धेरै मानिसको चाहना हुन्छ– आरामदायी जीवन बाँचूँ । तर, अभिनेत्री तथा नृत्यांगना कविता नेपालीलाई सहज जीवन मन पर्दैन । उनमा बेलाबेला अनेक भूत सवार हुन्छ । साहसिक र चुनौतीपूर्ण गतिविधि अँगाल्न उनी मन पराउँछिन् ।
ट्ेरडमिलमा गरेको नृत्य होस् या २४ घण्टाभित्र सगरमाथा र ल्होत्सेको आरोहण । यो साहसले नै उनलाई चर्चाको शिखरमा पुर्याइदिएको छ ।
‘ममा कहिलेकाहीँ नयाँ परिक्षण र अनुभव बटुल्ने मोह उत्कर्षमा पुग्छ, साहासिक गतिविधिले जहिल्यै तानिरहेको हुन्छ,’ कविताको आफ्नै बुझाइ छ, ‘जीवन हो, हरेक दुख–सुख, सजिला–अप्ठ्याराको अनुभव गर्नुपर्छ भन्ने लाग्छ ।’
कमल र सुर्यमाया गुरुङ नेपालीको एक्लो सन्तान हुन् कविता । स्नातकसम्मको अध्ययन पुरा गरेकी उनले मुम्बईबाट न्युट्रिसियन कोर्ष गरिन् । सधैं फिट र तरोताजा अनि जुझारु देखिने कविताले रेखा थापा, एलिजा गौतम, प्रियांका कार्की लगायतका सेलिब्रेटीको फिटनेस इन्स्ट्रक्टरका रुपमा पनि काम गरिसकेकी छिन् । ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी दुई दर्जन विज्ञापनमा छाइसकिन् । आगामी जनवरीमा प्रर्दशनमा आउन लागेको फिल्म ‘एक्लो’मा उनको बेजोड कला पनि देख्न पाइनेछ । ६ वर्षको उमेरदेखी नै उसु खेलेकी कविता राष्ट्रिय टीममा रहेर ३ पटक गोल्ड मेडल हात पार्न सफल भएकी छन् ।
मनोरञ्जन क्षेत्र
उनलाई लाग्छ, पछिल्लो समय प्रविधि र व्यावसायिकताका कारण नेपाली मनोरञ्जनको क्षेत्र एड्भान्स हुँदै गइरहेको छ । निर्माताले पैसा हालिरहेकै छन् भने कलाकारले पनि सम्मानपुर्वक राम्रै कमाइ गरिरहेका छन् । फिल्म या म्युजिक भिडियो मेकिङ्गमा प्रयोग हुने प्रविधि उच्चस्तरका हुँदैछन् ।
फिटनेस
कविताले बिजु पार्कीसँग मिलेर फिटनेसमा सहकार्य गरिरहेकी छन् । नेपालका विभिन्न सेलिब्रेटीसंग काम गरिसकेकी उनी यसलाई स्वास्थ्य र सुन्दरतासंग जोडेर हेर्छिन् । फिट रहनु आकर्षक देखिनु मात्रै नभएर स्वस्थ रहनु पनि हो भन्ने उनको बुझाइ छ ।
सगरमाथा र ल्होत्से आरोहण
एकैनासको जीवनदेखि दिक्क लाग्छ कवितालाई । जोखिमसँग खेल्न रुचाउने उनी ‘म कतिसम्म गर्न सक्छु’ भनेर आफैलाई नाप्न र परीक्षण गर्न मन पराउँछिन् । लोमान्थाङ्गमा उनी ‘एक्लो’ फिल्मको सुटिङ्ग गरिरहँदा हिमाल आँखैअगाडि ठोकिएझैं लाग्थ्यो । त्यतिबेला उनलाई महसुस भयो, मलाइ त हिमालले बोलाइरहेछ । सुटिङ्ग सकेर फर्किएपछि उनले ‘माउन्टेन क्विन’ नामक डकुमेन्ट्री हेरिन् । त्यसको मुल पात्र शेर्पा महिला नै हुन् । ती साहसी महिलाको सन्देश सुनेपछि कवितालाई भित्रैदेखी हिमाल चढ्ने जोश आयो ।
हिमालको चुचुरोमा पुग्दा स्वर्गजस्तै आत्मिक आनन्द मिलेको उनी सुनाउँछिन् । फर्केर आएपछि भने जीवनलाइ हेर्ने दृष्टिकोण नै बदलियो । कतै देखिने शवले आफुलाई जीवन केही छैन रैछ, दुखलाई पनि हांसीहांसी अपनाउनुपर्छ भन्ने पाठ सिकाएको उनी बताउँछिन् ।
योगदान
कवितालाई आफुले त्यस्तो धेरै योगदान गरिरहेको या गर्न सकेको भन्ने लाग्दैन । तर नेपाली परिवेशमा नृत्यमा नारीलाई अझै पनि गाह्रै छ । उनी कयौं युवतीका लागि प्रेरणा बनेकी छन् । कतिले मेरो छोरीलाई पनि तपाइ जस्तै बनाउन मन छ भन्ने गर्छन् । नृत्य क्षेत्रमा थोरै भए पनि सोच परिवर्तन गराउन सकेकामा उनलाई खुशी लाग्छ ।
फिल्म
कवितालाई धेरै फिल्मबाट अफर नआएका होइनन् । तर उनको व्यस्तता र केके कुरा नमिल्दा सबैमा काम गर्न सकिनन् । नेपाली तथा ब्रिटिस सहकार्यमा बनेको नेपालको पहिलो साई–फाइ (साइन्स फिक्सन) मुभी ‘एक्लो’ मा कविताको लिड रोल छ । प्रदिप शाहीको निर्देशनमा निर्माणाधिन फिल्ममा कविताले एरियल नामको पात्रका रुपमा रियल एक्सन प्रस्तुत गरेकी छन् । लिड क्यारेक्टर एरियलले ४ हजार ८ सय मिटर अग्लो भुभाग लोमान्थाङ्गमा गरेको फाइट सिन बेजोड छ ।
युवालाई सन्देश
उनी युवालाई संसार घुम्न, हेर्न, देख्न, सिक्न र अन्तत: नेपाल फर्केर मातृभुमीको सेवा गर्दै आफ्नो माटोलाई नबिर्सन आग्रह गर्छिन । उनको विचारमा जति एक्स्प्लोर गऱ्यो त्यत्ति नै मान्छेको दिमाग दु्रत विकास हुंदै जान्छ ।
योजना
एक्लो–२ साइन गरिसकेकी कविता यो प्रोजेक्टमा अझै बेस्ट दिने योजनामा छिन् । फिटनेस आफ्नो लाइफटाइम रहने उनले बताइन् । हिमाल पनि चढि नै राख्ने उनको इच्छा छ । उनको अन्तिम लक्ष्य भने साउथपोल जाने हो ।
आफैंमा विश्वास गर्दै अनुशासित भएर कामलाई निरन्तरता दिन सकियो जीवन सरल हुनेमा उनलाई विश्वास छ ।
पहिरन : रमिला नेमकुल, कासा पाटनढोका
हेयर तथा मेकअप : पुनम श्रेष्ठ, पुनम व्युटी एकेडेमी नयांबानेश्वर
क्रियटिभ डाइरेक्टर : मीलन लामा
लोकेसन : होटल मनाङ्ग ठमेल
तस्विरहरु : महेशमान प्रधान