Successfully Copied

महिलाको पीडा महिलाले नबुझेपछि......

आज तपाईंको साथ–सहयोग पाउने बेला तड्पिएकी बुहारीले भोलि तपाईं थला पर्दा कुन आशले स्याहारसुसार गर्छिन् होला ?

यमुना अर्याल काफ्ले
एक गैरसरकारी संस्थामा कार्यरत बुहारी विवाह भएको तेस्रो वर्षमा आमा बन्ने सौभाग्य पाउँछिन् । हरेक महिलाका लागि सबैभन्दा ठूलो खुसी आमा बन्नु हुन्छ । सायद ती महिलालाई पनि सोही किसिमको खुसीले धपक्क छाएको थियो होला ।
आफ्नो परिवारमा पनि एक किसिमले खुसीको वातावरण तयार भयो । गैरसरकारी क्षेत्रको प्राविधिक जागिर अन्य क्षेत्रको जस्तो सजिलो जागिर पक्कै पनि थिएन । त्यसमाथि प्राविधिक फिल्डको कर्मचारी भएका कारण जुनबेला जहाँ जे समस्या आउँछ, तत्काल उपस्थित हुनुपर्ने बाध्यता थियो । तर समयको दौरानसँगै उनको दुई जिउको शरीरले सबैकुरा सामान्य रूपले ग्रहण गर्न सकेन ।
डाक्टरको सल्लाह–सुझाव थियो धेरै टाढाको यात्रा नगर्नू, बसमा लामो यात्रा नगर्नू, धेरैबेर उभिएर काम नगर्नू, शरीरलाई आराम दिनू । तर उनको बाध्यता थियो । श्रीमान्ले जागिर नगर्न सुझाएका पनि थिए तर उनले मानिनन् । भोलि यत्तिको जागिर फेरि पाउँछु भन्ने के ग्यारेन्टी छ र ? मैले यत्रो पढेर, यत्रो वर्ष जागिर गरेर बच्चा जन्माउनकै लागि यो जागिर छाडें भने भविष्य के होला ? बच्चा त मेरी नपढेकी आमाले पनि जन्माएकी हुन्, मेरी आमा र आईटीमा मास्टर्स गरेकी छोरीको बीचमा केही अन्तर नभएपछि मेरो पढाइको के अर्थ ? जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ, म काम गर्छु । उनले यही अठोट गरिन् । श्रीमतीको हिम्मत र साहसमा श्रीमान्ले हौसला बढाए, थप सहयोग गरे ।
श्रीमान्को साथले नै मेरो स्वास्थ्यमा त्यति धेरै समस्या भएन, आम महिलाले आमा बन्दा जस्तो कठिनाइ भोग्छन्, त्यो भन्दा धेरै पीडाबोध भएन सात महिनासम्म । गर्भावस्थाको आठ महिना लागेपछि स्वास्थ्य थप जटिल बन्न पुग्यो । डाक्टरले एक महिना बेड रेस्ट गर्ने सल्लाह दिए । अब मेरो अफिस के होला ? अर्को तनाव थपियो उनमा । बच्चा जन्मन नपाउँदै एक महिना बेड रेस्ट गर्नुपर्ने अवस्था आएपछि प्रसूतिपछि पनि तत्काल अफिस जान सक्ने अवस्था हुँदैन । पेटभित्रको बच्चा र जागिरले एकैपटक तनाव भयो ।
त्यसैले उनले कार्यालयमा आफ्नो पीडा सुनाइन् । शाखा प्रमुख महिला कर्मचारी थिइन्, पहिले शाखा प्रमुखको हिसाबले उनैलाई गुनासो पोखिन् । उनको कुरा सुनेर ती महिला प्रमुख सिधै कड्किइन्, ‘यो वा त्यो बहानामा तपाईंहरूलाई लामो बिदा दिने हो भने कार्यालय बन्द गरे भइहाल्यो । सक्नुहुन्छ भने अफिस आउनुहोस्, काम गर्नुहोस् नत्र सक्दिन भन्नुहोस् । देशमा धेरै बेरोजगार युवायुवती छन्, आइहाल्छन् ।’
प्रमुखको कुराले मन कुँडियो । एक पटक हाकिमसँगै कुरा गरेर बिदा हुन्छु भन्ने कुरा मनमा आयो । मन अमिलो बनाएर हाकिम साबको कोठामा गइन् । हाकिमलाई देख्दा आफ्ना बुवा वा दाइलाई देखेजस्तै भयो उनलाई । वरैबाट सर नमस्कार भनेर ग्वाँग्वाँ रुन थालिन् ।
सरले अचम्म मान्दै सोधे, ‘तपाईंलाई के भयो ? किन यसरी रुनु भएको ?’
सरले निकै सम्झाउन खोजे । नजिकैको कुर्सीमा बस्न आग्रह गरे । एक गिलास पानी पिएपछि मात्रै उनले सबै पीडा सुनाइन् ।
‘म जागिर पनि गर्न चाहन्छु । आमा पनि बन्न चाहन्छु । तर डाक्टरले एक महिना बेड रेस्टमा बस्नुपर्ने सुझाव दिए, म जागिर त्याग्न चाहन्न, के गरूँ सर ?’
सरले भने, ‘तपाईंले यो अफिसमा यत्रो वर्ष काम गर्नुभयो, जुनसुकै बेला जहाँ समस्या पर्दा पनि सहयोग गर्न तयार हुनुभयो । आज तपाईंको स्वास्थ्यमा समस्या पर्दा के अफिसको कुनै दायित्व हुँदैन ? फिल्डमा जान सक्नुहुन्न होला तर घरमा बसेर गर्ने काम त गर्न सक्नुहुन्छ नि ?’
सरले घरमा बसेर एक महिना स्वास्थ्यको ख्याल गर्दै काम गर्न भने ।
भगवान्को कृपाले उनको अप्रेसन गर्नु परेन, सबै कुरा नर्मल भयो । घरमा छोरीको आगमन भयो । अफिसका साथीभाइ भेट्न गए, सबै जनाले लक्ष्मीको आगमन भएकोमा बधाई दिए । गाउँबाट आमा आउनुभयो, न्वारान सकाएर भोलिपल्टै फर्किनुभयो ।
छोरी जन्मिएको बीस दिनपछि उनकी नन्द सुत्केरी भइन् । उनले छोरा जन्माइन् । भान्जा जन्मिएकामा उनीहरू खुसी थिए । नन्द स्याहार्न पनि आमा नै जानुभयो ।
उनकी छोरीको न्वारान गर्नसम्म मुस्किलले बसेकी आमा नन्दको घरमा भने तीन महिनासम्म बस्नुभयो । उनको मनले सोच्यो–नन्दको घरमा तीन महिना बस्दा खाना पकाएर खान सक्ने ससुरा बा, बुहारी सुत्केरी हुँदा १५ दिनसम्म पनि खाना पकाएर खान सक्नु भएन । मेरा श्रीमान् पनि आमासँग रिसाउनु भएको थियो, छोरा र छोरीको बच्चामा यतिसम्म आमाले गर्न सक्दा रहेछन् ? बहिनीकी सासू तगडा थिइन्, बहिनीकी देउरानी घरमै थिइन् । त्यसमाथि हाम्री आमा तीन महिनासम्म बस्न सक्ने तर यहाँ आएर न्वारान गरुन्जेलसम्म पनि आमालाई बस्न सकस भयो ।
पछि सत्य कुरा उजागर हुँदै गयो, छोरी भएकै कारण सासूलाई बस्न मन नलागेको रहेछ । छोरीको छोरो स्याहार्दा धेरै पटक छोरीको कुरा सुनाउनु भएको रहेछ । सासूले जे भोग्नुभयो त्यही व्यवहारमा उतार्नुभएको होला भनेर उनले गुनासो गरिनन् । तर बुढेसकालमा बुहारीले स्याहार गरिन्, बुहारीले वास्ता गरिन भनेको सुन्न नपरोस् भन्ने उनलाई लागेको छ ।
उनको आग्रह पनि छ–आम सासू आमाहरू, तपाईंहरूले सुत्केरी अवस्थामा स्याहार नगरेकी बुहारीबाट बुढेसकालमा आफ्नो स्याहारको अपेक्षा नगर्नुहोस् ।
समय कुमालेको चक्र हो, ढिलोचाँडो सबैको अगाडि पछाडि घुम्छ । सासूले उनी र नन्दप्रति जुन व्यवहार गर्नुभयो, बीस दिनको आसपासमा । त्यो कुरा उनको दिमागबाट कहिल्यै मेटिन सक्दैन ।
उनी भन्छिन्, ‘भोलि बिरामी पर्दा, अशक्त हुँदा, बुढ्यौलीले छोप्दा छोरी भन्दा पहिले बुहारीकै आवश्यकता पर्ला । त्यतिबेला तपाईंले न्वारानसम्म मलाई गरेको भन्दा धेरै कुराको अपेक्षा नगर्नुहोला ।’
यो एउटा प्रतिनिधि घटना हो । यस्ता हजारांै घटना हाम्रो समाजमा व्याप्त छन् । हामी आफू महिला भएर महिलाको पीडा बुझ्न सक्दैनौं भने महिला अधिकार र समानताका गफ हाँक्नुको कुनै अर्थ छैन । आफू बुहारी बनेर भित्रेको कुरा आफूले बुहारी भित्राउँदा बिर्सिसक्ने सासू, आमा बनेरै कार्यालय प्रमुख भएकी महिलाले अर्को आमा हुन लागेकी महिलाको पीडा बुझ्न नसक्ने भएपछि तपाईंहरूको अनुभवको के अर्थ ?
अनुभवले व्यक्तिलाई दह्रो बनाउँछ, बुझक्की बनाउँछ तर व्यवहारमा उही रुखोपन र दम्भ भएपछि तपाईंहरूको अनुभवको के अर्थ ? आज तपाईंको–साथ सहयोग पाउने बेलामा तड्पिएकी बुहारीले भोलि तपाईं थला पर्दा कुन आशले तपाईंको स्याहारसुसार गर्छिन् होला ? मानवताको पनि ख्याल गरौं, कुरा सानो हुन्छ तर त्यसको अर्थ बृहत् हुन्छ । महिलाले महिलाको पीडा नबुझे कसले बुझिदेला ? 

 Image