माधवी भट्ट
कुनै उत्सवको क्षण होइन
यो इतिहासमाथिको प्रश्न हो
स्मृतिसँगको मुठभेड हो
इतिहासले सधै आफूलाई
निष्पक्ष ठहर्यायो
तर निष्पक्षता
कहिल्यै निरपेक्ष हुँदैन
यो शक्ति सम्बन्धको
सूक्ष्म व्याकरण हो
जहाँ छनोट अदृश्य बनाइन्छ
र अदृश्य छनोटले नै
केन्द्र तय गर्छ–परिधि तोक्छ
अनि अर्थको स्वामित्व निर्धारण गर्छ
त्यही परिधिमा हामी थियौं
उपस्थित भएर पनि
अनुपस्थित बनाइएका महिलाहरू
जब औद्योगीकरणको भवन उठ्यो
हाम्रो श्रमले त्यसको जग थाम्यो
हामी आधार थियौं
तर स्वाभिमानको आख्यान
हामीविना संस्थागत भयो
हामी संरचनाको मेरुदण्ड थियौं
अधिकार भने अरूको नाम कुँदिएको
पत्थरको शिलालेख बन्यो
जब युद्ध चर्कियो
हाम्रो धैर्यले भग्नावशेष उठायो
हामीले जीवन जोगायौं
तर शान्ति पुन: स्थापनाको श्रेय
हामीलाई दिइएन
अरूलाई नै नायक बनाइयो
जब संविधान लेखियो
हाम्रो नाम प्रतिशत बन्यो
प्रतिशतले उपस्थिति त देखायो
तर शक्ति दिएन
हामी केवल प्रदर्शित भयांै
निर्णायक बन्न सकेनांै
घरभित्रको श्रमलाई प्रेम भनियो
प्रेमलाई कर्तव्य बनाइयो
कर्तव्यलाई मौनतामा रूपान्तरण गरियो
मौनतालाई नै नैतिकता घोषणा गरियो
त्यागलाई हाम्रो स्वभाव ठहराइयो
अधिकारलाई स्वार्थ भनियो
यसरी घरको मौनता
संरचनामा रूपान्तरित भयो
हामी संरचनाको मेरुदण्ड थियौं
तर अधिकार भने
अरूकै नाममा लिपिबद्ध गरियो
संविधान समावेशी भनियो
सबै नागरिक समान भनिए
तर समानताको ढाँचा
हामीविना नै कोरियो
समावेशिताको नाममा ठडिएका
भव्य संरचनाहरूमा
हाम्रो झिनो उपस्थितिलाई
पूर्णताको प्रतीक मानियो
हामी आन्दोलनमा थियौं
हामी भीडमा पनि थियौं
हामी घोषणामा पनि थियौं
तर इतिहास पुनर्लेखन हुँदा
हामी मुख्य अनुच्छेद बन्न सकेनौं
उपवाक्यमा सीमित गरियौं
हाम्रो प्रतिनिधित्व त बढ्यो
तर स्वामित्व कोठाभित्रै खुम्चियो
समानता लेखियो
तर निर्णय गर्ने कलम
उही हातमा थपाइयो
शक्ति सधैं गर्जिंदैन
ठूलो आवाजमा बोल्दैन
‘यस्तै त हो व्यवस्था’
‘यही त हो परम्परा’
भन्ने सामान्य वाक्यभित्र नै
असमानताले वैधता पाउँछ
यो प्रतिवेदन त्यो वैधतालाई
सीधै अस्वीकार गर्छ
र सबैले सुन्ने गरी भन्छ
समानता कुनै दान होइन
विशेषाधिकार होइन
यो इतिहासले महिलाहरूलाई
तिर्न बाँकी राखेको
नैतिक ऋण हो
महिला हुनु फुटनोट हुनु होइन
उपवाक्य हुनु होइन
सजावट हुनु होइन
सहनशीलताको प्रतीक हुनु
त झन् हुँदै होइन
महिला हुनु केन्द्र माग्नु होइन
केन्द्रको अर्थ नै बदल्नु हो
हामी सत्ता होइन संस्कृति हौं
हामी प्रश्न मात्र होइनौं
परिवर्तन पनि हौं
हामी अस्वीकार हौं
र पुनर्परिभाषा हौं
त्यसैले हामी केन्द्र माग्दैनौं
केन्द्रको परिभाषा नै बदल्छौं
अब उप्रान्त
हामी परिधि होइनौं
हामी प्रतीक्षा होइनौं
हामी अनुमति होइनौं
हामी इतिहास सुधार्न होइन
पुनर्लेखन गर्न उभिएका छौं
हामीबिना पनि
भविष्य लेखिन सक्छ
तर त्यो वैध हुँदैन
हामीबिना पनि सत्ता र सरकार
स्थिर हुन सक्छ
तर त्यो न्यायपूर्ण हुनेछैन
त्यसैले यो घोषणा मात्र होइन
यो शान्त र अडिग निर्णय हो
अब केन्द्रको अर्थ बदलिनेछ
एक्काइसौं शताब्दी
परिधिमा राखिएका आवाजहरूको
नयाँ अभिलेख हुनेछ ।