Successfully Copied

यी गीत कसका लागि ?

कुनै जमाना थियो, बा, दाजुभाइहरू मादल बजाउँथे, आमा, दिदीबहिनीहरू तीजका गीत गाउँथे । अहिले आफ्नै घरमा बसेर टिभीमा घन्किने तीजका गीत हेर्न नसकिने भइयो ।



हरेक वर्ष तीज आउनुभन्दा एक महिना पहिलेदेखि नै बजारमा कलाकारको चहलपहल सुरु हुन्छ । बजारमा तीजका गीत निकाल्ने होडबाजी नै चल्छ । यस वर्ष पनि तीज पर्वको छेको पारेर धेरै तीजका गीत सार्वजनिक भए । गीत–संगीतमा चाडपर्वको मर्म कम व्यावसायिक र भाइरलको चक्करमा रस बेगरका सिर्जना धेरै भित्रिएका देखिन्छन् । समाजले पचाउन नसक्ने शब्द समावेश भएको भन्दै केही तीजका गीतलाई सरोकारवाला निकायले कारबाही पनि गरिसकेका छन् ।
एकथरी सर्जकले राम्रो सिर्जना गरेनन्, समाजले त्यस्तो सिर्जना पचाउन सकेन, गीत–संगीतले समाजमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्काथरी कलाकारहरू कारबाहीको माग गर्दै गृहमन्त्रालयसम्म पुगेको समाचार पुरानो भएको छैन ।
चलचित्र प्रदर्शन हुनुभन्दा पहिले सेन्सर बोर्डबाट पास हुनुपर्ने प्रचलन छ । तर गीत–संगीतको हकमा त्यो प्रावधान छैन । गीत–संगीतमा पनि सेन्सरको व्यवस्था हुँदो हो त सर्जकहरू यतिविधि उच्छृंखल पक्कै पनि हुने थिएनन् ।
हामी चाडपर्व किन मनाउँछौं ? चाडपर्वमा गीत–संगीतको महत्व किन छ ? गीत–संगीत र चाडपर्वको साइनो के छ ? आजको हाम्रो सिर्जना पछिका पुस्तासम्म सुरक्षित रहला कि नरहला ? हाम्रो सिर्जनाको अल्पकालीन र दीर्घकालीन असर कस्तो होला ? यी विषयमा अलिकति मात्रै गम्भीर भएर सर्जकहरूले आफ्नो कला पस्किने हो भने समाज पनि सभ्य, संस्कार एवं संस्कृतिको पनि जगेर्ना हुने थियो तर विडम्बना पछिल्ला केही वर्षर्देखि तीज पर्वको महत्व र गरिमा खस्कदै गएको छ । तीज भनेको रत्यौली जत्तिको पनि सभ्य हुन छोडिसकेको अवस्था विद्यमान छ ।
भोगाइ १
मेरो घरमा ७० वर्षकी सासूआमा हुनुहुन्छ । साना–साना तीनवटा नातिनातिनी छन् । छोरा–बुहारी अफिस जान्छन्, दिउँसो घरमा श्रीमान्, म अनि सासूआमा मात्रै हुन्छौं । केही दिनअघि दिउँसो टिभी खोलें । टिभीमा तीजका गीत बजिरहेका थिए । सुरुसुरुमा त राम्रै गीत बज्दै थिए, दुवैजना सोफामा बसेर हेर्‍यौं । एकपछि अर्को तीजका गीत आइरहेका थिए, बाहिरबाट सासूआमा खोक्दै भित्र आउँदै हुनुहुन्थ्यो, मेरा श्रीमान्ले मलाई बेस्सरी कराउनुभयो । ए... छिटो टिभी बन्द गर... हेर त आमा आउनुभयो । झल्याँस्स भएर टिभी बन्द गरें ।
आमा भित्र आउनुभयो, एक गिलास पानी पिउनुभयो, अनि हामीसँगै सोफामा बस्नुभयो । खै यसो टिभी खोल त कहाँकहाँ पूजाआजा भइरहेको छ, आफू जान नसके पनि टिभीमा सबै देखाउँछ । आमालाई भजनकीर्तन आउने च्यानल लगाइदिएँ, आमाछोरा बसेर टिभी हेर्न थाले म भान्सातिर लागें । भान्सामा भए पनि मन टिभीमै अघिकै दृश्यमा अड्किरह्यो । पहिले–पहिले सबै जम्मा भएर टिभी हेर्थ्यौं, अहिले अग्रज आउँदा टिभी बन्द गर्नुपर्ने जमाना आइसक्यो ।
कुनै जमाना यस्तो थियो बा, दाजुभाइहरू मादल बजाउँथे, आमा दिदीबहिनीहरू तीजका गीत गाउँथे सबै रमाउँथे । तर अहिले आफ्नै घरमा बसेर टिभीमा घन्किने तीजका गीत हेर्न नसकिने भइयो । सासूआमा कोठामा आउँदा टिभी बन्द गर्नुपर्ने अवस्था आयो । साना नातिनातिनीले देखे भने के भन्दा हुन् ? के सिक्दा हुन् ? जमाना बदलिएको हो कि मान्छे बदलिएका ? कि मान्छेको सोच बदलिएको हो ? गीत त्यस्तै, गीतमा नाच त्यस्तै, यी गीत लेख्ने, गाउने, नाच्नेका परिवार छैनन् कि ? आफन्त, परिवार हुनेहरू त यतिसम्म गिरेर पैसाका लागि संस्कृतिको बेइज्जत गर्छन् होला र ? एकजना आमाले मन्दिर गएको बेलामा सुनाउनु भएको कहानी हो यो ।


भोगाइ २
गाउनेले जस्तो शब्द गाइदिए पनि हुने, भिडियो बनाउनेले उस्तै बनाउने अनि सुन्ने, हेर्ने तपार्इं हामीजस्ता ? हाम्रो एउटा संस्कार छ, समाज छ, परिवार छ, बालबालिकाले यस्ता कलाकारको हर्कतबाट के सिक्ने ? कलाकार भनेका राष्ट्रका गहना हुन्, गहनाको इज्जत गर्ने कि नगर्ने ? तीज त यति विकृत भइसक्यो कि लाज पनि लजाउने बेला भइसक्यो ।
म कलाकारलाई धेरै भन्न त चाहन्न, आफूले लेखेको शब्द, गाएका गीत, खेलेका म्युजिक भिडियो तपार्इंहरू आफ्ना बुवाआमा, दाजुभाइ, छोराछोरी, हजुरबा–आमासँगै बसेर हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? तपाईं आफूहरू हेर्न, सुन्न, देख्न सक्नुहुन्न भने कृपया यस्ता समाज भड्काउने, शब्द, दृश्यको सस्तो लोकप्रियता खोज्ने प्रयास नगर्नुहोस् । म एउटा कर्मचारी हुँ, कुनै घरकी बुहारी हुँ, बच्चाकी आमा हुँ मेरो परिवार बसेर सँगै चाडपर्वको आनन्द लिन नसक्ने तपाईंको कस्तो सिर्जना हो ? पहिले–पहिलेका गीत त हाम्रा हजुरआमाहरू गाउनुहुन्थ्यो, बुवाहरू सघाउनुहुन्थ्यो, दाजुभाइले मादल बजाउँथे, सबैको साझा हुन्थ्यो अहिले श्रीमान्–श्रीमती मात्रै बसेर पनि हेर्न, सुन्न नसकिने कस्तो सिर्जना हो ?
यी र यस्ता भोगाइ हजारौं छन् । संस्कार र संस्कृति जोगाउन विरह र दुःखका गीत मात्रै गाउनुपर्छ भन्ने पनि होइन तर संस्कार र संस्कृति भन्ने चीज पनि छ भन्ने कुराको हेक्का त अलिकति मात्रै भए पनि कलाकारले राख्नुपर्ने होइन र ? सिर्जनाका नाममा जस्तो पनि सिर्जना गर्ने ? सिर्जना भनेको खहरेको भेलजस्तो होइन समुद्रजस्तो हुनुपर्छ । खै त कालजयी गीतहरू वर्षौं भइसक्दा पनि न ती गीत–संगीतको महत्व, गरिमा घटेको छ न ती कलाकारको सम्मान नै घटेको छ । आज पनि ‘तीजको लहर आयो बरि लै’ भन्ने गीत नगुन्जिएसम्म तीज आएको जस्तै हुँदैन । तीजको सुरुवात गर्ने गीत नै यही हो भन्दा हुन्छ । कालजयी गीतहरू अमर हुन्छन् भन्ने सबुत प्रमाण यही गीत होइन र ? हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, बिमाकुमारी दूराजस्ता सर्जकको मान आजका दिनमा पनि उत्तिकै देखिन्छ । यी गायिकाहरूले तीजका गीत गाएपछि बल्ल तीज आएको अनुभव हुन्थ्यो ।
क्षणिक आनन्दमा किन संस्कृतिको दोहन गरिरहेका छौं हामीले ? न लय, न सुर, न शब्द राम्रा, न संगीत राम्रो तैपनि बजार तिनै गीतले तताइरहेका छन् । दोहोरो–तेहोरो अर्थ लाग्ने शब्द राख्दैमा, भाइरलको चक्करमा पर्वको गरिमा सकाउन मिल्छ कि मिल्दैन ? यो वर्षका चलेका कलाकारहरूलाई अर्को वर्ष कसैले चिन्दैन, यस्ता सर्जक र यस्ता सिर्जनाको के अर्थ हुन्छ ? कम्तीमा आफ्ना सिर्जना केही वर्षसम्म त स्मरण गर्न योग्य होऊन्, यतातिर खै सर्जकहरूले सोच्नुभएको हो ? हाम्रो समाज यतिविधि पश्चिमाको नक्कल गर्न सक्ने गरी परिवर्तन भइसकेको छैन ।
बहुसंख्यक मानिस अहिले पनि गाउँमा बस्छन्, आफन्त, इष्टमित्र, सगोलको परिवार छ । सबैको परिवारमा आधुनिक जमानामा श्रीमान्– श्रीमतीमात्रै बस्दैनन्, सासू–ससुरा पनि हुन्छन्, साना बोल्न सिक्दै गरेका बालबालिकाहरू पनि हुन्छन्, उनीहरूले तपाईंहरूजस्ता सर्जकहरूबाट के सिक्ने ? तीजको मर्म र महत्व बिगार्ने स्रष्टाको सामाजिक कारबाही जबसम्म हुँदैन, यस्ता प्रवृत्तिले पश्रय पाइरहन्छन् । समाज जागरुक नभएसम्म उद्दण्डताले स्थान पाउँछ । समाजले सही वा गलत के हो भन्ने कुराको निर्क्यौल गर्नुपर्दछ । विभिन्न सरोकारवाला निकायहरू छन्, प्रतिष्ठानहरू छन् तर सर्जकहरूले आफ्नो उच्छृंखलतालाई निरन्तरता दिइरहेका छन् । यसर्थ, समाज धमिल्याउने गरी कलाको नाममा छाडापन भित्र्याउने कथित कलाकारहरूलाई सामाजिक रूपमा बहिष्कार गर्न सिकौं । गीत–संगीतका नाममा असभ्यता पस्किने कलाकारहरूलाई एउटै प्रश्न छ, तपाईंले गरेको सिर्जना आफ्ना छोरीलाई निर्धक्कसँग सुनाउन सक्नुहुन्छ ? तपाईंले भिडियोमा देखाएमा मोडलहरूको ठाउँमा आफ्ना दिदीबहिनीहरूलाई नचाउन सक्नुहुन्छ ? तपाईंले बनाएको सिर्जना आफ्नो सिंगो परिवारसँग बसेर निर्धक्कसँग हेर्न, सुन्न सक्नुहुन्छ ?

 Image