दर्बिला दम्पती
अकल्पनीय बज्रपात, त्याग र संघर्षका कहरिला दिन छिचोल्दै अघि बढेका दम्पतीको कथा ।

‘छक्का पञ्जा’ फिल्मको सुटिङ युनिट पोखराको लहाचोक पुगेको थियो । सुटिङको रमाइलो हेर्न गाउँलेसँगै थुप्रै बालबालिका त्यहाँ पुगेका थिए । तिनैमध्ये एकजनालाई यसका छायाकार पुरुषोत्तम प्रधानले गीत गाउन लगाए । पछि उनको त्यो भिडियो सामाजिक सञ्जालमा हालिदिए । भिडियो ‘भाइरल’ बन्यो ।
‘नाइँ नभन्नु ल–५’ का निर्देशक विकाशराज आचार्यले त्यो भिडियो देख्नासाथ यस्तो प्रतिभालाई अगाडि ल्याउनुपर्छ भन्ने सोच बनाएर फिल्मका संगीतकार वसन्त सापकोटासँग सल्लाह गरे । आचार्यको कुरा सुनेपछि सापकोटाले समीक्षालाई फोन गर्न तयार भए ।
‘नाइँ नभन्नु ल–५’ का लागि तिनै बालिकाको गीत गुन्जियो–‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर...’
उनी थिइन्, समीक्षा अधिकारी ।
‘असारको महिना पानी परिरहेको थियो,’ उनी करिब ६ वर्षअघिको त्यो झरिलो दिन सम्झिन्छिन्, ‘वसन्त सरको फोन आयो । पहिला त म अक्क न बक्क भएँ, पछि उहाँले गीतका लागि बाल कलाकार चाहिएको कुरा गर्नुभयो ।’
बर्खाको त्यो झरीमा उनी फुपूलाई लिएर काठमाडौं पुगिन् । गीत रेकर्डिङ भयो । परिपक्व र माझिएको समीक्षाको आवाज धेरैले रुचाए । त्यसपछि त निरन्तर गाउने अफर आउन थाल्यो । यो उनको जीवनको त्यस्तो ‘टर्निङ प्वाइन्ट’ थियो, जहाँबाट अघि बढेकी समीक्षाले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।
यही गीत नै उनका लागि पहिलो व्यावसायिक गीत थियो । ‘बुझिन मैले’, दुर्गेश थापासँगको ‘दुश्मन हेरेको हेर्यै’ लगायत उनका पछिल्ला हिट गीत हुन् ।
निरन्तरता नै सफलता
२० वर्षको उमेरमै संघर्षका अनगिन्ती धारिला पहाड चढ्दै अघि बढेकी समीक्षाले पाँच वर्षबीचमा दुई हजारभन्दा बढी गीत गाइसकेकी छिन् । आधुनिक, लोक, पपलगायतका विधामा आफ्नो सुमधुर स्वर पस्किइसकेकी उनले नेपाल र विदेशमा पाँच सयभन्दा बढी स्टेज परफरमेन्समार्फत आफ्नो कला प्रस्तुत गरेर दर्शकको मन जितिसकेकी छिन् ।
स्टेज परफरमेन्सका लागि आत्मविश्वास र कौशल चाहिने बताउँछिन् उनी । ‘लाइभ हुने भएकाले टेक लिँदै थकाइ मार्न पाइँदैन, स्टुडियोमा रेकर्डिङ गर्दा टेक लिने सुविधा हुन्छ,’ समीक्षा भन्छिन्, ‘संगीत सजिलो छैन, यसमा त्याग, तपस्या, मेहनत र अथक परिश्रम चाहिन्छ । सफल हुनका लागि निरन्तरता अर्को पाटो हो ।’
बाल्यकाल
पोखरा लहाचोकका डाँडाकाँडामा उफ्रिदै, नाच्दै, रमाउँदै उनको बाल्यकाल बित्यो । सुन्दर नगरी पोखरामा उनको बालामन फुरुङ्ग थियो । माया र देवीलाल अधिकारीले १ छोरा र २ छोरीलाई समान शिक्षा र ममत्व दिएर हुर्काए, पढाए, बढाए । समीक्षा भन्छिन्, ‘मेरो बालापन निकै सुन्दर र रमाइलो गरी बित्यो । साथीहरूसँग गफिने, लुकामारी खेल्ने, वनभोज जाने दिन सम्झिँदा आज पनि पुलकित हुन्छु ।’
आमाले माया गरेर ‘मुसी’ भनेर बोलाउँदा साथीसंगीलगायत धेरैजसोले यही नामले बोलाउँथे । सानै उमेरदेखि गाउन सिपालु थिइन् समीक्षा । तीन कक्षा पढ्दादेखि नै गीत गाएर उनले थुप्रै पुरस्कार हात पारिन् । आठ कक्षासम्म गाउँमै पढेकी समीक्षा त्यसपछि पोखराको स्पाइरल ग्यालेक्सी आइपुगिन्, त्यहीँबाट उनले प्लस टु पूरा गरिन् ।
करिअर र चुनौती
समीक्षालाई अहिले पनि ती कठिन दिन सम्झिँदा कहाली लाग्छ । कलिलो उमेरमै विशाल कठिनाइ आइलागे पनि तिनलाई पार गर्दै हिम्मत जुटाएर अघि बढेको उनले सुनाइन् । ‘म सही थिएँ, एकदिन सत्यकै जित हुन्छ भन्ने विश्वास थियो,’ यही कारण उनले अहिले करोडौं दर्शक–श्रोताको मन जितिरहेकी छन् ।
आफू गलत छैन भने नबिराउनु नडराउनु । समीक्षाले अपनाएको सूत्र पनि यही हो । विचलित नभई हरेक कठिनाइसँग जुधेर अघि बढ्न उनी सुझाउँछिन् ।
जीवनको सौन्दर्य
उनी अत्यन्तै व्यस्त छिन् । खाने फुर्सद पनि कमै हुन्छ । गीत रेकर्डिङ एवं सांगीतीक कार्यक्रमले उनको व्यस्तता बढाएको छ ।
‘भगवान्ले मलाई गरी खा भनेर दिएको बेला हो यो । आफूले गल्ती गरेको छैन भने त्यस्ता कयौं चुनौतीका पहाड चढ्ने हिम्मत हुँदो रहेछ,’ उनी भन्छिन्, ‘मैले ती नमीठा दिन अब बिर्सिसकें । लाग्न थालेको छ, जीवन यति आनन्दमय र सुन्दर हुँदो रहेछ ।’
नेपाली संगीत
विगतको तुलनामा प्रविधि र मानिसहरूमा आएको सचेतनाका कारण नेपाली संगीत क्षेत्र राम्रो हुँदै गएको समीक्षाको बुझाइ छ । प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा उभिनका लागि मौलिक सदाबहार र कालजयी गीत सिर्जना हुनुपर्ने उनी बताउँछिन् ।
महिला उच्च तहमा पुग्न
जुनसुकै क्षेत्रमा पनि महिला उच्चस्थानमा पुगेर सफल हुनका लागि आफूले आँटेको काम जसले जे भने पनि गरेरै छाड्ने हिम्मत हुनुपर्छ भन्छिन्, समीक्षा । ‘जसले जेसुकै भनून्, कम आँकून् वा कुरा काटून्,’ उनी भन्छिन्, ‘आफूले सुरु गरेको काममा दृढ भएर म गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्ने हो भने एकदिन अवश्य सफल भइन्छ ।’
अवार्ड
भर्खरै ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डस्’ मा उत्कृष्ट गायन अवार्डबाट सम्मानित भएकी समीक्षाले नेफ्टा अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्डलगायत दुई दर्जनभन्दा बढी सम्मान तथा अवार्ड प्राप्त गरिसकेकी छिन् ।
सन्देश
मेरा दर्शक–श्रोताले आज मलाई जुन हौसला, माया र विश्वास दिएर मभित्र हिम्मत भरिदिनुभएको छ, यो क्रम निरन्तर चलिरहोस् । जीवनमा जतिसुकै कठिन अवस्था आए पनि हार मान्नु हुँदैन । हरेक मान्छेको जीवनमा एकपटक खराब समय चल्छ, त्यो बेला हरेश खाएर आफैं सकिने काम गर्नुहुँदैन । संघर्ष, दुःख र चुनौतीले नै बलियो भएर अगाडि बढ्न सबल बनाउँछ । जीवन आफैंमा सुन्दर छ, खुसी भएर बाँचौं र अरुलाई पनि खुसी बनाउन प्रयत्न गरौं ।
पहिरन : उमा नेमकुल, काव्या द सोल अफ फेसन, पाटनढोका
हेयर तथा मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाँबानेश्वर
लोकेसन : सि कार गैरीधारा
तस्बिरहरू : महेशमान प्रधान