साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ पुस्तक लोकार्पण भएको छ । पुस्तकको विमोचन जीवन विज्ञानका संस्थापक एलपी भानु, डा. नवराज खतिवडा, कलाकार दयाहाङ राई, साहित्यकार भागीरथी श्रेष्ठ लगायतले गरेका थिए । लेखक शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने धारणा राखिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग पुर्याउने बताइन् । उनका अनुसार ‘यो पुस्तकले आफूलाई चिन्न, क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय गर्न, सकारात्मक सोच विकास गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ । यो पुस्तक साथी, सल्लाहकार र जीवनको मार्गप्रदर्शक पनि हो ।
समारोहमा जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्मा, डा.नवराज खतिवडा लगायतले कृतिमाथि चर्चा गरेका थिए ।
कलाकार दयाहाङ राईले पनि पुस्तकप्रति आफ्नो रुचि व्यक्त गर्दै विभिन्न विधाका पुस्तक अध्ययन गर्न मन पर्ने बताए । उनले आफूले ज्ञान र अनुभवलाई सहज रूपमा दर्शकमाझ पुर्याउन अभिनयलाई माध्यम बनाएको उल्लेख गरे । कार्यक्रममा साहित्य, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।