Successfully Copied

अफिसियल महिला हिंसा

तपाईं एकछिनलाई छुच्ची बन्नुहोस् तर इमानमा बिक्ने काम नगर्नुहोस् । तुरुन्तै प्रतिवाद किन गर्न सक्नुहुन्न ? हामी आज बोलेनौं, भोलि बोलेनौं भने पर्सिदेखि झनै बोल्न सक्दैनौं ।


यमुना अर्याल (काफ्ले)
केही दिनअघि मात्रै एउटी शाखा अधिकृत महिला कर्मचारी सहकर्मीबाटै बलात्कृत भएको र न्याय नपाएको भन्दै पत्रकार सम्मेलन गरेर रोएको भिडियो सार्वजनिक भयो । पत्रकार सम्मेलनमा रोएर पीडा ओकलेकी ती शाखा अधिकृत महिला कर्मचारीको पक्षमा एउटा पनि सकारात्मक कमेन्ट देखिएन । उनले न्याय पाउनुपर्छ भन्ने सवालमा कुनै पनि प्रतिक्रिया देखिएन । उल्टै उनैमाथि प्रश्नमाथि प्रश्न तेर्सिएको देखियो ।
तिमी के सानो बच्ची हो ? तिमीलाई त्यति कुरा पनि थाहा थिएन ? आफै सरक्क जाने, मन नमिलेपछि अहिले यस्तोउस्तो भन्ने ? यस्तालाई के अधिकृत भन्ने ? आफू के हुँ भन्ने थाहा नपाउनेले के काम गछ्र्यौ ? यस्तैले गर्दा हो वास्तविक पीडितले न्याय नपाउने ?
यस्ता सयौं कमेन्ट ती महिला कर्मचारीका लागि गरिएको थियो । अधिकांश कमेन्ट महिलाहरूले गरेका थिए ।
म आफू कर्मचारी भएको नाताले सबै महिला कर्मचारीहरूलाई अनुरोध गर्छु, सहकर्मी भन्दैमा चाहिने भन्दा बढी नजिक कसैसँग नहुनुहोस् । तपार्इं छुच्ची बन्नुहोस्, एकछिनलाई नराम्रै हुनुहोस् तर इमानमा बिक्ने काम नगर्नुहोस् ।
को मान्छे कस्तो नियतको छ भन्ने कुराको लख काट्न धेरै संगत गर्नैपर्दैन । हामी तुरुन्तै पग्लन तयार हुन्छांै । यो गरेबापत यो प्राप्त हुन्छ भन्ने प्रलोभनमा धेरै दिदीबहिनी हिंसामा परेको देखिएको छ । खासगरी ज्यालादारी, करार सेवामा कार्यरत महिला कर्मचारीहरूलाई जागिरको प्रलोभनमा पारेर पुरुष कर्मचारीहरूले शोषण गरेका तथ्य बेलाबेलामा सार्वजनिक हुन्छन् । यो कुरा कसैलाई भनेमा जागिर जान्छ भन्ने चिन्ताले पीडा लुकाएको देखिन्छ । दुईचार पैसाका लागि अस्मिता नै धरापमा राख्नुपर्ने बाध्यतामा किन लाग्नुहुन्छ ? तपाईंको हातमा सीप छ, तपाईं काम गर्न सक्नुहुन्छ तर तुरुन्तै प्रतिवाद किन गर्न सक्नुहुन्न ? हामी आज बोलेनांै, भोलि बोलेनौं भने पर्सिदेखि झनै बोल्न सक्दैनौं ।
ती अधिकृतको घटना सार्वजनिक भएपछि भर्खर सुब्बा स्तरको सरकारी सेवामा प्रवेश गरेका दुईजना बहिनीले सामाजिक सञ्जालमा लेखेको देखेर फोन गरें । उनीहरूलगायत चार–पाँचजना महिला कर्मचारी भर्खर सेवा प्रवेश गरेका रहेछन् । उनीहरूलाई कम्प्युटर सिकाउने बहानामा अस्वाभाविक तरिकाले छुने, सिकाएजस्तो गर्ने तर नियत भने उनीहरूको शरीरसँग टाँसिएर काम गर्नेजस्तो देखिएछ । यस विषयमा उनीहरूले शाखा प्रमुखसँग गुनासो पनि गरेछन् । उल्टै शाखा प्रमुखले अहिले तपाईंहरूको परीक्षणकाल सकिएको छैन, हाकिमहरूको कम्प्लेन गर्नुभयो भने जागिर जान पनि सक्छ भनेर धम्काएछन् ।
बहिनीहरूको समस्या सुनेपछि मैले आफ्नो अनुभव सुनाएँ ।
२०७० सालमा म उत्साह बोकेर सरकारी सेवामा प्रवेश गरेकी हुँ । मसँग हुटहुटी थियो । धेरै उत्साह बोकेर पहिलो पटक नियुक्ति लिएर खटाइएको कार्यालयमा गएँ । म गएर हाजिर गरेकै दिन अफिसमा एक पुरुषले प्रश्न गर्‍यो ।
उसको पहिलो प्रश्न थियो, ‘तपाईं विवाहित कि अविवाहित ?’
मेरो जवाफ थियो, ‘चुरा, पोते, सिन्दूर लगाएर आएकी छु । देख्नुहुन्न विवाहित हो कि अविवाहित ?’
‘उसोभए तपाईंका श्रीमान् पनि यही संस्थामा हुनुहुन्छ ?’ उसले अर्को प्रश्न गर्‍यो ।
‘तपाईंलाई यही संस्थामा भए राम्रो लाग्छ कि अरू संस्थामा भए पनि हुन्छ ?’
उसको अर्कोे प्रश्न, ‘तपार्इंलाई बस्ने क्वाटरको व्यवस्था भयो ?’
‘त्यति साह्रै दया लाग्छ भने राम्रो क्वाटरको व्यवस्था गर्नुहोस् ।’ त्यसपछि ऊ मौन भयो ।
भर्खर आएको नयाँ कर्मचारीलाई तपाईं पहिले कतै काम गर्नुहुन्थ्यो कि ? तपाईंको पढाइको विषय कुन हो ? घर कता हो ? यो संस्थामा किन आउन चाहनुभयो ? म फलानो कर्मचारी, यो शाखामा काम गर्छु... । विवाहित हो होइन ? त्यहीँबाट ऊ कस्तो नियतको मान्छे हो भन्ने चिनिँदैन र ? एकछिनलाई म छुच्ची देखिएँ तर मेरो बानी थाहा भएपछि कसैले नराम्रो व्यवहार गर्ने सोच पनि राखेनन् ।
तपार्इं एकछिन छुच्ची भएर केही फरक पर्दैन । तर इज्जत दाउमा राखेर इमान्दार बन्ने प्रयास नगर्नुहोस् । बोल्नुस्, जायज कुरा डटेर बोल्नुस् ।
हजारौंसँग प्रतिस्पर्धा गरेर अब्बल भएका कर्मचारी आफूले न्याय नपाएको भन्दै आँसु बगाउँदा सामान्य व्यक्तिको हालत के होला ? हाकिम भन्दैमा, सिनियर कर्मचारी भन्दैमा, सहकर्मी भन्दैमा कार्यालयको कामबाहेक अन्य काममा जहाँ भन्छन् त्यहाँ, जे भन्छन् त्यो मान्नुपर्छ भन्ने छैन । कार्यसम्पादन मूल्यांकनको नम्बरसँग महिला कर्मचारीको इज्जत किनबेच गरेका खबर कहिलेकाहीँ सार्वजनिक हुन्छन् ।
जायज कुरामा मुकाबिला गर्ने हिम्मत राख्नुहोस् । आफू गलत हुनु हुँदैन । जहाँ जसको सामु पनि डटेर कुरा राख्न सक्ने आँट राख्नुहोस् ।
नेपाल सरकारको शाखा अधिकृत जसबाट अरूले न्यायको अपेक्षा राखेर काम गराउन आतुर हुन्छन्, उही व्यक्ति म अन्यायमा परें भन्दै न्यायको अपेक्षा गरिरहँदा सामान्य महिलाको हालत के होला ? पूर्वसहकर्मीले आफ्नो कार्यालयमा भेट्न बोलाएर जानुभयो । त्यहाँसम्म कुरा ठीकै छ । अफिसमा राम्रै कुरा भयो, चिया खाएँ पनि भन्नुभएको छ । त्यसपछि ती पुरुष कर्मचारीले मेरो कोठा हेर्न जाऊँ भन्दा तपाईं एक्लै तयार भएर जाने आँट कसरी गर्नुभयो ? तपाईंको नियत ठीक थियो होला तर तपाईंलाई प्रस्ताव गर्ने पुरुष कर्मचारीको नियत खराब रहेछ भन्ने त आफूले भोगेपछि थाहा पाउनु भयो नि होइन ? असल नियत भएको मान्छेले एउटी अविवाहित महिला कर्मचारीलाई अफिसमा बोलाएर मेरो कोठा हेर्न जाऊँ, पछि काठमाडांै आउँदा बस्न सजिलो हुन्छ कुन मनसायले भन्छ ? यति कुरा तपाईं अधिकृतजस्तो मान्छेले बुझ्नुपर्दैनथ्यो ?
कोही साथीहरू सुनाउँछन्–रातमा अर्कै नम्बरबाट फोन गर्ने अनि निदाउनु भयो कि भएन, एक्लै कसरी बस्नुहुन्छ ? डर त लागेको छैन ? यस्तैयस्तै कुरा गर्ने ।
सबै दिदीबहिनीलाई आग्रह छ–मान्छे एकछिनमा चिनिन्छ, चिन्न सकिनँ नभन्नुहोस् । मान्छे चिनेर सोहीअनुसार व्यवहार गर्नुहोस् । समय सकिएपछि न्याय खोज्न नहिँड्नुहोस्, पीडा भोग्नेलाई थाहा हुन्छ । दुईचार दिन काजको लोभमा, दुईचार घण्टा थप ओभरटाइमको लोभमा, जागिर जान्छ कि भन्ने लोभमा आफू चुक्ने काम नगर्नुहोस् । तपार्इंले आज जायज कुरामा डटेर बोल्ने हिम्मत गर्नुभयो भने तपाईंपछि आउने दिदीबहिनी सुरक्षित हुन्छन् । स्वार्थको पछाडि लाग्नेहरू जहिले पनि तपार्इंको कमजोरी केलाउने प्रयास गर्छन्, तर तपार्इं कमजोर नबन्नुहोस् ।

 Image