सिर्जना दुवाल
वीणा जोशीले नाच खोज्दै जाँदा एउटा सिंगो समाज भेटिन् । मुखुन्डोभित्रका पात्र खोज्दा धर्म भेटियो, नाचको ताल पछ्याउँदा परम्परा, गुठीको इतिहास पल्टाउँदा समुदाय अनि गुरुहरूको स्मृति सुन्दा पुस्तौं देखिको ज्ञान ।
उनको पाँच दशकभन्दा लामो अनुसन्धान कुनै नृत्यको इतिहास लेख्ने काममा मात्र सीमित रहेन । नेवार समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक स्मृतिलाई अभिलेखमा उतार्ने अभियानजस्तै बन्यो । त्यसैको करिब १ हजार ४ सय पृष्ठको परिणाम ‘नेवार समुदायका परम्परागत मुखुन्डोनाच’ ले ८२ वर्षको उमेरमा उनलाई मदन पुरस्कार–२०८२ दिलाएको छ ।
संस्कृतिविद् तथा नृत्यकलाविद् वीणा जोशी (राजभण्डारी) को जीवनमा अहिले एउटा ऐतिहासिक क्षण आएको छ । पाँच दशकभन्दा लामो समयदेखि नेवार समुदायका परम्परागत मुखुन्डो नाचको अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणको प्रतिफल उनले पाएकी छन् । २९८ पुस्तकबाट उत्कृष्ट १० कृतिमा छनोट हुँदै अन्तत: उनको पुस्तक मदन पुरस्कारका लागि चयन भएको हो ।
२००१ भदौ २ मा जन्मिएकी वीणालाई बाल्यकालदेखि नै नृत्यले आकर्षित गथ्र्यो । सर्लाहीको मलंगवा पब्लिक हाइस्कुलमा पढ्दै गर्दा नृत्यप्रतिको उनको रुचि अझ गहिरिँदै गयो । त्यो समय आजको जस्तो थिएन । नृत्यलाई जीवनको गम्भीर अध्ययन र पेसाका रूपमा हेर्ने वातावरण थिएन । विशेषगरी महिलाका लागि त अझ धेरै सामाजिक सीमा थिए ।
२०१८ सालमा एसएलसीपछि उनलाई गरिने एउटा प्रश्न अहिले पनि उनको सम्झनामा छ । ‘एसएलसीपछि को के बन्ने सोच छ ?’ उनले सबैलाई दिने उत्तर हुन्थ्यो, ‘म डान्स सिक्न जान्छु । डान्स कक्षा चलाउने मेरो लक्ष्य छ ।’ नभन्दै उनले नृत्य सिकिन् । त्यही सपनाले उनलाई परम्परागत नाचको अध्ययनप्रति रुचि जगायो ।
त्यसैले उनी नेपालमै रोकिइनन् । पाकिस्तानको कराँचीको घनश्याम रिदमिक आर्ट सेन्टरबाट शास्त्रीय नृत्यमा डिप्लोमा गरिन् । त्यसपछि उनले भारतको गुजरातस्थित एम.एस. विश्वविद्यालय, बडोदाबाट भरत नाट्यममा स्नातक तहको अध्ययन पूरा गरिन् ।
नृत्यको औपचारिक अध्ययन पूरा गरेर उनी नेपाल फर्किइन् । नेपाल फर्किएपछि राष्ट्रिय नाचघरमा केही समय काम गरिन् । विभिन्न शैक्षिक संस्थामा नृत्य सिकाइन् । नृत्य सिकाउँदै जाँदा उनमा नृत्य त्यसमा पनि मुखुण्डो लगाएर नाचिने नृत्यहरूको इतिहास मिथकहरूप्रति चासो बढ्दै गयो । वीणाका लागि नृत्य मनोरञ्जन मात्रै थिएन । उनका लागि नर्तकको हातको एउटा मुद्राभित्र अर्थ थियो, खुट्टाको एउटा चलभित्र कथा थियो, लय र तालभित्र परम्परा थियो । नृत्य पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको संस्कार र ज्ञानसँग जोडिनु पनि हो भन्ने उनलाई लाग्न थाल्यो । कुनै नृत्य किन जन्मियो ? कुन समुदायले त्यसलाई जन्मायो ? कुन अवसरमा नाचिन्छ ? नाच्ने पात्रहरू किन त्यस्तै छन् ? उनीहरूले लगाउने पोसाक, बजाउने बाजा र लगाउने मुखुन्डोको अर्थ के हो ? यी प्रश्नहरूले विस्तारै उनको कलाकार मनलाई अनुसन्धानतर्फ डोर्याउन थाले ।
त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँग जोडिएर उनले परम्परागत बौद्ध धार्मिक नाच, काठमाडौं उपत्यकाका धार्मिक नाच, शास्त्रीय नृत्य र चर्यानृत्यसम्बन्धी अध्ययन तथा अनुसन्धानमा काम गरिन् । नृत्यलाई बाहिरी सौन्दर्य र मनोरञ्जनका रूपमा मात्र हेर्ने दृष्टिभन्दा पर पुगेर उनले त्यसको सामाजिक, धार्मिक र सांस्कृतिक पाटो खोतल्न थालिन् ।
चीन, जर्मनी, जापान, पाकिस्तान, फिनल्यान्ड, बेलायत र बेल्जियमसम्म तथा भारतका विभिन्न स्थानमा भएका सांस्कृतिक यात्राले उनलाई विश्वका विभिन्न समाज र संस्कृतिलाई नजिकबाट बुझ्न पाइन् । विभिन्न परम्परागत नृत्य महोत्सव र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा उनले एउटै नृत्यले पनि फरक–फरक समाजमा कसरी फरक अर्थ बोकेको हुन्छ भन्ने अनुभव गरिन् । कतै नृत्य धार्मिक अनुष्ठानसँग जोडिएको थियो, कतै समुदायको पहिचानसँग, कतै इतिहास र परम्पराको निरन्तरतासँग ।
संसारका विभिन्न संस्कृतिलाई मञ्चमा देखिरहँदा उनलाई आफ्नै समाजका ती नृत्य सम्झना हुन थाले, जो पुस्तौंदेखि टोल, बहाल, गुठी र जात्राका बीच जीवित थिए । मानिसहरू नाचिरहेका हुन्थे, बाजा बजिरहेका हुन्थे, पूजा र अनुष्ठान भइरहेका हुन्थे । तर ती नृत्यको जन्मकथा, धार्मिक अर्थ, सामाजिक संरचना र त्यससँग जोडिएको ज्ञान कतिलाई थाहा होला ? नयाँ पुस्ताले कसरी बुझ्ला ?
परम्परागत यी मुखुण्डो नाचहरू पुस्तौंदेखि गुरुबाट शिष्यसम्म सर्दै आएको ज्ञान हो । कागजमा नलेखिएको ज्ञान सम्झनामा मात्र बाँचेको हुन्छ । सम्झना बोकेको मानिस बितेपछि त्यो ज्ञान पनि हराउन सक्छ । कुनै नाचको विधि हराउन सक्छ, त्यसको अर्थ हराउन सक्छ, त्यससँग जोडिएको धार्मिक विश्वास र सामाजिक इतिहास पनि विस्तारै विस्मृतिमा जान सक्छ ।
त्यसैले उनलाई नेवार समुदायका परम्परागत मुखुन्डो नाचको गहिरो खोजतर्फ डोरायो । जुन खोजपछि पाँच दशकभन्दा लामो अनुसन्धान यात्रामा बदलियो ।
२०२६ सालदेखि उनले नेवार समुदायका परम्परागत मुकुन्डो नाचबारे सामग्री संकलन र अनुसन्धान सुरु गरिन् । सुरुमा नेपालका विभिन्न जातजातिका परम्परागत नृत्यको अध्ययन गर्ने थियो । तर विषयको फैलावट र त्यससँग जोडिएको ज्ञानको गहिराइ बुझ्दै जाँदा उनले आफ्नो अनुसन्धानको मुख्य केन्द्र नेवार समुदायका परम्परागत मुखुन्डोनाचलाई बनाइन् ।
नाच कहाँ र कहिले हुन्छ भन्ने मात्र खोजेर उनको अनुसन्धान पूरा हुनेवाला थिएन । त्यस नाचको इतिहास जान्ने गुरु, बाजाको परम्परा बुझाउने गुरु, गुठीका बारेमा बताउने मानिस चाहिन्थ्यो । त्यसैले उनी काठमाडौं उपत्यकाका विभिन्न टोल, बहाल र बस्ती पुग्न थालिन् । पुरानो पुस्ताले पुस्तौंदेखि बोकेर ल्याएको ज्ञान सुन्न उनी घण्टांै कुर्थिन्, एउटै व्यक्तिलाई पटकपटक भेट्थिन् र सुनेका कुरा फेरि पुष्टि गर्थिन् ।
एउटै नाचबारे जानकारी लिन पनि उनको एक–दुई भेटले पुग्दैनथ्यो । कतिपय कुरा सम्झेर भन्न गुरुहरूलाई समय लाग्थ्यो । कतिपय प्रसंग विस्तारै खुल्थे । कतिपय कुरा त सहजै बताइँदैनथे । किनकि उनले खोजिरहेको विषय नृत्य र मुद्रामा सीमित थिएन । त्यसको गहिराइमा धार्मिक विश्वास थियो, तन्त्र थियो, अनुष्ठान थियो र गुरु–शिष्य परम्परामा सुरक्षित राखिएको गोप्य ज्ञानलाई बुझ्नु पनि थियो । कतिपय ज्ञान दीक्षित व्यक्तिबाहेक अरूलाई बताउन नहुने मान्यता थियो । त्यस्तो ज्ञानलाई बाहिरका मानिससँग बाँड्नु हुँदैन भन्ने विश्वास अझ बलियो थियो । त्यसमाथि उनी महिला अनुसन्धानकर्ता थिइन् ।
परम्परागत रूपमा पुरुष गुरुहरूको नियन्त्रणमा रहेको कतिपय ज्ञानको ढोका एउटी महिलाका लागि सहजै खुल्ने अवस्था थिएन । तर वीणाले हतार गरिनन् । प्रश्न थोपरेर उत्तर निकाल्नेभन्दा पहिले उनले सम्बन्ध बनाएर विश्वास जितिन् । आफ्नो अध्ययनप्रति धैर्य, निरन्तरता र इमान्दारितामार्फत उनले गुरुहरूलाई आफू केवल जानकारी संकलन गर्न आएकी होइनन्, हराउँदै जान सक्ने ज्ञानलाई जोगाउन आएकी हुन् भन्ने विश्वास दिलाउँदै गइन् ।
उनको यात्रामा उनका गुरु सप्तमुनि वज्राचार्यको सहयोग महत्वपूर्ण बन्यो । उहाँकै माध्यमबाट वीणाले काठमाडौं उपत्यकाका नाचगुरु, बाजागुरु र तन्त्राचार्यहरूसँग भेट्ने अवसर पाइन् । एकपछि अर्को भेट हुँदै गए । सम्बन्ध गहिरिँदै गयो । वर्षौंदेखि मनभित्र सुरक्षित राखिएका ज्ञानका ढोकाहरू पनि विस्तारै खुल्दै गए । वीणाका लागि ती भेटहरू सामान्य अन्तर्वार्ता थिएनन् । त्यो एउटा पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण भइरहेको क्षणजस्तै थियो ।
गुरुहरूले सुनाएका कुरा टिपोट गर्दै, पुराना परम्पराका तहहरू खोल्दै र आफूले देखे–बुझेका कुरालाई बारम्बार जाँच्दै उनी अगाडि बढिरहिन् । कतिपय कुरा तुरुन्तै लेख्न मिल्दैनथे, कतिपय कुरा बुझ्न वर्षौं लाग्थ्यो । तर उनको धैर्य टुटेन ।
अनुसन्धानसँगै उनको आफ्नै जीवन पनि अघि बढिरहेको थियो । विवाह भयो, छोराछोरी जन्मिए, उनीहरू हुर्किए, नातिनातिना पनि हुर्किए, घरको जिम्मेवारी कम भएन तर उनको अनुसन्धान कहिले मरेन र उनले आफ्नो कामलाई कहिल्यै पूर्णरूपमा छोडिनन् । ‘यो पुस्तकका लागि मैले सिंगो जीवन दिएँ । १८ वर्षको उमेरदेखि अहिले ८२ वर्ष हुँदासम्म यसैमा लागें,’ उनी भन्छिन्, ‘४० वर्षभन्दा धेरै समय त यसैमा केन्द्रित रहें । नाचहरूबारे प्राप्त तथ्य, पुराना गुरुलाई भेटेर रातभर लेखेर बस्थें । कहिलेकाहीँ पुस्तक पूरा हुँदैन कि भनेर निराश पनि हुन्थें ।’
डेरा सर्दा आफूले लेखेका टिपोटहरू पनि धेरै पटक हराए, फेरि त्यसका लागि गुरुहरू भेट्नुपर्यो । अहिले जस्तो कम्प्युटरको समय थिएन, हस्त लिखित हुन्थ्यो । बाकसभरि उनका टिपोटहरू हुन्थे ।
अनुसन्धान गर्दै जाँदा अष्टमातृका परम्परादेखि विभिन्न देवीदेवताका नाचसम्म पुग्दा उनले नाचभित्र धर्म, तन्त्र र सामुदायिक विश्वासको गहिरो सम्बन्ध भेटिन् । वीणा भन्छिन्, ‘मुखुण्डो नाचले नेवार समुदायको जातीय संरचनासमेत देखाउँदो रहेछ । कुन नाच कुन समुदायले गर्छ ? कुन जातिको कुन पेसा छ ? कुन चाडपर्वमा कुन नाच आउँछ ? जन्मदेखि मृत्युसम्मका संस्कारमा कुन नाच जोडिएको छ ? यी प्रश्न पछ्याउँदै जाँदा नाचभित्र एउटा समाज देखिन थाल्यो ।’
चर्या नृत्यदेखि कात्तिक नाचसम्म, गथु प्याखादेखि देवी नाचसम्म, भक्तपुर–थिमीको महाकाली नाचदेखि बोडेको नीलबाराही नाचसम्म, भैरव, श्वेतकाली, जल–हरसिद्धि, सिकाली, हलचोकको आकाशभैरव, लाखम् र माक: प्याखालगायतका नाच, बाग्लुङ, बेनी र कुश्माका हनुमान नाचसमेत । यसमा नाचसँगै पात्र, गीत, बाजा, ताल, लय, पोसाक, गरगहना, चाडपर्व, गुठी, धार्मिक विश्वास र सामाजिक जीवनका अनेक पक्ष भेटिन्छन् । समग्रमा वीणाको यो कृतिमा हरेक नेवार समुदायको इतिहास, संस्कृति, रहनसहन । खानपान, चाडपर्वलाई नाचमार्फत लेखिएको छ ।