परिकार
ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा
लक्ष्मी भण्डारी
कसैले उनको नाम र नम्बर मोबाइलमा राख्न परे ‘सेलरोटी दिदी’ भनेर सेभ गर्छन् । ४९ वर्षीया पुष्पा आचार्यले आफ्नो नाम र पहिचान यसरी बनाएकी मात्र होइन यसैमार्फत आर्थिक रूपमा सशक्त र सामाजिक रूपमा सम्मानको जीवन जिउन सफल भएकी छिन् ।
‘१० वर्षअघि म साधारण गृहिणी थिएँ । मेरो पाककला बुझेर, पानीपोखरीस्थित ‘शेर्पा रेस्टुरेन्ट’ का भाइहरूले त्यहाँ लाग्ने हरेक शनिबारे फार्मस मार्केटका लागि सेलरोटी र आलुको अचार बनाएर बेच्न भने । सुरुमा मैले ५० रुपैंयाँका दरले ८० गोटा सेल बेचेकी थिएँ । आज पनि मूल्य उही छ,’ सेलको सुरुवात स्मरण गर्दै पुष्पा भन्छिन्, ‘त्यसपछि त नजानिँदो तरिकाले अर्डर आउन थाल्यो । हौसला बढ्दै गयो । श्रीमान्को साथ, सहयोग मिल्यो । अनि त हौसिएर काम गर्न थालें ।’
पुष्पाले अहिले सेलरोटी, अनरसा, अर्सा र फिनी रोटी बनाउने गरेकी छिन् । आफ्ना उत्पादन शतप्रतिशत अर्गानिक, स्वस्थ र स्वादिष्ट हुने उनी दाबी गर्छिन् । चितवन, बुटवल, धादिङ, जनकपुर, विराटनगर, धनगढीलगायतका स्थानहरूबाट मात्रै नभएर लण्डन, अमेरिका, अस्ट्रेलिया, युरोपसमेतबाट सेल, अर्सा, अनरसाको अर्डर आउने उनी बताउँछिन् ।
विवाह, व्रतबन्ध, दसैं, तिहारलगायतका पर्व र उत्सव पुष्पाका लागि पिक सिजन हुन् । यसताका उनलाई खाना खाने फुर्सद हुँदैन । हरेक शनिबार शेर्पामा लाग्ने फार्मस मार्केटमा उनका सेलको स्वाद चाख्न राजनीतिज्ञ, कुटनीतिज्ञदेखि विभिन्न क्षेत्रका सेलिब्रेटी धाएरै आउने गरेका छन् । उनी अहिले दैनिक ५ सय सेल पकाउँछिन् भने अर्सा र अनरसाको मात्रा पनि उत्ति नै हुन्छ । पुष्पा भन्छिन्, ‘अर्सा पश्चिम नेपालको रोटी हो । चिनीको साटो सख्खर हालेर बनाइने हुनाले यो सुगर रोगीका लागि पनि हानिकारक छैन । उसो त दसैं, तिहार, बिहेबटुलोमा मात्रै खाइने सेल, अर्सा, अनरसा, फिनीलगायतका रोटीहरू अहिले दैनिक खाजाका रूपमा खान थालिएकाले पनि विगतको तुलनामा यसको माग अहिले उच्च छ ।’
एक दशकको अवधिमा व्यवसायमा सफल बनेकी पुष्पालाई श्रीमान्को उत्तिकै साथ र सहयोग प्राप्त छ । उनका श्रीमान्को जिम्मामा मिलमा लगेर पिठो पिस्ने, बनेका परिकारलाई आकर्षक ढंगले प्याकेजिङ गर्ने अनि आएका फोन कलको रेस्पोन्स गर्ने हो । पुष्पा भने एकाबिहानैदेखि सबै सामग्री मिलाएर पिठो फिट्ने, चुल्हो अगाडि बसेर रोटी पकाउने काम गर्छिन् ।
१५ किलो पिठोबाट ५ सय वटा अनरसा बन्ने उनले बताइन्, जसमा २ लिटर सनफ्लावर तेल, २ लिटर घिउ र ४ भाग पिठोमा ३ भाग चिनी प्रयोग हुन्छ । १० वर्षअघि ५० रुपैंयाँ गोटामा सेलरोटी बेचेकी पुष्पा अहिले पनि उही मूल्यमा सेल बेच्छिन् तर गुणस्तर र स्वादमा भने वृद्धि भएको उनको भनाइ छ । अर्सा, अनरसा र फिनीको मूल्य भने प्रतिगोटा ७० रुपैंयाँ हो । ‘यो उद्यम गरिसकेपछि म आफूलाई अत्यन्तै आत्मविश्वासी महसुस गरेकी छु, आर्थिक रूपमा मात्रै नभएर आफ्नो स्वपहिचान र सम्मान बढेको ठानेकी छु ।’
मासिक रूपमा लाखभन्दा बढीको व्यापार गर्छिन् पुष्पा । उनका माइतीहरूले सेलको खारले भोलि अनेक रोग लाग्न सक्छन्, अब यो काम छोडिदेऊ, उभिएर गरिराख्दा ढाडको समस्या आउन सक्छ नभनेका होइन् । तर आफ्नै पौरखले गरिखाने पुष्पाले कुनै जवाफ दिइनन् । कर्म गरिरहिन् । ‘अहिले त श्रीमान्लाई समेत लौ लिनुस् मैले कमाएको पैसा भनेर दुई–चार पैसा दिन सक्ने भएकी छु,’ उनी भन्छिन्, ‘महिलाले आत्मनिर्भर बन्नु शतप्रतिशत जरुरी छ ।’ रोटीका अलावा उनले अकबरे खुर्सानी, टिम्मुर, आलस, लप्सी, निबुवाको अचार बनाएर पनि बेच्ने गरेकी छन् ।
तिहार भनेकै सेलको पर्व हो भन्ने पुष्पा यो रोटीको आफ्नै महत्व भएको बताउँछिन् । सेलबाहेक आजकल तिहारमा अनरसा, फिनी, अर्सा नभई नहुने पकवान बनेका छन् । यो सिजनमा उनी दैनिक ५ सयभन्दा बढी रोटी बेच्ने गर्छिन् । भन्छिन्, ‘सुगर, प्रेसरलगायतका रोगका कारण खान नमिल्ने दाजुभाइ छन् तर सेल, अनरसा त भाग नहाली हुँदैन भन्ने ग्राहकहरू पनि धेरै छन् ।’ यी परिकार ठूला आकारका हुने भएकाले भाग हाल्दा पनि धेरै देखिने, रंगका हिसाबले विविधता हुने भएकाले पनि आकर्षक देखिने उनी बताउँछिन् ।