प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपि) अर्यालले धादिङ जिल्लामा निर्माणाधीन फ्रेन्च फ्राइ उद्योगको स्थलगत अवलोकन गरेका छन् । श्री कला एग्रो बेस इण्डष्ट्रिज प्राइभेट लिमिटेडद्वारा करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त उद्योगलाई जिल्लाको महत्वपूर्ण औद्योगिक पहलका रूपमा हेरिएको छ ।
अवलोकनपछि सभामुख अर्यालले युवाहरूको सक्रियतामा सञ्चालन भइरहेका उद्योग–व्यवसायले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । यस्ता उद्यमलाई नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग, सहजीकरण र प्रोत्साहन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले थप पहल गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठको युवा व्यवसायीहरूको लगानी र पहलको प्रशंसा गरे । उद्योगले स्थानीय रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उद्योग सञ्चालक रमेश भाई अधिकारीले निर्माणाधीन उद्योगको वर्तमान अवस्था, प्रगति र आगामी योजनाबारे जानकारी गराउनुका साथै नेपालमा लगानीकर्ताहरूले भोगिरहेका चुनौती तथा समस्या बारे जानकारी गराएका छन् । आगामी असार मसान्तसम्म परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको अधिकारीले बताए । उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषिजन्य कच्चा पदार्थको उपयोग वृद्धि हुने र जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । साथै उद्योगमा महिला, जनजाति तथा पिछडिएका वर्गलाई रोजगारीमा प्राथमिकता दिइने अधिकारीले बताए ।