Successfully Copied

‘खाद्यान्न भण्डारण बढाएका छौं’

भान्सालाई सहज बनाउन ‘सबेरै देखि अबेरै सम्म’ भन्ने अभियान चलाइरहेका छौं ।


१५ वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा कार्यरत ज्ञानु थापाले सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर तथा त्रिविबाट व्यवस्थापनमा एमपीए उत्तीर्ण गरेकी छिन् । हाल उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा स. विभागीय प्रबन्धकको भूमिकामा छिन् ।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण नेपालको खाद्य व्यवस्थापनमा कस्तो असर र प्रभाव परेको छ ?
मध्यपूर्वमा जारीे द्वन्द्वका कारण नेपालमा पनि खाद्यान्नमा प्रभाव नपर्ने कुरै भएन तर विकरालै हुने गरी अभावै चाहिँ भइसकेको छैन । इन्धनको मूल्य वृद्धि हुँदा ढुवानी महँगिएकाले खाद्यान्नमा पनि यसको असर पर्नु स्वाभाविक हो । भौगोलिक हिसाबले पनि हामी टाढा नभएकाले नेपालको पूर्वाधार विकास र भान्सामा महँगी बढेको छ । सन् २०२६ को सुरुदेखि नै खाने तेल, दाल, चामलमा, मैदा पीठो आदिमा मूल्य बढिरहेकै छ ।
यस्तो अवस्थामा नेपालमा खाद्यान्न कसरी बिक्री–वितरण भइरहेको छ ?
यो जटिल परिस्थितिलाई मध्यनजर राख्दै नेपाल सरकारअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही खाद्यान्न स्टक राखेको छ । सामान्य समयमा ३३ हजार मेट्रिक टन राख्ने गरेकामा अहिले देशभरका भण्डारगृहमा ३७ हजार मेट्रिक टन खाद्यान्न भण्डारण गरेर राखेको छ । या कम्पनीले मूल्य वृद्धि कम गर्न नयाँ वर्षकै अवसर पारेर सुपथ मूल्य पसल चलाइरहेको छ । चामलमा ५ देखि १० रुपैंयाँ छुट, तेलमा प्रतिलिटर ७ रुपैंयाँ, मरमसलामा प्रतिकेजी १० रुपैंयाँ, मैदा आटा र गेडागुडीमा ७ रुपैंयाँ छुट प्रदान गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भर्खरै बजारमा ल्याएको स्तरोन्नति गरिएको (फोर्टिफाइड राइस) चामल कस्तो हो ?
साधारण चामल नै हो । तर यसमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन डीलगायतका ८ प्रकारका सूक्ष्म पोषक तत्वहरू मिसावट गरिएको हुन्छ, यसरी तयार पारिएको चामललाई स्तरोन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड राइस भनिन्छ । यसको माग बढ्दो छ । काठमाडौंलगायत मुलुकका ५ ठाउँमा यसको मेसिन राखिएको छ । यसले सुगम र दुर्गम दुवै ठाउँ समेटेको छ ।
रैथाने खाद्यान्नलाई कसरी प्रवद्र्धन गरिरहनुभएको छ ?
जैविक खेतीको संरक्षण, प्रवद्र्धन, बजारीकरण गर्न खाद्य व्यवस्था कम्पनीले लामो समयदेखि काम गर्दै आएको छ । अझै व्यापकता दिन स्थानीय तहसँग खरिदको समझदारी सम्झौता गरेको छ । हुम्लाबाट सिमी २३ हजार ९ सय ७० किलो, उवा चिनो कागुनो १ हजार किलो, फापर ५ हजार किलो आइसकेको छ भने थापाथली आउटलेटबाट बिक्री–वितरण भइरहेको छ ।
सुलभ खाद्यान्नका लागि जनताले कसरी थाहा पाउने, किन्न कहाँ जाने ?
भान्सालाई सहज बनाउन ‘सबेरै देखि अबेरै सम्म’ भन्ने अभियान चलाइरहेका छौं । यसका बिहान ७ बजेदेखि बिहान ८ बजेसम्म थापाथली, बग्गीखाना, नख्खुलगायतका स्थानमा रहेका खाद्य आउटलेट खुलै रहन्छन् । नागरिकलाई थप सुविधा पुर्‍याउन नि:शुल्क अनलाइन होम डेलिभरीको व्यवस्था पनि छ ।
नेपाल खाद्य व्यवस्थाले केही नयाँ योजना पनि ल्याउँदै छ कि ?
हामीकहाँ भान्सामा आवश्यक ३ सय आइटम छँदैछन् । त्यसमा हामीले ५ सय आइटम पुर्‍याउने लक्ष्य लिएका छौं । नख्खुमा आफ्नै प्याकेजिङ प्लान्टका लागि बोलपत्र आह्वान भइसकेको छ । 

 Image