Successfully Copied

प्रिय सखी

समाजमा नानीचा, प्याउली, मञ्जु, नानीजस्ता कति महिला छन्, जसका इच्छा–आकांक्षा समयको भेलसँगै बगिरहेका छन् ।


डा. सावित्री थापा गुरुङ
आज मैले मेरी प्यारी बालसखा नानीचालाई बेस्सरी सम्झें । अझ आजकलको भाषामा भन्ने हो भने, बेस्सरी मिस गरें ।
नानीचाको विवाह भएन । किन भएन वा उनले गर्न चाहिनन् । ऊनको रूप पनि राम्रै हो, तर विवाह किन गरिनन् ? मैले कहिल्यै सोधिन । प्याउली दिदीकी जेठी छोरीको विवाह भारतमा भएको थियो । मैले उनलाई बूढाले थाहा नपाउने गरी परिवार नियोजन गर्ने सल्लाह भने दिएकी थिएँ । उनले गरिन् कि गरिनन्, त्यो पनि थाहा भएन । उनका वर्षौंटे सन्तान र उनको दुब्लो शरीर देख्दा म अत्यन्त दु:खी हुन्थें । त्यसैले उनलाई सहयोग गर्ने मन लाग्थ्यो ।
बेलाबेलामा म घर जाँदा नानीचा मलाई भेट्न आउँथिन् । हाम्रो कुराकानी साधारण नै हुन्थ्यो । सञ्चो, विसञ्चो, यस्तै उस्तै कुरा हुन्थे । धेरै वर्ष भइसक्यो, कति त भुलियो । मंगलपुर नगएको पनि करिब १० वर्ष भइसक्यो ।
नानीचालाई पनि विवाह गर्ने मन थियो होला, उनकी आमा छिटै स्वर्गे हुनुभयो, खोइ अन्य परिवारले प्रयास गरे वा गरेनन् । म अहिले सोच्छु, नानीचा जीवनका बारेमा के सोच्दी हो, ऊ पढ्न गएको पनि मलाई सम्झना छैन । मलाई लाग्छ, विद्या त सबैले आर्जन गर्नुपर्छ । विवाह नगर्दा मानिसलाई त्यति फरक नपर्ला, तर शिक्षाबिना मानिसले संसारको सार थाहा पाउन सक्दैन । नानीचालाई पनि पढ्न नपाएकोमा धेरै चिन्ता होला, जति मलाई मेरा साथीसंगीहरूले पढ्न नपाएकोमा चिन्ता छ ।
मेरी अर्की सखी (दिदी) थिइन्, मञ्जु । उनलाई विवाह गर्ने मन थिएन । तर उनको विवाह सानो उमेरमा भयो । मलाई अहिले पनि सम्झना छ, मैले मञ्जु दिदीलाई, यति छिटो विवाह नगर्नुस् भनेकी थिएँ । त्यसबेला मलाई दिदी गएपछि मेरी खेल्ने साथी नहुने कुराको चिन्ता थियो । रत्नमाया फुपूका अगाडि कसको बोल्ने हिम्मत ? छोरीको विवाह गरिदिनुभयो । उहाँलाई एउटी छोरीको विवाह गरी आफ्नो कर्तव्यबाट उम्कने चिन्ता थियो । मञ्जु दिदीका एक छोरा पनि थिए । तर दिदीको दाम्पत्य जीवन त्यति सुखमय भएन । त्यसैले उहाँ अलग्गिएर बस्न थाल्नुभयो ।
नानीचा, नानीचा मात्र भनेर चिनिइन्, तर उनका इच्छा–आकांक्षाले मूर्तरूप लिन पाएनन् । शिक्षा लिन पाएको भए, उनीभित्र रहेको बलियो पक्षले उजागर हुने मौका पाउँथ्यो होला । त्यसले जगमा फूल खेलाउँथ्यो होला । शिक्षा लिन पाएको भए, प्याउली दिदीले पनि वर्षौटे बच्चा जन्माउनबाट बच्ने थिइन् र स्वस्थ जीवन बिताउन पाउने थिइन् । आफ्ना अन्य चाहना पूरा गर्ने थिइन् । मञ्जु दिदीले पनि पढ्न पाइनन् । उमेर पुगेपछि विवाह भएको भए दाम्पत्य जीवन सफल हुन्थ्यो होला ।
स्वास्थ्यमा जनसाधारणको पहुँच हुनका लागि कुनै पनि मानिसले थाहा पाउनुपर्छ । थाहा पाउनुको मतलब हो, जानकारी हुनु । जानकारीका लागि कुनै पनि व्यक्तिले शिक्षा लिनु आवश्यक छ । यदि प्याउली दिदीले राम्रो शिक्षा हासिल गर्नुभएको भए उहाँको जीवन सुखी र स्वस्थ हुन्थ्यो ।
यसको मतलब उहाँहरूले केही गर्नुभएन भन्ने अर्थ नलागोस् । मात्र कसरी शिक्षामा पहुँच नहुँदा समाजले आफ्ना सदस्यबाट पाउने योगदान गुमाउँछ र गुमाइरहेछ भन्ने मात्र हो ।
अर्की मेरी साथी/दिदी हुनुहुन्छ नानी । लेखापढीको नाम अर्कै होला, जुन मैले जान्ने प्रयास गरिन । मलाई ‘नानी’ नै प्यारो लाग्थ्यो । म सानो हुँदा र अहिले पनि, उहाँ त्यो परिवारकी जेठी छोरी हुनुहुन्थ्यो । उहाँले धेरै पढेजस्तो लागेन । यद्यपि उहाँका भाइबहिनीहरूले भने धेरै पढ्ने अवसर पाए । उहाँले पनि विवाह गर्नुभएन । बूढी आमा तथा अन्य परिवारलाई रेखदेख गर्दै हुनुहुन्छ । उहाँले पनि राम्ररी पढ्न पाएको भए, जीवनको मोड अर्कै हुन्थ्यो होला ।
हुन त विवाह गर्नैपर्छ भन्ने छैन । तर शिक्षा भने अति आवश्यक छ, शिक्षबिना कुनै व्यक्ति पूर्णरूपमा सफल हुन सक्दैन । आफू र समाजलाई पनि बुझ्न सक्दैन ।
मेरी अर्की श्रेष्ठ थरकी साथी थिइन् । उनले पनि धेरै पढ्न पाएजस्तो लाग्दैन । उनी जीवनभर अविवाहित नै रहिन् । मैले भेट्दा उनी खुसी नै देखिन्छिन् । उनले पनि उच्च शिक्षाको अवसर पाएकी भए आफूलाई बुझेर समाजलाई पनि बुझ्ने अवसर प्राप्त गर्ने थिइन् । यद्यपि उनले आफ्नो परिवारलाई प्रशस्त सहयोग गर्दै १०२ वर्ष पुगेकी आमाको राम्रो स्याहार गरिरहेकी छिन् ।
समाजमा नानीचा, प्याउली, मञ्जु, नानीजस्ता कति महिला छन्, जसका इच्छा–आकांक्षा समयको भेलसँगै बगिरहेका छन् । हामीले उनीहरूलाई समयको भेलसँग बग्न दिन, समयलाई उपयोग गर्न, इच्छानुसार चल्न अनि आत्मनिर्भर तथा सबल हुने अवसर दिनुपर्छ । शिक्षा नै आँखाको ज्योति हो । शिक्षाबिना मानिस अन्धो हुन्छ । शिक्षाले के पुरुष के महिला सबैलाई अघि बढ्न र सबल हुन मद्दत पुर्‍याउँछ ।
–लेखक प्राध्यापक हुन् ।

 Image