उनले सोचेकी थिइन्–सामान उत्पादन गर्छु, बेच्छु अनि महिलालाई काममा लगाउँछु । तर, परिणाम उल्टो निस्कियो । उनी डिप्रेसनमै पुगिन् । अहिले भने उनका उत्पादन चीन, स्विट्जरल्यान्ड, बेल्जियम, अमेरिका, अस्ट्रेलियासम्म पुग्छन् ।
हरेक सफलताको पछाडि संघर्ष लुकेको हुन्छ । ‘कोक्रोमा’ की संस्थापक रेवती गुरुङले पनि यहाँसम्म आइपुग्न कम्ती हन्डर खेप्नुपरेन ।
दुई लाख रुपैंयाँबाट सुरु भएको स्टार्टअप बिजनेस कोक्रोमा नेपाली ब्रान्ड अहिले करोडौंको कारोबार गर्न सफल छ । बौद्ध र सानेपामा गरी यसका दुई भव्य आउटलेट छन् भने दलित, जनजाति, अपाङ्ग गरी १८ महिलाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । अप्रत्यक्ष रूपमा काम पाउनेको संख्या सय नाघेको छ ।
कोक्रो भन्नासाथ अधिकांशले दुधे बालक हाल्ने झोलुंगो भन्ने बुझ्छन् । सुरुवाती दिनमा उनले कोक्रो बनाएर राखेको ‘कोक्रोमा’ ले अहिले भने कोक्रो बनाउँदैन । यसले अहिले साना बालबालिकालाई न्याना दौरासुरुवाल, पाइजामा, टिसर्ट–सुरुवाल, टोपी, पन्जा, मोजा र यस्तै अन्य आवश्यक सामग्रीलगायत तोरीको सिरानी पनि बनाएर बेच्ने गरेको छ ।
रेवतीलाई उद्यमी बन्छु भन्ने कहिल्यै लागेको थिएन । ‘मैले आफ्नो ४२ वर्षको जीवन यात्रामा यति धेरै हन्डर खाएँ कि त्यसैले मलाई उद्यमी बनायो,’ उनी भन्छिन्, ‘मलाई म उद्यमी भएँ भन्ने पनि भर्खर मात्रै महसुस हुँदैछ ।’
जगतबहादुर र भीमकुमारी गुरुङका चार सन्तानमध्येकी कान्छी छोरी रेवती सिन्धुली दुधौलीमा जन्मिई उतै हुर्किइन् । त्यहीँ स्कुले पढाइ सकिन् । उच्च शिक्षा लिन धरान पुगिन् र स्नातक सकिन् । अनि, स्नातकोत्तर गर्न काठमाडौं पसिन् । पद्मकन्या क्याम्पसबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरिन् । साथै उनले पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलपमेन्ट स्टडिजमा दोस्रो स्नातकोत्तर सिध्याइन् ।
उनले जीवनमा थुप्रै आरोह–अवरोह पार गरिन् । रेवती आफूलाई धिमा गतिमा अगाडि बढेको मान्छे भन्न रुचाउँछिन् । ‘युवा उमेरमा मान्छे कति स्मार्ट हुन्छन्, आफ्नो जीवनबारे सोच्छन्,’ उनी भन्छिन्, ‘म एसएलसी पास गर्ने बेलासम्म पनि ठूलो भएपछि यही बन्छु भनेर मनमा आउँदैनथ्यो । मलाई अहिले पुराना दिनहरू सम्झिँदा यहाँसम्म आइपुगुँला भन्ने लागेकै थिएन, तर, परिश्रम र संघर्षमा खरो उत्रिन सकेका कारण यो सफलता हात लागेको हो भन्ने लाग्छ ।’
एसएलसी पास गरिसकेपछि उनलाई के गर्ने भन्ने अन्योल भयो । गाउँमा आमाबाबु थप पढाउन सक्दैनथे । उनका काका धरानमा बस्थे । एसएलसीपछिको पढाइका लागि उनले भारतीय सेनामा कार्यरत काकालाई गुहारिन् । ‘मैले काकालाई धरान आउँछु, भाइहरू हेर्छु, काकीलाई सघाउँछु र पढ्छु भनेर कन्भिन्स गरें,’ उनले सुनाइन्, ‘काकालाई पनि छोरीले पढ्छे भन्ने लागेर हुन्छ भन्नुभयो ।’
पढाइमा अब्बल विद्यार्थी नभए पनि उनमा छिटो सिक्ने कला भने थियो । ‘म सानै हुँदा आमाले काम गर्न सिकाउनुहुन्थ्यो,’ बाल्यकाल स्मरण गर्छिन्, ‘बारीमा गोलभेंडा फलेका हुन्थे, आमाले बजार लगेर बेच भन्दा मलाई एकदमै लाज लाग्थ्यो, मलाई त जागिर खाएर पैसा कमाउनुपर्छ भन्ने लाग्थ्यो, त्यति लज्जालु मान्छे अहिले उद्यमी बनें, आफैंदेखि अचम्म लाग्छ ।’
तीन दिदीबहिनीमध्ये कान्छी रेवतीले मात्रै पढ्न पाइन् । उनका दिदीहरूले बेलैमा विवाह गरे । काठमाडौं आइसकेपछि रेवतीका दिन कष्टप्रद रहे । त्यसबेला उनलाई फिलोसोफी, लिटरेचरमा रुचि थियो । प्रोफेसर बन्छु भन्ने लाग्थ्यो । उनलाई अब कसरी मास्टर्स पढ्ने भन्ने चिन्ताले सताउन थाल्यो । अब रेवतीको एकमात्र चिन्ता मलाई कसले पढाउँछ, कहाँ बस्ने भन्ने थियो । घरबाट उनले कुनै सहयोग पाइनन् । स्नातकोत्तरका लागि दुई महिना ढिला भइसकेको थियो । पछि उनले म्याद सकिएपछि पनि भर्ना भएर पढ्न पाइन्छ भन्ने थाहा पाएपछि पद्मकन्यामा भर्ना भइन् ।
स्नातकोत्तर सकेपछि रेवतीले विभिन्न संस्थामा जागिर खाइन् । सन् २०१४ ताका उनी निकै तनावपूर्ण अवस्थामा पुगिन् । त्यतिबेला उनलाई आफूले गरेको कामले आफैंलाई असन्तुष्ट बनायो । ‘मलाई मैले गरिरहेका कामको प्रभाव कहाँ छ त भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘म खुसी नै हुन नसक्ने अवस्थामा पुगें, मलाई बाँच्नै मन लाग्न छाडेको थियो । म यस्तो अवस्थामा पुगें कि कुनै कुराको दु:ख, खुसी, पीडा केही पनि हुँदैनथ्यो ।’ त्यसपछि उनी जागिर छाडेर एक वर्ष घरमै बसिन् ।
२०७२ सालको भूकम्पपछि उनको जीवनै परिवर्तन हुन पुग्यो । भूकम्पपछि उनले अब धेरै समय छैन, जीवनमा केही परिवर्तन ल्याउनैपर्छ भनेर सोच्न थालिन् । भूकम्पपछि रेवती ‘लैंगिक, सांस्कृतिक र राजनीतिक’ विषय अध्ययनका लागि युरोपको फिनल्यान्ड पुगिन् । त्यसै क्रममा उनले फिनल्यान्डको एक परियोजना ‘फिनिस बेबी बक्स’ बारे जान्ने अवसर पाइन् । त्यसमा भर्खरै सुत्केरी आमाहरूलाई नवजात शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र बच्चाका लागि केही जोर लुगा दिइने रहेछ । नवजात शिशुलाई दिइएको त्यो बेबी बक्सले रेवतीको मन असाध्यै तान्यो । त्यस विषयमा धेरै कुरा जान्ने र बुझ्ने मौका नपाउँदै रेवती छोटो समयको पढाइ पूरा गरेर नेपाल फर्किइन् ।
स्वदेश फर्किएपछि उनी आफ्नै काममा व्यस्त हुन थालिन् । एक वृत्तचित्र निर्माण कार्यशालामा सहभागी भइन् । यसपछि फेरि गरिबी निवारण कोष र विश्वबैंकको एक परियोजनामा जोडिन पुगिन् । ‘त्यहाँ महिला उद्यमीसँग कुरा गरेर उनीहरूको व्यावसायिक स्टोरी तयार गर्ने मैले गर्नुपर्ने काम थियो,’ उनी भन्छिन्, ‘मैले बनाएको पहिलो डकुमेन्ट्री राम्रो भयो । त्यसपछि देशका विभिन्न जिल्ला पुगेर मैले महिला उद्यमी र उनीहरूका उत्पादनबारे थप डकुमेन्ट्री बनाएँ ।’
त्यो प्रोजेक्टका लागि रेवतीले एक वर्षमा हस्तकलाका ८ वटा डकुमेन्ट्री बनाउनुपर्ने थियो । परियोजनाको काम सकिएपछि अलि फुर्सदिली भइन् । अब आफ्नो व्यवसाय सुरु गर्ने समय आयो भन्ने उनलाई लाग्यो । त्यसपछि उनले आफू उद्यमी त बन्ने तर उत्पादन के गर्ने ? भनेर घोत्लिन थालिन् । सोच्दै गर्दा उनको स्मृतिमा झट्ट आयो फिनल्यान्डमा देखेको ‘बेबी बक्स’ । रेवतीले सोही बेबी बक्सलाई स्वदेशी हस्तकलासँग जोड्ने योजना बनाइन् ।
‘एमए पढेको मान्छेले कोक्रो बुनेर, भोटो सिलाएर बस्ने ? भन्ने प्रतिक्रिया सुनेपछि मैले कसैलाई केही सुनाइन,’ उनी स्मरण गर्छिन्, ‘मसँग केही गर्छु भन्ने आत्मशक्ति जागेका बेला गरिछाड्ने संकल्प लिएँ । ‘नवजात शिशुका लागि त कोक्रो आवश्यक वस्तु हो, कोक्रोसँगै स्वदेशी कपडाको न्यानो लुगा बनाएर सेट तयार गर्छु र त्यसलाई बेच्छु भन्ने योजनामा लागें । कोक्रो बनाउन सामान कसरी जुटाउने ? कसले बनाउँछ ? लुगा बनाउने स्वदेशी बच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने विषयले मलाई पिरोल्यो ।’
उनको मानसपटलमा भने फिनल्यान्डमा देखेको बेबी बक्स मात्रै घुमिरह्यो । उनले सुरुमा त्यस्तै बनाउने प्रयास गरिन् । बनाइसकेपछि आफ्नै चित्त बुझेन । त्यसपछि उनले नेपाली कला, संस्कृति सम्झिन थालिन् । दिमागमा कोक्रो नाचिरह्यो अनि, कोक्रो बनाएर त्यसैमा शिशुका पूरै लुगा सेट राखी प्याकेज बनाएर बेच्ने आइडिया फुराइन् । रेवतीले कोक्रो बनाएर तोरीको सिरानी, टोपी, भोटो, दौरासुरुवाल, पन्जा आदि राख्ने विचार गरिन् । केही दिनमै कोक्रो र लुगासहित प्याकेज तयार भयो । सबै तयारी पूरा भइसकेपछि सबै सामान राखेको कोक्रो नियाल्दा उनको दिमागमा झट्ट नाम फुर्यो–‘कोक्रोमा’ ।
सुरुमा कोक्रोसहित २० वटा सेट बनाइन्, जसको मूल्य ३५ हजार रुपैयाँ राखिन् । सेटमा कोक्रो, भोटो, दौरासुरुवाल, पन्जा, मोजा, सिरानी, किताबलगायत थियो । तर बिक्दै बिकेन । ‘सामान धेरैले मन पराए तर महँगो मानेर कसैले किनेनन्,’ उनले सुनाइन्, ‘मैले सोचेकी थिएँ, सामान उत्पादन गर्छु, बेच्छु अनि महिलाहरूलाई काममा लगाउँछु । तर, परिणाम उल्टो निस्कियो । फेरि, म त डिप्रेसनमै पुगें ।’ त्यसपछि रेवतीको दिमागमा अर्को आइडिया आयो–त्यही सामान फुटाएर बेच्ने । त्यही फुटाएको सामान झोलामा बोकेर साथीभाइ र आफन्तकहाँ पुग्न थालिन् । रेवतीकी नाता पर्ने भाउजू गर्भवती थिइन् । तिनै भाउजूलाई भेट्न पुगिन् । भाउजूलाई आफ्नो व्यवसायबारे भनेपछि उनले थोरै सामान किनिदिइन् ।
उनको बिक्री भएको त्यो पहिलो सामान थियो, थोरै खुसी र केही दु:ख मिश्रित भाव लिएर त्यहाँबाट बाटो लागिन् । उनीसँग भएको सबै पैसा त्यही व्यवसायमा लगाएर सकिएको थियो । ‘ती भाउजूलाई मैले ३ हजार रुपैयाँको सामान बेचें,’ उनी सम्झिन्छिन्, ‘त्यो दिन त अलिकति खुसी महसुस भयो, त्यही पैसाले कफी खानुपर्यो भनेर काठमाडौंको बौद्ध स्तुपा नजिकैको एउटा क्याफेमा गएँ । एक्लै बसेकी हुनाले एक विदेशी महिला आएर त्यही टेबुलमा बसिन् ।’
रेवतीलाई चिन्तित देखेर ती विदेशी महिलाले सोधिन्, ‘के भयो ?’
आफ्नो देश फर्किन लागेकी ती विदेशी महिलालाई रेवतीले आफ्नो कहानी सुनाउन लागिन् । उनलाई पनि हतार भएको हुँदा १० मिनेट मात्रै कुराकानी गर्न पाइन् रेवतीले । ‘ती विदेशी महिलाले आफ्नो प्लेन छुट्न लाग्यो भनेर न्यापकिनमा आफ्नो इमेल ठेगाना लेखेर दिइन्,’ रेवतीले सुनाइन्, ‘तिम्रो व्यवसायबारे यही इमेलमा लेख्नू है भनिन् र उनी आफ्नो बाटो लागिन् ।’ ती महिला गएपछि रेवतीले सोचिन्, ‘आफ्नाबाट नपाएको साथ र सहयोग समुद्रपारिबाट आएको, कुनै साइनो नभएको मान्छेबाट के पाउँला ?’
संकोच मान्दै केही दिनपछि इमेलमा आफ्नो र व्यवसायबारे सम्पूर्ण कुरा लेखेर ती महिलालाई पठाइन् । तीन किस्ता गरेर १५ हजार डलर दिने वाचा गर्दै ती महिलाले इमेलको उत्तर फर्काइन् । ती महिलाले रेवतीलाई तीन वर्षमा आत्मनिर्भर बन्नुपर्छ भनेकी थिइन् । पहिलो किस्तामा ती महिलाले रेवतीलाई ५ हजार अमेरिकी डलर पठाइन् । कुनै अपरिचित विदेशीले १० मिनेटको भेटमा यति ठूलो सहयोग गर्दा रेवतीको हृदय भरिएर आयो ।
‘आफ्नाको साथ र सहयोग नपाएकी म एक अपरिचितले यति धेरै विश्वास गर्दा मेरो खुसीको सीमा रहेन,’ उनले सुनाइन्, ‘त्यो पैसाले लुगा सिलाउने दुईवटा मेसिन, कटिङ टेबल र अन्य आवश्यक सामान किनें ।’
रेवतीले सुरुमा काम गर्न दुई जना कामदार राखिन् । जति सक्दो काममा उनी आफैं खटिन्थिन् । ‘दिनमा १८ घण्टा त म आफैं काममा खटिन्थें,’ उनी सुनाउँछिन्, ‘दुई जनालाई तलब दिन म फेरि डकुमेन्ट्री बनाउन थालें । उनीहरूले सामान तयार पारेपछि म पसल–पसल पुर्याउन जान्थें ।’
पहिलो महिनामा ४० हजार रुपैयाँको लुगा बिक्री गरिन् । दोस्रो महिनाको कारोबार दोब्बर भएर आयो । दोस्रो महिना ८० हजार रुपैयाँको कपडा बेचिन् ।
त्यसपछिको कारोबार लाखौंमा हुन थाल्यो । सामान सबैले मन पराउन थाले । ९ महिनापछि फेसबुक पेज बनाएर उनले लुगाको विज्ञापन गरिन् । ‘महिनाको बिक्री दुई लाख पुग्न लागेका बेला कोरोना महामारी फैलियो,’ उनी सुनाउँछिन्, ‘तैपनि मैले हिम्मत हारिनँ, कोरोनामा आयात बन्द भएका बेला मेरो उत्पादनले खुबै बजार पायो । एक हिसाबले मेरो व्यवसायलाई फाइदा नै पुग्यो ।’
कारोबार बढ्दै जाँदा उनको त्यो व्यवसाय वार्षिक करोडौं रुपैयाँको भइसकेको छ । घरको कोठामा सुरु भएको कोक्रोमाले हाल बौद्धको व्यावसायिक क्षेत्रमा शोरुम राखेको छ । अर्को शोरुम सानेपामा छ । लुगा सिउने कारखाना जोरपाटीमा छ । उनले मेडिसिटी हस्पिटलभित्र पनि कपडा बेच्छिन् । अनलाइन प्लेटफर्म दराजबाट पनि कोक्रोमाको उत्पादन किन्न पाइन्छ । उनका उत्पादन झम्सिखेल, दरबारमार्ग आदि पसलमा पनि बिक्री हुन्छन् । उनी अहिले अनलाइनमै फोकस छिन् ।
कोक्रोमाले अहिले मासिक २० देखि २५ लाख रुपैंया बराबरको कपडा उत्पादन गर्ने रेवती बताउँछिन् । कोक्रोमाले सुरुमा दुई वर्षसम्मका बच्चालाई लक्षित गरी कपडा उत्पादन गथ्र्यो तर, अहिले भने १३ वर्षसम्मका बालबालिकाका लागि लुगा उत्पादन गर्छ ।
‘महिलालाई आत्मनिर्भर बनाउँदै अगाडि बढ्ने क्रम जारी छ । मूल कुरा त स्वदेशी उत्पादनमार्फत मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनु हो,’ उनी भन्छिन्, ‘अहिले मेरा उत्पादन नेपालभरी जान्छन् नै त्यसबाहेक चाइना, स्विट्जरल्यान्ड, बेल्जियम, अमेरिका, अस्ट्ेरलियालगायतका देशमा पुग्ने गरेका छन् ।’