सन् २००१ को कुरा हो । राजीव झा रसियाबाट एमबीबीएस र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट जनरल सर्जरीमा एमएस तथा एमसीएच सिध्याएर प्रसूति गृहमा इन्टर्नसीप गर्न आइपुगेका थिए । उता रसियाबाटै एमबीबीएस तथा चीनबाट एमडी सिध्याएर स्वदेश फर्केकी ‘ब्ल्याक ब्युटी’ थिइन्, कुमकुम गुप्ता । उनी पनि सोही अस्पतालमै इन्टर्नसीप गरिरहेकी थिइन् ।
‘फस्र्ट साइट लभ पर्यो मेरो त । तर उनले मलाई बाल दिइनन्,’ डा. राजीव पुलकित हुँदै ती दिन स्मरण गर्छन्, ‘ऊ त मसँग बोल्दै नबोल्ने, घमण्ड देखाउने । म पनि भइहाल्यो त भनेर छोडिदिएँ ।’
तीन महिना प्रसूति गृहमा काम गरेपछि राजीव वीर अस्पताल पुगे । कुमकुम भने यौवनमा केटाले साइड हान्दा केटीहरू अलिकति भाउ खोज्ने तर्क गर्छिन् । भन्छिन्, ‘तर मैले एउटा कुरा भने राम्रैसँग नोटिस गरेकी थिएँ । राजपरिवारको हत्यापछि राजीवले कपाल मुण्डन गरेर आउनुभएको थियो । मलाई त्यो देखेर लागेको थियो–कस्तो थड्सफुल र दयाभाव भएका मानव । त्यसले मलाई केही आकर्षित गरेको थियो ।’
जनकपुरका ब्राह्मण परिवारका सुरेन्द्र र बिबेखा झाका चार सन्तानमध्येका हुन् डा. राजीव । उनका दुई दिदी र एक भाइ छन् । कुमकुम भने बुटवलका व्यावसायिक घराना गुप्ता परिवारमा जन्मिएकी हुन् । उनका अभिभावक राधेश्याम र लीलावती गुप्ताले उतिबेला पनि छोरीलाई डाक्टर पढाउने हिम्मत गरे । कुमकुमका एक दाइ र दुई भाइ छन् ।
कुमकुमका अनुसार आफू डाक्टर बन्नुमा बुवाको ठूलो योगदान छ । उनले सोचेकै थिइनन्, आफू पनि वीर अस्पतालमै इन्टर्नसीप गर्न पुगुँला भनेर । जब वीर पुगिन् तब डा.राजीवको मातहतमा काम गर्नुपर्यो । राजीवले मधुमेहका बिरामीको ड्रेसिङ गर्न लगाइदिए । वरिष्ठ कन्सल्ट्यान्ट न्यूरो सर्जन प्रा.डा. राजीव भन्छन्, ‘त्यो उनलाई दु:ख दिने वा बदला लिने मेरो नियत थिएन । त्यही बहानामा कमसेकम उनलाई देखिराख्न त पाइन्छ भन्ने थियो ।’
उता वरिष्ठ स्त्रीरोग विशेषज्ञ कुमकुमलाई भने राजीवको कामप्रतिको दृढता, विषयगत दक्षता र सहयोगी व्यवहारले दिनप्रतिदिन तान्दै लगिरहेको थियो । भेट भएको करिब छ/सात महिनापछि उनीहरू विस्तारै नजिक हुँदै गए । आपसमा कुराकानी गर्न थाले । ड्युटी राउन्ड सिध्याएर उनीहरू सँगै खाजा खान जान्थे । खाजा पसल र वीर अस्पतालको क्यान्टिन उनीहरूको भावना आदानप्रदान गर्ने थलो बन्यो ।
ड्युटीको प्रेसर खेपिरहेका राजीवलाई एकदिन एक्कासि कुमकुमले मेरो त घरमा विवाहको कुरा चलिरहेको छ, तपाईंले मसँग विवाह गर्ने कि नगर्ने ? भन्ने प्रश्न गरिन् । राजीव असमञ्जसमा परे । आफू ब्राह्मण परिवारको केटो, केटी परिन् गुप्ता । त्यो समयको मधेशी समुदायमा यो कुनै हालतमा स्वीकार्य थिएन, राजीव झस्किए, कुमकुमको प्रश्नले उनको मथिंगल हल्लाइदिएको थियो । उनले आफैंसँग कयौं प्रश्न गरे, उत्तर एउटै पाए–‘यो केटीसँग विवाह गरिनँ भने मैले जीवनभर चाहेजस्तो साथ पाउँदिनँ ।’
यही कुरा राजीवका लागि शक्ति बन्यो र सुनाए आफ्नी आमालाई । त्यसपछि घरमा रुवाबासी सुरु भयो । ‘आफ्नै जातका एक से एक केटी डाक्टर छन् तँलाई किन त्यही केटी चाहियो’ भन्ने कुरा आएपछि उनले एकपटक कुमकुमसँग भेटघाट गर्नहोुस्, मन परेन भने म तपाईंहरूले भनेकै केटीसँग विवाह गर्छु भनेर आमालाई मनाए ।
राजीव सम्झिन्छन्, ‘त्यतिबेला कुमकुम स्कुटीमा रातदिन दौडिने काली केटी झन् काली थिइन् । मेरी आमा र दिदीले उनलाई भेटिसकेपछि दिदीले भन्नुभयो, बाबु केटी त तिमी भन्दा काली रैछ । तब मैले भनें, उसको मन र व्यवहार कस्तो लाग्यो ? त्यपछि उहाँहरूले स्वीकृति दिनुभयो विवाहका लागि ।’
कुमकुमले आफ्ना अभिभावकलाई मनाइन् । एकपटक बुटवलबाट ल्याइएका कुमकुमका आफन्त पर्ने बिरामीलाई राजीवले राम्रोसँग वीर अस्पतालमा उपचार गरेका रहेछन् । उनले आफ्ना बुवालाई तिनै डाक्टर हुन् भनेर चिनाइन् । त्यसपछि उनका बुवाले मानिहाले । जनकपुर र बुटवलमा विवाह गर्दा जातको प्रश्न उठ्ने भएकाले उनीहरूको विवाह काठमाडौंमै भयो । किनभने परिवार, इष्टमित्र–आफन्तहरूका ९५ प्रतिशत मानिसले यो विवाह अस्वीकार गरेका थिए ।
विवाहपछि दुवैले थप स्वतन्त्रता प्राप्त भएको महसुस गरे । ‘विवाहअघि कामबाट थोरै ढिला हुनासाथ घरपरिवारको फोन आउने, कडा निगरानीमा बस्नुपर्ने, हरेक काममा प्रश्न तेर्सिने हुन्थ्यो । विवाहपछि एक–अर्काको साथ र सहयोगले स्वतन्त्र र खुसी जीवन बिताउने अवसर मिल्यो,’ दुवै भन्छन् ।
विवाहपछिका २३ वर्ष कसरी बिते, यी दुवैलाई पत्तो छैन । आज पनि उनीहरू नव प्रेमी–प्रेमिका जस्ता छन् । घण्टौं कुरा गरेर बस्न सक्छन् । सम्बन्धलाई तरोताजा राख्न कहिलेकाहीँ यी दुई आज पनि घरैमा क्यान्डल लाइट डिनरमा मन्त्रमुग्ध हुन्छन् ।
कुमकुम भन्छिन्, ‘अहिले पनि हामी नवजोडी जस्तै छौं । समय–समयमा घरको सबै बत्ती निभाएर क्यान्डल बाल्छौं । रोमाञ्चक साथ र मुडका लागि हातमा वाइन लिन्छौं । तर त्यो भन्दा बढी हामी एक–अर्काको कुरा सुन्छौं–खान्छौं ।’ त्यसबाहेक उनीहरू सम्बन्ध झन्झटिलो नबनोस् भनेर छुट्टीमा निस्किन्छन् । विदेशमा हुने न्यूरोसम्बन्धी कन्फरेन्सहरूमा राजीव श्रीमतीलाई सँगै लिएर जान्छन्, कुमकुमको पनि यही पारा छ । खानपान, यात्रा, संगीत र नृत्यमा रुचि राख्ने यो जोडी एक–अर्काको असल साथी बनेर जीवनभरको यात्रामा छ । न त यो यात्रा कहिल्यै दिक्कलाग्दो बनेको छ, न एक–अर्काको बोझ नै । छ त केवल रोमान्स, प्रेम र आत्मीयता ।
राजीव–कुमकुमका दुई छोरा छन् । सन्तानको आगमनपछि राजीवका आमाबुवाले दुवै नातिको हेरचाह गरिदिएकाले दुवैलाई आफ्नो काम र करियरमा रफ्तार लिन सहज भएको उनीहरूको भनाइ छ । त्यसो त कुमकुम जनकपुर घरमा जाँदा पहिरन, खानपानदेखि प्रत्येक कुरा उतैको फलो गर्छिन् । राजीवका लागि श्रीमती जीवनसाथी–सहयात्री हुन्, उनलाई घर होस् वा बाहिर अरुले भन्ने गरेको जेन्डर रोलमा विश्वास छैन । बेडरुम मिलाउने, बाथरुम सफा गर्नेलगायतका घरायसी काम राजीव आफैं गर्छन् । ठाकठुक त हुन्छ तर क्षणभर टिक्दैन । उनीहरू स–साना कुरा पनि एक–अर्कालाई नभनी बस्नै सक्दैनन् ।
थोरै समय मिल्यो कि कुमकुम नर्भिकदेखि वीर अस्पताल पुग्छिन् र हिँड्दै दुईजना टिपटपको समोसा खान न्यूरोड पुग्छन् । दाम्पत्य सम्बन्धलाई दह्रो बनाउन आपसी समझदारी, एक–अर्काको भावना बुझेर त्यसको कदर गर्ने स्वभाव, बलियो विश्वास र असमझदारीलाई तत्कालै निप्ट्याउने बानी आवश्यक हुने राजीवको तर्क छ । कुमकुमलाई भने सँगै समय बिताउने, सुख–दु:ख बाँड्ने, महिलाका कुरा सुनिदिने र त्यसलाई सम्मान गरी सम्बोधन गरिदिने हुनुपर्छ भन्ने लाग्छ ।
कतिपय अवस्थामा कयौं बिरामीको नि:शुल्क उपचार गरिदिएको यो जोडीमा सेवाभाव पनि प्रशस्तै देखिन्छ । यो साझा रुचिले पनि दुवैलाई बलियो गरी बाँधेर राखेको छ ।
कुमकुमको नजरमा डा. राजीव
बलियो पक्ष : स्वास्थ्य क्षेत्रमा दिएको योगदान ।
लत : अलिकति समय पाउना साथ टिभीमा झुन्डिइराख्ने ।
सुधार्नुपर्ने : लामो समयसम्म टिभी हेर्न छोडे स्वास्थ्य राम्रो हुन्छ ।
मनपर्ने स्वास्थ्यकर्मी : स्व.डा.उपेन्द्र देवकोटा ।
प्रिय पुस्तक : न्यूरो सर्जरीका पुस्तकहरू ।
कस्ता श्रीमान् : असाध्यै सहयोगी र मेरा बेस्ट फ्रेन्ड ।
के भएको हेर्ने रहर छ ? : खुसी, स्वस्थ र निर्णायक तहमा पुगेको हेर्ने रहर छ ।
राजीवको नजरमा कुमकुम
बलियो पक्ष : राम्रो स्वभाव ।
लत : धेरै पढिराख्ने ।
सुधार्नुपर्ने : छिट्टै भावुक नभएको राम्रो ।
मनपर्ने स्वास्थ्यकर्मी : डा.ज्योति न्यौपाने ।
प्रिय पुस्तक : ह्वेन ब्रिद बिकम्स एयर ।
कस्ती श्रीमती : निकै भाग्यमानी ।
के भएको हेर्ने रहर छ ? : स्वस्थ, शान्त र खुसी भएको हेर्ने रहर छ ।
तस्बिरहरु : महेशमान प्रधान