आरती पौडेल
यशोदा देवकोटा सानै थिइन् । गाउँघरमा मेला महोत्सव हुँदा कलाकारहरू निकै आउँथे । सबैले कलाकारको, गीतको प्रशंसा गर्थे । दर्शक बनेका गाउँलेहरू निकै खुसी देखिन्थे । तर उनलाई त्यही कुरा अनौठो लाग्थ्थो । आफ्नो गाउँका छोरीचेलीलाई बाहिर निस्कन नदिने, गीत गाउन हुँदैन भन्ने तर अरु ठाउँबाट गीत गाउन आएका कलाकारको प्रशंसा गर्ने ।
त्यही भएर हुन सक्छ, उनी भन्छिन्, ‘सबै रहरैरहरले कलाकारिता क्षेत्रमा आएका भए पनि म रिसले आएकी हुँ ।’
कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–३ निम्न परिवारमा जन्मिएकी यशोदाको बाल्यकाल सामान्य रूपमै बित्यो । आर्थिक अभावमा हुर्किएकी यशोदाको कलाकार बन्ने रहर थियो । उनले आफ्नो सपना साथीभाइलाई सुनाउँथिन् । उनका सपना देखेर उनका मामा पर्नेले एकपल्ट गीत गाएर आऊ भनेर सहयोग गरेका थिए । त्यसपछि उनी काठमाडौं आएकी थिइन् । उनले कलाकार खगेन्द्र न्यौपानेको सहयोगमा एउटा गीत रेकर्ड गरेकी थिइन् । हजार सपना बोकेर आएकी यशोदाको गीत भने सोचेजस्तो चलेन । उनलाई फर्केर गाउँ जान मन लागेन ।
गीत नचलेपछि उनी सुर्खेत गएर बसेकी थिइन् । दोहोरीको टुक्का निकै राम्रो फर्काउने यशोदा त्यसपछि एउटा दोहोरी साँझमा गाउन थालिन् । तीन महिनासम्म दोहोरी साँझमा छँदा उनले निकै कष्टका दिन बिताइन् । कोठा भाडामा लिएर बसेकी उनी पैसा नभएको कारणले ग्यास, चुलो केही किनेकी थिइनन् । बेलुका जसोतसो दोहोरी साँझमा खान पाउने यशोदाले बिहान कोठामा भने भोकै धेरै दिन कटाएकी छिन् । उनी विगत सम्झदै भावुक बन्छिन्, ‘त्यो क्षण सम्झदा निकै नरमाइलो लाग्छ । घरमा भनेको भए पनि पैसा पठाइदिनु हुन्थ्यो होला,’ उनले भनिन्, ‘छोरीले दु:ख पाई भन्ने थाहा पाए सहन सक्नुहुन्न भनेर भनिनँ । त्यसबेला धेरै दिन त खाली पेट नै बसेकी थिएँ ।’
केही समयपछि उनी घर गइन् । उनी दुब्लाएको देखेर घरबाट कतै जान दिएनन् । केही महिनापछि धेरै कर गरेपछि आमाले १० हजार हातमा थमाएर सपना पूरा गर्न भनी अनुमति दिएकी थिइन् । त्यसपछि उनी फेरि काठमाडौं आइन् । ‘हाम्रोतिर लाइभ देउडा चल्थ्यो । काठमाडौंमा देउडाको माहोल चलेको थियो । त्यसैले म देउडा खेल्न थालें,’ सुरुमा देउडा खेलेर १५ हजार कमाएको उनले सुनाइन् । त्यो समय सबैभन्दा खुसीको क्षण रहेको उनको भनाइ छ । ‘अब म कमाउँछु, दु:ख नगर्नु है भनेर पहिलो कमाइ आमालाई दिएकी थिएँ । आमा निकै रुनु भएको थियो,’ यशोदाका आँखा रसिला बने ।
उनी थप मेहनत र संघर्ष गर्दै गइन् । दर्शक–श्रोताहरूले उनका गीत मन पराउन थाले । त्यसपछि लाइभ देउडामा आफ्नो छुट्टै स्थान बनाइन् ।
उनले ‘इन्द्रेणी’ कार्यक्रममा पनि धेरैपटक दोहोरी गाएकी छिन् । राजु परियार, छत्र शाही, प्रकाश पराजुली, मिलन लामालगायतका गायकसँग उनले गाएका दोहोरी निकै चर्चित छन् । अहिले उनले घरपरिवारबाट राम्रो साथ पाएकी छिन् । पहिला नानाथरि भन्ने गाउँलेले प्रशंसा गर्छन् ।
माला, बाला, धोती, चोलो लगाएर देउडा गाउने २२ वर्षकी यशोदाले १ हजारभन्दा बढी लाइभ देउडा गाइसकेकी छिन् । ‘आफ्नो गाउँठाउँको गीत देशविदेशमा गुञ्जिदा, सबैले मन पराउँदा निकै खुसी लाग्छ,’ उनले भनिन्, ‘देउडाको संरक्षण गर्न हरेक तरिकाले लागिपर्नेछु ।’
अहिले देउडा हरेक पुस्ताले मन पराउन थालेको उनको अनुभव छ । ‘अहिले युवाहरूका माझ पनि देउडा चिनिएको छ । सबै वर्गले यसरी नै देउडा रुचाए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन् । पहिला लोक दोहोरी गाउनेलाई मात्र गायक भन्ने तर देउडा गाउनेलाई कलाकार नभन्ने चलन थियो । अहिले त्यस्तो भाष्य हटेकामा उनलाई खुसी लाग्छ ।