Successfully Copied

अनौठो लगनगाँठो

विवाहका लागि जातभात, कुलघराना, चिनापात्रो जुराउने दिन अब पुराना हुँदैछन् । पछिल्लो समय कतिपय विवाहलाई न जातले छेक्छ न भाषा, धर्म र संस्कृतिले नै । जीवनलाई नजिकबाट बुझेर यसलाई सेलिब्रेट गर्नुपर्छ भन्ने नवीन सोचका पक्षधरहरू यसमा बढी अग्रसर देखिन्छन् ।

विवाहका लागि जातभात, कुलघराना, चिनापात्रो जुराउने दिन अब पुराना हुँदैछन् । पछिल्लो समय कतिपय विवाहलाई न जातले छेक्छ न भाषा, धर्म र संस्कृतिले नै । जीवनलाई नजिकबाट बुझेर यसलाई सेलिब्रेट गर्नुपर्छ भन्ने नवीन सोचका पक्षधरहरू यसमा बढी अग्रसर देखिन्छन् । समाजमा जात, धर्म, भाषा, संस्कृति नमिले पनि मन मिलेकाले लामो समयसम्म खुसीसाथ दाम्पत्य जीवन बिताइरहेका विदेशी महिला विवाह गर्ने नेपाली पुरुषहरूको जोडी पनि छन्, जसलाई यसपटक नारीको कथामा उतार्ने प्रयास गरेका छौं । 

 

डा.मधु घिमिरे (ग्यास्ट्रोलोजिस्ट)

सिन्थिया कलाटा घिमिरे (नर्स)

४४वर्षअघि बेलायतस्थित एक अस्पतालमा डा. मधु घिमिरेले ‘प्याट्रिसिया न्युबोल्ड’ को शल्यक्रिया गर्दै थिए । त्यसबेला शल्यक्रियामा आफूसँग दक्ष र सिपालु नर्स साथमा भए हुन्थ्यो भन्ने उनको चाहना थियो । सोहीअनुरुप अस्पताल प्रशासनले फिलिपिनी नागरिक सिन्थिया कलाटालाई अप्रेसन थिएटरमा पठाइदियो । मधु र सिन्थियाको पहिलोपटक देखादेख त्यहीँ भएको हो । मधु ती दिन स्मरण गर्दै भन्छन्, ‘म उनको कामप्रतिको लगाव र सेवाभावले आकर्षित भएँ । भोलिपल्ट उनीबारे सोधखोज गर्दै जाँदा हामी एकै डिपार्टमेन्टमा काम गर्ने रहेछौं । त्यसपछि निरन्तर भेट हुन थाल्यो । हामी दुवै एसियन, खानपानलगायत अन्य कुरा पनि मिल्ने भएकाले नजिकिँदै गयौं ।’

सिन्थियालाई मधुको ड्यासिङ पर्सनालिटी, काममा दृढ र हँसीमजाक गरिरहने बानीले तान्यो । भेटघाटपछि यी दुवैले बेलायतका विभिन्न सहरका अस्पतालमा काम गरे । छ वर्षको प्रेम सम्बन्धपछि दुवैले बेलायतको लिभरपुलमा विवाह गरे । ३८ वर्षदेखि यो जोडीले सुमधुर जीवन बिताइरहेको छ । सिन्थिया भन्छिन्–‘ब्राह्मण परिवारको भए पनि उहाँहरू अत्यन्त क्रान्तिकारी सोचको हुनुहुँदोरहेछ । नेपाल आएपछि पनि मलाई खासै अप्ठ्यारो भएन । यहाँ आएको भोलिपल्टै नेपाली नागरिकता लिएँ । भाषा नमिल्दा सासूसँगको संवादमा असहज भएकाले तीन महिनामै राम्रो नेपाली बोल्न सिकें । अहिले हामी घरमा नेपाली, अंग्रेजी दुवै भाषा बोल्छौं ।’

नेपाल फर्केर मधुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्न थाले । त्यहाँको कमाइले खर्च धान्न गाह्रो भएपछि त्रिपुरेश्वरमा ह्याम्स अस्पताल खोले । त्यहाँ केही समयको खटाइपछि डब्ल्युएचओमा जागिरे भएर उनी दिल्ली पुगे । त्यतिबेला सिन्थियाले दुई छोरी मात्र होइन मधुको घरपरिवार सम्हालेर बसिन् । मधु भन्छन्–‘हामी जातभात, धर्म संस्कृति, संस्कारभन्दा पनि मानवतामा विश्वास गर्ने मान्छे पर्‍यौं तसर्थ हामीबीच कुनै मनमुटाव र असहज भएन ।’ सिन्थियाका अनुसार उनीहरूका चाहना र रुचि फरक छन् । मधुलाई गर्मी मन पर्छ भने उनलाई शीतल । खानामा पनि यी दुईको रोजाइ फरक छ । उनी भन्छिन्, ‘श्रीमान्लाई जे मनपर्छ छुट्टै पाक्छ, सँगसँगै मलाई मनपरेको खानेकुरा पनि भान्सामा पाकिरहेको हुन्छ । घरमा दसैं, तिहारसँगै इस्टर र क्रिसमस मनाउँछौं । म श्रीमान्सँग मन्दिर जान्छु, श्रीमान् मसँग चर्च जानुहुन्छ । यस्ता कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् जस्तो लाग्दैन । मुख्य कुरा त प्रेम, विश्वास र कमिटमेन्ट हो ।’ प्रेम मानवीय प्रतिबद्धतासँग एकढिक्का हुनसक्यो भने वैवाहिक जीवन सफल, सरल र उल्लासमय हुने मधुको भनाइ छ । ७३ वर्षका मधु र ६८ वर्षकी सिन्थिया आफूहरू करियरको सेमी रिटायर्डमेन्टको अवस्था पुगिसकेको बताउँछन् । 

एकनाथ ढकाल (पूर्वमन्त्री, संविधान सभा सदस्य, सांसद तथा अध्यक्ष नेपाल परिवार दल)

ब्लेसी गाडन ढकाल (अन्तर्राष्ट्रिय संयोजक, अन्तर्राष्ट्रिय प्रथम महिला संघ) 

 

गोर्खाका एकनाथ ढकाल सानैदेखि विद्रोही स्वभावका थिए । पण्डित परिवारमा जन्मिएका उनी कोरा बसेकै लुगामा परीक्षा दिन जाने सम्भवतः जिल्लाकै पहिलो विद्यार्थी हुन् । सन् १९९९ मा उनी अन्तर्राष्ट्रिय शान्ति अभियानको कार्यक्रममा सहभागी हुन फिलिपिन्स जाँदा ब्लेसी गाडनसँग भेट भयो । त्यो क्षण स्मरण गर्दै उनी भन्छन्–‘हामी दुवैलाई फर्स्ट साइड लभ भयो । सन् २००० मा आइपुग्दा कुरा विवाहसम्म पुग्यो । आमाले केटी कुन जातकी हो बाबु भनेर सोध्नुभयो । मैले त्यो देशमा जात हुँदैन, सिर्फ महिला र पुरुष मात्रै हुन्छन् आमा, बाहुनी नै त होली नि भनिदिएँ । पछि घर ल्याइसकेपछि आमाले केटी त मगर्नी जस्ती पो छ त बाबु भन्नुभयो ।’

सुरुमा भाषा नमिल्दा फोनमै कुरा गर्दा पनि कतिपय अवस्थामा ‘मिस अन्डरस्ट्यान्डिङ’ आएको बताउँदै एकनाथले भने–‘उनको अंग्रेजी राम्रो मेरो ठिक्कको । भेटपछि विवाह नहुँदाको समयसम्म थुप्रै पटक भाषागत समस्या आए । त्यसो त चिठीबाट सुरु भएको हाम्रो प्रेम, इमेल, याहु मेसेन्जर हुँदै फोनसम्म पुगेको थियो । म पोखराको पिएन क्याम्पस पढ्ने, फिलिपिन्सबाट पोखरासम्म चिठी आइपुग्न डेढ महिना लाग्थ्यो । उनीहरूको विकसित मुलुक हरेक कुरामा द्रुत सेवा हुन्थ्यो । यहाँको ढिलाइले उता धेरै समयपछि चिठी पुग्दा गुनासो सुन्नुपर्थ्यो ।’

विवाहपछि एकनाथ र ब्लेसी परिवारमा बसेनन् । दुवै जना फुल टाइम अभियानमा भएकाले सधै व्यस्त रहन्थे । ब्लेसीले नेपाली संस्कार र संस्कृतिलाई पनि एकनाथलाई जत्तिकै माया र सम्मान गरेका कारण सम्बन्ध झन बलियो बन्दै गयो । ब्लेसीका अनुसार सुरुमा त उनका फिलिपिनो अभिभावक र परिवारले पनि स्वीकार गरेका थिएनन् । पछि एकनाथको राम्रो व्यवहारले उनीहरू नतमस्तक नै भए । सन्तान जन्मिइसकेपछि सबैतिरबाट सहज ढंगले स्वीकारेको यी दुवैले बताए, बच्चाहरू पिस मेकर बनेको दुवैको भनाइ छ । अहिले ढकाल दम्पतीका छ वटी छोरी छन् । ती छोरीहरू नेपाली र फिलिपिनो दुवै भाषा बोल्छन्, उनीहरूमा दुवै संस्कार र संस्कृतिप्रति उत्तिकै महत्वका साथ श्रद्धा र सम्मान छ । ब्लेसीले उताको नागरिकता छोडेर नेपालको नागरिकता लिएकी छिन् भने छ वटै छोरीको वंशजको नागरिकता छ । महिला सशक्तीकरण, विकास र सांगठनिक विश्व शान्तिका लागि ट्रयाक टुका रूपमा काम गर्ने अन्तर्राष्ट्रिय प्रथम महिला संघमा विश्वभरका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका श्रीमतीहरू जोडिएका छन्, जसको अन्तर्राष्ट्रिय संयोजकका रूपमा काम गर्ने ब्लेसी कमै मात्र नेपालमा भेटिन्छिन् । उनी भन्छिन्–‘व्यस्तताका कारण हाम्रो भेटघाट नै पातलो हुन्छ । अनावश्यक कुरामा बहस र छलफल गर्ने समय नै हुँदैन तसर्थ झगडा हुने अवसर जुर्दैन ।’

बलियो विश्वास र आपसी समझदारीले दम्पतीबीचको सम्बन्धलाई प्रगाढ बनाउने अनुभव दुवैले एकैसाथ सेयर गर्दै भने, ‘दाम्पत्य जीवनमा सामान्य मनमुटाव हुनु अनौठो कुरा होइन तर त्यसैलाई इस्यु बनाउनु हुँदैन । हाम्रा रुचि, खानपान, भाषा, संस्कार संस्कृति फरक भए पनि मन एउटै छ । यी सबै कुरा मिलेर पनि मन नमिलेका कतिपय जोडी हामीले देखेका छौं । दाम्पत्य जीवनमा विश्वास अमृत अनि शंका विष हो ।’

केही समयअघि सासू बित्दा अलिनो खाएर १३ दिनसम्म कोरामा बसेकी ब्लेसी एकले अर्काको रुचि, चाहना, संस्कार र संस्कृतिलाई सम्मान गर्न सके संसार प्रेममय बन्ने तर्क गर्छिन् । आगामी योजनाबारे दुवैले सुनाए–‘यी छोरीहरूलाई राम्रो शिक्षा दिएर असल मानव बनाउने अनि हामी जीवनको अन्तिम अवस्थासम्म यसैगरी खुसी भएर मिलेर बस्ने ।’

 

उत्तम बज्राचार्य (व्यवसायी)

फुजिको मियाता (डिजाइनर)

 

रसिक अनि संसार छुन र अनुभूत गर्न रुचाउने पाटने ठिटो उत्तम बज्राचार्य सन् १९८८ ताका जापान पुगे । उतिबेला जापान जानेहरूलाई छ महिना मात्रै बस्ने स्वीकृत मिल्थ्यो । युवा उमेरमै हस्तकलाका सामग्रीको व्यापार गर्ने क्रममा ठमेलदेखि सिंगापुर डुलेका उत्तमलाई संसार एक्सप्लोर गर्ने र नयाँ सिक्ने भोक मेटिइसकेको थिएन त्यसैले उनी फेरि छ महिने भिसा थपेरै भए पनि जापान बसे । उत्तम भन्छन, ‘वर्ष दिनपछि म नेपाल आएँ । कस्तो संयोग, सन् १९८९ को अन्त्यतिर पाटन टहल्दै गर्दा एउटी जापनिज सुन्दरीसँग भेट भयो, उनी थिइन् फुजिको मियाता । जापनिज भाषा जानेको हुनाले वार्तालाप गर्न सजिलो भयो ।’ भेटघाट बढ्दै जाँदा यी दुईबीच गहिरो कुराकानी भयो, त्यपछि यी दुईको मन मिल्यो । सोही बीचको दुई वर्षे अवधिमा दुईबीच भावना साटासाट भए, दुवैले सुन्दर क्षण बिताए । सन् १९९० मा उत्तमले जापानमै फुजिकोसँग विवाह गरे र उतै स्थायी रूपमा बस्न थाले । श्रीमतीलाई पार्ट टाइम काम गर्न लगाएर आफू फुल टाइम मेहनत गर्थे । फुजिको भन्छिन्, ‘बच्चा हुर्काउनुपर्ने जिम्मेवारी पनि थियो । एकले अर्कालाई बुझेर व्यवहार नगरी जीवन चल्दैन त्यसैले मैले दुई छोराको पालनपोषणमा ध्यान दिएँ । मन नै ठूलो कुरा रहेछ, दाम्पत्य जीवनमा एकले अर्काको इच्छालाई बुझेर माया र सम्मान गर्न सक्यो भने जीवन सुन्दर हुने रहेछ ।’

 सुरुवाती दिनमा भिन्न भाषा र असाध्यै सम्मान गर्नुपर्ने जापनिज संस्कारका कारण केही असहज भए पनि आफूभन्दा नौ वर्ष जेठी परिपक्व श्रीमतीका साथ र सहयोग अनि पहिलेदेखि जापान बसेको अनुभवका कारण उत्तमले बिस्तारै आफूलाई एडजस्ट गर्दै लगे । उनले भाषा र संस्कारलाई प्राथमिकतामा राखेर व्यवहार गर्दै गए । उत्तम अत्यन्तै सरल, सहज र रमाइलो भएको फुजिको बताउँछिन् । उनी भन्छिन्, ‘उत्तमको कारणले कुनै पनि दिन मैले अप्ठ्यारो महसुस गर्न परेको छैन ।’ उत्तम एकबारको जुनीमा मान्छेले इच्छ्याइएको गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छन् । पछिल्लो समय उत्तम निर्माणका लागि आवश्यक एक्सकाभेटर, जेसिबी, डोजर लगायतका सामग्री उत्पादन गर्ने मल्टिनेसनल कम्पनीको ३१ वर्षे सेवाबाट अवकाश लिने तयारीमा छन् । कम्पनीको उपल्लो पदमा पुगेर काम गर्ने सिलसिलामा संसारका थुप्रै मुलुक डुल्दै हिँड्ने उत्तम अब श्रीमतीको इच्छा बमोजिम नेपालमै बसोबास गर्ने कि 

भन्ने सोचमा रहेको बताउँछन् । उनी भन्छन्–

‘श्रीमतीको चाहना नेपाल बस्ने छ । यो कुरालाई मैले म र मेरो देशप्रतिको उनको माया, सम्मान र गौरवका रूपमा बुझेको छु ।’

रेमनदास श्रेष्ठ (कलाकार तथा व्यवसायी)

याना (सोसल साइन्टिस्ट)

 

सात वर्षअघि नेपालस्थित जर्मन दूतावासको छेवैमा रहेको एट्टिक रेस्टुरेन्टमा फोटो एक्जिबिसनको माहोल बनिरहेको थियो । जुन रेस्टुरेन्ट कलाकार तथा व्यवसायी रेमनदास श्रेष्ठले सञ्चालन गर्दै आएका छन् । सोही रेस्टुरेन्टमा फोटो प्रदर्शनी तयारीका क्रममा कमन फ्रेन्ड्समार्फत सघाउन आइपुगिन् जर्मनी नागरिक याना । रेमन र यानाको त्यहीँ देखादेख भयो । कुनै सामान लिन जानुपर्ने थियो त्यसका लागि यानाले रेमनको सहयोग चाहिन् उनले तुरुन्तै स्वीकारे । यी दुईबीच मीठो संवाद भयो । याना भन्छिन्–‘त्यसपछि कहिले भोलिको एक्जिबिसन सुरु होला र फेरी भेट्न पाइएला जस्तो भयो । जब फेरि भेट भयो हामी दुवैलाई एक किसिमको अचम्मको अनुभूति भयो । तर हामी हतारमा भन्दा पनि सम्बन्ध क्रमशः आफ्नै लयमा बगोस् ताकि एक–अर्कालाई अझ गहिरिएर चिनौं भन्ने पक्षमा थियौं ।’

भेटघाटको क्रम बाक्लिँदै गएपछि आफूहरू गहिरो प्रेममा परेको यी दुवै बताउँछन् । काठमाडौंका रैथाने नेवार परिवारका रेमनलाई प्रेममा हुँदा जात, धर्म, भाषा, संस्कृतिको कुनै वास्ता भएन । उनी भन्छन्–‘अहिलेका युवा जीवन जिउने क्रममा स्वतन्त्रता र छनोटको अधिकारलाई विशेष महत्व दिन्छन् । आफ्नो जीवन आफैंले जिउने हो भन्ने धारणा राख्छन् । हामी दुवै परिपक्व र सम्बन्धबारे बुझेका भएकाले पनि हामीले आफ्नो जीवनको निर्णय गर्ने कुरामा द्विविधा र अलमल हुन परेन ।’

छ वर्षको प्रेम सम्बन्धपछि गत वर्ष यी दुईले विवाह गरे । याना भन्छिन्, ‘जर्मनी संस्कारमा विवाह भनेको दुई व्यक्तिको छनोट र निर्णयको विषय हुन्छ तर यहाँको नेपाली संस्कारमा दुई परिवारको । त्यसैले विवाहका बखत केही अप्ठ्यारो भयो तर हामी दुवै मिलेर सहज ढंगले त्यसको समाधान गर्‍यौं । हामीले परम्परागत हिन्दू संस्कारमा हुने स्वयम्वरदेखि आधुनिक वेस्टर्न संस्कृतिसम्मलाई अंगालेर दुवै तरिकाले विवाह गर्‍यौं । मलाई लाग्छ, जीवनको स्वतन्त्रता अनुभव गर्ने र त्यसलाई वास्तवमै व्यवहारमा लागू गर्ने उदाहरण हामीले पेस गर्‍यौं जुन अन्य युवाका लागि पनि नौलो हुनसक्छ ।’ रेमनले यानाको इच्छालाई महत्व दिँदै उताको संस्कारलाई पनि उत्तिकै सम्मान र सेलिब्रेसन गर्ने गरेका छन् । विवाहपछि सहयात्रीका रूपमा रेमन र यानाको जिन्दगी बडो खुसीसाथ अगाडि बढिरहेको छ । मोटरसाइकलका पारखी यी दुवै जना फुर्सद मिल्यो कि रिफ्रेसमेन्टका लागि रोयल एनफिल्ड र क्रसफायर लिएर काठमाडौं आसपासका सुन्दर ठाउँमा पुगिहाल्छन् । काम बाँडफाँडका सवालमा पनि यी दुईले निकै सन्तुलन मिलाएका छन् । एउटाले भाँडा माझ्दा अर्कोले ट्वाइलेट सफा गर्ने तथा लुगा धुने काम गर्छन् । 

सम्बन्धमा समान जिम्मेवारी, प्रेम र विश्वास भयो भने कुनै कुराले पनि यसलाई खुकुलो बनाउन नसक्ने जानाको तर्क छ । उनलाई लाग्छ, दाम्पत्य जीवनमा मनमा लागेका राम्रा–नराम्रा सबै कुरा खुलेर एक–अर्कालाई भन्न सक्नुपर्छ । एकले अर्कालाई दिने स्वतन्त्रता र एक–अर्काप्रतिको विश्वासले सम्बन्धमा खुसी छाउँछ । 

याना र रेमनले संयुक्त रुपमा संचालन गरेको सोसल मिडिया च्यानल ‘रे एण्ड जे’ मार्फत थुप्रै दर्शकको मन जितेका छन् । जसमा उनीहरु आफ्नो रोमाञ्चक यात्रादेखि, जीवनशैली, साथीसंगी र परिवारबारे सुचना पस्किनुका साथै आफ्नो विचार र भावना साटासाट गर्छन् । 

दुवै परिवारबाट मनग्य साथ र सहयोग पाएका रेमन र याना आफूहरूलाई एक आत्मनिर्भर र परिपक्व जोडीका रूपमा लिन्छन् । सामाजिक र सांस्कृतिक अपेक्षाहरूबाट आफूलाई केही हदसम्म टाढा राखेर आफूले चाहेको र रोजेको जीवन बाँच्न सबैलाई आग्रह गर्ने यो जोडी एकैसाथ भन्छन्–‘हामी चाहन्छौं हरेक मानिस आफूले इच्छा गरेको जीवन बाँच्ने साहस गरून् जसले वास्तवमै जीवनलाई प्रेममय र खुसीयाली बनाउँछ । वैवाहिक सम्बन्धलाई श्रीमान्–श्रीमतीको मात्रै जस्तो भन्दा पनि बेस्ट फ्रेन्डको नाता बनाउनुपर्छ जहाँ हरेक कुरा भन्न हिच्किचाउन नपरोस् । हामीलाई आशा छ, हाम्रो यो भिन्न र अनौठो सम्बन्धले अरुलाई पनि आफ्नो सपनाको महसुस गराउनेछ र त्यो सपना पूरा गर्न अग्रसर हुनेछन् ।’

 Image