Successfully Copied

भदौ ५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुँदै

महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सफ्टी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला २०८३ आयोजना हुने भएको छ ।


महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सफ्टी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला २०८३ आयोजना हुने भएको छ । काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै आयोजक महिला श्रृजनशील केन्द्र र राइजिङ नेपाल प्रालि (इभेन्ट संसार डटकम)ले मेलाका बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भदौ ५ गते बिहान ११ बजे मेलाको उद्घाटन गर्नेछिन् ।
मेला भदौ ७ गतेसम्म काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा चल्नेछ । मेलामा ८० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । तीमध्ये पाँचभन्दा बढी स्टल असहाय, अपाङ्गता भएका, अशक्त तथा ग्रामीण क्षेत्रका पिछडिएका महिलालाई नि:शुल्क उपलब्ध गराइएको आयोजकको भनाइ छ । 


आयोजकका अनुसार मेलामा महिला उद्यमी तथा घरेलु व्यवसायबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनीसँगै तीज विशेष कार्यक्रम तथा विभिन्न गतिविधि सञ्चालन गरिनेछ । मेलामा महिला दिदीबहिनी तथा दाजुभाइ, नयाँ व्यापार तथा उद्यम सुरु गर्न चाहने व्यक्ति, अन्तर्राष्ट्रिय अवलोकनकर्ता, कलाकार तथा विद्यार्थी, सरकारी निकायका प्रतिनिधि, स्वदेशी तथा विदेशी पर्यटक, नेपाली सामग्री निर्यातकर्ता तथा मिडिया र पत्रकारलाई लक्षित गरिएको छ । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, महिला उद्यमशीलतासँग सम्बन्धित वस्तु तथा सेवा तथा तीज विशेष खानाका परिकार मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । त्यस्तै, अवलोकनकर्ताका लागि नि:शुल्क स्वास्थ्य शिविर र नि:शुल्क मेहेन्दी आर्टको समेत व्यवस्था गरिनेछ । यसैगरी अवलोकनकर्ताका लागि उपहारको समेत व्यवस्था गरेको आयोजकले बताएको छ । मेलामा आउनेलाई हात खाली नजाने गरी विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
महिला श्रृजनशील केन्द्रका अनुसार संस्थाद्वारा सञ्चालित सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायत विभिन्न क्षेत्रमा आयोजित मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रम मार्फत हालसम्म ७ सय भन्दा बढी महिला स्वरोजगार भएका छन् । 

 Image