शारदाकुमारी पौडेल दरबार हाईस्कुलकी प्रथम महिला प्रधानाध्यापक हुन् । स्थापना भएको १७२ वर्षपछि उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न पाइन् । निरन्तर ३२ वर्षको अध्यापनपछि उनी प्रधानाध्यापक बन्न सफल भएकी हुन् । कास्की भण्डारथोकमा जन्मिएकी उनका बुवा पहिले शिक्षण पेसामा थिए । पछि राजनीतिक र सामाजिक कार्यकर्ता भएकाले बसाइसराइ भएको होला भन्ने उनको ठम्याइ छ । शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा उनीसँग गरिएको कुराकानी :
पढाइ र जागिरे जीवन कस्तो रह्यो ?
बर्दियामा बसाइसराइ भएकाले १ कक्षादेखि १० कक्षासम्म गुराँस माविमा पढें । त्यसपछि ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा विज्ञान विषयमा आइएस्सी, ब्याचलर पपुलेसन, इकोनोमिक्समा गरें । मास्टर्स एजुकेसन म्यानेजमेन्ट एण्ड प्लानिङ (एपीएम) मा गरें । त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा र त्रिभुवन युनिभर्सिटीबाट पपुलेसनमा मास्टर्स पूरा गरें । मैले तीनवटा विषयमा मास्टर्स गरेकी छु ।
५१ सालदेखि शिक्षण पेसामा आबद्ध छु । आयोगले खुलाएको प्राइमरी टिचर भ्याकेन्सीमार्फत बिजेश्वरीस्थित गीतामातामा प्राइमरी लेवलमा अस्थायी शिक्षकबाट अध्यापन सुरु गरें । कक्षा अपग्रेड भएपछि ३–४ वर्षसम्म ग्रेड टिचरका रूपमा काम गरें । त्यसपछि स्थायीमा नाम निकालेर विज्ञान, गणित पढाउन थालें । बालुवाटारस्थित महेन्द्र राष्ट्र माविमा पनि १० वर्ष पढाएँ । शिक्षा सेवा आयोगमा ७१ मा खुल्ला प्रतिस्पर्धामा नाम निकालेपछि दरबार हाईस्कुलमा पढाउन थालें । अर्थशास्त्र पढाउँछु, शिक्षक नभएको बेलामा गणित र विज्ञान पनि पढाउँछु । २०८२ मंसिर ४ गतेबाट प्रधानाध्यापकका रूपमा यहाँ छु ।
शिक्षण पेसा नै किन रोज्नुभयो ?
सुरुमा बुवा पनि शिक्षक हुनुहुन्थ्यो । समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा बुवाले दिनुहुन्थ्यो । नर्स वा चिकित्सक पढ्न प्रतिशतका आधारमा नाम निस्किन्थ्यो । मेरो अलिकति कम नम्बर आयो । त्यसैले शिक्षा पढें । पढ्दापढ्दै पढाउन सुरु गरें । बिहान पढरे दिउँसो पढाउन थालें ।
विद्यालय स्थापनाको १७२ वर्षमा प्रथम महिला प्रधानाध्यापक हुँदा कस्तो महसुस भयो ? महिला प्रधानाध्यापक पाउन किन यति धेरै वर्ष लागेको होला ?
केही हदसम्म खुसी छु । जिम्मेवारी र चुनौतीका चाङ छन् । नेतृत्वमा महिलालाई नपत्याइएका कारण यति धेरै वर्ष लागेको हुन सक्छ । त्यसो त महिलामा पनि मैले गर्न सक्छु भन्ने इच्छाशक्ति हुनुपर्छ । परिवार, समाजले पनि नेतृत्व गर्न सक्ने हिम्मत दिनुपर्छ । चुनौतीलाई स्वीकार गर्ने साहस हुनुपर्छ । कार्यक्षेत्रमा कर्मचारी, म्यानेजमेन्ट टिमको सहयोग पनि हुनुपर्छ ।
प्रधानाध्यापक भएपछि के–कस्ता काम गर्नुभयो ?
यो स्थानमा पुग्न धेरै संघर्ष गरियो । निमित्त लेखेर नदिए पनि ४ वर्ष काम गरें । कतिपय अवस्थामा गर्दिन छोडदिन्छु भनेर राजीनामा बोकेर हिँडे । फेरि अर्को मनले महिलाले गर्न सक्दैनन् भन्ने भाष्यलाई चिर्नुपर्छ भन्ने लाग्यो । छोरी मान्छेका लागि म प्रेरणाकै स्रोत बन्छु कि भन्ने लाग्यो । बनिसकेपछि कतिपय अवस्थामा काम गर्न गाह्रो छ । इन्टरनल कुरालाई ट्याकल गर्नुपर्यो । सहनशक्ति कम भएकालाई टिक्न गाह्रो छ । अन्य कुरामा टिमबाट सहयोग, म्यानेजमेन्ट, कार्यालयको, स्थानीय जन समुदायको, अभिभावकको सपोर्ट छ ।
म आइसकेपछि सिस्टममा स्कुल चलेको छ । पहिले जस्तो रुटिन भए पनि पूरा समय शिक्षक नबस्ने, भए पनि नपढाइदिने, बिदा बढी बस्ने, खबर नगरी बिदा बस्ने जस्ता समस्या छैनन् । नियमित कक्षा संचालन भएको छ । मनिटरिङ गरिरहेकी छु, शिक्षक कक्षामा छिर्ने समय, क्यालकुलेनस, क्रियाकलापमा जोड दिएकी छु । लग बुकमा भर्ने गरिन्छ । कतिपय कुरामा साथीहरूको कोअपरेसन राम्रो छ । एक वर्षअघि जुन संघर्ष थियो, त्यो भन्दा अलिक भिन्न सकारात्मक परिवर्तन भएको छ । सबैको सहयोग, सल्लाह र टिमवर्कमा शैक्षिक स्थिति सुधार्न लागिपरेकी छु । पहिले भन्दा कन्फिडेन्ट लेवल पनि वृद्धि भएको छ ।
कोभिडको समयमा पनि अनलाइन कक्षा चलाउनुभयो होइन ? त्यतिबेला अवस्था कस्तो थियो ?
२०७८ सालमा कोभिड–१९ महामारीको समयमा भर्चुअल कक्षा सञ्चालन भएको थियो । यसैबीच, २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको विद्यालय भवनको पुनर्निर्माण कार्य पनि सम्पन्न भयो । काठमाडौं महानगरपालिकाको सहकार्यमा कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरियो र भौतिक कक्षा पुन: सञ्चालन भएपछि विद्यार्थी संख्या बढेर ३ सय ५० पुग्यो ।
अन्त सबैतिर बन्द भएको बेला कोभिडमा कक्षा सुरु गरिहाल्यौं । म आउनासाथ भूकम्प गयो, केही समय पढाइ भएन । टेन्ट राखेर पढायौं । सुरुमा त थोरै विद्यार्थी अनुशासनहीन थिए, कस्तो ठाउँमा आएजस्तो महसुस भयो । बाल्मीकि क्याम्पस परिसरमा टहरा बनाएर त्यहीँ पढाइ भयो । त्यति विद्यार्थी आएनन् । कुनै संस्था ल्याएर, खाजा, स्टेसनरी दिँदा पनि आएनन् । त्यतिबेला विश्वास गुमेको अवस्था थियो । ७५–७६ जनामा ७१ जना विद्यार्थी थिए । कोभिड भयो, भवन थिए, विद्यार्थी भएनन् । आक्रामक रूपमा अघि नबढेमा विद्यार्थी आउँदैनन्, भवन मात्र भएर भएन ।
कोभिड भयो, त्यो हामीलाई अवसर प्राप्त भएको महसुस भयो । लगत्तै कक्षा सुरु गर्नुपरेको भए शिक्षकको व्यवस्था थिएन । इसिजी राम्रो बनाउनुपर्छ भनेर प्रशिक्षक ल्याएर मन्टेश्वरी तालिम संचालन गर्यौं र त्यसपछि रोबोटिक्सको महानगरमा प्रस्ताव राख्यौं, डिजिटलाइजेसन गर्ने स्कुललाई सातवटा स्मार्ट बोर्ड आयो । महानगरले केही बजेट छुट्यायो, र्यान्स (रोबोटिक्स एसोसियसन नेपाल) सँग सहकार्य गरेर रोबोटिक्स कक्षा चलायौं । अनलाइनमा ३ सयको हाराहारी संख्या पुग्यो ।
शैक्षिक गुणस्तर सुधारिँदै जाँदा दरबार हाईस्कुलले सर्वसाधारणको मन जित्यो । आफ्ना छोरोछोरी निजी विद्यालयमा पढाइरहेका अभिभावकहरूले विस्तारै दरबार हाइस्कुल रोज्न थाले । यो नेपाली शिक्षण क्षेत्रमा भएको अहिलेसम्मकै सकारात्मक परिवर्तन हो ।
प्राइभेट स्कुलले स्कुल नगए पनि शुल्क लिँदा धेरै विद्यार्थी दरबार स्कुलको अनलाइन कक्षा लिने गर्थे । दिनमा तीन–चारवटा, रुटिङ बनाएर कक्षा संचालन गरियो । त्यही समयमा राष्ट्रव्यापी रूपमा कोभिडको प्रभावका बारेमा अनलाइन निबन्ध प्रतियोगिता गर्यौं । त्यो सफल भयो, त्यसले पनि राम्रो सन्देश दियो । फिजिकल गरेपछि विद्यार्थी घटे । फेरि शिक्षा विभागका त्यतिबेलाका शिक्षा प्रमुखसँग बाल संगठनसँग सहकार्य गरेर २५० जति विद्यार्थी ल्यायौं । यहाँका गर्दा ४ सय भए । क्रमश: विद्यार्थीहरू बढे । ०७८ सालबाट विद्यार्थीको चाप बढेर ११ सय पुगेको छ । अहिले विद्यार्थीलाई व्यवस्थापन गर्न चुनौती भएको छ ।
रोबोटिक्स कक्षा संचालन गर्ने सोच कसरी आयो ? यसबाट के–कस्तो फाइदा हुन्छ विद्यार्थीलाई ?
दरबार हाइस्कुल रोबोटिक्स कक्षा सञ्चालन गर्ने नेपालकै पहिलो सरकारी विद्यालय बनेको छ र विद्यार्थीले अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन् । विद्यार्थीमा एकदम उत्सुकता बढेको छ । ४ देखि ८ कक्षासम्म सबै ठाउँमा के गरिन्छ, विद्यार्थीको रुचिअनुसार केही विद्यार्थीलाई अवसर दिइन्छ । मलाई के लाग्यो भने हामी यो उमेरमा पुग्दा कुन कलर मन पर्छ के खानुपर्छ, कुन खेल मन पर्छ, के पढ्न मन लाग्छ भन्न सकिँदैनथ्यो । रुचिअनुसार गर्न पाइएन, छनोटको अवसर पाएनौं । विकल्प नभएपछि ४ देखि ८ सम्मका सबै विद्यार्थीलाई रोबोटिक्स अनिवार्य गराइदिँदा त्यसपछि उनीहरू आफ्नो रुचिको विषय यो रहेछ भनेर त्यसैमा लाग्छन् । मसँग यो क्षमता रहेछ, यो कुरा मैले छिटो गर्न सक्ने रहेछु भन्ने थाहा पाउँछन् । विद्यार्थीको कन्फिडेन्ट लेवल बढ्छ । यो नयाँ कन्सेप्ट भयो । किनभने विश्वबजारमा बिक्ने खालको जनशक्ति उत्पादन गर्नुछ । ऐतिहासिक विद्यालय केही न केही नयाँ गर्नुपर्छ र नयाँ धारमा लैजानुपर्छ भनेर नयाँ कन्सेप्टका रूपमा रोबोटिक्सलाई अपनायौं ।
यहाँ शुल्क लाग्छ कि ?
सरकारी स्कुल भएकाले शुल्क लाग्दैन । अभिभावक सहयोग भनेर गत वर्ष ५ सय प्रतिमहिना लिइन्थ्यो । पहिले दरबन्दी पूरा थिएन (अंग्रेजी–गणित शिक्षक), खेल प्रशिक्षक, रिसेप्सनिस्ट, सफाइ कर्मचारी मेन्टिनेन्स, रिपेयरिङ, आन्तरिक रूपमा प्रयोग गरिन्थ्यो उक्त रकम । यो वर्ष महानगरले नलिनु भनेकाले लिइएको छैन ।
संस्कृत मावि पनि यही हुँदा के–कस्तो अप्ठ्यारो परेको छ ?
१९१० मा दरबार हाइस्कुल, राणाका छोराछोरी मात्र पढ्ने भए । राणाको पण्डित्याइँ गर्ने गुरुका १९३६ सालमा छोराछोरीलाई पढाउन एउटा कोठा राखिएको रहेछ, सुरुमा । ग्राउन्ड फ्लोर प्रयोगमा थिएन । म्यानेजमेन्ट समिति सबै पछि बसेर सहकार्य गर्दा चौथो तल्लामा दिइयो । ठाउँको हिसाबले एउटै समयमा दुईवटै विद्यालय संचालन गर्न कठिन छ । यहाँ आएका कति विद्यार्थीलाई एउटै भवन एउटै पढाइ भनेर उता पनि पठाउँछौं । यहाँ नर्सरीदेखि पढाइ हुन्छ भने उता ४ कक्षादेखि सुरु हुन्छ ।
नेपालको शैक्षिक प्रणाली र पाठ्यक्रम सुधार्नुपर्ने आवश्यकता कत्तिको छ ?
पाठ्यक्रम समयअनुसार परिमार्जन हुनुपर्ने प्रावधान पनि छ । १०/ १० वर्षमा मूल्यांकन ५/५ वर्षमा सामान्य परिमार्जन भइरहेको छ । पाठ्यक्रम कार्यान्वयन नै भएको छैन । शिक्षकहरूले पाठ्यक्रमअनुसारको पठनपाठन भन्दा पनि पाठ्यपुस्तकमा के–के छ ? त्यो पढाइरहनुभएको छ । शिक्षकमा क्षमता विकास गर्न आवश्यक छ । अहिलेको पाठ्यक्रमलाई पूर्णरूपमा प्रयोग गर्ने हो भने धेरै उपलब्धिमूलक हुन्छ । तर पाठ्यक्रमअनुसार नभई पाठ्यपुस्तकका आधारमा पढाइन्छ । आमरूपमा भन्नुपर्दा कतिपय विद्यालयका शिक्षकलाई पाठ्यक्रमका बारेमा थाहै छैन । के छ, ग्रेड कसरी राखेको छ, एउटा युनिटबाट कति प्रश्न आउँछ भन्ने नै थाहा छैन । पुरातन तरिकाले भन्दा पनि समयानुसार शिक्षक अपडेट करिकुलम परिवर्तन हुनुपर्यो ।
यहाँ पढाउँदा प्रविधिको प्रयोग गरिन्छ ?
एआई कहिलेकाहीँ प्रयोग गरिन्छ, स्मार्टबोर्ड छ । कुनै शिक्षक नआएमा के खोज्ने पढाइसम्बन्धी सर्च, रिसर्च गर्छन् । विद्यार्थीले सेमिनार संचालन गर्न सक्ने भए । प्रविधिमै शत प्रतिशत भर पर्नुभन्दा पनि सहयोग लिन सकिन्छ । शिक्षकले मनिटरिङ गर्नुपर्छ । प्रविधिले सहज बनाएको छ, पूर्णरूपमा भर पर्नु हुँदैन ।
शिक्षकका समस्या र गुनासा के–के छन् ? शिक्षकलाई राज्यले कुन रूपमा हेरेको छ ?
प्रधानाध्यापकका रूपमा कार्यरत म अहिले पनि शिक्षक नै हुँ । आम शिक्षकको जे गुनासो छ त्यही हो मेरो पनि । शिक्षकलाई सेवा–सुविधा छैन, सामाजिक सम्मान छैन, किनभने राज्यले नै दोस्रो दर्जाको नागरिकको हिसाबले व्यवहार गर्यो । शिक्षकलाई कहिल्यै मोटिभेसन भएन, क्षमता विकासको अवसर प्राप्त भएन । अन्य कुरा घर बिदा, वैदेशिक भ्रमण, सरुवा–बढुवाका कुरा जति निजामती कर्मचारीमा भइरहेको हुन्छ, । शिक्षक १० औं २० औं वर्ष एकै तहमा बसिरहनुपर्ने स्थिति छ । यो कुरालाई राज्यले हेर्नुपर्छ । किनभने जनशक्ति उत्पादन गर्ने केन्द्रमा हामी छांै । राष्ट्र निर्माण गर्ने भोलिका कर्णधारका निर्माता पनि हामी नै हो । निर्मातालाई हीन भावनामा राखेमा शिक्षकलाई लगानी गर्न सक्नुपर्यो । प्रधानाध्यापकलाई, शिक्षकलाई सपोर्ट सिस्टम, तालिमको व्यवस्था हुनुपर्यो । तालिम पनि परम्परागत, चार्ट सिस्टम, प्रवचन खालको नभएर नयाँ खालका हुनुपर्छ । स्थायी, अस्थायी, राहत, करार शिक्षक भन्दा पनि एउटै नियममा एकै खालको शिक्षक भइदियो भने शिक्षकबीच विभेद हँुदैन ।
उत्कृष्ट शिक्षक कस्तो हुनुपर्छ ?
सबै मान्छे शिक्षक बन्न सक्दैनन् । शिक्षकमा पेसाप्रति समर्पण भाव, विद्यार्थीप्रति माया हुनुपर्यो । विषयवस्तुमा दक्ष हुनुपर्यो । विद्यार्थीका हरेक साना ठूला कुराको मूल्यांकन गर्न सक्नुपर्यो ।
संस्थागत विद्यालयमा आकर्षण बढ्दो छ, सामुदायिकमा विद्यार्थी आकर्षण कसरी बढाउने होला ?
संस्थागत विद्यालयले नतिजा राम्रो दिन सकेका छन् धेरै पढेका सरकारीमा । दक्षता निश्चित मापदण्डा । म्यानेजमेन्टदेखि नै फरक पर्छ । अभिभावकले बच्चा नै सम्पत्ति हुन् भनेर धेरै लगानी गर्नुपर्छ । चर्को मूल्य, ट्युसन खाजा सबै । लगानीअनुसारको आउटपुट आउने न हो । निजीमा प्रिन्सिपलले हायर एण्ड फायर गर्न सक्छन् तर हामी सरकारीलाई त्यो छैन । हामी सरकारीबाट पास भएर आएको को भन्दा को कम भन्ने हुन्छ । चलाउन सक्दैन, काममा सपोर्ट छैन, परफरमेन्स राम्रो छैन भने पनि कारबाही गर्न सकिँदैन । त्यसो त शिक्षक अपग्रेड र अपडेट भएमा विद्यार्थीको चाप बढ्छ ।
पढाउँदाको स्मरणीय कुनै घटना छन् कि ?पढाइका साथै काउन्सिलिङमा रमाउँछु । पहिले पढाउने स्कुलमा घरेलु कामदारका बालबालिकाहरू आउँथे । उनीहरू घरेलु हिंसामा पर्ने रहेछन्, हजुरबुवाबाट । कुटाइ खाएर हात सुन्निएको, नीला हात हुन्थे । पहिलो हुने विद्यार्थी पछि पढाइ बिगार्यो । चौतारीमा खाली पिरियडमा सोध्दा आफ्नो कुरा व्यक्त गर्थे । काउन्सिलिङपछि विभिन्न संस्थामा दिएर पढाइयो । ती विद्यार्थी अहिले एअर होस्टेज, होटल म्यानेजमेन्ट पढेर म्यानेजर भएका छन्, भेट्न आउँछन् । म हेड टिचर हुँदा खुसी व्यक्त गर्छन् । पहिले पढाउँदा कडा भएकाले हिटलर मिस भन्थे । कक्षामा रमाउने नाच्ने, गाउने, पढाउने बेला भने कक्षा शान्त हुनुपथ्र्यो । अहिले ती विद्यार्थी यो सब हाम्रो लागि गर्नुभएको रहेछ भन्छन् । मेरो कमाइ नै यही रहेछ भन्ने लाग्छ ।
अहिले आइतबार पनि बिदा दिने गरिन्छ, यसले शिक्षामा कस्तो असर पारेको छ ?
मलाई ठीकै लाग्यो । सबैलाई बिदा हुँदा शिक्षकलाई मात्र नहँुदा न्यायोचित हुँदैन । करिकुलमलाई परिमार्जन गरी क्रेडिट आवरलाई मिलाउनुपर्छ । विद्यार्थीलाई बिदाको एकदिन प्रोजेक्ट वर्क दिन सकिन्छ । एक दिन बिदाले इन्टरनल पर्यटन बढेको महसुस भयो ।
पढाइका अलावा यहाँ के–कस्ता कार्यक्रम छन् ?सैनिक ब्यारेकमा फुटसल, क्रिकेट, इन्टरनल गेम छन् । महानगर वा कुनै विद्यालयले इन्टर स्कुल कम्पिटिसन, वडाले स्कुलले गरेकोमा विद्यार्थीले भाग लिन्छन् । स्कुलमा दैनिक शुक्रबार कुनै न कुनै विधामा कक्षानुसार गर्ने अतिरिक्त क्रियाकलाप गराइन्छ ।
सफलता कसरी हात पार्ने ? सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
इमान्दार भएर निरन्तर रूपमा कामप्रति प्रतिबद्ध हुनुपर्छ । अनुशासन पेसाप्रतिको समर्पण पनि हुनु जरुरी छ । बुवाको कारणले यहाँ भएकाले सफलताको श्रेय उहाँलाई दिन्छु ।
हरेक क्षेत्रमा महिला कसरी सफल हुने ?
महिलाले हामी गर्न सक्छौं । समान अवसर पाएमा पुरुषभन्दा महिला कमजोर छैनौं । नेतृत्व लिने ठाउँमा अघि बढ्नुपर्छ, चुनौती फेस गर्न सक्नुपर्यो । नारामा, कानुनमा मात्र समावेशीको कुरा नराखी व्यवहारमै समावेशी हुनुपर्यो । सक्षम महिलाको मूल्यांकन प्रणाली सही हुनुपर्छ ।
जीवनको लक्ष्य के छ ?
शिक्षामै काम गर्नेछु । ५ वर्षमा स्कुललाई एउटा उचाइमा पुर्याएर छोड्छु । मेरो हातमा छैन, तर पनि यो भवनमा एउटा मात्र स्कुल चलाउन मन छ । दरबार स्कुललाई २४ सालमा भानु मावि नाम राखियो । दरबार स्कुल नै राख्ने योजना छ । प्राविधिक धारमा फरक खालको विषय राख्ने, बूढानीलकण्ठ जुन मोडलमा चलेको छ त्यही मोडलमा चलाउने रहर छ । यसको शाखा अन्त पनि खोल्न सकियोस् प्राक्टिल । यो राष्ट्रिय स्तरको स्कुलका रूपमा चिनाउने रहर छ ।
महिलालाई केही सन्देश छ ?
हामीले आफ्नो अधिकार आफैं खोज्ने हो । अधिकार हात थापेर मागेर पाइँदैन । जहाँ छांै, जुन ठाउँमा छांै, क्षमता पहिचान, विकास गर्ने र सुहाउँदो नेतृत्व लिने पनि हो । जहाँ छौं, राम्रो गरौं ।
तस्बिरहरु: महेशमान प्रधान