Successfully Copied

निर्भीक नारी : नेतृत्व, संघर्ष र परिवर्तनका साहसी आवाज

कार्यक्रमका वक्ताहरूको महिलाले अवसरको प्रतीक्षा होइन, अवसरको सिर्जना गर्नुपर्छ । चुनौतीहरू आउँछन्, आलोचना पनि हुन्छन्, तर आत्मविश्वास, सीप र निरन्तरताले सफलता सम्भव बनाउँछ भन्ने साझा निष्कर्ष थियो ।


महिलाहरूको नेतृत्व, आत्मविश्वास, आर्थिक स्वतन्त्रता, सामाजिक चुनौती र परिवर्तनको यात्राबारे केन्द्रित ‘निर्भीक नारी’को छैटौं संस्करणले यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूका अनुभव, संघर्ष र सफलताका कथालाई एउटै मञ्चमा ल्यायो । कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजित कार्यक्रममा उद्यमशीलता, राजनीति, सामाजिक सञ्जालमा हुने दुव्र्यवहार तथा साहसिक क्षेत्रमा महिलाको उपस्थितिबारे गहन छलफल भयो ।
कार्यक्रमका वक्ताहरूको महिलाले अवसरको प्रतीक्षा होइन, अवसरको सिर्जना गर्नुपर्छ । चुनौतीहरू आउँछन्, आलोचना पनि हुन्छन्, तर आत्मविश्वास, सीप र निरन्तरताले सफलता सम्भव बनाउँछ भन्ने साझा निष्कर्ष थियो ।
‘पाथवेज टु लिडरसिप’ सत्रमा सहभागी उद्यमी संगीता पाण्डेको कथा धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्यो । ४९ वर्षको उमेरमा केवल तीन हजार रुपैयाँबाट सुरु गरेको ‘आमाको अचार’ आज विश्वका ५० भन्दा बढी देशमा पुगेको छ ।
भारतमा अचार बनाउने तालिम लिएपछि उनले आफूभित्रको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरिन् । आर्थिक आवश्यकता नभए पनि आफ्नै पहिचान बनाउनुपर्ने चाहनाले उनलाई व्यवसायतर्फ डोर्‍यायो । उनले भनिन्, ‘उमेरले छेक्दैन, पढाइले पनि छेक्दैन । आत्मविश्वास र क्षमता भए सफलता सम्भव छ ।’
उनको अनुभवले महिलाले घरको भान्साबाट पनि अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्ने सम्भावना देखाएको छ ।
उद्यमी राधिका अडुकियाको यात्रा पनि फरक ढंगले सुरु भयो । गहना खरिद–बिक्रीका क्रममा हुने ठगीबारे बुझ्न खोज्दा उनले त्यसै क्षेत्रमा व्यवसायिक सम्भावना देखिन् ।
ग्राहकलाई सही जानकारी दिने र पारदर्शी कारोबार सुनिश्चित गर्ने उद्देश्यले सुरु भएको उनको यात्रा आज सफल उद्यमका रूपमा स्थापित भएको छ ।
उनले सफलता पछाडि परिवारको साथ सबैभन्दा ठूलो शक्ति भएको बताइन् । ‘असफलतासाग डराउनु हुँदैन । परिवारले दिएको हौसलाले नै अगाडि बढ्न मद्दत गर्‍यो’ उनले भनिन् ।
केएफसी र पिज्जा हट नेपालकी वित्तीय नेतृत्वकर्ता लक्ष्मी उप्रेतीले महिलाहरूको आर्थिक स्वतन्त्रतालाई नेतृत्वको आधारका रूपमा प्रस्तुत गरिन् ।
चार्टर्ड एकाउन्टेन्टका रूपमा अध्ययन पूरा गरेपछि विदेशमै अवसर हुँदाहुँदै नेपाल फर्किएकी उनले महिलाले निरन्तर सीप विकासमा लगानी गर्नुपर्ने धारणा राखिन् ।
‘आर्थिक रूपमा स्वतन्त्र महिला निर्णय लिन सक्षम हुन्छिन् । नेतृत्वको सुरुवात त्यहीाबाट हुन्छ’ उनले भनिन् ।
उनका अनुसार अहिलेको पुस्ताले सामाजिक सञ्जाललाई मनोरञ्जन मात्र होइन, सिकाइको माध्यमका रूपमा पनि उपयोग गर्नुपर्छ ।
स्वास्थ्यकर्मी तथा डिजिटल उद्यमी विन्जुल श्रेष्ठले मातृत्वसागै आफ्नो उद्यमशील यात्रा सुरु भएको सुनाइन् । छोरीका लागि तयार गरेको पौष्टिक खाना सामाजिक सञ्जालमा साझा गर्दा ग्राहकबाट अर्डर आउन थालेपछि उनले व्यवसाय सुरु गरिन् ।
उनले डिजिटल युगमा अवसर आफैं सिर्जना गर्न सकिने बताइन् । ‘सामाजिक सञ्जालमा लोकप्रिय हुनु एउटा कुरा हो, तर त्यो विश्वासलाई दिगो व्यवसायमा बदल्नु अर्को ठूलो चुनौती हो’ उनले भनिन् ।
गुणस्तर कायम राख्नु, ग्राहकको विश्वास जोगाउनु र निरन्तर सुधार गरिरहनु व्यवसाय सफलताको मुख्य आधार भएको उनको अनुभव छ । यो सत्रको सहजकर्ताको भुमिकामा जोन्ता क्लबकी लिडरसिप कमिटीमा नेतृत्व गरिरहेकी मुन प्रधानले गरेकी थिइन ।

त्यसैगरी दोस्रो सत्र ‘प्राइस अफ बिइङ भिजिबल’ सत्रले सामाजिक सञ्जालमा महिलामाथि हुने दुव्र्यवहारको वास्तविकता उजागर गर्‍यो ।
युवा अभियन्ता अमिसा पराजुलीले सार्वजनिक अभिव्यक्तिपछि आफूले भोग्नुपरेको ट्रोलिङ र मानसिक पीडाबारे खुलस्त कुरा गरिन् । दुव्र्यवहार असह्य भएपछि मात्रै आफू कानुनी उपचारको बाटोमा गएको उनले बताइन् ।
कलाकार रेखा थापाले महिलाको स्वतन्त्रता र आत्मविश्वाससँग समाज अझै डराउने गरेको धारणा राखिन् ।
‘एउटी महिला निर्धक्क भएर बोल्छे, नेतृत्वमा पुग्छे, आफ्ना विचार राख्छे भने समाज त्यससँग डराउँछ’ उनले भनिन् ।
समाजशास्त्री सम्झना वाग्ले भट्टराईले पितृसत्तात्मक संरचनाका कारण महिलामाथि हुने दुव्र्यवहार अझै कायम रहेको बताइन् । निर्णय लिने ठाउँमा महिला पुग्दा शक्ति बाँडफाँड हुने डरले उनीहरूमाथि आक्रमण हुने उनको विश्लेषण थियो।
मनोचिकित्सक डा. रमण कोइरालाले यस्ता दुव्र्यवहारले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै पीडितले आवश्यक परे मानसिक स्वास्थ्य सेवा र कानुनी सहयोग लिनुपर्ने बताए । यो सत्रको सहजकर्ता पत्रकार प्रविना पौडेलले गरेकी थिइन ।

‘फ्रम पार्लियामेन्ट टु प्रोग्रेस’ सत्रमा विभिन्न राजनीतिक दलका महिला सांसदहरूले प्रतिनिधित्व र निर्णय प्रक्रियामा महिलाको प्रभावबारे चर्चा गरे ।
सांसद सुम्मिना उदासले पत्रकारिताबाट संसद्सम्मको यात्रा सुनाउँदै अहिले आफू नीति निर्माणको तहमा रहेको बताइन् । खुश्बु ओलीले संसद्मा महिलाको संख्या बढ्नु सकारात्मक भए पनि निर्णय प्रक्रियामा प्रभाव बढ्नु अझ महत्वपूर्ण रहेको धारणा राखिन् । ‘महिलाहरूको हस्ताक्षर घरबाट सुरु भएर राष्ट्रको निर्णय तहसम्म पुग्नुपर्छ’ उनले भनिन् ।
कांग्रेस सांसद वासना थापाले कर्णालीका महिलाका चुनौतीबारे चर्चा गर्दै स्थानीय आवश्यकतालाई केन्ऽमा राखेर विकास योजना बनाउनुपर्ने बताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने सांसद भूमिका श्रेष्ठले संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै धेरै काम गर्न बाँकी रहेको बताइन् । यो सत्रको भुमिकामा पत्रकार लक्ष्मी भण्डारीले गरेकी थिइन् ।

साथीहरूको प्रतिक्रियाले सगरमाथासम्म
फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले आफ्नो सफलता यात्रामा आत्मविश्वास र साथको महत्वबारे चर्चा गरिन् ।
सुरुवातमा हिमाल चढ्ने कुनै योजना नभए पनि साथीभाइबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको उनले बताइन् ।
‘हिमाल चढ्न महिला वा पुरुष हुनु मुख्य कुरा होइन, हिम्मत र मानसिक दृढता चाहिन्छ,’ उनले भनिन् ।
उनका अनुसार पर्वतारोहणमा शारीरिकभन्दा मानसिक तयारी झन् महत्वपूर्ण हुन्छ । महिलाहरूले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन सके जुनसुकै क्षेत्रमा सफल हुन सक्ने उनको विश्वास छ । यस सत्रको सहजकर्ता धुम्बराही बुक लाइबेरीका संस्थापक स्कन्द स्वाँरले निभाएकी थिइन । 

 Image