लैंगिक समानताका लागि पाइला हाराहारी सन् २०३० सम्म हिस्सा बराबर
महिलाले जसरी स्वतन्त्र रूपमा जन्म लिएका छन्, जन्ममा कसैको अधीन छैन त्यसैगरी पाएको जीवन सुख र खुसीले बाँच्न पाउनुमा कसैले अधिकार दिनु पर्दैन

यमुना अर्याल (काफ्ले)
भदौ २३ गते पनि नियमित समयमा कार्यालय पुगेँ । कार्यालयको काम सुरु गर्दा नै मनमा अनेक कुरा खेल्न थाले । उक्त दिन जेन–जीले प्रदर्शन गर्दैछ भन्ने याद आयो । आर्यघाटमा पुग्दा पनि सक्ता र शत्तिबाट टाढा हुन नसक्ने हाम्रा देशका प्रमुख ठूला दलका नेताको रवैया हेर्दा यो आन्दोलन केही समय सडकमा चर्किन्छ, त्यसपछि सरकारले दबाएर जान्छ भन्ने पनि लागेको थियो ।
बिहान कार्यालय जाने बेलामा घरमा भनेर गएकी थिएँ, आज बेलुका म कलेज जान्छु, थेसिसको काम छ, ढिलो हुन्छ । २३ गते बिहान ११ नबज्दै जेन–जीको आन्दोलनको समाचार सर्वत्र फैलिइसकेको थियो । कलिला बालबालिका विद्यालय पोसाकमा आन्दोलनमा देखिन्थे, मेरा मामा र सानिमाका छोरी भर्खर ११ कक्षामा पढ्दै छन् । कतै उनीहरू प्नि यो आन्दोलनमा हौसिएर आएका छन् कि भन्ने पनि लाग्यो । बानेश्वर संसद् भवनको ठीक सामुन्ने कार्यालय भएका कारण पनि धेरैजसो आन्दोलन र मुठभेडको साक्षी बस्नुपरेको तीतो अनुभव विगतका समयदेखि नै स्मरण भइरहेको छ ।
बानेश्वरमा पुलिसले गोली हानिसक्यो भनेपछि हतारहतार कार्यालयको छतमा हेर्न पुग्यौं । प्रहरीले अश्रुग्यास हानिरहेको थियो । हाम्रो अफिससम्म अश्रुग्यासको गन्ध आइरहेको थियो, हाम्रा आँखा पोलिरहेका थिए । आन्दोलनको अग्रपंक्तिमा स्कुले पोसाकसहितका युवा विद्यार्थी देखिन्थे । एकैछिनमा गोली चलेको आवाज आउँथ्यो । हे भगवान्, कोही पनि नमरून् भनेर प्रार्थना गरिरहेँ ।
नाराबाजी भइरहेको थियो । बानेश्वरको घरको छतबाट अश्रुग्यास हानेको देखिन्थ्यो । कतिपय मानिस ज्यान जोगाउन सिभिल अस्पतालमा भौंतारिएका थिए । विस्तारै घाइतेले अस्पतालको प्राङ्गण भरिभराउ हुन थाल्यो । दुःखको कुरा त, अस्पतालभित्रै आएर प्रहरीले लाठीचार्ज गरेको थियो, अश्रुग्यास हानेको थियो । यस्तैमा एकजना आन्दोलनकारीको निधन भएको समाचार आयो ।
मृतक आन्दोलनकारीको संख्या बढ्दै गएको समाचार आउन थाल्यो । चिन्ता बढ्दै गयो । घरसम्म सुरक्षित कसरी पुग्न सकिएला ? कुनै सवारीका साधन चलेका थिएनन् । हिँडेर बानेश्वरबाट ग्वार्कोसम्म र त्यहाँबाट गाडी चढेर टीकाथलीसम्म आयौं । घर आइपुग्दासम्म मृतकको संख्या ११ पुगिसकेको थियो । कलिला युवालाई ताकीताकी छाती र टाउकामा गोली हान्ने प्रहरीका हात कति कठोर रहेछन् भन्ने लाग्यो । त्यस्ता कलिला छोराछोरीहरू मारिँदासम्म चुइँक्क नबोल्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकप्रति त उच्चारण गर्ने कुनै शब्द छैनन् ।
मेरा छोराछोरीले दिनमा हजारथरी माग गर्छन्, म तिम्रा माग पूरा गर्न सक्दिनँ भनेर कुट्दै हिँड्ने कि सम्झाएर मेरो अवस्था यो हो, यतिसम्मको माग पूरा गर्न सक्छु भनेर समझदारीमा ल्याउने ? एउटा सिंगो देशको अभिभावक हो, देशको भरोसा भएका बाबुहरू छोराछोरीलाई माग राखेकै भरमा मकै भुटेजसरी भुट्न सक्ने कति निर्दयी ?
२३ गते रातभर निदाउन सकिएन । कुनै साइनो सम्बन्ध नभएका युवा मारिँदा मलाई यति कष्ट भएको थियो भने परिवार एवं आफन्तलाई कस्तो भएको होला ? सहजै अनुमान लगाउन सक्थे । कठोर गृहमन्त्रीले मान्छे मारिसकेर बल्ल लाज पनि लजाउने बेलामा राजीनामा दिए भन्ने सुनियो । प्रधानमन्त्रीका बारेमा केही थाहा थिएन । सिडिओ झन् उग्र भएर आदेशमाथि आदेश जारी गरिरहेका थिए । भोलिदेखि कर्फ्युको आदेश थियो ।
उज्यालो भयो । २४ गते कार्यालय जान सक्ने अवस्था थिएन । दिनभरि टेलिभिजनमा दर्दनाक घटना हेरेर साक्षी बस्नुबाहेक केही गर्न २४ गते उज्यालो त भयो तर कहिल्यै नमेटिने दाग बनेर सक्ने अवस्था थिएन । २४ गते बिहानैदेखि प्रदर्शनकारीहरू ठाउँठाउँमा जम्मा भएर नारा लगाइरहेका थिए–युवा मार्न पाइँदैन, हत्यारा सरकार चाहिँदैन । बानेश्वरमा अघिल्लो दिन पर्खाल फोरिएको संसद् भवन जल्यो । संसद् भवनभित्र बस्ने पात्र गलत थिए होला, उनीहरूले गरेका निर्णय गलत थिए होला तर त्यो भवनको दोष के थियो र ? ठूला राजनीतिक दलका मुख्य नेताका घर निशानामा थिए । सिंहदरबार, अड्डाअदालत, सरकारी भवन, संचारगृह, व्यापारिक भवन तोडफोड र आगजनीमा परे ।
एक हूल प्रदर्शनकारी नख्खु कारागारमा गएर रास्वपा सभापति रवि लामिछानेलाई बाहिर निकालेको समाचार आयो । त्यहाँबाट अरु कैदीबन्दी पनि भाग्न थाले । यो घटनाले झनै मन बेचैन भयो । कम्तीमा अपराधी जेलमा छ भन्ने कुरामा पीडित परिवार निर्धक्क थिए, अब खुलेआम बाहिर निस्किएका अपराधीबाट समाजमा सुरक्षाको अवस्था के होला ? पीडितमाथि झन् पीडा उत्पन्न भइरहेको थियो । देशका अन्य कारागारबाट पनि कैदीबन्दी भाग्न थालेका थिए ।
राजधानीको केन्द्रविन्दुमा रहेको प्रमुख प्रशासकीय भवन सिंहदरबार जल्दा पनि सुरक्षा प्रशासनले जोगाउन सकेन । कम्तीमा नेपाल आर्मीले माइकिङ गर्न सक्थ्यो, सिंहदरबार जलाउन पाउँदैनौ, यदि जलाउने हिम्मत गर्यौ भने जे पनि हुन सक्छ भन्ने सूचना मात्रै समयमा प्रवाह गरेको भए यस्तो कहाली लाग्दो दुर्घटना हुने थिएन ।
पहिलो दिन त्यतिसम्म सरकार निर्मम नभइदिएको भए, बेलैमा प्रधानमन्त्रीले राजीनामा दिएको भए यति ठूलो दुर्घटना हुने थिएन ।
जेन–जीका नाममा घुसपैठ भएको र स्वार्थ समूह नियोजित रूपमा आगजनीमा लागेको पनि सुनियो । मेरा मामा–माइजू सरकारी कर्मचारी भएकै कारण मामाघर पनि निशानामा पर्यो । एउटा इमान्दार कर्मचारीले जिन्दगीभरको कमाइले घर बनाउन मुस्किल पर्छ, जेनतेन बनाएको सम्पत्तिको नामको त्यही एउटा घर पनि क्षणभरमा ध्वस्त बनाइदिए । देशभरका भाटभटेनी, व्यापारिक प्रतिष्ठानहरू खरानी बनाइए । यसबाट आखिर फाइदा कसलाई भयो ? यी व्यापारिक स्टोरबाट कति हजारले रोजगारी पाएका थिए ? दसैंको मुखमा तिनको अवस्था कस्तो बन्यो होला ?
अहिलेसम्म जे भोगियो, जे देखियो कम्तीमा अबका पुस्ताले यो देख्न, भोग्न नपरोस् । दुई दिनको घटनाले देशको सत्ता नै परिवर्तन भएको छ । पहिलो पटक प्रधानमन्त्रीका रूपमा देशले महिला पाएको छ । निर्धारित समयमा निर्वाचन होस् । भर्खरका युवाको रगतले न्याय पाओस्, नयाँ सरकारलाई शुभकामना ।