प्रज्ञा श्रेष्ठ बसी , डाइरेक्टर अफ सेल्स, होटल याक एण्ड यती, दरबारमार्ग
अहिले नेपालको पर्यटन अवस्था कस्तो छ ?
कोभिड पछाडि तीव्र रूपमा बढेको थियो तर जेन–जी आन्दोलनपछि फेरि केही सुस्ताएको छ । सायद जियो पोलिटिक्स कारणले गर्दा पनि होला । मिडिल इस्टमा भएको द्वन्द्वका कारण इन्धनको मूल्यमा भारी वृद्धि भयो । यसले आवतजावतमा बाधा पुर्याएको छ । तर पनि आउनेहरू आइरहेकै छन् ।
होटल याक यण्ड यतीले नेपालको पर्यटन क्षेत्रमा कस्तो योगदान पुर्याउँदै आएको छ ?
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् । यो होटलमा पस्नेबित्तिकै पूरै नेपाल चित्रण हुन्छ । हामीले पाहुना सत्कारमा नेपाली मौलिकपन पस्किन्छौं । यो देखेर विदेशीहरू नेपालमा यस्तो हुँदोरहेछ भन्ने कुरा सिक्छन् र आफ्नो देश गएर अरूलाई पनि भन्छन् । यसरी नै पर्यटकहरूको सञ्जाल बढ्ने र बन्ने हो जस्तो लाग्छ ।
याक एण्ड यती नै छान्नुको पछाडि विशेष कारण के छ ?
लोकेसनका हिसाबले यो काठमाडौंको मुटुमा छ, यहाँबाट नजिकको दूरीमा वसन्तपुर दरबार स्क्वायर, स्वयम्भू, पशुपतिनाथलगायतका पर्यटकीय स्थल छन् । सहरको मध्यभागमा भएर पनि यहाँको बेस्ट पार्ट भनेको फराकिलो गार्डेन र प्राकृतिक सुन्दरता नै हो । बीच सहरमा यति फराकिलो होटल अर्को छैन । सन् १८८५ मा निर्माण भएको लालदरबार यहाँको मूल विशेषता हो । यो आफैंमा एउटा लिभिङ म्युजियम हो । होटल भित्रै नेपालको सबैभन्दा परानो चिम्नी रेस्टुरेन्ट छ भने अन्य रेस्टुरेन्ट आउटलेट पनि छन् ।
यहाँका सेवा–सुविधा के–कस्ता छन् ?
याक एण्ड यतीमा जम्मा २ सय ४१ वटा रुम छन् । सहरकै सबैभन्दा ठूलो हल गरी ८ वटा त हल मात्रै छन् । २ वटा गार्डेन, हेल्थ क्लब, टेनिस कोर्ट, चिम्नी फाइन डाइन र अल डाइनिङ स्पाइस रुम गरी २ वटा रेस्टुरेन्ट र यथेष्ट पार्किङको सुविधा यहाँ उपलब्ध छ ।