‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’
यो भनाइको सारतत्व मात्रै जीवनमा बुझ्न सक्ने हो भने नारीबारे सबै कुरा स्पष्ट हुन्छ । नारी भनेकी सृष्टि, जननी र धर्ती हुन् । जसरी धर्तीले सबै थिचोमिचो आफूले सहेर सबै प्राणीलाई आश्रय दिइरहेकी छन् । त्यसैगरी सबै पीडा आफूले सहेर परिवार, आफन्तको खुसीका लागि नक्कली हाँसो हाँस्न पनि पछि नपर्ने हुन्–नारी । यिनै नारीको सम्मानमा अन्तर्राष्ट्रिय रूपमा नारी दिवस मनाइन्छ । दिवस कुनै कुराको महत्व दर्शाउनका लागि मनाइन्छ । नारी जाति महान् छन्, उनीहरूको पनि बेग्लै अस्तित्व छ, नारीलाई सम्मानको नजरबाट हेरौं भन्ने मनसायले यो दिवस विश्वव्यापी रूपमा मनाइन्छ । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । दिवस मनाउनु र दिवसको महत्व महसुस गर्नु अलग कुरा हो ।
नारी दिवस मात्रै होइन हामीले महिलासँग सम्बन्धित अन्य दिवसहरू मनाउँछौं अलग –अलग स्वरूपमा । महिला हिंसा अन्त्यका विभिन्न कार्यक्रमहरू मनाउँछौं । राज्यका हरेक संरचनामा महिलाको सम्मानजनक उपस्थितिको वकालत गर्छौं । महिला हक, अधिकार र समानताका विषयमा ठूला–ठूला बहस पैरवी पनि गर्छौं । अझ संविधानका पानाहरूमा महिलाका अधिकार र उनीहरूले प्राप्त गर्ने अवसरहरूका बारेमा लिपिबद्ध गर्छौं । सार्वजनिक मञ्च पाउनासाथै ठूला–ठूला भाषण गर्छौं तर वास्तविक रूपमा महिलाको अवस्थाबारे बुझ्न चाहँदैनौं, बुझ्दैनौं वा बुझ्न खोज्दैनौं । भाषण गरेपछि, मञ्चमा उपस्थित महिलाले परर्र ताली बजाएपछि वा कुनै होटलमा सेमिनार गरेर त्यहाँ प्रतिवेदन बनाएपछि हामीले चाहेको कुरा उठान भयो भन्ने लाग्दो रहेछ । यहाँ उठान गर्न खोजिएको सवाल ठूलो होइन तर यसको महत्व पक्कै पनि ठूलो हुनुपर्छ भन्ने मनसाय चाहीँ पक्कै हो ।
सामान्यतया हाम्रो देशका महिला लिखित रूपमा लिपिबद्ध भएको अवस्थामा बाहेक विगतदेखि वर्तमानसम्म दोस्रो दर्जाका नागरिक हुन्, यसमा दुईमत छैन । पुरातनवादी सोच, पुरुषवादी चिन्तन वा सामाजिक संस्कारका कारण भनौं महिलाहरू पूर्ण महिला बन्न सकिरहेको अवस्था छैन । महिलाले पहिलो दर्जाको नागरिकको हैसियत पाउन अझै कति वर्ष खेर फाल्नुपर्ने हो त्यसको नजरअन्दाज गर्न सकिँदैन । दोस्रो दर्जाको भएकै कारण महिलाको भलै सत्य नै किन नहोस् उनीहरूको भनाइ चल्दैन, निर्देशन चल्दैन, उनीहरूको कुरा परिवारमा समेत सुनिँदैन अन्यत्रको कुरा त कल्पना भन्दा बाहिरको हो ।
महिलाको आफ्नै शरीरमा आफ्नो निर्णय चल्दैन । कतिवटा बच्चा जन्माउने, कति वर्षको अन्तरमा जन्माउने ? आफ्नो शरीरको हालत कस्तो छ ? यसका बारेमा निर्णय गर्ने अधिकार महिलामा हुँदैन । परिवार र श्रीमान्को आदेशअनुसार आफू चल्नुपर्ने महिलाको संख्या धेरै छ । आफ्नो शरीरमा त अधिकार छैन भने अन्यत्रको अधिकारको कुरा किन गर्नु भन्ने सवाल उठ्न पनि सक्छ । सुन्दा सामान्य लाग्ने यस्ता विषयहरू भोगाइमा निकै पीडादायी भएका उदाहरणहरू बग्रेल्ती छन् समाजमा त्यो पनि सहरमा ।
हामी निकै ठूला गफ गर्छौं, महिलालाई यति अधिकार दियौं, यस्तो अवसर दियौं, यस्तो हैसियत दियौं, राजनीतिमा यति अधिकार दिएका छौं, वा सिट महिलाले जितेका छन् यस्तैयस्तै’देखिने गरी दिने कुरा र मनले लिने कुरा अलग हो । हो, संख्यात्मक रूपमा केही महिलाहरूले अवसर नपाएका होइनन् पाएका छन् तर त्यसको अर्थ सारा महिलाको सिंगो प्रतिनिधित्व हो भनेर रटान दिनु सही होइन र सत्य पनि होइन ।
नारी दिवस त हरेक वर्ष मनाउँछौं । नारी दिवसमा विश्वव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्छौं । महिला हिंसा विरुद्धका दिवस मनाउँछौं तर व्यवहार त उही हो हाम्रो, समाज उही हो र उही समाजमा बस्ने पात्रहरूका शैली पनि उही हुनु, उस्तै हुनु स्वाभाविकै हो । जब हामी क्यालेन्डरको पाना फर्काएर अर्को वर्ष पनि महिला दिवस मनाउँछौं, विगतका वर्षदेखि अहिलेसम्म महिलाको पक्षमा के गरियो ? महिलाले कत्तिको न्याय पाएका छन् ? महिला कोबाट असुरक्षित छन् ? महिला किन असुरक्षित छन् ? महिलाको निर्णय किन चल्दैन ? महिलाको शरीरमा किन परिवारको रोजाइ चल्छ ? मेरो शरीर मेरो अधिकार भनेर भन्ने आँट किन महिलाले गर्न सक्दैनन् ? तैंले छोरा नपाउने भए अर्की श्रीमती ल्याउँछु भनेर धम्क्याउने श्रीमान्का विरुद्धमा किन आवाज उठाउन सक्दैनन् ? यस्ता विषयवस्तुतर्फ गम्भीर बनेर लेखाजोखा गर्दैनौं ।
सतही रूपमा वा कागजी रूपमा मनाउने दिवसले थोरै अर्थ राख्ला तर गहन रूपमा खासै अर्थ राख्छ जस्तो लाग्दैन । जबसम्म यस्ता दिवस, उत्सव वा पर्वहरू भुइँमान्छेको सतहसम्म पुग्दैनन्, भुइँमान्छेको आत्माले महसुस गर्न सक्दैन, उनीहरूले वास्तविक रूपमा अनुभूति गर्न सक्दैनन् तबसम्म सहरी भेगमा सीमित महिला जो अवसर र शिक्षा लिएका छन्, खास पीडाबोध अनूभूति गर्न पाएका छैनन् उनीहरूलाई राम्रोसँग थाहा हुन सक्दैन, र यस्ता दिवसले सबै महिलाको प्रतिनिधित्व गर्न सक्दैन । पीडा जसले भोगेको छ महसुस पनि उसलाई जत्तिको अर्कोलाई हुँदैन । भनिन्छ नि अचानोको पीर खुकुरीलाई थाहा हुँदैन भनेर । शारीरिक हिंसा, मानसिक हिंसा, पारिवारिक हिंसा, कार्यालयको हिंसा, सवारी साधनमा हुने हिंसा ‘हिंसाको प्रारूप कहाँ–कहाँ र कसरी–कसरी भइरहेको छ, किन भइरहेको छ, कसरी अन्त्य हुन्छ भनेर लेखोजोखा कहिले गर्ने ? हिसा गर्नेविरुद्ध उल्टै समाजमा गन्नेमान्नेहरूले गरेका घिनलाग्दा हर्कतको फेहरिस्त कहिले सार्वजनिक गर्ने ?
काठमाडौंमा बसेर कर्णालीका छाउपडी गोठमा सर्पले डसेर मृत्युवरण गरेका महिला होऊन् वा छाउगोठमा बलात्कारमा परेर मृत्युवरण गरेका महिलाको पीडा अनुभूति गर्न सकिँदैन । राजधानीमा सेमिनार गरेर कर्णालीमा बच्चा जन्माउन नसकेर, अस्पतालमा सेवा–सुविधा नभएका कारण वा समयमै पैसाको जोहो गर्न नसकेका कारण अकालमा मृत्युवरण गर्न पुगेका अभागी आमाहरूको पीडाबोध गर्न सकिँदैन । सहरमा सेमिनार गरेर कुपोषणले ग्रस्त आमाले जन्माएका बच्चाको बेहाल बुझ्न सकिँदैन । अहिले पनि बालविवाह रोकिएको छैन । चेतनाको कारण भनौं वा सूचना प्रविधिको दुरुपयोगका कारण भनौं उमेर नपुग्दै युवतीहरू विवाह गर्छन्, विवाह गर्ने उमेर नहुँदै आमा बन्छन् । आमा बन्ने उमेरमा परिपक्व दुई तीन सन्तानका आमा बनिसक्छन् । उनीहरूलाई आफ्नै स्याहार राम्रोसँग गर्न सक्ने ज्ञान हुँदैन, बच्चाको स्याहार कसरी गर्छन् ? न त आमाको विकास राम्रोसँग हुन्छ न त बच्चाहरूको नै । यस्तो अवस्थाको अन्त्य कसरी गर्ने ? कसरी महिलालाई चेतनशील बनाउने ? यस्ता विषयमा हाम्रा दिवसहरू कहिले केन्द्रित हुने ?
महिलाको अवस्था सहरमा पनि दर्दनाक छ । गाउँमा देखिएको पीडा हुन्छ सहरमा गुम्सिएको पीडा धेरै हुने रहेछ । संविधानले प्रजनन अधिकार महिलाई हुन्छ भनेर लिखित रूपमा व्यवस्था गरेको छ र व्यवहार एकाद अपवादबाहेक पटक्कै छैन । सहरमै छोराका लागि पाँच पटकसम्म गर्भपतन गरेका आमा भेटिन्छन्, परिवारको धम्कीका कारण पटक–पटक छोरीको हत्यारा बनेकोमा आत्मग्लानि हुने आमाहरू भेटिन्छन् । छोराकै कारण अर्की श्रीमती ल्याउने श्रीमानहरू भेटिन्छन् । छोरा नभएकै कारण हिंसा सहने महिलाको रोदनको पीडा सुनिदिने कोही छैन । पटक–पटक गर्भपतन गरेकै कारण पाठेघरको क्यान्सर भएका आमाहरू धेरै भेटिन्छन् सहरमा । राजधानीको अस्पतालमै दोस्रो बच्चा छोरी जन्माएकै कारण आमा र बच्चा छाडेर जाने श्रीमान् भेटिन्छन् । निकै शिक्षित एवं चेतनशील पुरुषहरू छोरा पाउनका लागि सकेसम्मको यातना दिन पछि पर्दैनन् र पर्दा रहेनछन् । परिवारका महिला सदस्यहरूकै उक्साहटमा छोरा पाउनका लागि दबाब दिने र अर्की श्रीमती ल्याउने धम्की दिएका उदाहरण धेरैपटक कानमा गुन्जिएका छन् । बाहिरबाट हेर्दा निकै राम्रो परिवार, श्रीमान्–श्रीमती दुवै जनाको जागिर, कुनै कुराको कमी नभएका परिवार तर दोस्रो बच्चा छोरी जन्मिएपछि परिवार टुक्रिएका उदाहरण धेरै छन् । यो सोच कहिले बदलिने ? आखिर दुई सन्तानलाई ईश्वरका वरदान भनिएको हो, छोरालाई मात्रै ईश्वरको वरदान भनिएको होइन....।
सम्पत्तिमा अधिकारका निकै कुरा गर्छौं तर व्यवहारमा त्यो कुरा पनि पूर्णरूपमा लागू भएको पाइँदैन । कामकाजी महिलाहरू पनि आफ्नो कमाइमा पूर्ण सन्तुष्ट हुन सक्ने अवस्था छैन । घरपरिवारमा आफ्नो कमाइको फेहरिस्त सुनाउनैपर्ने, एक–एक पैसाको हिसाब–किताब राख्नुपर्ने महिलाको संख्या पनि धेरै रहेछ–सहरमा । तेरो कमाइ खै ? भन्ने श्रीमान्को संख्या पनि जागिरे महिलाको हकमा धेरै छन् भन्ने उनीहरूको भोगाइले देखाउँछ । प्रतिनिधिमूलक घटनाहरू नभएका होइनन् तर ती पनि केवल प्रतिनिधिमूलक घटना मात्रै हुन्, सबै महिलाको सार पक्कै होइनन् र हुन सक्दैनन् ।
महिलाको नाममा घर–जग्गा पास गराउनेको संख्या पनि बढेको छ पछिल्लो समय । सम्पत्तिमा महिलाको स्वामित्व साँच्चिकै बढेको हो कि भन्ने पनि लाग्न सक्छ तर वास्तविकता अलि फरक हुँदो रहेछ । महिलाको नाममा सम्पत्ति हुनेहरूलाई सोध्दा उनीहरूको एक मुष्ट जवाफ आउँछ, कर छुटका लागि मात्र महिलाको नाममा पास गर्छन् तर जिन्दगीभर त्रासैत्रासमा बाँच्छन् लोग्नेमान्छेहरू । महिलाको नाममा केही भएन भने उसको जाने ठाउँ कहीँ हुँदैन, ऊ कहीँ जान सक्दिन हाम्रै भरोसामा बस्ने हो, उसमाथि जस्तो अत्याचार गरे पनि हुन्छ, सहनुपर्छ भन्ने मानसिकता पुरुषमा हुने रहेछ ।
देखिने हिंसाको स्वरूप अलग हुन्छ नदेखिने हिंसाका स्वरूप हजारौं हुन्छन् । अहिले पनि दाइजोको निहुँमा सयौं, हजारौं छोरी–चेलीले नारकीय जीवन बिताउन बाध्य छन् । दाइजोको कुरूपतामा शिक्षित पढेलेखेका उच्च घरानाका पुरुषहरू नै यति लालायित बन्छन् कि उनीहरूको शिक्षा र चेतनाको कुनै औचित्य देखिँदैन । एउटी छोरीको विवाह गर्दाको ऋणको बोझ बाउआमा बाँचुन्जेलसम्म पनि चुक्ता भइसक्दैन । यस्ता सामाजिक कुरीतिका विरुद्धमा आवाज कसले उठाउने ? जिउँदै जलेका महिलाको क्रन्दन कसले सुन्ने ? तैपनि हामी नारी दिवस मनाउँछौं, महिला हिंसाविरुद्धका दिवस मनाउँछौं, संविधानमा महिलाको हक–अधिकार बारेमा लिपिबद्ध गर्छौं र त्यसकै रटान दिन पछि पर्दैनौं ।
हामीले मनाउने दिवस खास वर्गसम्म पुग्न सक्नुपर्छ । हामीले उठाएका सवाल खास पक्षले अनुभूति गर्न सक्नुपर्छ । हामीले अघि सारेका नारा र बहसले खास लक्षित वर्गको उत्थान गर्नुपर्छ । कागजी रूपमा होइन व्यावहारिक रूपमा दिवस र उत्सव मनाऔं । अन्त्यमा भन्न चाहन्छु, नारीलाई ठूला–ठूला ब्यानरमा होइन, उनीहरूलाई दिवसमा होइन कि दिलमा राखेर सम्मान गरौं खास नारीको सम्मान त्यतिखेर मात्रै खास हुन्छ ।