Successfully Copied

जिपलाइनको रफ्तार

पहिलेदेखि चलिरहेका रिसोर्टकासञ्चालकले समेत जिपलाइन थपेर पर्यटक तान्ने प्रयास गरिरहेका छन् ।


सीमा तामाङ

साहसिक र रोमाञ्चक खेल जिपलाइनमा पर्यटकको आकर्षण बढेसँगै लगानीकर्तासमेत उत्साहित छन् । मुलुकमा दशकयता जिपलाइनको विस्तार भएको हो । पर्यटन व्यवसायीदेखि रिसोर्ट सञ्चालकसम्मले जिपलाइनमा लगानी गरिरहेका छन् । सन् २०१० देखि नै मुलुकमा जिपलाइन सञ्चालन भए पनि सन् २०१९ देखि यसलेगति लिन थालेको हो । डोरीमा घिर्नीको सहायताले झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा पुगिने जिपलाइनमा लगानीकर्ता र सेवाग्राही दुवैको आकर्षण बढ्दो छ । कास्कीको सराङ्कोट डाँडाबाट हेम्जामा झर्नेगरी सन् २०१० मा बनेको जिपलाइन नेपालको पहिलो रहेको हाइग्राउन्ड एडभेन्चर कम्पनीले जनाएको छ । १,८५० मिटर लामो यो जिपलाइनसबैभन्दा भिरालो जिपलाइन रहेको उसको दाबी छ ।हाइग्राउन्डपछि धुलिखेलमा सन् २०१९ फेब्रुअरी १४ मा दोस्रो जिपलाइन सञ्चालनमा आएको हो । वर्ल्डवाइड एडभेन्चरले भ्यालेन्टाइन्स डेको अवसर पारेर जिपलाइन सुरु गरेको सञ्चालक केदार थापाले बताए । मुलुकमा सुपरम्यान र टेन्डम (दुई जनाले एकैसाथ खेल्न मिल्ने) जिपलाइन सञ्चालन गर्ने यो पहिलो रहेको उनको दाबी छ । धुलिखेल जिपलाइनको लम्बाइ ११ सय मिटर छ । वर्ल्डवाइड एडभेन्चरकै सञ्चालक थापा सम्मिलित समूहले नै नगरकोटमा रिसोर्टसहितको जिपलाइन सञ्चालनमा ल्याएको छ । पछिल्लो समयनेपालमा साहसिक पर्यटकको संख्या बढेकाले पनि यस्ता खेलको संख्या बढ्दै गएको उनले बताए । 



मुलुकमा अहिले १० वटा जिपलाइन सञ्चालनमा रहेको पर्यटन विभागको तथ्यांक छ । विभिन्न फनपार्क एवं वाटरस्पोर्टस् पार्क, मठमन्दिरलगायत विभिन्न क्षेत्रमा जिपलाइन सञ्चालनमा छन् । आगामी दिनमा अझै बढ्ने व्यवसायी बताउँछन् । विभागको तथ्यांकले पनि मठमन्दिर, वाटरपार्क, रिसोर्टमा समेत जिपलाइन सञ्चालनमा आएको देखाउँछ । पछिल्लो समय नुवाकोटमा दरबार एडभेन्चर, धुलिखेल जिपलाइन, सूर्यविनायकमा योयो जिपलाइन, सुनसरीमा वेट एन्ड डायनो एम्युजमेन्ट एन्ड वाटरमार्क, बेनीघाट रिभरसाइड स्पा एन्ड रिट्रिटमा जिपलाइन सञ्चालनमा छन् ।
मकवानपुरमा कुलेखानी एडभेन्चर, कीर्तिपुरमा जेबी एडभेन्चर्स, पाल्पामा पाल्पा दर्शन, चन्द्रागिरिमा चन्द्रागिरि हिल्स र नगरकोटमा नगरकोट जिपलाइन सञ्चालनमा रहेको विभागले जनाएको छ । चोभारस्थित हुप्पिल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कमा साहसिक खेलबाट पनि सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सञ्चालन गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले उपत्यकाकै अग्लो ठाउँमा मिनी जिपलाइन सुरु गरेको दुई वर्ष भइसक्यो । चन्द्रागिरि डाँडामा एक सय मिटर लम्बाइमा मिनी टेन्डम (दुई जनाले खेल्न मिल्ने) जिपलाइन पनि सुरु भइसकेको छ ।
धादिङस्थित थाक्रेमा थानकोटका सानुकाजी खड्गीसहितको समूहले रिसोर्टसहित जिपलाइन सञ्चालनमा ल्याएको छ। ११ सय मिटर लम्बाइको जिपलाइनको दूरी पार गर्न न्यूनतम ३८ सेकेन्ड लाग्छ । जिपलाइनबाट हरियालीसँगै विभिन्न हिमाल देख्न सकिनेछ ।

पहिलेदेखि चलिरहेका रिसोर्टव्यवसायीले समेत साहसिक खेल जिपलाइन थप्न थालेका छन् । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टारस्थित रिभर फनबीच रिसोर्टसम्म पुग्नेरिभर फन जिपलाइन सञ्चालनमा ल्याइएको छ । अधिकांश भाग त्रिशूली नदीमाथि पर्ने कारण पाँच सय ५८ मिटर लामाजिपलाइन झनै साहसिक र रोमाञ्चक हुने रिसोर्टको दाबी छ । १८ मिटर अग्लो पाँचतले टावरको चौथो तलाबाट सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकाले दुई जना एकैपटक एक–अर्कालाई हेर्दै खेल्न मिल्ने कम्पनीका सञ्चालक उद्धव कँडेलले बताए । ‘र्‍याफ्टिङ पहिलेदेखि थियो, त्रिशूलीकै नदी छेउमा भएकाले त्यसमाथि जिपलाइन बनाउँदा अझै साहसिक अनुभव लिन सकिन्छ भनेर जिपलाइन थप्यौं,’ उनले भने । जिपलाइनले त्रिशूली रिभरसाइड रिसोर्टदेखि रिभरसाइड स्पालाई जोडेको छ । जिपलाइन गरेर फर्किंदा नदीमाथि नै स्काई रोप साइक्लिङमार्फत फर्किन पाइने भएकाले पनि आकर्षण बनेको कँडेलले बताए ।
चोभारस्थित मञ्जुश्री पार्कभित्र क्यानोपी जिपलाइन चलिरहेको छ । चोभार जाने सर्वसाधारणलाई लक्ष्य गरी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । पर्यटकीय गन्तव्यसहित साहसिक खेल सञ्चालनमा ल्याइएका छन् । जिपलाइनबाटै दरबारको समेत अवलोकन गर्न मिल्ने कम्पनीको भनाइ छ । कम्पनीहरूले जिपलाइन खेलेको दूरी हेरेर एक हजारदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिइरहेका छन् ।

जिपलाइन निर्माणमा समेत वर्ल्डवाइड एडभेन्चरका सञ्चालक थापा नै सम्मिलित छन् । धुलिखेल, नगरकोट, भेडेटार, मकवापुर गढी, चन्द्रागिरि, बुटवल केबलकार टप स्टेसन, अन्नपूर्ण केवलकार टप स्टेसन, त्रिशूली रिभर फन रिसोर्ट आदिमा आफैंले जिपलाइन निर्माण गरेको उनले जनाए । सबै मापदण्ड पूरा गरी एक हजार मिटर लामो जिपलाइन निर्माण गर्न न्यूनतम डेढ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ । पर्यटन विभागबाट अनुमतिप्राप्त कम्पनीमा मात्रै जिपलाइन जडान गरिन्छ । ‘साहसिक खेल भएका कारण सुरक्षामा सम्झौता गर्नुहुँदैन,’ उनले भने, ‘त्यसैले जिपलाइन निर्माण अनुमतिप्राप्त कम्पनीको मात्र काम गर्छौं ।’ प्रत्येक जिपलाइनमा आठदेखि १२ जनालाई रोजगारीसमेत दिइरहेको उनले सुनाए । फरक काम गर्ने हेतुले साहसिक खेल जिपलाइनतर्फ व्यवसायीहरू लागिरहेका छन् । ‘धुलिखेल हुँदै सिन्धुपाल्चोक र दोलखावासीसहित हजारौं पर्यटक आवातजावत गर्छन्,’ थापाले भने, ‘त्यसैलाई केन्द्रित गरी धुलिखेलमा बनायौं, अन्य पर्यटकीय गन्तव्यमा पनि जिपलाइन बनाउन थाल्यौं । अन्य साथी पनि आकर्षित हुनुभयो ।’ यद्यपि पछिल्लो समय सडक पूर्वाधार अस्तव्यस्त हुँदा ग्राहकको संख्या घटेको छ । दुई वर्षदेखि धुलिखेल–पाँचखाल सडक खण्ड निर्माणाधीन रहेकाले ग्राहकको संख्या घटेको थापाले बताए । काठमाडौं नजिकैको पर्यटकीय गन्तव्य भएको केही समयमा पहिलेकै स्थितिमा फर्कने उनको विश्वास छ ।

 Image