Successfully Copied

आस्मा–सरोज अनस्क्रिन रोमान्स

एनएफबी डान्स स्टुडियोको फरक समय, फरक समूह र फरक बाटो हुँदै आएका यी दुई अन्तत: एउटै लयमा बाँधिए–‘द कार्टुन्ज क्रु’ को यात्रामा ।


गलैंचा कारखानाको क्वार्टर । चोक, गल्ली अनि धूलाम्मे सडक । कीर्तिपुरका यिनै ठाउँबाट सुरु भएको हो, सरोज अधिकारीको नृत्य यात्रा ।
सानै उमेरमा उनी बाटोमै ‘स्टन्ट’ देखाउँथे । उनले त्यतिबेला कल्पनासमेत गरेका थिएनन् कि त्यो कला नै उनको पहिचान बन्छ भनेर । क्वार्टरमा झन्डै ७० परिवार बस्थे । टिभी थियो, मात्रै एउटा । त्यसमै हेरेको इन्डियन डान्स कम्पिटिसन ‘बुगी उगी’ ले उनमा नृत्यको लत बसाल्यो । त्यही लतले उनलाई सडकबाट स्टुडियोसम्म पुर्‍यायो ।
यही यात्रामा अर्को नाम जोडिन्छ–आस्मा विश्वकर्मा । थापाथलीको प्रसूतिगृहमा जन्मिएकी, स्कुल प्रतियोगितामा नाच्दै हुर्किएकी आस्मा युट्युबका स्क्रिनबाट नृत्य सिकेर देशकै चर्चित बि–गर्ल बनिन् । पछिल्लो समय रामचरणको ‘चिकिरी चिकिरी’ तथा धुरन्धरमा अक्षय खन्नाको डान्स कपी गरेकी उनलाई देश–विदेशका लाखौं दर्शकमाझ पुर्‍यायो ।
सरोज–आस्माको भेट केवल दुई कलाकारको जम्काभेट होइन, त्यो साझा संघर्ष, प्रतिस्पर्धा, भरोसा र सपनाले जोडिएको कथा हो । एनएफबी डान्स स्टुडियोका फरक समय, फरक समूह र फरक बाटो हुँदै आएका यी दुई अन्तत: एउटै लयमा बाँधिए–‘द कार्टुन्ज क्रु’ को यात्रामा ।
अलि अगाडि फर्किने हो भने जनसेवा उच्च माविबाट प्लस टु सकेका सरोजले एसएलसी सकिनेबित्तिकै सिडी पसल खोलिसकेका थिए । बाटोमा नाच्दै हिँड्दा एकजना दाइले भनेछन्, ‘ओई मेरो अगाडि नाच्न सक्छस् ?’ तत्काल सरोजले माइकल ज्याक्सनको डान्स देखाइदिए । पछि सरोज ठमेलस्थित एनएफबी डान्स स्टुडियोमा सिक्न थाले, जहाँ पुर्‍याउने थिए–तिनै दाइ ।
आस्माले रााष्ट्रिय निमावि डल्लुमा पढिन् । एनआइसी कलेजबाट प्लस टु पूरा गरी पद्मकन्यामा ब्याचलर अध्ययनरत छिन् ।
सानैदेखि गायन र नृत्यमा प्रतिभाशाली आस्मा स्कुल कम्पिटिसनहरूमा भाग लिन्थिन् । ‘युट्युबमा अरूको डान्स हेर्दाहेर्दै सिकें,’ उनी भन्छिन्, ‘सन् २०१७ मा माया लुकीलुकी हिट भयो, त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।’ उनले सयभन्दा बढी म्युजिक भिडियो र देशविदेशमा गरी ९० भन्दा बढी स्टेज शोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । चिकिरी र दामिताको सित्तो गीतमा उनले गरेको डान्समा युट्युबमा १ सय र २ सय मिलिलिय भ्यूज छ ।
सन् २००९ तिर ब्वाइज अफ कीर्तिपुर नामक डान्स गु्रप सरोजले स्थापना गरेका थिए । त्यहीमार्फत उनीहरू विभिन्न डान्स प्रतिस्पर्धामा भाग लिन्थे । सरोज एनएफबी डान्स स्टुडियो ठमेल पुग्दा आस्मा पनि त्यहीँ डान्स सिक्न आइपुगिन् । दुईको देखादेख हुन्थ्यो तर बोलचाल हुँदैनथ्यो । सरोज भन्छन्, ‘आस्मा पहिलेदेखि बी–गर्लिङमा हिट, नेपालकै पहिलो बी–गर्लसँग बोल्न निडर र धक लाग्थ्यो । उनको गोर्खाली बी–गर्ल हामी भेट्नुअघिदेखि नै लोकप्रिय थियो । हाम्रो ब्वाइज टिम र उनको गर्ल टिम एक किसिमको प्रतिस्पर्धी जस्तै थियौं ।’

सरोजले सन् २०११ मा ब्वाइज अफ कीर्तिपुरलाई कार्टुन्ज क्रुमा बदले । एनएफबी डान्स स्टुडियोमा सरोज र आस्माको टक्कर चलिरहेकै थियो । साँझ ५ बजे सरोज फर्किन लाग्दा आस्माको आगमन हुन्थ्यो । सरोजको टिम बलियो बन्दै गएको थियो भने आस्माको गोर्खाली बी–गर्लबाट धेरै केटीहरू छुटिसकेका थिए । उनी कमजोर बन्दै गएकी थिइन्, जुन कुरा सरोजले केन्द्रित भएर नियालिरहेका थिए । अन्त्यमा आस्मा एक्लै परिन्, तब सरोजले सन् २०१२ मा कार्टुन्ज क्रुमा उनलाई स्वागत गरे ।
‘तब म यत्ति खुसी भएँ कि सबैले छोडेका बेला कसैले मेरो कला र क्षमताको सम्मान गरेर स्वागत गर्‍यो भन्ने महसुस भयो,’ प्रखर नृत्य–सुन्दरी आस्मा भन्छिन्, ‘अनि म अझै दत्तचित्त भएर टिममा काम गर्न थालें ।’
८० भन्दा बढी भ्युजिक भिडियो निर्देशन गरिसकेका सरोज मुभी स्टोरी पनि लेख्छन् । आस्मा र सरोज निकै दु:ख र चुनौतीपूर्ण समयमा पनि सँगै थिए । उनीहरूले दुवैको दु:ख नजिकबाट नियालेको मात्रै नभएर सँगै भोगेको बताउँछन् । सरोज भन्छन्, ‘दु:खको बेलामा सँगै थियौं, अहिले अलिकति सजिलो र सुख हुँदा पनि सँगै छौं । आस्माको आगमनपछि कार्टुन्ज क्रुले गति लिन थालेको हो । उनी नभएको भए कार्टुन्ज क्रु यत्तिको हुँदैनथ्यो ।’
आस्मालाई भित्रैदेखि महसुस हुन्छ, दुईजनाको विश्वासलाई एउटै सपनाले जोडेर राखेको छ । ‘मसँग झगडा गरेरै भए पनि मेरा लागि राम्रो सोच्ने र गर्ने मान्छे उहाँ नै हो । हामी जे काम पनि सँगै गर्छौं, एक–अर्काको साथमा हुन्छौं ।’
यी दुईको केमेस्ट्री गजबको छ । दुईजना स्क्रिनमा देखिनेबित्तिकै, चाहे त्यो जेसुकै होस् हिट भइहाल्छ । आस्मा र सरोजको अनस्क्रिन रोमान्सले धेरैलाई खिचेको छ ।
सामाखुशीमा द कार्टुन्ज क्रु डान्स स्टुडियो सञ्चालन गरिरहेका सरोज आफू अस्ति भर्खर (छ/सात वर्ष अघिसम्म) पनि त्यही कीर्तिपुरको गलैंचा कारखानाको क्वार्टरमा बसेकाले त्यहाँको असाध्यै माया लाग्ने बताउँछन् । उनी भन्छन्, ‘जहाँ पुगे पनि धरातल बिर्सिन हुन्न भन्ने मनभित्र गढेर रहेको छ । मेरा जन्मदाताले नङ्ग्रा खियाएको त्यो ठाउँ मेरा लागि स्वर्ग समान छ ।’
आस्मालाई लाग्छ सरोजबिना आफ्नो कला, प्रतिभा अनि सपना नै अधूरो हुन्छ । त्यस्तै, सरोजलाई पनि आस्माप्रति उच्च सम्मान र विश्वास छ । यी दुवै एकै स्वरमा भन्छन्, ‘हाम्रो मित्रतालाई विश्वास, साझा सपना र लक्ष्यले बाँधेर राखेको छ ।’


सरोजबारे आस्मा
बलियो पक्ष : अत्यन्तै सकारात्मक सोच
कमजोरी : असाध्यै दयालु
सुधार्नुपर्ने : अलिकति वोल्ड भए राम्रो
आकर्षक पक्ष : मुस्कान
मनपर्ने राजनीतिज्ञ : रवि लामिछाने
लत : धेरै सोच्ने
मनपर्ने डान्सर : भारतीय नायक गोविन्दा
कस्तो साथी : सही मार्गदर्शक
के भएको हेर्ने रहर छ : नम्बर वान निर्देशक
आस्माबारे सरोज
बलियो पक्ष : कहिल्यै हार नमान्ने
कमजोरी : झनक्कै रिसाइहाल्ने
सुधार्नुपर्ने : निर्णय गरिहाल्ने बानी विकास गर्नुपर्छ
आकर्षक पक्ष : इमान्दारिता
मनपर्ने राजनीतिज्ञ : बालेन्द्र शाह
लत : मेकअप
मनपर्ने डान्सर : जोजो गोमेज
कस्तो साथी : पर्फेक्ट
के भएको हेर्ने रहर छ : हिरोइन

पहिरन : सोनाम सुब्बा
मेकअप तथा हेयर : प्रदीप घिमिरे
लोकेसन : बसेरा बुटिक होटल सिंहदरबार
तस्बिरहरू : महेशमान प्रधान 

 Image