Successfully Copied

दरबारिया पुस्तकालयले जुराएको जोडी

रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।



लक्ष्मी भण्डारी
‘नाईं म भन्दा १० वर्ष जेठा । यस्ता बूढासँग म विवाह गर्दिनँ ।’ भारतको उत्तरप्रदेशस्थित बलरामपुरमा रहेको एक दरबारको पुस्तकालयमा रुवाबासीको कोलाहल मच्चियो । भर्खरै टिनएजर्स पार गरिरहेकी युवतीको यो रुवाइको कारण थियो विवाहका लागि देखाउन ल्याइएको दुलहाको तस्बिर र ती १९ वर्षीया युवती थिइन् रूपा दीक्षित ।
उनका हजुरबुवा यज्ञमणि दीक्षित बेलैमा भारत पसेका थिए । दरबारका जागिरे उनलाई दरबारभित्रै पारिवारिक सदस्यको स्थान दिइयो । त्यही दरबारमा रूपाका बुवा जन्मिए । पछि उनी पनि त्यहीँ जन्मिइन् । चालचलन सबै दरबारिया थियो । रूपा एम.ए. दोस्रो वर्षमा पढ्दै थिइन् । उनका लागि विवाहका प्रस्ताव आइरहेका थिए । ‘बुवा (हजुरबुवालाई बुवा भन्ने चलन) ले विवाह गर्ने कुरा भइरहेकै थियो । मेरी दिदीका सासू–ससुराले कुरा चलाए, काठमाडौंको शिक्षित, जागिरे र खानदानको केटो भनेर मलाई तस्बिर देखाए अनि म रोएँ । आफूभन्दा जेठो मान्छेको तस्बिर देखाउँदा बूढो भनेर रोएकी थिएँ ।’ ती दिन स्मरण गर्दै रूपा भन्छिन्, ‘मैले नगर्ने भनिदिएँ । त्यसबीचमा थुप्रै प्रस्ताव आए । फेरि १ वर्षपछि तस्बिरवालाकै प्रस्ताव दोहोर्‍याइयो । केटी हेर्ने भनेर उहाँ काठमाडौंदेखि भैरहवा हुँदै बलरामपुर आइपुग्नुभयो । तर तीन दिनसम्म दरबारभित्रको गेस्ट हाउसमा थुनिएर बस्नुपर्‍यो ।’ ती युवक थिए तत्कालीन परराष्ट्रका कर्मचारी तथा कूटनीतिज्ञ गोपीनाथ दवाडी जो पछि गएर लामो समय इजिप्ट, मोरक्को, अल्जेरिया, दक्षिण अफ्रिका, केन्या आदि विभिन्न ११ वटा देशका राजदूत भए ।
दवाडीले दुलही हेर्ने रहरले सास्ती खेप्दै उत्तरप्रदेशस्थित बलरामपुर पुग्दासम्मको कथा सुनाए । ‘दरबारको गेस्ट हाउसमा लगेर राखियो । एकाबिहानै झन्डै माना अट्ने गिलासमा चिया आउँछ । एकैछिनपछि खाजा आउँछ, फेरि त्यहीँ खाना आउँछ । त्यहीँ थुनिएर तीन दिन बित्यो । सबैकुरा आइसक्यो तर युवती आइनन् । त्यपसछि मैले आफ्नो जागिर र अन्य कामका कारण फर्किनुपर्ने भएकाले आफूलाई ढिला भएको बताएपछि बल्ल युवती हेराउने भनियो । त्यहाँ ठूलो पुस्तकालय रहेछ । त्यही पुस्तकालयमा ती युवतीलाई बोलाइयो । पढाइबाट कुरा सुरु भयो । लेखक को मनपर्छ भन्ने सवालमा शेक्सपियर भनेपछि ट्राजेडी कि कमेडी भन्दा मैले नाइट ह्याम्लेट भनें उनले कमेडी मन पर्ने बताइन् । उनले बनाएका एब्स्ट्रयाक्ट पेन्टिङ साइकल अफ लाइफ देखेर मनैदेखि प्रफुल्लित भएँ र त्यसमा विश्लेषण पनि गरिदिएँ । उनको रूप मात्रै नभएर जीवन बुझ्ने क्षमता र उपल्लो स्तरको सोच देखेर मलाई उनी मन परिन् ।’
छेवैमा बसेर एकटकले युवाको कुरा सुनिरहेकी रूपा खुसी भइन्, ‘मलाई त भेट गराउनुअघि मापदण्ड बनाएरै पठाइएको थियो । यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन । दिइएको ४५ मिनेट समयसीमा भित्र उहाँका धेरै कुराले म इम्प्रेस्ड भएँ । मेरो पेन्टिङबारे गरेको विश्लेषण सुन्दा यत्तिको सोच र क्षमता भएको मान्छेले जीवन बुझेको छ भन्ने लाग्यो । उहाँले तिमी दरबारमा बस्ने केटी म साधारण किसान परिवारको केटो, हामीकहाँ खेती–किसानीको काम, गाईवस्तु छन् भनेर सबै यथार्थ भनिदिनुभयो ।’
उ जमानामा अमेरिकन अखबार पढ्दै र बिटल्स सुन्दै हुर्किएकी रूपा अझै पनि विवाहको निधोमा पुग्न सकिनन् । तर उनका बुवाले भने उनलाई मनाउने प्रयत्न गरिरहेकै थिए । रूपा भने रोएरै बसिरहेकी थिइन् । गोपी भने ‘यस या नो’ को प्रतीक्षामा थिए । रातिको १२ बजे बुवाले यो केटासँग विवाह गर्‍यौ भने तिम्रो जीवन सुखमय हुन्छ भनेर सम्झाउन थाले । रूपाले असाध्यै पढ्ने अंग्रेजी नोबेलका पात्रहरू सम्झिइन् जो आफ्ना अग्रजले भनेको मान्थे र कालान्तरमा खुसी जीवन बिताउँथे । त्यसको प्रभाव गहिरो गरी रूपाको दिमागमा परेको थियो तब उनले मुन्टो हल्लाएर स्वीकार गरिन् । त्यसपछि गोपी फेरि आउने वाचासहित नेपाल फर्किए ।
अब सुरु भयो उतिबेलाको प्रेमकथा । ५ महिनापछि रूपा–गोपीको विवाह हुँदैथियो । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट उप–प्रधान तथा परराष्ट्रमन्त्री थिए । तिनैका स्वकीय सचिव थिए गोपीनाथ । विष्टसँगै गोपी भारत भ्रमणमा पुगे । दुवैजना भारतको भूमिमै भएकाले एक–अर्कालाई त्यो भाइब्सले छोइसकेको थियो । गोपीले रूपालाई उच्चस्तरको सम्मान र प्रेमसहितको पत्र लेखे । दरबारमा पत्राचारको सबै काम रूपाले हेर्थिन् । आएका हरेक चिठी सबैभन्दा पहिले उनैको हातमा पर्थे । गोपीको चिठी हात पर्नेबित्तिकै पुलकित हुन्थिन्, कहिले पढौं झैं हुन्थ्यो तर लुकाउनुपर्थ्यो । रूपा भन्छिन्, ‘त्यो विशेष पल हो । उहाँले लेखेका यस्ता उपल्लो स्तरका दर्शनले भरिएका अंग्रेजी शब्दले म यत्ति खुसी हुन्थें कि म बयानै गर्न सक्दिन । मैले जवाफमा लेखें, मेरो परीक्षा आइरहेको छ तर तिमी मेरो मानसपटलमा हरपल नाचिरहेका छौ म कसरी परीक्षा दिऊँ ?’ रूपालाई सबैले दरबारमा जिस्क्याउन थाले, त्यस्तो केटासँग विवाह गर्दैछे अब यो संसार डुल्ने भई नभन्दै सन् २९७२ जुलाई १४ मा तेह्रजना जन्तीका साथ बलरामपुर पुगेका गोपीले १६ दिने साइत उतै सकेर रूपालाई सिनामंगलको घरमा ल्याए । ७ दिनपछि भव्य पार्टी भयो । त्यसको २८ दिनमा गोपीको पोस्टिङ ल्हासामा भयो । नयाँ दुलही लिएर उनी ल्हासा हान्निए ।
ल्हासा जाँदाको सास्ती सुनाउँदै रूपा भन्छिन्, ‘ओहो कुरा नगर्नुस् । साडी बेरेर प्लास्टिकको चप्पलमा त्यो हिलो बाटो कसरी गइयो अहिले सम्झदा सपनाजस्तै लाग्छ ।’ त्यहाँ रूपाले कूटनीतिज्ञकी श्रीमतीको एउटा छुट्टै छाप बनाइन् । दुई वर्षपछि यो जोडी नेपाल फर्कियो । घरमा धेरै कुराको बेमेल भए पनि परराष्ट्रको पार्टी रूपाका लागि रमाउने माध्यम बनेको थियो । सन् २०७५ मा गोपी न्यूयोर्क पोस्टिङमा परे । त्यहाँ बस्दा पनि स्मार्ट र फरासिली रूपाले केही न केही काम गरिरहिन् । विशाल हृदय र फराकिलो सोच भएकी रूपाले ५० वर्षअघि नै महिनाबारी बार्ने कुरामा विद्रोह गरेकी थिइन् । त्यसमा उनलाई श्रीमान्को बलियो साथ मिल्यो । जबसम्म भित्री प्रेम हुँदैन तबसम्म सन्तान नजन्माउने प्रण गरेकी रूपालाई गोपीको प्रेम पाउन लामो समय लागेन । विवाहको दुई वर्षपछि जेठा छोरा नीरज जन्मिए ।
श्रीमान्सँगको विभिन्न देशको यात्राले रूपा कुशल कूटनीतिज्ञ बनिसकेकी थिइन् । न्यूयोर्क जाँदा पनि नेपाल अन्य देश भन्दा कम देखिनु हुँदैन भनेर भारतदेखि जुत्ता र लण्डनबाट ब्रान्डेड सुट सपिङ गरिदिएको स्मरण गर्दा उनको अनुहार अहिले पनि उज्यालो देखियो । उतिबेलाका अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीकी श्रीमतीसँगको भेटभाट आज पनि उनका लागि प्रेरणादायक छ । यिनीहरूले जीवन मात्रै देखेनन्, यिनका दुई जोडी आँखाले सँगै संसार देखे, दुःख देखे, सुख देखे, कठिनदेखि ल्याभिस लाइफ देखे । आज विवाह भएको ५३ वर्ष बितिसकेको छ र पनि बिहान गोपी मर्निङवाक जाँदा रूपालाई चिन्ता हुन्छ । रूपा भावुक हुँदै भन्छिन्, ‘कान सुन्नुहुन्न, कहिलेकाहीँ मोबाइल घरै छोडर जानुहुन्छ, ८५ वर्ष पुग्नुभयो तर लौरो टेक्न मान्नुहुन्न कतै बाटोतिर लड्नुहुन्छ कि भन्ने चिन्ता लाग्छ । उहाँबिना त म एकपल पनि बिताउन सक्दिन । उहाँलाई फ्रेस यएर होस् भनेर महिना–डेढ महिनामा टाढा रिसोर्टतिर बस्न जाने गरेका छौं । केही हप्ता बसी तरोताजा महसुस गरेर फर्किन्छौं ।’
यी दुवैलाई लाग्छ प्रेम हृदयदेखि एक–अर्काप्रति गरिने त्याग र समझदारी हो भने विवाह सामाजिक संस्था । प्रेम आत्मा हो, विवाह परिवार । दुवै एकै स्वरमा भन्छन्, ‘दाम्पत्य सहज र सुन्दर बनाउन एक–अर्काप्रतिको त्याग, विश्वास, सम्मान र गहिरो प्रेम चाहिन्छ । दाम्पत्य टुक्रिनुमा भने बलियो जग नै कसी हो ।’ तर यसमा रूपाको फरक मत छ, आफूहरूको पालामा जे–जति सहेर, त्याग गरेर बसियो अबको पुस्तालाई त्यो नसुझाउने र आफ्नो छनोटमा जीवन बाँच्न दिनुपर्ने उनको तर्क छ । उनी भन्छिन्, मैले मेरा नीरज र सुभजलाई मात्रै नभएर बुहारीहरूलाई पनि यसै भन्ने गरेकी छु । लिभ योर लाइफ, इन योर च्वाइस ।’

गोपीका बारेमा रूपा
बलियो पक्ष : इमानदारिता
कमजोरी : हुँदैन भन्नै नसक्ने
रुचि : दर्शनशास्त्र
कूटनीतिज्ञ : यदुनाथ खनाल
पुस्तक : नेल्सन मण्डेलाको वाक टु फ्रिडम
मनपर्ने खाना : खुवा
कस्ता श्रीमान् : आइडियल
के भएको हेर्ने रहर छ ? : अझै पनि देशका लागि केही गर्न सक्ने मान्छे हो । केही भए पनि योगदान गरिदिए हुन्थ्यो ।

रूपाका बारेमा गोपी

बलियो पक्ष : निर्भीक र स्पष्टवक्ता

कमजोरी : स्पष्टवक्ता

आकर्षक पक्ष : अध्ययनशील
महिला अधिकारकर्मी : चाँदनी जोशी
पुस्तक : हान स्विन
मनपर्ने खाना : चटपटे टाइपका खानेकुरा
कस्ता श्रीमान् : मोस्ट आइडियल
के भएको हेर्ने रहर छ ? : बहुआयामिक व्यक्तित्व सदा कायम राख्नु ।

 Image