आरती पौडेल
मानिसको नजर प्राय: फूलमै रोकिन्छ । फूलको सुन्दरता, रङ, सुगन्ध सबैको आकर्षण बन्छ । फूलका कविता, गीत, सायर बन्छन् । तर त्यही फूललाई जीवन दिने माटोमुनि रहेको जरा भने प्राय: कसैको दृष्टिमा पर्दैन । त्यसभित्रको संघर्ष र मेहनत कसैले बुझ्दैनन् ।
त्यसैलाई लिएर नै शिवाङ्गिनी राणाले ‘रुट्स एन्ड ब्लुम्स’ प्रदर्शनमार्फत सबैलाई सन्देश दिएकी छिन् । ‘हरेक मानिसको जीवन पनि त्यस्तै हो । सफलताको चमक हरेकले देख्छन्, तर त्यसका पछाडि लुकेको संघर्ष, पीडा, असफलता र निरन्तरको मेहनत आफूबाहेक कसैले देख्दैनन्,’ उनले भनिन्, ‘हामी कहाँबाट, कति संघर्ष गरेर यहाँसम्म पुग्यौं, त्यो आफूबाहेक कसैले देख्दैनांै । फूल हाम्रो उपलब्धि हो भने जरा हाम्रो संघर्ष हो ।’
उनको एकल कला प्रदर्शनी ‘रुट्स एन्ड ब्लुम्स’ केवल चित्रहरूको संग्रह मात्र नभएर सफलताभन्दा अघि लुकेका अनगिन्ती संघर्षको दृश्य अभिव्यक्ति हो ।
उनका चित्रमा देखिने मसिना रेखा पनि यही दर्शनसँग जोडिएका छन् । नसाजस्ता ती रेखालाई उनी ‘रुट्स’ अर्थात् जरा भनेर परिचित गराउँछिन् । यही शैली अहिले उनको आफ्नै कलात्मक पहिचान बनेको छ । ‘हरेक कलाकारको एउटा आफ्नै भाषा हुन्छ । मेरो भाषा यी रेखा र यही मेरो पहिचान हो,’ उनले भनिन् ।
शिवाङ्गिनी अमूर्त चित्रहरूमा दर्शकका भिन्न–भिन्न बुझाइ हुने र यही कुराले आफूलाई चित्र कोर्न प्रोत्साहन मिलेको सुनाउँछिन् । ‘अमूर्त चित्रमा सही वा गलत भन्ने हुँदैन । हरेक व्यक्तिले चित्रमा वास्तवमा आफ्नो मनबाट लागेको कुरा देख्छन्,’ उनले भनिन्, ‘एउटै चित्रमा मानिसको फरक–फरक बुझाइ देखिन्छ ।’ अमूर्त चित्रको सबैभन्दा राम्रो कुरा नै हरेक मान्छे चित्रसम्म गहिराइमा पुग्ने र फरक शैलीमा त्यसलाई बुझ्ने रहेको राणा सुनाउँछिन् ।
‘एउटै चित्रलाई दर्शकले नियाल्दा कसैले देवी देख्छन्, कसैले शिव, कसैले चरा, कसैले ड्रयागन, कसैले बिरालो, कसैले नदी, कसैले फूल,’ उनले भनिन्, ‘बालबालिकाले त मैले चित्र बनाउँदा कल्पना नगरेका आकृतिसमेत देखाइदिन्छन् । त्यही कुरा नै सबैभन्दा रोचक पक्ष लाग्छ ।’
उनले प्रदर्शनमा राखेका चित्रका रंगीबिरंगी फूलहरू रङले सकारात्मक सोच र आशा जगाइहेको देखिन्छन् । उनका कुनै पनि चित्र दु:खी छैनन् । अधिकांश चित्र उज्याला रङ, फूल र प्रकृतिका प्रतीकहरूले भरिएका छन् । उनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन् । यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
उनका एक चर्चित शृंखला मयूरबाट प्रेरित अमूर्त चित्रहरू हुन् । बर्दिया भ्रमणका क्रममा देखेको मयूरका प्वाँखका रङहरूले उनलाई प्रेरित गर्यो । सुरुमा रङ मात्र देखिएको त्यो चित्र पछि उनलाई ‘नयाँ सुरुवात’ को प्रतीक जस्तो लाग्न थाल्यो ।
यसैगरी ग्यालरीको भित्तामा टाँगिएको अर्को शृंखला ‘ह्वाइट ड्यान्डेलियन’ आकाशतिर उडिरहेको छ । त्यो चित्र भित्रको उनको छुट्टै कहानी छ । बाल्यकालमा ‘ह्वाइट ड्यान्डेलियन’ हातमा लिएर निकै रमाउँथिन् शिवाङ्गिनी ।
कोभिड–१९ को लकडाउनको समयमा संसारभर मानिसहरू घरभित्र मात्र सीमित रहेका थिए । अरुबेला मानिसको भीड लाग्ने ठाउँ शून्य थिए । तर त्यही समयमा प्रकृतिले भने नयाँ जीवन पाएको महसुस गरेकी थिइन् । ‘मानिसहरूले अरुबेला जता पनि फोहोर फाल्ने, प्रकृतिलाई दु:ख दिने काम गरे पनि त्यो समयमा कम भएको थियो । ‘प्रदूषण घट्यो, आकाश सफा भयो, नदी र समुद्रले पनि केही राहत पाए,’ उनले भनिन्, ‘त्यसैले ह्वाइट ड्यान्डेलियन’ उडेर आकाशतिर गएको चित्र कोरेकी थिएँ । त्यही अनुभूतिलाई मैले चित्रमार्फत प्रस्तुत गरें ।’
उनी आफ्ना चित्रहरू यो बनाउँछु भनेर सोचेर साथै अनुमान गरेर भन्दा पनि बिनायोजना बनाउने गरेको सुनाउँछिन् । ‘मैले पूर्व अनुमान गरेर वा देखेर होइन कि भावनाका आधारमा चित्र बनाउँछु’ उनले भनिन् । शिवाङ्गिनीले कतार र भारत आर्ट फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । विदेशको तुलनामा नेपालमा आर्टलाई महत्व नदिएको जस्तो उनी महसुस गर्छिन् ।
आर्थिक अवस्था कमजोर भएका कारण कला सबैको प्राथमिकतामा पर्न नसकेको उनी महसुस गर्छिन् । तर शिवाङ्गिनी आफूले चित्र बनाउनुको मुख्य उद्देश्य पैसा कमाउनु मात्र नभएको सुनाउँछिन् । ‘चित्र बेच्नु मात्रै मेरो उद्देश्य होइन, मेरो लागि सबैभन्दा ठूलो खुसी भनेको मेरो सिर्जना सधैभरि रहिरन्छन् भन्ने हो,’ उनले भनिन्,’ ‘हामी सधैं रहँदैनौं । तर कला हजारौँ वर्षसम्म बाँच्छ । त्यसैले सिर्जना गर्नु मेरो लागि सबैभन्दा ठूलो आनन्दको कुरा हो ।’
चित्रसँगै उद्यम
शिवाङ्गिनीका चित्रहरूले दर्शकको ध्यान तानेका छन्, त्यही चित्रहरूको संगममा उनले बनाएका पश्मिना सलहरूले पनि आकर्षण गरिरहेका छन् । सुरुवाती दिनमा अनुभवका लागि पश्मिना सल बनाएको बताउने उनले देश, विदेश सबै ठाउँमा निकै मन पराएपछि त्यसलाई निरन्तरता दिएकी हुन् ।
‘मेरा आर्टहरू ग्यालरीका भित्तामा मात्र सीमित नहून्, आर्टप्रेमीहरूले त्यसलाई दैनिक जीवनमै अनुभव गर्न सकून् भन्ने उद्देश्यले चित्रहरूलाई सलमा उतारेकी हुँ,’ उनले भनिन्, ‘स्वदेश, विदेशमा, सबैले निकै मन पराउनुभयो । खुसी लागेको छ ।’
आफूले पश्मिना सलमा प्याकेजिङदेखि सबै सामान नेपालको प्रयोग गरेको उनी सुनाउँछिन् । ‘मेड इन नेपाल साथै प्योर पश्मिना भएर पनि होला चित्र जस्तै सलको डिमान्ड पनि छ,’ उनले भनिन् ।
उनका पश्मिना सलहरू विभिन्न स्टाइल सिर्जना गरेर हरेक पहिरनमा लगाउन सकिन्छ । उनको कलाले चित्रमार्फत फरक कथा बोलेजस्तै सलले पनि सांकेतिक अर्थ बोकेका छन् । उनका हरेक चित्रका सल छन् । सानैदेखि कला क्षेत्रमा गहिरो रुचि राख्ने उनी चित्र बनाउन आफ्नी आमाबाट प्रभावित भएको बताउँछिन् ।
विदेशमा अध्ययन गरी आफ्नै देशमा केही गर्ने सोचले आएकी शिवाङ्गिनी अभिनेतृ, उद्यमीसँगै चित्रकारका रूपमा आफ्नो पहिचान बनाएकी छिन् । एक दशकअघिदेखि चित्रहरू बनाउँदै आएकी उनले कतार र भारतका आर्ट फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । एक सन्तानकी आमा उनीे बच्चालाई समय दिएर बचेको समयमा चित्र बनाउनुका साथै उद्यममा लागेकी छिन् ।
उनी आर्टप्रेमीकी प्रेरणाकी स्रोत बनेकी छिन् ।उनले आफ्नो एकल कला प्रदर्शनी गत असारमा तीन हप्तासम्म काठमाडौंको ठमेलस्थित ‘द कला सलोन’ मा गरेकी थिइन् । उनले अमूर्त चित्रकलामार्फत जीवन, संघर्ष, भावना, आशा र पहिचानका अनेक आयामलाई अभिव्यक्त गरेकी थिइन् ।