Successfully Copied

‘महिला लिड रोलमा आउन महिला नै निर्देशक हुनपर्छ’

मैले जसरी दुनियाँलाई देखेकी र बुझेकी छु त्यसरी नै मैले कथा लेख्ने हो । यदि मैले सुपर हिरोको फिल्म बनाउनुपर्‍यो भने पनि महिलालाई नै सुपर हिरो बनाउँछु होला ।


नेपालगञ्जमा जन्मिएकी सहारा शर्माले लखनउ र काठमाडौंका विद्यालय र विश्वविद्यालयमा अध्ययन गरिन् । सानैदेखि कलाप्रतिको रुचिले उनलाई बैंग्लोर युनिभर्सिटी पुर्‍यायो, जहाँबाट उनले मास्टर्स इन साइन्स एन्ड कम्युनिकेसनको पढाइ सकिन् । त्यसपछि अमेरिकाको न्युयोर्क पुगेकी उनको लेखन तथा निर्देशनमा आएको फिल्म ‘एक मुठ्ठी बादल’ ले चर्चा बटुलिरहेको छ ।
जीवनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
मेरी बोल्ड मामुका हात र अनुहारमा चाउरीका रेखा देखिन थालिसकेका छन् । मलाई लागिरहेको छ, अब केही समय अभिभावकसँग समय बिताउनुपर्छ, तसर्थ भावनात्मक रूपमा म त्यहाँ छु । अर्को कुरा, एक मुठ्ठी बादलका लागि धेरै कुरा आफैं सम्हाल्नुपर्ने भएकाले त्यतातिर पनि व्यस्त छु ।
एक मुठ्ठी बादल कस्तो फिल्म हो ?
समाजले दिएको टाइटल भन्दा पर गएर हामी महिला कहाँ सुरक्षित महसुस गर्छौं त, हामी कहाँ घर भन्ने कुरा फिल गर्छौं, जहाँ खुलेर बोल्न र व्यवहार गर्न सक्छौं ? महिलाले कहाँ आफ्नो घर महसुस गर्छन् अनि आफ्नो परिवारलाई कसरी र कस्तो देख्छन् ? यस्तै सेरोफेरोमा फिल्म घुमेको छ ।


फिल्ममा महिलालाई नै लिड रोलमा दिइनुको कारण केही छ कि ?
मैले जसरी दुनियाँलाई देखेकी र बुझेकी छु त्यसरी नै मैले कथा लेख्ने हो । यदि मैले सुपर हिरोको फिल्म बनाउनुपर्‍यो भने पनि महिलालाई नै सुपर हिरो बनाउँछु होला । म यथार्थवादी धारमा उत्रिएकी हुँ । ५० वर्षपछि गएर यो बेलाको नेपाली समाज बुझ्नुपर्‍यो भने मेरो चलचित्र दर्पण छाया बनोस् भन्ने हेतुले वास्तविक समाजको चित्रण गरेकी हुँ । मैले जीवनलाई महिला भएरै अनुभूति गरेकीले महिलालाई नै लिड रोल दिएकी हुँ ।
महिला लिड रोलमा आउन महिला नै निर्देशक हुनपर्ने हो ?
हो भन्छु म । किनभने त्यही शरीर लिएर उस्तै भावनामा हामी बाँचेका छौं । कुनै पुरुष वा अन्यले त्यो शरीर, भावना, भोगाइको अनुभूति गर्न गाह्रै पर्ला । जब त्यो अनुभूतिले छोएकै छैन भने कथामा न्याय कसरी होला र ?
महिलाहरूलाई लिड रोलमा राख्दा फिल्मको व्यापारिक पक्षमा जोखिम हुन्छ कि भन्ने लागेन ?
पैसा कमाउने ध्येयले फिल्म निर्माणमा होमिएकी होइन । इमानदार भएर नेपाली परिवार र परिवेशको कथा लेखौं भन्ने थियो । त्यसैले लोकार्नाे फिल्म फेस्भिलको ल्याबदेखि भारतको एनएफडिसीसम्म पुगेर शोध–अनुसन्धान गरें । केटाहरूलाई यत्तिको मान्छेले गर्न सक्छ भनेर पोटेन्सियलका आधारमा लगानी गर्छन् भने केटीहरूलाई प्रमाणित गरेर नदेखाएसम्म अवसर पाउन गाह्रो छ । मलाई कुनै त्रास थिएन, फिल्ममा सिर्फ ‘बेस्ट अफ द बेस्ट’ कसरी दिने भन्ने चिन्ता मात्रै थियो ।


महिला निर्देशक हुन कत्तिको चुनौती छ ?
मेरो दिमागमा छैन तर वास्तविक जीवनमा धेरै चुनौती रैछ । यो काममा होमिइसकेपछि स–साना कुरामा पनि त्यस्तो महसुस गर्नुपर्‍यो । महिला निर्देशकलाई सेटमै पनि सर भनेर सम्बोधन गर्ने गरेको पाएँ ।
नेपाली परिवेशमा चलचित्र क्षेत्रमा महिलाको अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?
निर्देशनको कोणबाट हेरेर चित्रण गर्न क्यानभास नै पर्याप्त छैन । म बाहेक अरु दुई तीन जना मात्रै हुनुहुन्छ फिल्म निर्देशक महिला । अन्य रोलमा भने महिला संख्या बढेको छ तर के, कस्तो र कति काम पाइरहेका छन् भन्ने प्रश्न अझै छ ।
नेपाली महिलाको समग्र विकास, समृद्धि र चौतर्फी सशक्तीकरणको सूत्र के हुनसक्छ ?
माइन्ड सेट परिवर्तन आवश्यक छ । यी महिला हुन्, यिनलाई अरु कसैले ‘सेभ’ गरिदिनुपर्छ भनिन्छ । अब यस्ता सोचबाट सिफ्ट हुनुपर्छ । महिलालाई नै पीडित बनाउने, दोष दिने सोच र व्यवहार परिवर्तन हुनुपर्छ ।
तपाईंले आउटडोर सुटिङका बखत अचानक आँधिबेहरीको सामना गर्नुपर्‍यो भने कसरी सुटिङको व्यवस्थापन गर्नुहोला ?
सजिलो, मिलनसार अनि सहयोगी क्यामेरापर्सन भइदिएको खण्डमा जस्तोसुकै अवस्थामा पनि जुनसुकै सिन खिच्न सकिन्छ । भगवान्लाई धन्यवाद छ, मसँग मिल्ने क्यामेरापर्सन र बलियो टिम छ ।
तपाईंका मुख्य कलाकारले आफ्नो वास्तविक जीवनमा पनि सोही पात्र जस्तै अभिनय गर्न थाले भने तपाईंले तीमध्ये कुनलाई पहिले आफ्नो सेटबाट प्रतिबन्ध लगाउनुहुन्छ ?
प्लिज, तिम्रो रियल लाइफमा यस्तो नगर भनेर अनुरोध गर्छु ।
तपाईंलाई चलचित्रमार्फत प्रस्तुत गर्ने असाध्यै इच्छा भएको कुनै दृश्य छ कि ?
बुढ्यौलीले चाउरिएकी नारीको शरीर ‘लौ हेर’ भन्ने मन छ जसमा अलौकिक र विशेष सुन्दरता हुन्छ । ‘ओल्ड ब्युटी’ को दृश्य देखाउने र बुझाउने मन छ ।
पाठकलाई केही सन्देश छ कि ?
हाम्रो दिमागमा जे–जे कुरा आउँछन्, तिनलाई कैद गरेर नराखौं, ती सारा सोचलाई पखेटा प्रदान गरौं जो खुला आकाशमा उड्न सकून् । आफ्ना सोचलाई थोरै सास फेर्न दिऔं ।

 Image