Successfully Copied

सेलरोटी दिदी

आफ्नै पौरख खुसी छिन् उनी । भन्छिन्, ‘महिलाले आत्मनिर्भर बन्नु शतप्रतिशत जरुरी छ ।’


लक्ष्मी भण्डारी

कसैले उनको नाम र नम्बर मोबाइलमा राख्न परे ‘सेलरोटी दिदी’ भनेर सेभ गर्छन् । ४९ वर्षीया पुष्पा आचार्यले आफ्नो नाम र पहिचान यसरी बनाएकी मात्र होइन यसैमार्फत आर्थिक रूपमा सशक्त र सामाजिक रूपमा सम्मानको जीवन जिउन सफल भएकी छिन् ।
‘१० वर्षअघि म साधारण गृहिणी थिएँ । मेरो पाककला बुझेर, पानीपोखरीस्थित ‘शेर्पा रेस्टुरेन्ट’ का भाइहरूले त्यहाँ लाग्ने हरेक शनिबारे फार्मस मार्केटका लागि सेलरोटी र आलुको अचार बनाएर बेच्न भने । सुरुमा मैले ५० रुपैंयाँका दरले ८० गोटा सेल बेचेकी थिएँ । आज पनि मूल्य उही छ,’ सेलको सुरुवात स्मरण गर्दै पुष्पा भन्छिन्, ‘त्यसपछि त नजानिँदो तरिकाले अर्डर आउन थाल्यो । हौसला बढ्दै गयो । श्रीमान्को साथ, सहयोग मिल्यो । अनि त हौसिएर काम गर्न थालें ।’
पुष्पाले अहिले सेलरोटी, अनरसा, अर्सा र फिनी रोटी बनाउने गरेकी छिन् । आफ्ना उत्पादन शतप्रतिशत अर्गानिक, स्वस्थ र स्वादिष्ट हुने उनी दाबी गर्छिन् । चितवन, बुटवल, धादिङ, जनकपुर, विराटनगर, धनगढीलगायतका स्थानहरूबाट मात्रै नभएर लण्डन, अमेरिका, अस्ट्रेलिया, युरोपसमेतबाट सेल, अर्सा, अनरसाको अर्डर आउने उनी बताउँछिन् ।


विवाह, व्रतबन्ध, दसैं, तिहारलगायतका पर्व र उत्सव पुष्पाका लागि पिक सिजन हुन् । यसताका उनलाई खाना खाने फुर्सद हुँदैन । हरेक शनिबार शेर्पामा लाग्ने फार्मस मार्केटमा उनका सेलको स्वाद चाख्न राजनीतिज्ञ, कुटनीतिज्ञदेखि विभिन्न क्षेत्रका सेलिब्रेटी धाएरै आउने गरेका छन् । उनी अहिले दैनिक ५ सय सेल पकाउँछिन् भने अर्सा र अनरसाको मात्रा पनि उत्ति नै हुन्छ । पुष्पा भन्छिन्, ‘अर्सा पश्चिम नेपालको रोटी हो । चिनीको साटो सख्खर हालेर बनाइने हुनाले यो सुगर रोगीका लागि पनि हानिकारक छैन । उसो त दसैं, तिहार, बिहेबटुलोमा मात्रै खाइने सेल, अर्सा, अनरसा, फिनीलगायतका रोटीहरू अहिले दैनिक खाजाका रूपमा खान थालिएकाले पनि विगतको तुलनामा यसको माग अहिले उच्च छ ।’
एक दशकको अवधिमा व्यवसायमा सफल बनेकी पुष्पालाई श्रीमान्को उत्तिकै साथ र सहयोग प्राप्त छ । उनका श्रीमान्को जिम्मामा मिलमा लगेर पिठो पिस्ने, बनेका परिकारलाई आकर्षक ढंगले प्याकेजिङ गर्ने अनि आएका फोन कलको रेस्पोन्स गर्ने हो । पुष्पा भने एकाबिहानैदेखि सबै सामग्री मिलाएर पिठो फिट्ने, चुल्हो अगाडि बसेर रोटी पकाउने काम गर्छिन् ।


१५ किलो पिठोबाट ५ सय वटा अनरसा बन्ने उनले बताइन्, जसमा २ लिटर सनफ्लावर तेल, २ लिटर घिउ र ४ भाग पिठोमा ३ भाग चिनी प्रयोग हुन्छ । १० वर्षअघि ५० रुपैंयाँ गोटामा सेलरोटी बेचेकी पुष्पा अहिले पनि उही मूल्यमा सेल बेच्छिन् तर गुणस्तर र स्वादमा भने वृद्धि भएको उनको भनाइ छ । अर्सा, अनरसा र फिनीको मूल्य भने प्रतिगोटा ७० रुपैंयाँ हो । ‘यो उद्यम गरिसकेपछि म आफूलाई अत्यन्तै आत्मविश्वासी महसुस गरेकी छु, आर्थिक रूपमा मात्रै नभएर आफ्नो स्वपहिचान र सम्मान बढेको ठानेकी छु ।’
मासिक रूपमा लाखभन्दा बढीको व्यापार गर्छिन् पुष्पा । उनका माइतीहरूले सेलको खारले भोलि अनेक रोग लाग्न सक्छन्, अब यो काम छोडिदेऊ, उभिएर गरिराख्दा ढाडको समस्या आउन सक्छ नभनेका होइन् । तर आफ्नै पौरखले गरिखाने पुष्पाले कुनै जवाफ दिइनन् । कर्म गरिरहिन् । ‘अहिले त श्रीमान्लाई समेत लौ लिनुस् मैले कमाएको पैसा भनेर दुई–चार पैसा दिन सक्ने भएकी छु,’ उनी भन्छिन्, ‘महिलाले आत्मनिर्भर बन्नु शतप्रतिशत जरुरी छ ।’ रोटीका अलावा उनले अकबरे खुर्सानी, टिम्मुर, आलस, लप्सी, निबुवाको अचार बनाएर पनि बेच्ने गरेकी छन् ।


तिहार भनेकै सेलको पर्व हो भन्ने पुष्पा यो रोटीको आफ्नै महत्व भएको बताउँछिन् । सेलबाहेक आजकल तिहारमा अनरसा, फिनी, अर्सा नभई नहुने पकवान बनेका छन् । यो सिजनमा उनी दैनिक ५ सयभन्दा बढी रोटी बेच्ने गर्छिन् । भन्छिन्, ‘सुगर, प्रेसरलगायतका रोगका कारण खान नमिल्ने दाजुभाइ छन् तर सेल, अनरसा त भाग नहाली हुँदैन भन्ने ग्राहकहरू पनि धेरै छन् ।’ यी परिकार ठूला आकारका हुने भएकाले भाग हाल्दा पनि धेरै देखिने, रंगका हिसाबले विविधता हुने भएकाले पनि आकर्षक देखिने उनी बताउँछिन् ।

 Image