आरती पौडेल
बिना गुरुङ महिला, बालबालिका एवं शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । महिला सशक्तीकरणमा विश्वास राख्ने बिना सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालकी संस्थापक अध्यक्ष हुन् । महिला उद्यमशीलता प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरणका साथै सामाजिक अभियानमा सक्रिय रहेकी बिनाले पहिलोपटक संसदीय यात्रा सुरु गरेकी छिन् ।
पोखरा क्षेत्र नम्बर ३ मा बिनाले आफ्ना प्रतिस्पर्धीसँग तीन गुणा मतसँगै जित हासिल गरेकी छिन् । कास्की–३ को प्रतिनिधिसभा निर्वाचनमा ६५ हजार ४ सय ७ मत खसेको थियो । जसमा बिनाले ३७ हजार ७ सय ५० मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत पाए । उक्त क्षेत्रमा १६ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । कडा प्रतिस्पर्धा मानिएको क्षेत्र भनिए पनि बिनाले सजिलै जित हासिल गर्न सफल भएकी छिन् ।
रास्वपाबाट कास्कीमा ३ वटै क्षेत्रबाट बिना एक्ली महिला उम्मेदवार थिइन् । अब भने, गण्डकीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट प्रतिनिधित्व गर्ने उनी एकमात्र महिला हुनेछिन् ।
यसअघि राजनीतिमा भन्दा पनि समाजसेवामा निकै तत्पर भएर लागेकी उनी व्यवसाय क्षेत्रमा पनि सफल उद्यमीका साथै लगानीकर्ता समेत हुन् । उनले पञ्चासे केबलकार सञ्चालक समीति सदस्यका रूपमा पर्यटन पूर्वाधार विकासमा योगदान समेत पुर्याएकी छिन् ।
उनको चुनावी एजेन्डाको मुख्य विषयमा महिला सशक्तीकरण रहेको थियो । आर्थिक आत्मनिर्भरता, सामाजिक समानता र नेतृत्वमा महिलाको पहुँच विस्तार उक्त तीन विषयलाई मुख्य काम सोचेको बताएकी थिइन् । निर्वाचित भएपछि उनले भनिन्, ‘म यो क्षेत्रमा महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने, उनीहरूको क्षमताको पूर्ण उपयोग गर्ने र नेतृत्वमा पहुँच सुनिश्चित गर्ने दृढ संकल्पका साथ अघि बढेकी छु ।’ जेन–जी घाइते, सहिदहरूको मर्मलाई बुझेर आफूले सधै काम गर्ने उनले जनाएकी छिन् ।
‘मलाई कास्की क्षेत्र नम्बर–३ का मतदाताले धेरै मत दिएर जिताउनुुभएको छ । जितें भनेर घमण्ड गर्दिन, जिम्मेवारीबोध गर्छु । अव मतदाताको भावना र देशको विकासमा काम गर्ने छु,’ उनले भनिन् ।
समाजमा महिलाको आवाज बनेर काम गर्दै आएकी ५३ वर्षीया गुरुङले अब देशका सम्पूर्ण महिलाको आवाज बनेर संसद्बाट आफ्नो आवाज बुलन्द गर्नेछिन् ।