उत्सुकतापछिको सन्नाटा । उनी निकै भावुक भइन्, त्यसपछि त उनका आँखाबाट मोतीका दानाझैं आँसुका ढिक्का बर्सिन थाले ।
सुपरमोडल सविता कार्की सन् २०१७ को ‘इन्डियाज नेक्स्ट टप मोडल’ को ग्रान्ड फिनालेका दिन एमटिभीमा प्रसारण भइरहँदाको दृश्य हो त्यो । १६ जना प्रतिस्पर्धीमध्ये टप थ्रीमा पुग्ने सविता एक थिइन् । उक्त शोभरि उनी मात्रै एक्ली नेपाली थिइन् । स्पर्धाको अन्तिम दिन एमटिभीमा शो प्रसारण भइरहँदा हरेक नेपालीले सविताको विजयका लागि टिभी हेर्दै कामना गरिरहेका थिए ।
अन्तिम टास्क थियो, अभिभावकसँग बसेर प्ले गर्दै विभिन्न पोज क्रियट गर्नुपर्ने । उनीसँगै भएका दुई प्रतिस्पर्धी श्वेता र रियाका अभिभावक स्टेजमा उपस्थित भइसकेका थिए । सविताको मुटु ढुकढुक हुन थाल्यो, मेरी मम्मी आउनुभएको होला भन्ने सोचिन् तर टाढाको दूरीका कारण तपाईंका अभिभावक बोलाउन सकिएन भनेर उद्घोषकले भनिदिए । त्यसपछि सवितालाई झट्का लाग्यो र उनी निकै भावुक भइन् । निर्णायकमध्येका नीरज गाभा र अनुषा डाँडेकर सविताका अभिभावकको भूमिकामा उत्रिए ।
‘तत्कालै मैले आफूलाई सम्हालें र प्रस्तुितमा उत्रिएँ । आफूले गर्नुपर्नेमा सक्दो प्रयास गरें,’ सविता त्यो क्षण स्मरण गर्छिन्, ‘मैले त्यतिबेला इन्जोय नै गरें । फस्ट रनर अप भएँ । धेरै अफरका बाबजुद पनि नेपालमै केही गर्छु भनेर स्वदेश फर्किएँ ।’
यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले आफूलाई धेरै कुरा सिकाएको उनी बताउँछिन् । मोडल तथा फेसन शो कोरियोग्राफर सविता एसएलसी सकिनेबित्तिकै काममा सक्रिय भइहालिन् । कन्सल्टेन्सीमा रिसेप्सनिस्टदेखि ट्युसन पढाउनेसम्मका कामले उनलाई केही आत्मनिर्भर बनाइसकेको थियो । त्यसो त उनी विदेश जानका लागि आइएलटीएस पनि गरिन् । त्यसपछि उनी चार्टर्ड एकाउन्टेन्टतिर लागिन् । डिएभी कलेजबाट प्लस टु सकेपछि उनी सिए पढ्न एनएसी पुतलीसडक पुगिन् । यत्तिकैमा सन् २०१३ मा एनसेलको विज्ञापनमा खेल्न पुगिन् । त्यसपछि उनको मोडलिङ यात्रा सुरु भयो ।
धेरै दु:ख नगरी राम्रै आम्दानी हुने भएकाले उतिबेला आफू यो काममा निकै रमाएको उनी बताउँछिन् । सन् २०१४ मा उनले सूर्य नाइट नामक फेसन शोमा र्याम्प वाक गरिन् । त्यसपछि उनलाई वाउ, वेभ, भी–म्यगलगायतका म्यागेजिनहरूले कभर सुटका लागि अफर गर्न थाले । त्यसपछि उनी टिजिआइएफ फेसन विकमा सहभागी भइन् ।
त्यतिबेला टिजिआइएफमा हिँड्नु हरेक मोडलका लागि ठूलो उपलब्धि हुन्थ्यो । त्यसपछिका हरेक फेसन शोहरूमा उनी देखिन थालिन् । त्यसपछि हो सवितालाई सन् २०१७ मा ‘इन्डियाज नेक्स्ट टप मोडल’ को अफर आएको । करिब डेढ महिना क्लोज क्याम्पभित्र बस्दा उनलाई फोनसम्म दिइएको थिएन । प्रतिस्पर्धामा पस्ने बेला अब म तपाईंसँग बोल्न कि त हारेर बाहिरिनुपर्छ कि जित्नुपर्छ भनेर आमालाई फोन गरेकी थिइन् । त्यसपछि एकैपटक ग्रान्ड फिनालेको दिन लाइभ स्टेजबाट आमासँग बोलेकी थिइन् ।
डेढ महिनाको अवधिमा उनले थुप्रै कुरा सिकिन् । भारतीय नायिका मलाईका अरोरा, मोडल मिलिन्द सोमनलगायत दिग्गज हस्तीहरू निर्णायक बसेको ठाउँमा उनले आफूलाई हरेक टास्कमा अब्बल साबित गरिन् । चार तलाबाट हाम फालेर पोज दिनेदेखि, इगुवानालाई शरीरमा राखेर फोटोसुट गर्नेसम्मका काममा उनी खरो उत्रिइन् ।
‘१० फिट गहिरो स्वीमिङ पुलमा पानीभित्र पसेर मिलिन्द सोमनसँग पोज दिनुपर्ने थियो, यसै त म पानीदेखि डराउने मान्छे त्यसो गर्दा त निकै अत्तालिएँ । एक–दुई पोज दियो आत्तिएर बाहिर आइहाल्ने । यसले म बटम थ्रीमा परें,’ उनले सुनाइन्, ‘एकदिन बस्ने ठाउँबाट सुटिङ स्पटतर्फ जाँदै थिएँ । गाडीको ∆यालबाट बाहिर हेर्दा अचानक अचम्मको सोच आयो । ती सारा कुरा मैले जे गरें, अब फेरि मेरो जीवनकालमा कहिले गर्न पाउँला र ? अहिले नगरे कहिले गर्ने ? त्यसपछि मैले गाईभैंसीको गोबर, गहुँत भएको चिप्लो भुइँमा समेत आत्मविश्वासका साथ क्याटवाक गरेर खतरा पोज दिएँ ।’ त्यसपछि उनमा डर हरायो, आत्मविश्वास एक्कासि बढेर आयो । म्याचिङ विथ मलाईका नाम दिइएको टास्कमा त्यसअघिका दुईवटा सिजन र यो गरी तीनैवटा सिजनको उत्कृष्ट फोटोसुट नाम दिए निर्णायक मण्डलले ।
हाल क्यानडामा बसोबास गरिरहेका नारायण र देबु कार्कीले छोरीलाई छोरा विराटजस्तै गरी हुर्काएका हुन् । त्यसैले सवितामा धक छैन, जे काम गर्दा पनि आत्मविश्वासी देखिन्छिन् । हालसम्म १ सयभन्दा बढी र्याम्प वाक, ५० भन्दा बढी विज्ञापनलगायत केही म्युजिक भिडियोमा समेत काम गरिसकेकी उनले सन् २०१९ मा अस्ट्ेरलियामा गरेको ग्ल्यामर शो र ‘क्रमश:’ नामक फेसन शो का १० वटा इपिसोड निकै रुचाइएको थियो । विदेश जानुभन्दा आफ्नै देशमा बसेर आफ्नो क्षेत्रमार्फत मुलुकलाई केही योगदान गर्न चाहने सविता अहिले फेसन शो क्युरेटरको काम गर्छिन् । जसमा एउटा फेसन शो सम्पन्न गर्न आवश्यक सबै कुरा पर्छन् । त्यसबाहेक उनी मोडलहरूलाई प्रशिक्षण दिने काम पनि गर्छिन् ।
केमा व्यस्त हुनुहुन्छ ?
मोडलिङ, कोरियोग्राफी, प्रशिक्षणमै व्यस्त छु । इन्फ्लुएन्सरको काममा पनि समय बित्छ ।
नेपालमा मोडलिङको पछिल्लो अवस्था कस्तो छ ?
अहिले त मोडलिङ पनि डिजिटल भइसक्यो । उहिले जस्तो सबैको ढोका ढकढक्याउन जान पर्दैन । टिकटक, इन्स्टालगायतबाटै धेरै कुरा भइहाल्छ । उहिले पत्रिका, टिभीमा विज्ञापन बज्थे अहिले सोसल मिडिया बढी प्रयोग हुन्छ । जे भए पनि नयाँ आएका मोडलहरू असाध्यै ट्यालेन्टेड, स्मार्ट, पोटेन्सियल भएको देखेकी छु ।
के कुरालाई उपलब्धि ठान्नुहुन्छ ?
बुवाले सुरुमा मन नपराएको मेरो काम क्लासिक डायमन्डको शोमा म वाक गर्दा सोफाबाट जुरुक्क उठेर ताली बजाउनुभएको थियो रे । अभिभावकलाई खुसी बनाउन सकें, भारतीय प्रतिस्पर्धामा गएर नेपालको नाम राख्न सफल भएँ । यसलाई उपलब्धि ठानेकी छु । अर्को कुरा यसैले ममा आत्मविश्वास बढायो, संसार देख्ने अवसर पाएँ । यही नै ठूलो उपलब्धि हो ।
आफ्नो क्षेत्रमार्फत गर्न सकेको योगदान के हो जस्तो लाग्छ ?
यो म आफूले आफैंलाई सोधिराख्ने प्रश्न हो । ‘इन्डियाज नेक्स्ट टप मोडल’ प्रतिस्पर्धामा गएर नेपाल पनि यो क्षेत्रमा छ है भन्ने सन्देश दिन सकें । अहिले नयाँ पुस्तालाई सिकाइरहेकी छु । अझ धेरै गर्न बाँकी छ ।
के कुराले खुसी बनाउँछ ? महिला खुसी हुने मन्त्र के हो ?
अरुले के भन्लान् भन्ने र ओभर थिंकिङ् गर्न जब छोडें तब म खुसी हुन थालें । पहिला डराएर बस्थें अहिले चित्त नबुझेको कुरामा प्रश्न गर्न सक्ने भएकी छु जसले मलाई खुसी दिएको छ । महिला आफूभन्दा पहिला सन्तान, परिवार, आफन्त, कामलाई राख्छन् तर यसो होइन, आफूलाई प्राथमिकतामा राख्न सकियो भने आफू पनि खुसी भइन्छ अरूलाई पनि खुसी बनाउन सकिन्छ जस्तो लाग्छ ।
सफलताको सूत्र के हो ?
कामप्रतिको निरन्तरता, आफैंमाथिको विश्वास र हार नखाने स्वभाव नै सफलताको सूत्र हो ।
महिला उच्चस्थानमा पुग्न के आवश्यक छ ?
घरैदेखि हरेक कुरामा समानता चाहिन्छ । शिक्षामा, व्यवहारमा, सोचमा समानता आवश्यक छ ।
छोरीहरूलाई के भन्न चाहनुहुन्छ ?
निडर हुनु । जे मन छ त्यो गर्नु । जुन क्षेत्रमा अघि बढ्ने इच्छा छ त्यतै जानु । आफूलाई शिक्षामा अब्बल साबित गर्नु । आर्थिक रूपमा सशक्त बन्नु ।
महिलाको विकास र सशक्तीकरणका लागि आवश्यक तीन कुरा ?
शिक्षा, अवसर र रोजगार ।
पाठकलाई केही सन्देश छ कि ?
स्वस्थ र खुसी बसौं । स्क्रिन टाइम घटाऔं, सिभिक सेन्स विकास गरौं ।
पहिरन : नियोन द लेबल
हेयर तथा मेकअप : मिला श्रेष्ठ, ग्ल्याम बाई मिलि
लोकेसन : सूर्य हेरिटेज होटल प्रा.लि. कपूरबोट चौतारा ठमेल
तस्बिरहरू : महेशमान प्रधान