नेपाली जेन–जी युवाले उठाएको आवाज प्रशंसनीय भए पनि दीर्घकालीन परिवर्तनका लागि आन्दोलन मात्र पर्याप्त नहुने भन्दै अन्तर्राष्ट्रिय विज्ञ तथा विश्लेषकहरूले संवाद, सहभागिता र निरन्तर नागरिक सतर्कतामा जोड दिएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘कान्तिपुर कन्क्लेभ–२०२६’ मा विश्वका विभिन्न देशका प्रतिनिधिहरूले आन्दोलनले ढोका खोल्ने भए पनि संरचनागत सुधार, लोकतान्त्रिक मूल्यको संस्थागत विकास र जिम्मेवार नेतृत्वबिना परिवर्तन टिकाउ नहुने धारणा राखे ।
इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार वकिल शिरिन एबादीले जेन–जी आन्दोलनप्रति सम्मान व्यक्त गर्दै युवाहरूलाई प्रणालीभित्र प्रवेश गरेर समाधान प्रस्ताव गर्न आग्रह गरिन् ।
‘केवल सडकमा आवाज उठाएर मात्र समस्या समाधान हुँदैन । युवाले नेतृत्व लिनुपर्छ, नीति निर्माणमा सहभागी हुनुपर्छ,’ उनले भनिन् ।
नेपालमा भएको आन्दोलनका क्रममा केही प्रदर्शनकारीको मृत्यु भएकोप्रति दु:ख व्यक्त गर्दै उनले राजनीतिक परिवर्तन सम्भव भएको उदाहरणका रूपमा सरकारको राजीनामा र मध्यावधि निर्वाचनको सम्भावनालाई उल्लेख गरिन् ।
ट्युनिसियाली गायक तथा ‘अरब स्प्रिङ’ की आवाज एमेल माथलुथीले आन्दोलनपछि प्राप्त स्वतन्त्रता जोगाइराख्न नसक्दा अवस्था फेरि बिग्रन सक्ने चेतावनी दिइन् ।
‘क्रान्तिपछि अभिव्यक्ति स्वतन्त्रता बढ्यो, तर पछिल्ला वर्षमा पत्रकार, वकिल र मानवअधिकारकर्मी जेलमा छन्,’ उनले भनिन् ।
बंगलादेशकी समाजशास्त्री मार्जाना महनाजले राजनीतिक संक्रमणपछि निर्वाचन ढिलाइ हुादा अतिवादी शक्तिले फाइदा उठाउने बताइन् । ‘क्रान्तिले शक्ति शून्यता सिर्जना गर्न सक्छ । त्यसैले समयमै निर्वाचन र निरन्तर नागरिक निगरानी आवश्यक हुन्छ,’ उनले भनिन् ।
उनले बंगलादेशमा पछिल्लो समय धार्मिक अतिवाद र भीड हिंसाका घटना बढेको उल्लेख गर्दै हल्ला र गलत सूचनाले समाजलाई गम्भीर जोखिममा पार्न सक्ने चेतावनी दिइन् ।
श्रीलंकाकी वरिष्ठ पत्रकार कामन्थी विक्रमसिंघेले सन् २०२२ को आन्दोलनपछि सरकार परिवर्तन भए पनि संरचनागत सुधारमा समय लाग्ने अनुभव सुनाइन् ।
‘परिवर्तन क्रमिक हुन्छ । त्यसका लागि निरन्तर नागरिक सहभागिता र मिडियाको निगरानी अपरिहार्य हुन्छ,’ उनले भनिन् ।
नेपाली जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आन्दोलन कुनै देशको नक्कल नभई स्थानीय यथार्थबाट जन्मिएको बताइन् ।
‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ट्रिगर मात्र थियो । शासनमा पारदर्शिता र जवाफदेहिताको अभावले हामी सडकमा आएका हौं,’ उनले भनिन् ।
उनले नयाँ नेतृत्वलाई पनि प्रश्नको घेरामा राख्नुपर्ने बताउँदै भनिन्, ‘दक्षिण एसियामा नेताहरूलाई देवताजस्तै पूजा गर्ने संस्कार तोड्नुपर्छ ।’
राजनीतिक विश्लेषक हरि शर्माले भोटको अंक मात्र गणना गर्ने अभ्यासले प्रजातन्त्रलाई कमजोर बनाउने चेतावनी दिए ।
‘आवाज, संख्या र न्यायबीच सन्तुलन नहुँदासम्म प्रजातन्त्र दिगो हुँदैन,’ उनले भने ।
विश्लेषक सीके लालले जेन–जी आन्दोलन कार्यसूचीभन्दा बढी नारामुखी भएको टिप्पणी गरे । ‘नेपालमा असन्तोष त व्यापक थियो, तर त्यसलाई संस्थागत गर्ने राजनीतिक संरचना अभावका कारण विस्फोट भएर टुंगियो,’ उनले भने ।
आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहराले आगामी निर्वाचनमा सचेत मतदान गर्न आग्रह गर्दै पुन: आन्दोलनको अवस्था आए ठूलो क्षति हुन सक्ने चेतावनी दिए ।