Successfully Copied

जेन–जीको तीज : स्वतन्त्रताको पर्व

तीजलाई जेन–जीले व्रत र परम्पराको चाडका रूपमा होइन व्यक्तिगत छनोट, भेटघाट, खुसी र आत्म–अभिव्यक्तिको पर्वका रूपमा बुझ्न थालेका छन् ।

आरती पौडेल
तीजको रौनक उस्तै छ । रातो साडी, दर, गीत र नाचले आज पनि तीजलाई उल्लासमय बनाइरहेका छन् । तर तीज मनाउने पुस्ताको सोच भने फेरिएको छ । जेन–जीका लागि तीज अब व्रत र परम्पराको चाड मात्रै बनेन । आफ्नोपन, स्वतन्त्रता, सम्बन्ध र आत्मखुसी मनाउने उत्सव बन्दै गएको छ ।
जेन–जी कुनै पनि चाडपर्वलाई महिला र पुरुषबीचका रुढीवादी परम्परा र समाजले निर्माण गरेका विभेदपूर्ण भाष्यभन्दा माथि उठेर हेर्न चाहन्छ । अध्ययन, रोजगारी र अवसरको खोजीमा देश–विदेश छरिएका जेनजीले परम्परागत तीजलाई आफ्नै जीवनशैलीअनुसार नयाँ अर्थ दिएका छन् । उनीहरू तीजलाई कसरी हेर्छन् ? व्यस्तताबीच पनि तीज मनाउन कसरी समय निकाल्छन् ? र परदेशमा रहँदा तीजले कस्तो अनुभूति दिलाउँछ ? ‘नारी’ ले यस अंकमा केही जेन–जीका अनुभव र दृष्टिकोण समेट्ने प्रयास गरेको छ ।

नेपालमा हँुदा मनाएको तीजको निकै सम्झना आउने गरेको परदेशमा अध्ययन तथा रोजगारको सिलसिलामा गएका जेन–जीहरूको भनाइ छ । पोखरा घर भएकी सिर्जना दाहाल केही समयदेखि अस्ट्रेलिया बस्दै आएकी छिन् । लामो समय काम गरेर कोठामा फर्केपछि केही समय राहतको महसुस भए पनि फेरि भोलिपल्ट सबेरै काममा हतार–हतार दौडन्छिन् । उनको जीवन विदेश गएपछि निकै व्यस्त बनेको छ । ‘नेपालमा हप्तामा एकदिन घुम्न गएको फोटो देखेर कति सुख विदेशमा भनिन्छ । तर साँच्चै भने छैन रहेछ,’ उनले भनिन् । कामअनुसारको आम्दानी भने हुने गरेकोमा सिर्जना खुसी छिन् ।
२६ वर्षकी सिर्जना आफूलाई मन पर्ने चाडका रूपमा तीजलाई पनि हेर्ने गर्छिन् । उनी नेपाल हुँदा तीजको बेला छुट्टै खुसी छाउने गरेको सुनाउँछिन् । ‘नेपालमा हँुदा त तीजमा कति रमाइलो हुन्थ्यो । तीज आउनुअघि नै दरका लागि धेरैतिरबाट बोलाउनुहुन्थ्यो, जान्थ्यौं रमाइलो हुन्थ्यो,’ उनले भनिन्, ‘तीजमा दिदीबहिनी भएर नाच्ने, मामाघर जाने गथ्र्यौं । अहिले त्यहाँ जे आए पनि सबै आफ्नै काममा व्यस्त हुन्छन् । चाडपर्वमा नेपालको एकदमै याद आउँदो रहेछ ।’
अस्ट्रेलियामा उनको यो पहिलो तीज हो । उनी यो तीजमा साथीसँग रमाइलो गर्ने सोच रहेको सुनाउँछिन् । ‘अरुबेला मज्जाले काम गरे पनि तीजको दिनमा छुट्टी लिएर अफिसमा सँगै काम गर्ने नेपाली साथी मिलेर साडी लगाउने, एकै ठाउँमा पकाएर खाने, घुम्न जाने र नाच्ने योजना बनाएका छांै,’ उनले भनिन्, ‘सकेसम्म विदेशमै भए पनि रमाइलो गर्ने सोचमा छौं ।’
सिर्जना तीजमा आफूलाई नाच्न मन पर्ने सुनाउँछिन् । ‘तीजमा त छुट्टै आनन्द आउँछ । अरुबेला जस्तो भए पनि तीजमा सबै दिदीबहिनी नाचेर चिन्ता हटाउनुपर्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
धादिङ घर भएकी सुमिना पौडेल रोजगारको सिलसिलामा जापान छिन् । उनलाई पनि तीज नजिकिएसँगै नेपालको यादले सताउँछ ।
‘अरु बेलाभन्दा अझ बढी चाडपर्व आउँदा नेपालको याद आउँदो रहेछ । जस्तो भए पनि रमाइलो त आफ्नै देशमा हुन्छ,’ उनले भनिन् । २४ वर्षकी सुमिना डेढ वर्षअघि जापान गएकी थिइन् । सुमिनाले अघिल्लो वर्ष पनि जापानमै तीज मनाएकी थिइन् । अघिल्लो वर्ष तीज सोचेजस्तो नभए पनि यो पटक भने रमाइलो गर्ने सोच रहेको सुनाउँछिन् । ‘जापान आएको केही समय मात्र भएको थियो । त्यसैले अघिल्लो वर्ष नरमाइलो लागेको थियो । यो पटक भने रमाइलो गर्ने सोचमा छु,’ उनले भनिन् ।
सुमिना जति व्यस्त भए पनि साथीसँग भेटेर तीज मनाउने सोच रहेको सुनाउँछिन् । ‘अरु समय त काममा गएर आउँदा दिन सकिन्छ । अर्को ठाउँ बस्ने साथीहरू तीज मनाउन हाम्रोमा आउने भनेका छन्,’ उनले भनिन्, ‘जस्तो जे भए पनि तीजमा काममा छुट्टी लिएर रमाइलो गर्ने सोचमा छु ।’ सुमिना तीजमा टिकटक र फोटो पनि खिच्ने सुनाउँछिन् । ‘रातो साडी लगाएर तीजमा नाच्ने, टिकटक बनाउने र मज्जाले फोटो खिच्ने सोचेकी छु,’ उनी मुस्कुराउँदै सुनाउँछिन् ।


नेपालमै रहेर पनि विभिन्न क्षेत्रमा सक्रिय आवाज उठाउँदै आएका जेन–जी पनि तीजलाई फरक तरिकाले हेर्छन् ।
विराटनगर घर भएकी अधिवक्ता तथा अभियन्ता जस्मिन ओझा तीजको सुन्दर पक्षलाई हेर्नुपर्ने सुनाउँछिन् । ‘मेरा लागि तीज आस्था, संस्कृति र स्मृतिको पर्व हो । यसलाई म सम्मानका साथ हेर्छु, यसले नेपाली समाजमा महिलाका अनुभव, भावना र इतिहासलाई बोकेको छ,’ उनले भनिन्, ‘तर कुनै पनि परम्परा त्यतिबेला मात्र सुन्दर हुन्छ, जब त्यसले व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्छ ।’ समाजको दबाब भन्दा पनि हरेक कुरामा महिलाको व्यक्तिगत निर्णय हुनुपर्ने जस्मिनलाई लाग्छ । ‘तीज मनाउने वा नमनाउने, व्रत बस्ने वा नबस्ने यो प्रत्येक महिलाको आफ्नै निर्णय हुनुपर्छ । श्रद्धाले गरिएको अभ्यास र सामाजिक दबाबले गराइएको अभ्यासबीच ठूलो अन्तर हुन्छ,’ उनले भनिन्, ‘कुनै महिलाको प्रेम, समर्पण वा सम्बन्धप्रतिको प्रतिबद्धता उनले कति घण्टा व्रत बसिन् भन्ने कुराले मापन गर्न सकिँदैन ।’
सम्बन्ध दीर्घायु बनाउन व्रतको आवश्यकताभन्दा पनि सम्बन्धमा सम्मान, समानता हुन आवश्यक रहेको उनी सुनाउँछिन् । ‘सम्बन्धको दीर्घायु र सुख केवल निराहार व्रत बस्नाले सुनिश्चित हुँदैन । त्यसको आधार त आपसी सम्मान, विश्वास, समानता, संवाद र एक–अर्काको स्वास्थ्य तथा खुसीप्रतिको संवेदनशीलता हो,’ उनले भनिन्, ‘यदि हामी जीवनसाथीको दीर्घायु र कल्याण चाहने हो भने, त्यसको सबैभन्दा सुन्दर माध्यम एक–अर्कालाई स्वस्थ, सुरक्षित र खुसी राख्ने प्रयास हो ।’
तीज महिलाको स्वतन्त्र निर्णयमा मनाउने कुरालाई सम्मान गर्ने उनी सुनाउँछिन् । ‘जेन–जीका रूपमा म परम्परालाई अस्वीकार गर्ने होइन, त्यसलाई समयअनुकूल पुनव्र्याख्या गर्नुपर्ने पक्षमा छु । संस्कृतिको सार जोगाउनुपर्छ, तर महिलामाथि कुनै भूमिका, त्याग वा धार्मिक अभ्यासलाई कर्तव्यका रूपमा थोपर्ने सोचबाट बाहिर निस्किनुपर्छ,’ उनले भनिन्, ‘तीज तब झन् अर्थपूर्ण बन्छ, जब महिलाहरूले आफ्नो इच्छा, आस्था र स्वतन्त्र निर्णयका आधारमा यसलाई मनाउन सक्छन् । किनकि स्वतन्त्र छनोटबाट मनाइएको पर्व नै वास्तविक उत्सव हो ।’
कास्की घर भएकी २१ वर्षकी प्रमिला पौडेल अहिले मेची नेत्रालयमा नेत्र सहायकका रूपमा कार्यरत छिन् । उनी बाल्यकालदेखि नै तीज आफूलाई निकै मन पर्ने गरेको सुनाउँछिन् ।
‘सानैदेखि मलाई पनि तीज मनपर्छ । हामी नारीहरूको सबैभन्दा सुन्दर र अर्थपूर्ण पर्वहरूमध्ये एक हरितालिका तीज हो जसले स्वतन्त्र भएर प्राय: सबै रमाउँछौं,’ उनले भनिन्, ‘रातो साडी, कुर्ता लगाउने, व्रत बस्ने, मन्दिरमा पूजा गर्न जाने, साथीभाइ, दिदीबहिनीसँग गीत गाउने, आफ्नो कुुरा सेयर गर्ने, नाच्ने र रमाइलो गर्ने–यी सबै तीजका सुन्दर पक्षले गर्दा नै होला तीज अरु भन्दा युनिक फेस्टिभल भन्ने सानैदेखि लाग्छ,’ उनले भनिन् । प्रमिला यो पटक आफूले काम छोडेर घर जान नसक्ने सुनाउँछिन् । ‘सुरु गरेपछि चाडपर्व मनाउने तरिका भने अलि फरक हुने रहेछ । त्यसमाथि घरबाट थोरै टाढा बस्नुपर्दा झन् गाह्रो,’ उनले भनिन्, ‘नेपाल भए पनि काम छोडेर घर जान नसक्दा खल्लो लागे पनि आफू काम गर्ने ठाउँमा नै रमाइलो गर्ने सोचमा छु ।’
प्रमिला पनि नाचेर रमाइलो गर्ने सोचमा छिन् । ‘तीजको दिन व्रत त बस्दिन । तर मन्दिर दर्शन गर्न जाने सोचमा छु । रातो साडी लाउने, सबैसँग मिलेर तीजका गीत गाउने, नाच्ने र मन खोलेर रमाइलो गर्ने सोच छ,’ उनले भनिन् ।


प्राय: जेन–जीका तीज मनाउने शैली भने फरक–फरक छन् । इलाम घर भएकी दीपिका पोख्रेल काठमाडौंमा स्नातकोत्तर गर्दै छिन् । उनलाई पनि तीजमा रमाइलो गर्नुपर्छ भन्ने लाग्छ । अहिलेको तीज मनाउन गाउँ जाने सोचमा रहेको सुनाउँछिन् । ‘अगाडिको वर्ष परीक्षा परेर घर जान पाइन । म अहिले तीज मनाउन घर जाने सोचमा छु,’ उनले भनिन् ।
तीजले आफ्नो खुसीका लागि बाँच्नुपर्छ भन्ने सन्देश दिएको दीपिकालाई लाग्छ । ‘अहिले सबै आफ्नो करिअर बनाउने, पढ्ने र जागिर खाने काममा व्यस्त छन्,’ उनले भनिन्, ‘यतिधेरै मेहनतले अगाडि बढिरहेका सबैलाई आफ्नो खुसीका लागि पनि बाँच्नुपर्छ भनेर तीजले सिकाउँछ जस्तो लाग्छ । सबैजना आफ्नो व्यस्त जिन्दगीबाट बाहिर निस्केर रमाइलो गर्नु तीजको राम्रो पक्ष लाग्छ ।’
केही भने तीजको बेला समय निकालेर घुम्न जाने सोचमा रहेको सुनाउँछन् । कुस्मा नगरपालिका–२ घर भएकी सञ्जु अर्याल पोखरा बसेर अध्ययनसँगै जागिर पनि गर्दै आएकी छिन् । २२ वर्षकी सञ्जु अहिलेको तीजको केही दिनअगाडि घुम्न जाने सोचमा रहेको सुनाउँछिन् । ‘पानी परेन भने तीजमा फ्रेस हुन, रमाइलो गर्न दिदीबहिनी मिलेर घान्दु्रक वा धम्पुसमध्ये एक ठाउँ जाने सोचमा छौ,’ उनले भनिन्, ‘दर खाने दिनमा र तीजमा दिदीबहिनी सबैले एउटै रङको साडी र कुर्ता किनेर लाउने सोचमा छौं ।’ सबैसँगै भएपछि हरेक चाडपर्व निकै रमाइलो हुने गरेको सञ्जु सुनाउँछिन् । ‘एकजना विदेश, एकजना नेपाल भएर तीज मनाउनुपर्दा नराम्रो लाग्छ तर हामी सबैजना नेपालमा छौं । त्यसैले दसंै, तिहार र तीज जहिले पनि रमाइलो हुन्छ,’ उनले भनिन् ।
सञ्जुलाई तीजले खुसी, स्वतन्त्रता दिन्छ भन्ने लाग्छ । ‘अरुबेला सबैजना आफ्नो काममा व्यस्त हुन्छौं । तर तीजमा केही समय निकालेर भए पनि धेरै समय भेट नभएका साथी, दिदीबहिनीसँग भेट हुन पाइन्छ,’ उनले भनिन्, ‘धेरै अगाडिदेखि भेटेर कुरा गर्ने कुराहरू सँगालेर राखेका हुन्छौं । त्यतिबेला सबै कुरा गर्न पाइन्छ । त्यसैले मलाई तीज खुसी दिने पर्व हो जस्तो लाग्छ ।’


काठमाडौं घर भएकी २४ वर्षकी प्रतिमा सापकोटा अध्ययनसँगै जागिर पनि गर्दै आएकी छिन् । उनी पनि महिलाहरूको विशेष पर्व तीज सबैले स्वतन्त्र रूपमा मनाउनुपर्छ भन्ने सोच राख्छिन् । ‘उनले भनिन्, ‘पहिला हजुरआमा, आमाले सिकाएका राम्रा पक्षलाई स्वीकार गर्दै लैजाने तर रुढीवादी कुरालाई बेवास्ता गर्दै हामी अघि बढ्नुपर्छ ।’ तीजमा मात्र नभएर हरेक चाडपर्वमा भएका गलत कुराहरूलाई हटाउँदै जानुपर्छ भन्ने प्रतिमालाई लाग्छ ।
प्रतिमा तीजमा नाच्ने, दर खाने र सबै साथीसंगीसँग भेट गर्ने सोच रहेको सुनाउँछिन् । बाल्यकालमा उनलाई तीजका गीतले निराश बनाएको अनुभव छ । उनले भनिन्, ‘समय परिर्वतन हुँदै गयो । अहिले महिला स्वतन्त्र छन् । आफूले चाहेको पढ्न, पेसा व्यवसाय गर्न, देशविदेश घुम्न सक्छन् । त्यसैले स्वतन्त्रताका गीत बज्छन् । यो देखेर मलाई निकै खुसी लाग्छ ।’
हरेक महिलाको जीवन सोचेजस्तो होस् भन्ने चाहना सुनाउने प्रतिमा महिलामा पीडा नपरून् । दबिएर बस्न नपरोस् भन्ने चाहेको सुनाउँछिन् । ‘महिलामा कुनै पनि किसिमको दु:ख नहोस् । तीजमा दु:खका गीत होइन । हरेक महिलामा स्वतन्त्रताको, उचाइमा पुगेका गीत बनून् र बजिरहून् जस्तो लाग्छ,’ उनले भनिन् ।

 Image