Successfully Copied

१० बुँदे घोषणापत्र जारी गर्दै ‘कर्णाली छोरी सम्मेलन–२०८३’ सम्पन्न

सम्मेलनमा सहभागी छोरीहरूले जिल्लागत रूपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा आफ्ना अनुभव, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए। अधिकांश सहभागीले समाजमा छोरीप्रति गरिने विभेदपूर्ण व्यवहार अझै परिवर्तन हुन नसकेको बताएका थिए।


कर्णाली प्रदेशका ७९ वटै स्थानीय तह तथा लोपोन्मुख एवं सीमान्तकृत समुदायका छोरीहरूको सहभागितामा सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ ९दोस्रो संस्करण० १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा जेठ १६ र १७ गते दुई दिनसम्म सञ्चालन भएको सम्मेलन ज्योति फाउन्डेशनको आयोजनामा तथा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्य र समन्वयमा सम्पन्न भएको हो।
सम्मेलनमा लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी तथा छाउपडीजस्ता विषयमा व्यापक छलफल भएको ज्योति फाउन्डेशनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन्।
सम्मेलनमा सहभागी छोरीहरूले जिल्लागत रूपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा आफ्ना अनुभव, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए। अधिकांश सहभागीले समाजमा छोरीप्रति गरिने विभेदपूर्ण व्यवहार अझै परिवर्तन हुन नसकेको बताएका थिए।
दसै जिल्लाका छोरीहरूले शिक्षा, स्वास्थ्य, अवसर र आधारभूत अधिकारमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। विशेषगरी डोल्पासहित दुर्गम जिल्लाका महिलाले शिक्षा र स्वास्थ्य सेवामा भोग्नुपरेका कठिनाइबारे अनुभव साझा गरेका थिए।
सम्मेलनले बालविवाह, लैङ्गिक विभेद तथा विभिन्न कुप्रथाहरू कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणमा प्रमुख बाधक रहेको निष्कर्ष निकालेको छ। घोषणापत्रमार्फत बालविवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारले स्पष्ट रणनीति र कार्ययोजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।
त्यस्तै, महिनावारीसँग सम्बन्धित विभेदकारी अभ्यास अन्त्य गर्दै मर्यादित र सुरक्षित महिनावारी सुनिश्चित गर्न विद्यमान कानुनहरूको पूर्ण कार्यान्वयन गर्नुपर्ने, विद्यालय तथा समुदायस्तरमा महिनावारी आराम कक्ष र आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
घोषणापत्रमा छोरीहरूको उच्च शिक्षाका लागि विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन तथा विस्तार, विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण, प्रविधिको दुरुपयोगबाट हुने हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी र शैक्षिक सुधार, किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रवर्द्धनलगायत विषय समेटिएका छन्।
यसैगरी, जाजरकोट केन्द्रविन्दु भएर गएको २०८० सालको भूकम्पबाट क्षति पुगेका विद्यालयहरूको पुनर्निर्माणलाई तीव्रता दिन, छोरीहरूको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउन र अघिल्लो सम्मेलनबाट जारी घोषणापत्र कार्यान्वयनमा विशेष ध्यान दिन सरोकारवालासँग आग्रह गरिएको छ।
सम्मेलनमा ‘शासनको बागडोरमा छोरी’, ‘प्रेरणाका प्रतिविम्ब’, ‘ज्ञानको उज्यालोमा छोरी’ र ‘आवाजविहीनहरूको आवाज’ लगायत विषयमा महिला राजनीतिज्ञ, प्रशासनिक नेतृत्व तथा सञ्चारकर्मीहरूबीच अन्तरक्रिया गरिएको थियो। उनीहरूले आफ्नो संघर्ष, अनुभव र सफलताका कथा सुनाउँदै नेतृत्वमा महिलाको सहभागिताको महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशका ३३ प्रतिशत महिला अझै निरक्षर रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै महिला साक्षरता र सशक्तीकरणका लागि तीनै तहका सरकारले विशेष जिम्मेवारी वहन गर्नुपर्ने बताए।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव नहुने बताउँदै छोरीहरूलाई अवसर र नेतृत्वका क्षेत्रमा थप प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।

 Image