नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा रहेको तथ्य सार्वजनिक भएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी) ले आयोजना गरेको कार्यक्रममा प्रारम्भिक पहिचान, समयमै उपचार र सेवाको पहुँच विस्तारमा जोड दिइएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा सञ्चालित केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ मा ३ हजारभन्दा बढी ब्रेन ट्युमरका बिरामीले सेवा लिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो। सन् २०२६ को हालसम्म नै २ हजारभन्दा बढी बिरामी उपचारका लागि केन्द्रमा पुगेका छन्।
केन्द्रद्वारा प्रस्तुत अध्ययनले उच्च–ग्रेड ग्लियोमा (एचजीजी) जस्ता जटिल ट्युमरको अनुपात बढ्दै गएको देखाएको छ । त्यस्तै मेनिन्जियोमा सबैभन्दा धेरै देखिने ब्रेन ट्युमरका रूपमा पहिचान गरिएको छ। पुरुष र महिला दुवैमा रोगको प्रभाव लगभग समान रहेको अध्ययनले जनाएको छ ।
यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने बिरामीको संख्या अपेक्षाकृत कम रहेकोले ती क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
कार्यक्रममा बोल्दै राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजिब झाले प्रारम्भिक अवस्थामै रोगको पहिचान र उपचारले धेरै बिरामीको जीवन बचाउन सकिने बताए । ‘नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। प्रारम्भिक पहिचान र समयमै उपचार नै यसको प्रभावकारी समाधान हो’ उनले भने।
यस अवसरमा न्युरो–अन्कोलोजी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै डा. चन्द्रम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर २०२६’ सम्मान प्रदान गरिएको थियो।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जटिल ब्रेन ट्युमरको उपचारलाई थप प्रभावकारी बनाउन हाइब्रिड अपरेटिङ रुम, रेडियोसर्जरी, इन्ट्राअपरेटिभ ट्युमर फ्लोरेसेन्स तथा अत्याधुनिक न्युरो–नेभिगेसन प्रविधि विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
त्यसैगरी, वीर अस्पतालमा सञ्चालन हुँदै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आगामी असार मसान्तसम्म सम्पूर्ण ब्रेन ट्युमर शल्यक्रिया निःशुल्क गरिने घोषणा गरिएको छ। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।