Successfully Copied

अधिक मास : शून्यबाट पूर्णताको महायात्रा

दैनिक जीवनको भागदौड, चाहना र चिन्ताले क्लान्त मनका लागि अधिक मास एक प्रकारको ‘आन्तरिक विशुद्धि’ जस्तै हो । जहाँ बाह्य आवरणहरू क्रमश: विलीन हुँदै जान्छन् र भित्री सत्य क्रमश: उद्भासित हुन थाल्छ ।


के समय कहिल्यै रोकिन सक्छ ? शास्त्र भन्छ–रोकिन्छ र त्यही स्थिरताको क्षणलाई अधिक मास भनिन्छ । समय केवल घडीको सुईले नापिने वस्तु होइन । यो चेतनाको अविरल प्रवाह हो । मानव सभ्यताले यसलाई दिन, महिना र वर्षमा विभाजन गरी बुझ्ने प्रयास गरेको छ । यद्यपि कहिलेकाहीँ समय आफै आफ्नै सीमाभन्दा पर पुगेजस्तो भासिन्छ–त्यही दुर्लभ अनुभूति अधिक मासको मूल भाव हो ।
नेपाली संस्कृति र हिन्दू धर्मशास्त्रमा समयलाई गणनाको साधन मात्र होइन, जीवित आध्यात्मिक शक्तिका रूपमा ग्रहण गरिन्छ । चान्द्र–सौर पात्रोमा सूर्य र चन्द्रको गतिबीच उत्पन्न सूक्ष्म अन्तरलाई सन्तुलित गर्न करिब प्रत्येक तीन वर्षमा एक अतिरिक्त महिना समावेश गरिन्छ, जसलाई अधिक मास, मल मास वा पुरुषोत्तम महिना भनिन्छ ।
जसरी अंग्रेजी पात्रोमा ‘लिप इयर’ मार्फत समय समायोजन गरिन्छ, त्यसरी नै यहाँ पूर्ण महिनाको समावेशद्वारा सन्तुलन कायम गरिन्छ । तर यो केवल गणितीय प्रक्रिया होइन । यो समयको गहिरो आध्यात्मिक आयामसँग सम्बद्ध छ ।
सूर्य स्थायीत्वको प्रतीक हो भने चन्द्र परिवर्तनको । जब चन्द्र आफ्नो चक्र पूरा गर्छ तर सूर्य नयाँ राशिमा प्रवेश गर्दैन, तब बाह्य गतिमा एक प्रकारको विराम प्रकट हुन्छ । यही स्थिरताको क्षण अधिक मास हो जहाँ समय स्थिर जस्तो देखिए पनि चेतना अझ गहिरिँदै जान्छ ।
यसरी, अधिक मास केवल खगोलीय घटना मात्र होइन । यो समयभित्रको मौन विराम, स्थिरताभित्रको चेतना र आत्म–अन्वेषणतर्फ उन्मुख गराउने एक सूक्ष्म द्वार हो ।
खगोलीय रहस्य : संक्रान्तिविहीन महिना
ज्योतिषशास्त्रअनुसार सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने क्षणलाई ‘संक्रान्ति’ भनिन्छ । सामान्यत: प्रत्येक चान्द्र महिनामा यस्तो संक्रमण अवश्य घटित हुन्छ, जसले समयको निरन्तर गतिलाई सूचित गर्छ ।
तर जब कुनै चन्द्र महिनाभरि सूर्य कुनै नयाँ राशिमा प्रवेश गर्दैन, त्यो अवधि संक्रान्तिविहीन रहन्छ । त्यही विशेष अवस्था अधिक मासका रूपमा परिचित हुन्छ ।
वैदिक दृष्टिमा सूर्यलाई आत्मा र चेतनाको प्रतीक मानिन्छ । अत: जब सूर्यको प्रतीकात्मक गति मन्द वा स्थिर जस्तो प्रतीत हुन्छ, तब बाह्य जगत्का क्रियाकलापहरू सिथिल हुँदै जान्छन्, र भित्री चेतनाको प्रवाह क्रमश: प्रबल हुन थाल्छ ।
यसैले, अधिक मासलाई सांसारिक दृष्टिले निष्क्रिय समय ठानिए पनि आध्यात्मिक दृष्टिले यो अत्यन्त प्रभावकारी कालखण्ड मानिन्छ, जहाँ ध्यान, साधना र आत्मबोधले विशेष महत्व ग्रहण गर्छन् ।
पौराणिक गाथा : ‘मल’ बाट ‘पुरुषोत्तम’ सम्मको यात्रा
पौराणिक साहित्यमा अधिक माससँग सम्बन्धित एक अत्यन्त मार्मिक तथा अर्थगर्भित प्रसङ्ग वर्णण गरिएको पाइन्छ । यसका अतिरिक्त महिनाको उत्पत्तिकालमा यसका कुनै अधिष्ठाता देवता थिएनन् । संक्रान्तिविहीन भएकै कारण यसलाई ‘मल’ अर्थात् अशुद्ध ठानी अन्य महिनाहरूले उपेक्षित गरे ।
विवाह, व्रतबन्ध तथा अन्य मङ्गल कार्यका लागि यो महिना वर्जित घोषित गरियो । यसरी, समयकै एक अविभाज्य अंश भए तापनि यो महिना पहिचानविहीन र तिरस्कृत रह्यो ।
आफ्नो अस्तित्वमाथि लागेको यो कलङ्कले व्यथित भई, अधिक मासले मानव रूप धारण गर्‍यो र भगवान् विष्णुको शरणमा पुग्यो । करुण स्वरमा उसले विनयपूर्वक निवेदन गर्‍यो– ‘हे प्रभु, सबैले मलाई अशुभ, अभागी र अशुद्ध भनी तिरस्कार गर्छन् । मेरो न ठाउँ छ, न सम्मान । यस्तो अस्तित्वको के प्रयोजन ?’
भक्तको व्यथाले भगवान् विष्णुको हृदय द्रवित भयो । उहाँले करुणापूर्वक उत्तर दिनुभयो, ‘जसलाई संसारले तिरस्कार गर्छ, म उसैलाई अङ्गीकार गर्छु । आजदेखि म तिमीलाई मेरो आफ्नै नाम प्रदान गर्दछु पुरुषोत्तम । अब तिमी ‘मल मास’ होइन, ‘पुरुषोत्तम मास’ का रूपमा प्रतिष्ठित हुनेछौ । यस महिनामा जसले श्रद्धापूर्वक मेरो स्मरण, जप, तप वा भक्ति गर्नेछ, उसले अन्य बाह्र महिनामा सम्पन्न साधनाभन्दा उच्च फल प्राप्त गर्नेछ ।’
यस प्रकार, उपेक्षा र तिरस्कारले आक्रान्त ‘मल मास’ भगवद् कृपाले ‘पुरुषोत्तम मास’ मा रूपान्तरित भयो–सर्वाधिक पवित्र र फलदायी कालखण्डका रूपमा ।
अधिक मास–परम्परा, आस्था र विविधता
नेपाल विविध संस्कृति, परम्परा र आस्थाहरूको संगमभूमि हो । यही बहुलताले अधिक मासलाई केवल धार्मिक अवधारणा मात्र नभई एक जीवित सांस्कृतिक अनुभूतिका रूपमा प्रतिष्ठित गरेको छ । विभिन्न समुदायले यो कालखण्डलाई आ–आफ्नै दृष्टिकोणबाट अवगाहन गरे तापनि, सबै अभ्यासहरूको मूल भाव एउटै रहन्छ–आत्मशुद्धि, संयम र आध्यात्मिक उन्नति ।
नेवार परम्परा : अनला मास र दानसंस्कृति
काठमाडौं उपत्यकाको नेवार समुदायमा अधिक मास अनला मासका रूपमा परिचित छ । यो अवधिमा धार्मिक आस्था र सामाजिक दायित्वको अद्वितीय समन्वय देख्न पाइन्छ ।
पञ्चदानको परम्परा विशेष रूपमा प्रचलित छ, जसअन्तर्गत अन्न, वस्त्र, धन, गाई र भूमि दान गरिन्छ । यसले व्यक्तिगत पुण्य सञ्चय मात्र नभई समाजमा सन्तुलन र सह–अस्तित्वको भावना सुदृढ बनाउँछ ।
साथै, गाई पूजा (ग्व: पूजा) लाई विशेष महत्व दिइन्छ, जहाँ गाईलाई समृद्धि, मातृत्व र धर्मको प्रतीकका रूपमा आदरपूर्वक पूजा गरिन्छ । यसरी नेवार परम्परामा अधिक मास आध्यात्मिक साधना र सामाजिक उत्तरदायित्वको सन्तुलित अभिव्यक्ति बन्छ ।
हिमाली बौद्ध परम्परा: मौन, उपवास र करुणा
मुस्ताङ, डोल्पा र मनाङजस्ता हिमाली क्षेत्रका बौद्ध समुदायहरूमा अधिक मास गहन साधनाको कालका रूपमा मानिन्छ । यस अवधिमा ‘न्युङ्ने’ साधना विशेष रूपमा गरिन्छ, जसमा उपवास, मौन व्रत र करुणामय ध्यान समावेश हुन्छ । यो साधना अवलोकितेश्वर (करुणाका बोधिसत्व) सँग सम्बन्धित मानिन्छ ।
न्युङ्ने केवल शारीरिक संयममा सीमित छैन । यो वाणी, मन र व्यवहारको शुद्धीकरणको समन्वित साधना हो । यसले साधकलाई भित्री शान्ति, करुणा र आत्मानुशासनतर्फ उन्मुख गराउँछ, जुन अधिक मासको मूल भावनासँग घनिष्ठ रूपमा सम्बद्ध छ ।
जनजातीय परम्परा : प्रकृति र पुर्खासँगको पुनर्सम्बन्ध
थारु, मगर, गुरुङ आदि विभिन्न जनजातीय समुदायहरूमा अधिक मासलाई प्रकृति र पुर्खासँग पुन:सम्बन्ध स्थापित गर्ने पावन समयका रूपमा ग्रहण गरिन्छ ।
यस अवधिमा पुर्खा स्मरण विशेष रूपमा सम्पन्न गरिन्छ । मान्यताअनुसार, यो समयमा पुर्खाहरूको आत्मा पृथ्वीको समीप रहन्छ, जसबाट उनीहरूको आशीर्वाद सहजतापूर्वक प्राप्त गर्न सकिन्छ ।
साथै, प्रकृतिप्रतिको आदर र संरक्षणलाई विशेष महत्व दिइन्छ, जसअन्तर्गत वन, नदी र भूमिको पूजा, सामूहिक अनुष्ठान तथा मौसमी प्रकृति–केन्द्रित विधिहरू सम्पन्न गरिन्छन् ।
अधिक मासका गूढ रहस्य
अधिक मास केवल खगोलीय समायोजन मात्र होइन यसको अन्तर्यमा तान्त्रिक, दार्शनिक तथा आध्यात्मिक अर्थहरूको सूक्ष्म सन्निवेश निहित छ, जसलाई साधक परम्पराले गहन दृष्टिले निरन्तर अवलोकन गर्दै आएको छ ।
तान्त्रिक मतानुसार, यस कालखण्डमा कर्मफलसम्बन्धी ‘पाश’ केही शिथिल हुन्छ । सामान्यत: कर्मले जीवलाई बन्धनमा आबद्ध गरी राख्छ तर अधिक मासमा उक्त बन्धन क्षीण मानिन्छ । यसैले निष्काम कर्म, जप, तप र ध्यान साधकलाई सहजतापूर्वक उन्नत चेतनातर्फ उन्मुख गराउँछ, जहाँ कर्म रहन्छ, तर बन्धन दुर्बल हुन्छ ।
अधिक मासलाई समयप्रवाहभित्रको ‘शून्य बिन्दु’ का रूपमा व्याख्या गरिन्छ । श्वासका दुई स्पन्दनबीचको सूक्ष्म विरामझैं वा सन्ध्याकालीन मध्यक्षणझैं, यो अवधि गति र स्थिरताबीचको मौन सन्तुलन हो । यो शून्य रिक्तता होइन, सम्भावनाले परिपूर्ण स्थिरता हो, जहाँ मौन साधना र ध्यानले चेतनालाई गहिराइतर्फ स्थिर बनाउँछ ।
बाह्र महिनाहरू समयचक्र र राशिसँग आबद्ध मानिन्छन् । तर अधिक मास तेह्रौं मासका रूपमा चक्रातीत अवस्थाको प्रतीक हो । यसलाई सहस्रारोत्तर चेतनासँग सम्बन्धित मानिन्छ । जहाँ जीव द्वैत र सीमित संरचनाबाट उन्मुक्त भई विस्तारित, स्वतन्त्र र अनिर्वचनीय अनुभूतितर्फ अग्रसर हुन्छ ।
के गर्ने, के नगर्ने ?
अधिक मासको सम्यक् बोध केवल यसको आध्यात्मिक महत्वमा सीमित हुँदैन । यो अवधिमा आचरित व्यवहारले नै यसको प्रभावलाई प्रत्यक्ष रूपले निर्धारण गर्छ । परम्परानुसार, यो कालखण्ड नयाँ सांसारिक आरम्भभन्दा बढी आत्मअन्वेषण, संयम र साधनाका लागि अनुकूल मानिन्छ ।
वर्जित कार्यहरू
विवाह, व्रतबन्ध (उपनयन) तथा छेवर (मुण्डन)
गृह निर्माणको प्रारम्भ वा गृहप्रवेश
व्यापार वा उद्योगको नवीन शुभारम्भ
सवारी साधन तथा अन्य विलासी वस्तुको खरिद
विधेय कार्यहरू
श्रीमद्भगवद्गीताको पाठ : विशेषत: पञ्चदशोऽध्याय (पुरुषोत्तम योग) को मननसहित वाचन
मन्त्रजप : ‘ॐ नमो भगवते वासुदेवाय’ वा स्वइष्टमन्त्रको नियमित जप
दान : अन्न, वस्त्र तथा दीपदान (दीप प्रज्ज्वलन)
परोपकार : दीन, दु:खी तथा असहायप्रति सेवा र सहयोग
व्रत–उपवास : विशेषत: पद्मिनी तथा कमला एकादशीको पालन
अधिक मास हाम्रो व्यस्त र बहिर्मुखी जीवनमा प्रकृतिले प्रदान गरेको एक विशिष्ट विराम हो । एक प्रकारको आध्यात्मिक अवकाश, जहाँ समयले नै हामीलाई क्षणभर स्थिर भई भित्री यात्रातर्फ फर्किन आमन्त्रण गर्दछ ।
यसलाई ‘अशुभ’ ठानी उपेक्षा गर्ने विषय होइन बरु आत्मशुद्धि र आन्तरिक परिष्कारको दुर्लभ अवसरका रूपमा ग्रहण गर्न योग्य अवस्था हो ।
दैनिक जीवनको भागदौड, चाहना र चिन्ताले क्लान्त मनका लागि अधिक मास एक प्रकारको ‘आन्तरिक विशुद्धि’ जस्तै हो । जहाँ बाह्य आवरणहरू क्रमश: विलीन हुँदै जान्छन् र भित्री सत्य क्रमश: उद्भासित हुन थाल्छ ।

 Image