचना र नाटक गरेको ।
युवराजको नजरमा लुना
बलियोपक्ष : सहनशील
कमजोरी : असाध्यै अन्तरमुखी
लत : सिरिजहरू हेर्ने
मनपर्ने अधिकारकर्मी : अरुन्धती रोय
मन परेको पुस्तक : धूपी, सल्ला र लालीगुराँसको फेदमा
प्रभावशाली पुरुष : बी.पी. कोइराला
सुधार्नुपर्ने : साहित्य र लेखनका बढी केन्द्रित भए राम्रो
कस्ती श्रीमती : सहयोगी
के भएको हेर्ने रहर छ ? : आफ्नो क्षेत्रमा अब्बल ।
तस्बिरहरु: महेशमान प्रधान