डा. पूजा राजभण्डारी
अकुलोप्लास्टी, नेसनल आई कस्मेटिक सर्जरी सेन्टर
यहाँ के–कस्ता सुविधा छन् ?
यहाँ अकुलोप्लास्टीसम्बन्धी सुविधा छन् । यसअन्तर्गत रोग र कस्मेटिक दुवै पर्छन् ।
अकुलोप्लास्टी सर्जरी भनेको के हो ?
आँखा र आँखाको वरिपरि गरिने प्लास्टिक सर्जरी नै अकुलोप्लास्टी सर्जरी हो । उमेरसम्बन्धी रोग आँखाको डिल भित्र फर्केर लुज भएर जाने, बाहिर फर्कने हुन्छ । यसलाई इन्ट्रोपियन, इक्ट्रोपियन भनिन्छ । यसले गर्दा आँखाको नानीमा परेला रब भएर घाउ हुने, विस्तारै धेरै घाउ भएमा भिजन समस्या हुने यी सबै उपचार गरिन्छ ।
इन्ट्रोपियन इक्ट्रोपियन कुन उमेरमा बढी हुन्छ ?
यो उमेर वृद्धिसँगै हुने सम्भावना हुन्छ । खासगरी ६० वर्षको उमेरपछि यस्तो हुन्छ ।
यहाँ धेरै के समस्या लिएर आउने गरेका छन् ?
अकुलोप्लास्टीबाहेक अन्य आँखासम्बन्धी समस्या पनि लिएर आउने गरेका छन् । जस्तो कसैको आँखाबाट निरन्तर आँसु र चिप्रा आइराख्ने हुन्छ । यसैगरी आँखाको कुनातिर सुन्निने समस्या पनि हुन्छ । कतिपयको उमेरसम्बन्धी र जन्मजात (कन्जेनाइटल) आँखाको नली नै नबन्ने पनि हुन्छ । कतिपयको यस्तो नली पछि आफैं पनि बन्छ र कसैको कृत्रिम बनाउनुपर्ने हुन्छ । कतिपयको ट्रमासम्बन्धी (चोट लागेर) उमेरसम्बन्धी (सबै शरीरमा बोन परिवर्तन भएजस्तै नाकको पनि हड्डी परिवर्तन हँुदो रहेछ) नली नाक भएर प्वालमा पुग्छ र ब्लक हुने गर्छ । ब्लक भएका कारण निरन्तर आँसु आइरहने हुन्छ । प्लास्टिक सर्जरीले खोल्नुपर्ने हुन्छ जुन रोगअन्तर्गत नै पर्छन् । कतिको आँखाको ढकनी तल झरेर आँखा खोल्नै नसक्ने हुन्छ । यो विविध कारणले र विभिन्न उमेरमा हुन्छ । उमेरसम्बन्धी, वृद्ध उमेरमा हुनेलाई सेनाइल टोसिस पनि भनिन्छ ।
अन्य कारणले गर्दा पनि आँखामा समस्या हुन्छ । मसल कमजोर भएमा आँखा खोल्नै नसक्ने हुन्छ । दिन बित्दै गएपछि थाकेर आँखा खोल्न नसक्ने हुन्छ । मसलले जुन आँखा खोल्ने हो, खोल्न नसक्ने हुन्छ । अटो इम्युन डिजिज आफ्नो शरीरका विरुद्ध एन्टिबडी बनेर मसल्स कमजोर हुन्छ । यस्ता समस्या लिएर पनि आउने गरेका छन् ।
कतिको तान्ने मसल्स नै नबन्ने, जन्मजात आँखा बन्द भएर जन्मने हुन्छन् । कसैको दुईवटा (बायोल्याटरल), कसैको एउटा मात्र हुन्छ । यस्तो केसमा छिटो भन्दा छिटो, बच्चाले हेर्नु अगावै अप्रेसन गरिहाल्नुपर्छ । यस्ता समस्या लिएर पनि आउने गर्छन् ।
अकुलोप्लास्टीमा के–कस्ता समस्या हुन्छन् ?
अकुलोप्लास्टीमा आउने अर्को रोगमा आँखाको ट्युमर पर्छ । यसलाई मेलानेमस भनिन्छ । यसले आँखा, आइलिड र आँखा वरिपरिको तन्तुमा असर पुर्याउँछ । यो दुख्ने र नदुख्ने खालको हुन्छ । दुखाइमा आगो, चोटले गर्दा आँखा सुन्निन्छ । यसैगरी आँखामा यताउता चल्ने डल्लो, मुसा, कोठी आउने पनि हुन्छ । यी सबै प्लास्टिक सर्जरीअन्तर्गत पर्छन् ।
योसँगै क्यान्सर पनि आउँछ । जस्तै छालाको क्यान्सर, आँखाभित्रको मेलानोमा हुने क्यान्सर । यो बच्चा, युवा उमेरमा हुन्छ । यसलाई अकुलर ट्युमर भनिन्छ । आँखाको वरिपरिको तन्तुको अस्वाभाविक वृद्धि हुन्छ । यो उपचारपछि ठीक हुन्छ । स्टेज ४ को ट्युमरमा भने प्यालेटिभ केयर (हेर्न सजिलो) मात्र गर्न सम्भव हुन्छ ।
अर्को ट्रमा सम्बन्धित चोट लागेर आँखा निस्कने, काठ पस्ने गर्छ । कसैको प्रेसर कुकरको सिठी आएर आँखाभित्र, बुलेट इन्जुरी हुन्छ । रुखबाट खसेर अड्कने यी सबै ट्रमाअन्तर्गत र प्लास्टिक सर्जरीमा पर्छन् ।
यहाँ अरू के–के गरिन्छ ?
सामान्यतया यहाँ गर्ने ब्लेफ्रोप्लास्टी सर्जरी गरिन्छ । यहाँ सानो आँखा ठूलो र ठूलो आँखा सानो बनाइन्छ । यसैगरी मंगोलियनहरूको आँखाको क्रिज हुँदैन, यस्तोमा क्रिज बनाइदिने गरिन्छ । यसलाई मंगोलियन आइलिड सर्जरी र एसियन आइलिड सर्जरी पनि भनिन्छ । यसमा अपर आइलिड बनाइन्छ । कसैको आइलिड क्रिज हुन्छ तर स्किन झुलेर तल आएको हुन्छ, उमेरका कारण । जसले गर्दा कम उमेर पनि बढी जस्तो देखिने । पर्सनालिटी पनि देखिँदैन । मिडिया, फ्रन्ट डेस्कमा बस्नेहरू आउँछन् । यी सबै कस्मेटिक सर्जरीअन्तर्गत पर्छन् ।
यस्ता सर्जरीको उमेर हद छ कि ?
यी सर्जरी २० वर्ष पूरा भएपछि मात्र गरिन्छ । माथि चाहिँ उमेरको सीमितता छैन । कस्मेटिक उद्देश्यले ८७ वर्ष उमेर सम्मले गराएका छन् । अपर आई लिड ६० प्रतिशत महिला, ४० प्रतिशत पुरुष आउने गरेका छन् । यसैगरी आई ब्याग, आई पफिनेस गर्न महिला पुरुष बराबरी आउने गरेका छन् । आई ब्याग भनेको फ्याट हो । यस्मा फ्याट मात्र नभएर उमेरका कारण विभिन्न खाले ‘स्वेलिङ’ हुन्छ । वंशानुगत पनि हुन्छ ।
आई ब्याग देखिने कारण के होला ?
कतिपयको २०–२५ वर्षमा पनि आई ब्याग देखिन सक्छ । आँखाको बनावट उमेर हुँदै जाँदा लुज हुन्छ । भित्रको फ्याट रेस्ट भएर बस्छ अनि बाहिर आउँछ । यो भिजिबल हुन्छ, त्यसलाई आई ब्याग भनिन्छ ।
ड्रिंक्स धेरै गर्नेको कम उमेरमा ठूलो देखिन्छ । यसले गर्दा बिरामी जस्तो देखिने र पर्सनालिटी नै घटेजस्तो देखिन्छ । पुरुषले बिरामी यस्तो देखियो भन्छन् र निकाल्दिनुपर्यो भनेर आउने गरेका छन् स्थायी सर्जिकल विधिबाट निकाल्न सकिन्छ । नन सर्जिकल विधि पनि छ, तर त्यति प्रभावकारी हुँदैन ।
सुन्दर आँखाको मापदण्ड केलाई मान्ने ?
खासमा देख्न सक्ने आँखा सुन्दर नै हो । किनभने भिजन नै सबथोक हो । एकछिन आँखा बन्द गरेर हेर्न सकिँदैन । सौन्दर्यको परिभाषाअनुसार हेर्ने हो भने हरिणको जस्तो आँखालाई सुन्दर भनेर व्याख्या गरिएको पाइन्छ । बदामी आँखा (आल्मोन्ड सेपको) पनि भनिन्छ । आँखाको ओपनिङ कर्नरमा बीचमा हल्का खुलेको १० मिलिमिटरसम्म साइजको आँखा, अपर आई लिड क्रिज ८ देखि १० मिलिमिटर साइज सुन्दर मानिन्छ । आँखामा धेरै फूलनेस र खाल्डो पनि हुन भएन । लोअरको पनि धेरै खाल्डो पनि हुन भएन र ठिक्क लेवलमा बसेको हुनुपर्यो । यो सुन्दर आँखा हो । कतिपयले इन्टरनेटमा हेरेर फक्स, एलिफेन्ट आई बनाइमाग्न आउँछन् । यस्तो आँखा बनाइदिनु च्यालेन्जिङ हो, भन्याजस्तै गर्न गाह्रो हुन्छ । यस्तोमा काउन्सिलिङ गरेर बुझाउने गरेका छौं ।
नेचुरल आँखालाई बढाउन सहज हुन्छ । माथिबाट झुलेको छालालाई मिलाएर नर्मलमा ल्याइदिने बढी भएको छालालाई निकालिदिने गरिन्छ । धेरैजसो (९० प्रतिशत) ले युवा उमेरको जस्तै आँखाको चाहना गर्छन्, पहिलेको फोटो हेरेर त्योसँग म्याच हुने जति बनाउन सकिन्छ । र यो गर्न पनि सहज हुन्छ ।
यस्तो सर्जरी गरेपछि लामो समयसम्म रहन्छ ? कुनै साइड इफेक्ट हुन्छ कि हुँदैन ?
यो स्थायी नै हुन्छ । एउटा अनुसन्धानअनुसार एकपटक गरेपछि १० देखि १५ वर्षसम्म रहन्छ । उमेरअनुसार हुने परिवर्तन हुन सक्छ भनिन्छ । जीवनशैली मेन्टेन गरेमा यो स्थायी रूपमै रहन्छ । यसको खासै साइड इफेक्ट हँुदैन । कतिपयको सर्जरी गरेपछि सुन्निन, रातो हुन र अलिअलि दुख्न सक्छ । एक–दुई दिन आराम गर्नुपर्छ र ठीक हुन्छ । कसैकसैको गरिसकेपछि पनि दाग बस्छ र जति ठूलो हुनुपर्ने त्यसभन्दा सानो र सानो भन्दा ठूलो आँखा हुन सक्छ ।