Successfully Copied

महाविपद्को मारमा महिला

भूकम्प, बाढी, पहिरो वा अन्य जलवायुजन्य विपद् आउँदा गर्भवती महिलाले सुरक्षित स्थानमा पुग्न पनि कठिनाइ भोग्नु परेका कयौं उदाहरण छन् । रसुवा विपद्मा त्यही नियति दोहोरिएको छ । पूर्वतयारीमा सरकार र समाजले सिकेको देखिएन ।

शरद अधिकारी
सविना तामाङ भर्खर २३ वर्षकी भइन् । उत्तरगया रसुवाकी उनको गर्भमा चार महिनाको सन्तान हुर्किरहेको छ । जीवनमा नयाँ सदस्यको आगमनको प्रतीक्षामा रहेकी उनी अहिले भने श्रीमान् गुमाएको पीडा र आफ्नो गर्भको भविष्यप्रति चिन्तित छन् ।
भदौ १० गते बिहान करिब ९ बजेको थियो । एक्कासि भोटेकोशीमा बाढी आएको खवर आयो । सविना मेलुङमा पावर चाइनाको कार्यालयमा कार्यरत थिइन् । उनका श्रीमान् पनि त्यो भन्दा माथि स्याफ्रुबेसी भन्दा अलिक तल ड्याम साइडमा थिए, एस्काभेटर चलाउँथे । बाढी आएको सूचना आएपछि श्रीमान्ले सविनालाई भिडियो कल गरेर जानकारी दिए । भिडियो कलमा ‘भाग सविना, छिटो भाग’ भन्दाभन्दै श्रीमान्को आवाज रोकियो । भोटेकोशीको उर्लिदो हावाहुरीजस्तो वेगको पहिलो झोक्काले श्रीमान् ज्ञानबहादुर तामाङलाई लग्यो ।
सविना सकिनसकी भागिन्, भीर उक्लिइन् । भिडियो कलमा श्रीमान् बगेको देखेकी सविना उकालो लाग्दालाग्दै केही मिनेटमै बाढी सविनाको आँखा अगाडि आयो । बाढी आउँदा पनि उनी ज्यान जोगाउन उकालो दौडिँदै थिइन् । मैलुङका धेरै मानिस त्यसरी नै दौडिएका थिए । तर सविना भने बचिन् ।
त्यसरी दौडिनेमध्ये माथिल्लो त्रिशुली–२१६ जलविद्युत् परियोजनामा कार्यरत अर्जुन न्यौपाने पनि थिए । उनका अनुसार बाढी झन्डै ५ सय मिटर अग्लो थियो । बाढी सडकभन्दा माथिसम्म आएको थियो । त्यस्तै ३ मिनेटजति आएको थियो । बिहानको ९ बजेर १४ मिनेटमा मैलुङमा बाढी आइपुगेको थियो । अजुर्न पनि भाग्यले बाँचेकामध्ये एक हुन् ।
क्षणभरमै मैलुङको बस्ती बाढीमा डुब्यो । कति मानिसले ज्यान गुमाए । कति बेपत्ता भए भन्ने एकिन छैन । भागेर जोगिएकाहरू माथि डाँडामा पुगे । कोही केही बोल्न सक्दैनन् । सबैको मन भारी । कसैको केही छैन । कोही छैन । क्षणभरमै यस्तो मैलुङ कुरूप बन्यो । त्यो दिन र रात सविना मैलुङमाथिको गोठमा बसिन् ।
अर्जुन न्यौपानेका अनुसार भर्खरका सुत्केरी, गर्भवती, बूढाबूढी र केटाकेटी जसोतसो उद्धार र सहायतामा माथि डाँडामा पुगे । वास्तवमा त्यो क्षण कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्थामा पनि थिएन । र, त्यहाँका सबैलाई भोलिपल्ट माथि कालिकास्थान लगियो । अजुर्नले उद्धार गरेर सविनालाई पनि कालिकास्थान लगेका थिए । त्यसपछि उनी सरकारको उद्धारबाट बटार नुवाकोट दरबार क्षेत्रमा बसेकी छन्, बहिनीका साथ । श्रीमान् गुमाएको पीडा एकातिर छ भने अर्कोतिर गर्भमा हुर्किरहेको चार महिनाको गर्भलाई कसरी अगाडि बढाउने भन्ने भविष्यको चिन्ता छ ।
सविनाको यो प्रश्न केवल एउटी नारीको मात्र प्रश्न होइन । यो विपद्को समयमा गर्भवती, सुत्केरी, बूढाबूढीले भोगेको र भोग्नुपर्ने आमसमस्याको कारूणिक कथा हो । विपद्का बेला नारीले भोग्नुपर्ने समस्या, असुरक्षा र विपद् व्यवस्थापनमा महिलाका लागि अत्यावश्यक विषयमा राज्यले गर्नुपर्ने सम्बोधनको पहिलो प्रश्न हो ।
भाग्यले बाँचेकाहरूमा बूढाबूढी, भर्खरका सुत्केरी र गर्भवतीको संख्या पनि धेरै छ । ज्यान त जोगियो । परिवारै उजाडिएको छ, अरू कोही बचेनन् । यी केही महिलामात्र बचेका छन् । उनीहरूको अर्को चिन्ता छ, अव बाँकी जीवन कसरी चलाउने ?
ज्यान जोगियो, तर अर्को जीवनको चिन्ता
सविनाको कथा एक्लो घटना होइन । रसुवा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार यो संख्या एकिन छैन, तर ठूलो र अधिकांश परिवारको वास्तविक अवस्था हो । जसको परिवारका अधिकांश सदस्य गुमेका छन्, सानो बच्चासहित महिला भाग्यवश बाँचेका छन् । गर्भवती महिला पनि बाँचेका छन् ।
रसुवाकै उत्तरगया गाउँपालिका–५ की शारदा आचार्य पेसाले स्वास्थयकर्मी हुन् । भदौ १० गते महाविपद् आउँदा उनी मैलुङस्थित स्वास्थ्य चौकीमा थिइन् । उनी स्वयं पनि गर्भवती थिइन् । प्रसूतिको मिति नजिकिँदै थियो ।
बाढीले स्वास्थ्यचौकी वरिपरिको क्षेत्र पुरेपछि उनको ज्यान पनि जोखिममा पर्‍यो । स्वास्थ्यकर्मी भएर अरूको स्वास्थ्यको ख्याल गर्नुपर्ने शारदा त्यसदिन आफ्नै जीवन र गर्भमा हुर्किरहेको शिशुको सुरक्षाका लागि संघर्ष गर्न बाध्य भइन् ।
उनी पनि बालबाल बचिन् । धन्य प्रकृति ।
सामान्य अवस्थामा गर्भवती महिलाका लागि नियमित स्वास्थ्य जाँच, पोषण, सुरक्षित आवातजावत, सुरक्षित प्रसूति सेवामा पहुँच र मानसिक शान्ति आवश्यक हुन्छ । तर रसुवा विपद्ले यी सबै आधारभूत आवश्यकता एकै पटक संकटमा पारिदियो । अहिलेलाई अरू विस्थापित सरह महिला, त्यसमा पनि भर्खरका सुत्केरी र गर्भवतीको उद्धारको अवस्था समान छ । सरकारले शीघ्र यसको व्यवस्था गर्न स्थानीय रूपमा माग भइरहेको छ ।
भूकम्प, बाढी, पहिरो वा अन्य जलवायुजन्य विपद् आउँदा गर्भवती महिलाले सुरक्षित ठाउँमा पुग्न पनि कठिनाइ भोग्नुपरेका धेरै उदाहरण छन् । रसुवा विपद्मा त्यही नियति दोहोरिएको छ । पूर्वतयारीमा सरकार र समाजले सिकेको देखिएन ।
दुई महिनाकी सुत्केरी जमुना
जमुना तामाङको पीडा अझ फरक छ । उनी दुई महिनाकी सुत्केरी हुन् । दुई महिनाको बच्चा काखमा बोकेकी आमाले बाढीको सामना गर्नुपर्‍यो । बाढीको भेलमा बचेर स्याफ्रुबेसीबाट उनको उद्धार गरियो । नेपाली सेना र सशस्त्र प्रहरीले उनलाई उद्धार गरेर धुन्चे पुराए ।
कल्पना गरौं, दुई महिनाको शिशु काखमा च्यापेकी एउटी आमाका लागि त्यो उर्लदो लेदोसहितको बाढीबाट भाग्नु कति कठिन थियो होला । शरीर अझै प्रसूतिको अवस्थाबाट पूर्णरूपले तन्दुरूस्त भएर सामान्य बनिसकेको हुँदैन । बच्चालाई नियमित स्तनपान गराउनु छ । न्यानो आरामको आवश्यकता पर्छ, पोषण, झोलिलो खानेकुराको आवश्यकता छ । नेपाली समाज अनुसार सुत्केरी खाना चाहिन्छ । सुत्केरी मसला आवश्यक पर्छ । सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । अहिले रसुवा विपद्ले जमुनालाई त्यो सबै कुराबाट वञ्चित गरायो ।
जमुनाको परिवार र घरसमेत महाविपद्ले उडायो । परिवारमा को को बाँचे ? को कहाँ छन् ? भन्ने अझ स्पष्ट छैन । परिवारको साथ र माया पाउनुपर्ने बेला भोटेकोशी बाढीले परिवार नै छुटायो । अहिले जमुना दिदीबहिनीलाई र दुवै बच्चासहित थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दिदीबहिनी दुवै सुत्केरी छन्, दुवैले विपद्को सामना गरेका छन् । दुवै परिवारबाट विछोडिएका छन् ।
जमुनाको कथा एउटा परिवारको कथा हो । तर त्यसभित्र विपद्को सबैभन्दा ठूलो भार कसरी महिला र बालबालिकामाथि पर्दो रहेछ भन्ने चित्र देखिएको छ ।
विपद्मा महिला किन बढी जोखिममा ?
विपद्मा स्वास्थ्य केन्द्रहरू बन्द हुने रहेछन् । सडक र पुल भत्किने रहेछन् र औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुने रहेछ । सबैभन्दा ठूलो कुरा सुत्केरी हुन लागेका गर्भवती र भर्खरै सुत्केरी भएका महिलालाई विपद् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने रहेछ । प्रमुख कुरा उनीहरूको सुरक्षित प्रसूति सेवा र त्यसपछिको विशेष हेरचाहबारे विपद् पूर्वतयारीमै ध्यान दिनुपर्ने देखियो । रसुवा विपद्ले त्यही शिक्षा दिएको छ ।
विपद् सबैका लागि समान हुँदैनन् । एउटै बाढीले पुरूष र महिलालाई समान रूपमा प्रभाव पार्दैन । विशेषगरी गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरू थप जोखिममा पर्दा रहेछन् ।
गर्भवती र सुत्केरी महिलाका लागि विपद्मा सबैभन्दा ठूलो समस्या सुरक्षित स्थानमा पुग्नु हो । रसुवा विपद्मा महिलाले त्यही नियति भोग्नुपर्‍यो । विभिन्न घटनाले त्यो नियति पुन: दोहोरिएको छ । तर रसुवा विपद्को यकिन संख्या कति छ ? कति महिलाले ज्यान गुमाए भन्ने तथ्य थाहा पाउन केही समय कुर्नुपर्ने हुन्छ ।
भोटेकोशी बाढीका कारण सडक अवरूद्ध हुँदा अस्पताल पुग्न त परै जाओस् सेल्टर पुग्न समेत हम्मेहम्मे परेको देखियो । कयौं कारूणिक कथा यतिबेला सामाजिक सञ्जालभर हेर्न, सुन्न र देख्न पाइन्छ । यातायातको अभावमा आकस्मिक र सुरक्षित प्रसूति सेवा पाउनै मुस्किल भएको छ ।
सुत्केरी महिलाका लागि अर्को चुनौती बच्चाको पोषण र स्वास्थ्य हो । विपद्को समयमा सफा पानी, खाना, सुरक्षित शौचालयको अभाव र गोपनीयता नहुँदा संक्रमणको जोखिम बढेका पनि समाचार आइरहेका छन् । स्तनपान गराइरहेका महिलाका लागि पर्याप्त खाना र पानीको अभावमा भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्नेबारे सरकारले समयमै सचेतना अपनाउनुपर्छ ।
अर्कोतर्फ, बालबालिकाले विपद्को मानसिक आघात लामो समयसम्म बोक्न सक्छन् । घर, परिवार र आफन्त गुमाएका बालबालिकाको मनोवैज्ञानिक सेवा र पुनस्र्थापनामा विशेष ध्यान दिनु अहिलेको पहिलो आवश्यकता हो । सरकारका सबै मन्त्रालयले एक साथ आ–आफनो जिम्मेवारीको काम तत्काल सुरूवात गर्नुपर्छ ।
सविनाको गर्भमा रहेको चार महिनाको शिशु, जमुनाको दुई महिनाको शिशु यी दुवै विपद्का प्रत्यक्ष साक्षी नभए पनि वास्तवमा उनीहरूको भविष्यप्रति समाज र सरकार संवेदनशील बन्नैपर्छ ।
तथ्यले देखाउँछ, महिला गम्भीर जोखिममा
विपद् व्यवस्थापनका विगतका अनुभव र तथ्यांकले पनि नेपालमा महिला र पुरुषमाथि विपद्को प्रभाव फरक–फरक हुने देखाउँछन् । गृह मन्त्रालयको विपद्सम्बन्धी तथ्यांकमा पनि कतिपय वर्षमा विपद्का कारण मृत्यु हुने महिलाको संख्या पुरुषको तुलनामा बढी देखिन्छ । नेपाल सरकार गृह मन्त्रालयको ‘नेपाल डिजास्टर रिपोर्ट २०२४’ हेरौं । सन् २०१८ देखि सन् २०२४ सम्म को ६ वर्षको रिपोर्ट हेर्दा पुरूषभन्दा महिलाले नै बढी मृत्युवरण गर्नुपरेको तथ्यांक देखिन्छ ।
विपद्बाट मृत्यु–महिला र पुरूष
विवरण संख्या
जम्मा मृत्यु २९९६
महिला १६७८
पुरूष १२७८
महिला बढी ४००
महिलाको हिस्सा ५६ प्रतिशत
पुरूषको हिस्सा ४२.७ प्रतिशत
यसको अर्थ विपद् व्यवस्थापनको योजना बनाउँदा ‘सबैका लागि एउटै नीति’ पर्याप्त हुँदैन । यो त गृह मन्त्रालयको प्रतिवेदनले नै भन्छ । तर व्यवहारमा भइरहेको छ, अर्कै । विपद् व्यवस्थापनको नीति तथा पूर्वतयारी कार्ययोजना बनाउँदा महिला र पुरूषका लागि फरक–फरक हुनुपर्ने देखियो । त्यसमा पनि सुत्केरी र गर्भवती महिलामैत्री नीति बन्नुपर्ने रसुवा विपद्ले दिशा निर्देश गरेको छ ।
विपद् पूर्वतयारीदेखि उद्धार, राहत, पुन:स्थापना र पुनर्बास र पुनर्निर्माणमा महिलाका प्राथमिकता र विशेष आवश्यकता केन्द्रमा राख्नुपर्छ । गर्भवतीको छुट्टै सूची र सुरक्षित स्थानको व्यवस्था, प्रसूति सेवाका लागि आकस्मिक यातायातको विशेष व्यवस्था गर्नुपर्ने देखियो । रसुवा विपद्ले यो पनि भनेको छ, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, स्तनपान गराइरहेका महिलाका लागि पोषणयुक्त खाना, महिला र बालबालिकाका लागि सुरक्षित आश्रयस्थल तथा स्वास्थ्यकर्मीको तत्काल व्यवस्था गर्नुपर्ने देखियो । यो कुरा नीतिमा विपद् व्यवस्थापनको अनिवार्य हिस्सा बन्नुपर्छ ।
स्थानीय तहका विपद् व्यवस्थापन समितिदेखि उद्धार तथा राहत योजना निर्माणसम्म महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य गर्न आवश्यक छ । कुन गाउँमा गर्भवती महिला कति छन् ? कहाँ सुत्केरी महिला छन् ? कुन परिवारमा साना बालबालिका छन् ? भन्ने तथ्यांक स्थानीय तहसँग हुनुपर्ने देखियो । अहिले रसुवामा भइरहेको कमजोरी र समस्या यो पनि हो ।
साथैसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीको विचारमा ‘विपद्मा महिला अझ बढी नै जोखिममा पर्ने रहेछन् । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र अतिवृष्टिजस्ता जोखिम बढिरहेका बेला पूर्वतयारी अझ महत्वपूर्ण हुन्छ । भोटेकोशी बाढीले हामीलाई एउटा कठोर पाठ सिकाएको छ ।’ विपद् आउँदा सबैभन्दा पहिले कसलाई बचाउने भन्ने प्रश्नको उत्तर केवल ‘जोखिममा परेकालाई’ भन्ने हुनुहुँदैन । जोखिममा परेका मानिसभित्र पनि गर्भवती, सुत्केरी, शिशु र बालबालिकाको विशेष अवस्था पहिचान गर्नुपर्छ ।
सविनाले आफ्नो ज्यान जोगाइन्, तर श्रीमान् गुमाइन् । समग्रमा उनको भविष्य अन्धकार बन्यो । उनको गर्भमा एउटा जीवन हुर्किरहेको छ, जसले संसार देख्नुअघि नै बाबु गुमाएको छ । जमुनाले आफ्नो दुई महिनाको शिशुलाई काखमा च्यापेर बाढी पार गरिन् । उनको घर गयो, परिवारका सदस्य को कहाँ छन् भन्ने थाहा छैन ।
यी कथा केवल रसुवा विपद्का दु:खका कथा मात्र होइनन् । यी राज्यको विपद् तयारी, उद्धार, राहत र पुन:स्थापनाको परीक्षा पनि हो । रसुवाकी सविना र जमुनाजस्ता महिलाको जीवनले यही प्रश्न हामी सामु उभ्याएको छ । आशा छ, हाम्रो मानवता मरिसकेको छैन । चाँडै सविना र जमुनाका सन्ततिसहित रसुवामा आफन्त गुमाएका सबै बालबालिकाले, सबै महिलाले र समग्रमा सबै पीडितले सच्चा अभिभाकत्व पाउने छन् ।
(लेखक संरक्षण समूह नेपालका सचिव तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्य सचिव हुन् ।) 

 Image