महिनावारीलाई मर्यादा, स्वास्थ्य र वातावरणसँग जोडेर संवाद गर्ने उद्देश्यसहित ‘मेरो महिनावारी हरियो–२’ (ग्रीन मिन्स्टु्रयसन) कार्यक्रम राजधानीमा सम्पन्न भयो ।
दिगो महिनावारी स्वास्थ्य र समाधानबारे जनचेतना बढाएर अन्तरसम्बन्धित सामुदायिक संवादका लागि सुरक्षित स्थान सिर्जना गर्ने लक्ष्यसहित आयोजित उक्त कार्यक्रम साथी नेपाल, पिरियडका कुरा पोडकास्ट र अनटोल्ड पिरियड स्टोरिजको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम महिलाले नै नेतृत्व र सञ्चालन गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, महिनावारी स्वास्थ्य अभियन्ता, विद्यार्थी, वातावरणप्रेमीलगायत विभिन्न उमेर समूह र पृष्ठभूमिका २ सय जनाभन्दा बढीको सहभागिता रहेको आयोजकले बताए ।
कार्यक्रमको सुरुवात फिजियोथेरापिस्ट निकिता संग्रौलाले सञ्चालन गरेको ‘वुम्ब हिलिङ’ सत्रबाट गरिएको थियो । उक्त सत्रमा सहभागीलाई गर्भाशयप्रति हेरचाह, पुन: सम्बन्ध र आत्मचिकित्साका बारेमा अभ्यास गराइएको थियो । जसले मानसिक आघात न्यूनीकरण, सन्तुलन पुन:स्थापना तथा प्रजनन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको थियो ।
यसपछि स्त्रीरोग विशेषज्ञ डा. कुन्साङ दोल्मा शेर्पा र पिरियडका कुरा पोडकास्टकी सह–संस्थापक प्रियंका बुढाथोकीबीच ‘हाम्रो गर्भाशय बुझौं’ विषयमा विशेष संवाद सम्पन्न भयो । डा. शेर्पाले गर्भाशयको संरचना, महिनावारी चक्र, स्वास्थ्यसम्बन्धी पक्षबारे जानकारी दिँदै सहभागीका जिज्ञासाको समाधान गर्नुभयो । उहाँले तीव्र र दैनिकीमा असर गर्ने महिनावारी पीडा सामान्य नभएको उल्लेख गर्दै समयमै चिकित्सकीय सहयोग लिनुपर्ने सुझाव दिनुभएको थियो । यसैगरी कार्यक्रमको अर्को सत्रमा अनटोल्ड पिरियड स्टोरिजकी सह–संस्थापक पूजा विष्ट र दृष्टि नेपालकी संस्थापक पारिन लिम्बूबीच संवाद भयो । जसमा महिनावारीसँग जोडिएका सामाजिक, राजनीतिक, वातावरणीय न्याय, सक्रियता र सामूहिक हेरचाहसम्बन्धीे छलफल भएको थियो । अर्को सत्रमा ‘महिनावारी र वातावरण: हामी के छोड्दैछौं ?’ विषयक अन्तरक्रिया भएको थियो । जसमा इको साथी नेपालका संस्थापक डा. मनु कार्की र उन्नतिकी पूजा सिंह (अछाम) ले दिगो महिनावारी सामग्री, पहुँच, आर्थिक पक्ष र वातावरणमैत्री विकल्पबारे धारणा राखेका थिए । यसको सहजीकरण पत्रकार तथा पिरियडका कुरा पोडकास्टकी सह–संस्थापक सृष्टि काफ्लेले गरिन् ।
कार्यक्रममा वातावरणमैत्री महिनावारी सामग्रीका स्टल, जुम्ला र अछामका कथासहितको फोटो वाल, ओपन माइकअन्तर्गत कविता, संगीत, कथा वाचन, लाइभ पेन्टिङ तथा प्रत्यक्ष पोडकास्ट रेकर्डिङ समेत समावेश गरिएको थियो ।