सानैदेखि असाध्यै सकारात्मक र उत्सुक स्वभावकी पूर्णिमाश्रेष्ठ आफूलाई त्यतिबेलादेखि एथलेट्स सम्झिन्थिन् । शरीर खिरिलो भएपनि दह्रो आत्मबल भएकी उनी बलको काम गर्न मन पराउँथिन् । ‘हाम्रो सानो परिवार भएकाले एकापसमा अत्यन्तै माया थियो । एसएलसी पनि मलाई गोरखा नै राखेर पढाउने कुरा थियो,’ उनी भन्छिन्, ‘तर मेरो उड्ने सपनाले बाँकी पढाइ र उज्ज्वल भविष्यका लागि काठमाडौं ल्याइपुर्यायो ।’ उच्च शिक्षा पढ्न उनी काठमाडौं आएर दाजुसँगै डल्लुमा बस्न थालिन् ।
पूर्णिमा गोरखाको आरुघाट–९ मा जन्मिएकी हुन् । खेती–किसानी गर्ने चन्द्रप्रसाद र गंगा श्रेष्ठलाई लाग्थ्यो–आफ्ना दुई सन्तानलाई राम्रो शिक्षा दिन सके असल मान्छे बनेर नाम कमाउँछन् । भयो पनि त्यस्तै । पूर्णिमाले आरोहीका रूपमा आफूलाई चिनाइन् भने उनका दाजु आफ्नो काममा कम छैनन् ।
संघर्षका ती दिन
पूर्णिमाले प्लस टु बिजेश्वरीको गीतामाता स्कुलबाट पूरा गरिन् । बीए भने सिटिजन्स इन्टिग्रेटेड कलेजबाट उत्तीर्ण गरेकी हुन् । अहिले उनी डिल्लीबजारको कन्या क्याम्पसबाट स्नातकोत्तर गर्दैछिन् । यसबीच उनले धेरै संघर्ष गर्नुपर्यो । ‘घर छाडेर हिँडेपछि सजिलो र सुख हुन्छ र ?’ उनी प्रश्न गर्छिन्, ‘नागरिकता बन्नेबित्तिकै अब म कामका लागि योग्य भएँ भन्ने लाग्यो, अनि काम खोज्न सहर चहार्न थालें । यो बिरानो ठाउँमा काम नगरी कसले खान–लाउन दिने ?’
दरबारमार्गको उडल्यान्ड कम्प्लेक्सस्थित लुगा पसलमा सेल्स गर्लको काम फेला पारिन् । केही समय काम गरेपछि थोरै अनुभव पनि भयो, त्यसपछि उनले जमल र आरबी कम्प्लेक्सका पसलमा लामै समय काम गरिन् । स्नातकमा उनले पत्रकारिता विषय लिएर पढेकी थिइन् । पत्रकार बन्ने हुटहुटी छँदै थियो । कलेजको इन्टर्नका लागि उनी श्याम चित्रकारको प्रोडक्सन हाउस पुगिन् ।
पत्रकारितामा टर्निङ प्वाइन्ट
इन्टर्नसीपको कामले उनमा पत्रकारिताको रस पस्यो । त्यसपछि उनी ‘फुड एन्ड वाइन’ म्यागेजिनमा फोटोग्राफीको काम गर्न थालिन् । सानैदेखि चुनौती मन पराउने उनलाई यो क्षेत्रमा महिलालाई निकै चुनौती छ भन्ने थाहा नभएको होइन तर पूर्णरूपमा पत्रकारितामा होमिने हेतुले २०७० सालमा कारोबार दैनिक प्रवेश गरिन् । जहाँ उनले १० वर्ष बिताइन् ।
‘पत्रकारिता क्षेत्रमा महिलाले ठूलो संघर्ष र चुनौतीको सामना गर्नुपर्ने अनुभव गरें । मैले फोटोपत्रकारिता सुरु गर्दा कमै मात्रै महिला थियौं । कम आँक्ने, आउटडोर काम केटीले के सक्लान् र भनेर। पहिल्यै जज गर्ने लगायतका विविध समस्या नभोगेको होइन,’ उनले अनुभव सुनाइन्, ‘फोटो खिच्न जाँदा कुन स्टुडियोबाट आएको ? कुन टिभीको ? भनी प्रश्न गर्थे । यस्ता प्रश्न महिलामाथि बढी मात्रामा बर्सिन्थे ।’
हिमाल यात्रा
पूर्णिमामा एथलेट्स जस्तो जोस–जाँगर त थियो नै त्यसमाथि निकै बलियो इच्छाशक्ति थियो । ‘जीवनमा सधैं ठूलो काम गर्न मनपर्थ्यो । मेरो दिनचर्यामै नयाँ परिवर्तन खोजिरहन्थें,’ भन्छिन्, ‘ठूलो सपनाको भोक, आवेग, जोस थियो मभित्र ।’ २०७४ को एक दिन एक्कासि उनलाई सगरमाथा बेस क्याम्प जाने सोच आयो । सोचेरै बसिराख्ने उनको बानी थिएन । त्यसैले उनी सोचलाई यथार्थमा बदल्न तम्तयार भइन् र लागिन् हिमालतिर ।
पहिलो आरोहण
कल्पना गरेको तीन महिनामै उनले ८ हजार मिटरको मनास्लु हिमाल चढिन् । त्यसपछि उनलाई लाग्यो, म त त्यो उचाइमा पुगिसकेको मान्छे, सगरमाथा चढ्न के गाह्रो होला र ? तर त्यस्तो भएन । ‘पहिलो सगरमाथा आरोहण मेरा लागि निकै कष्टकर बन्यो । उत्साहित हुन, हाँस्न, रुन, रमाउन केही आएन, म शून्य भएँं,’त्यो कठिनाइबारे उनी भन्छिन्, ‘स्नो ब्लाइन्डले आँखा देखिनँ, यही हिउँमा मर्छु कि क्या हो भन्ने मात्रै चिन्ता भयो । रत्तिभर इन्जोय गरिनँ ।’
सकुशल फर्किन सफल भएपछि भने उनमा झन् आँट बढ्यो । त्यसपछि उनको आरोहण आमा दब्लमतिर सोझियो । सन् २०२१ मा अन्नपूर्ण र धौलागिरिको चुचुरो चुमिन् । सन् २०२२ को एक महिनाभित्रै कञ्चनजंघा, ल्होत्से र मकालु गरी तीन वटा हिमाल चढ्न सफल भइन् । धौलागिरि चढ्ने पहिलो महिला बन्न सफल उनले कञ्चनजंघा चढ्दा कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी म्यागेजिन साथै लिएर गएकी थिइन्, जुन कञ्चजंघाको चुचुरोमा फहरायो । सन् २०२३ मा पूर्णिमाले बिनाअक्सिजन फेरि मनास्लुको सफल आरोहण गरिन् ।
ऐतिहासिक सुनौलो वर्ष
पूर्णिमाका लागि सन् २०२४ ‘गोल्डेन इयर’ हो । आर्थिक रूपमा सशक्त नहुँदा पनि यही वर्ष उनले ऋण काढेर पुनः सगरमाथा आरोहण गरिन् । ‘पैसा थिएन, फर्किएर आएपछि तिर्छु भनेर आरोहण कम्पनीलाई अनुरोध गरें,’ उनी भन्छिन्, ‘एक हप्तामै दुई पटक सगरमाथाको चुचुरोमा पुगें भने १३ दिनमा तेस्रो पटक पुनः विश्वकै सर्वोच्च शिखरको चुचुरो चुम्न सकें ।’ पुरुषले यस्तो रेकर्ड राखे पनि महिलाको शरीरले गर्न सक्छ कि सक्दैन भन्ने लागेर आफैंसँगको प्रतिस्पर्धाका लागि चुनौती मोलेको उनी बताउँछिन् ।
जीवन रहेसम्म सगरमाथा गइराख्ने उनको इच्छा छ । नेपालमा जन्मिएर सगरमाथा चढ्न पाएकामा गर्वले छाती फुलेको अनुभव उनीसँग छ । ‘हिमाल चढ्न शरीर बलियो हुनुपर्छ भन्ने होइन रहेछ, मन र इच्छाशक्ति बलियो चाहिँदोरहेछ,’ उनी आत्मविश्वासी सुनिइन् ।
पर्वतारोहणपछि बदलिएको सोच
भौतिक सुख–सुविधा सम्पन्न नभएपनि आफू अत्यन्तै सुखी र थप जुझारु भएको उनले सुनाइन् । ‘अरुसँग नभएका सम्पत्ति मसँग छन् भन्ने लाग्छ । म जागिर छाडेर हिमाल चढेकी हुँ,’ उनको अनुभवले भन्छ, ‘आर्थिक आयआर्जन गर्न ठूलो व्यवसायी, हिरोइन, मोडल वा अन्य केही मात्रै हुनुपर्छ भन्ने होइन रहेछ । अहिले मेरो अनुभव र कथा सुन्न मान्छेले पैसा तिर्छन् ।’
हिमाल चढेको ऋण उनले चुक्ता गरिसकेकी छिन् भने फोटोग्राफी, गाइड, मोटिभेसनल स्पिच, ब्रान्ड इन्डोर्समेन्टमार्फत राम्रो आम्दानी पनि गरिरहेकी छन् ।
हिउँसँगको प्रेम
हिउँसँगको पूर्णिमाको भावना निकै गाढा छ । उनले हिउँसँगैसुख, दुःख, आँसु, हाँसो, रुवाइ र खुसी साटेकी छन् । ‘जीवनका धेरै पल मेरो प्राण यहाँ नराखिदेऊ भनेर हिउँसँग बिन्ती गरेकी छु, पीडा, छटपटी, चित्कार पोखेकी छु,’ उनी भावुक बनिन्, ‘कुनै क्षण असाध्यै खुसी भएर अन्तरात्माको खुसी साटेकी छु । उसँगै रुन्छु, उसैसँग हाँस्छु । किनकि मेरो गन्तव्यको एकमात्र निकट साथी हिउँ मात्रै हो ।’
तिर्खा लाग्दा हिउँ खाएर बाँचेको र आँखा बन्द हुँदा अनुहारमा हिँउ नै छ्यापेको उनले सुनाइन् । ‘यसैले रुवाएको छ, यसैले बचाएको छ, यसैले खुसी र नसोचेको सफलता दिएको छ,’ हिउँसँगको गाढा सम्बन्धबारे उनी भन्छिन्, ‘प्रेमीसँगको प्रेमिल सम्बन्ध जस्तै उसको र मेरो माया बसेको छ ।’
फुर्सद
उनी हरसमय व्यस्त रहन्छिन् । कहिलेकाहीँ फुर्सद भएमा जीवनमा नयाँ रङ भर्ने योजना बुन्नमै व्यस्त रहन्छिन् । नयाँ परिकार बनाउने, हाइकिङ जाने, साथीभाइसँग गफमा मस्त रहन मन पराउने उनलाई फरक खालका पुस्तक पढ्ने रुचि छ ।
महिला र युवालाई सन्देश
उनलाई लाग्छ, महिलाआत्मनिर्भर र सचेत बन्नुपर्छ । छोरीको उमेर बढ्नेबित्तिकै विवाहमा केन्द्रित हाम्रो समाजलाईउनको सुझाव छ, ‘छोरीलाई पढाएर आत्मनिर्भर बनाऔं, स्वतन्त्र राखौं ।’ आफूभित्रको इच्छाशक्तिलाई सधैं बलियो बनाइराखे सफलता पाइने उनको विश्वास छ । यसका लागि पटक–पटकको प्रयास, त्यसका लागि संघर्ष र निरन्तरता चाहिने उनी बताउँछिन् । भन्छिन्, ‘प्रयास गर्न नछाडौं । युवाले अनुभव बटुलेर सफलता खोज्नुपर्छ ।’
योजना
जीवनभर उनलाई डाउनसुट (माउन्टेन गियर) मै बस्ने मन छ ।‘मेरो श्वास रहेसम्म हिमालदेखि टाढा हुन नपरोस्,’ यी आरोही हिमालदेखि किन पो टाढा हुन सक्छिन् र?