डा.शोभा ढुंगाना, संस्कृतिविद्
आदिमकालदेखि नै उपत्यका ऊर्वराभूमि भएकाले नवपाषाणकालदेखि नै आदिम मानवहरूको बसोबास रहेको तथ्य बूढानीलकण्ठ एवं लुभु आदि क्षेत्रमा साना, चिप्ला, चिल्ला ढुंगे हतियारहरू पाइएकोबाट पुष्टि गर्न सकिन्छ । ऊर्वराभूमि र पशुपालनका लागि उपयुक्त स्थान भएकाले भारतबाट आभिर (गोपाल र महिषपाल वंशी) उपत्यकामा आई बसेका हुन सक्छन् ।
अरुण उपत्यकामा रहेका किराँतहरू पनि उपत्यकाको ऊर्वराभूमिप्रति आकर्षित भएर नै करिब २ हजार वर्षसम्म शक्ति हातमा लिई आर्थिक तथा राजनीतिक पक्षलाई व्यवस्थापन गरेका थिए भनेर लिच्छवीकालीन अभिलेखबाट किटान गर्न सकिन्छ । लिच्छविकालमा जनसंख्याका आधारमा मानव बस्तीलाई तल, ग्राम, द्रंग, विषय र पुर गरेर विभिन्न भागमा छुट्याइएको पाइन्छ । त्यहाँका प्रमुखलाई तलसिङ, विषयपति र पुर (सहर) मा बस्नेलाई पौर भनिन्थ्यो ।
मध्यकालमा भने जनसंख्या वृद्धिले गति लिएपछि बस्ती विस्तार भयो । बाह्य शक्तिबाट बचावट गर्नका लागि विषय (जिल्ला) को अन्तिम सीमा (क्वाँठ) मा नायक (किल्लाको रक्षक) राख्ने प्रचलन बढी थियो । गोपाल वंशावलीमा ‘क्वाँठ’ शब्दको प्रयोग (पृ.९४) प्रशस्त गरिएको छ । यहाँ क्वाँठ भन्नाले सहरको पछिल्लो भाग भनेर अभिलेखमा व्याख्या गरिएको छ । सारांशमा भन्नुपर्दा क्वाँठ शब्दले जिल्लाको अन्तिम सीमाको भूभाग क्षेत्रलाई बुझाएको देखिन्छ । यही क्वाँठबाट नै ‘काँठ’ शब्द आएको भनेर किटान गर्न सकिन्छ । जनमानसमा पनि सहरदेखि परको गाउँबस्तीलाई बोलीचालीको भाषामा काँठ भनिन्छ ।
नेपाली बृहत् शब्दकोशमा काँठ शब्दको अर्थ सहरको केन्द्र भागदेखि परको ग्रामीण क्षेत्रलाई बुझाएको छ । काँठमा बस्ने मानिसलाई काँठे भनिन्छ । वर्तमान समयमा काँठ भन्ने प्रचलन हराएर गैसकेको छ । यसको विकल्पमा चक्रपथ भित्र र बाहिर भन्ने प्रचलन बढी छ । नेपालको राजनीतिक परिवर्तनपछि प्रशासनिक पुनः संरचनाअन्तर्गत गाउँको संख्या घट्दै गएको छ भने जनसंख्याका आधारमा नगरपालिकाको संख्या भने बढ्दै गएको छ ।
उपत्यकाको मुख्य सहरदेखि बस्तीको बीचमा करिब ५ कि.मि. दूरीको क्षेत्रलाई काँठ भन्ने प्रचलन ५० वर्षअघिसम्म रहेको थियो । तीमध्ये चाबहिल, बूढानीलकण्ठ, थानकोट, चोभार, लुभु, कोटेश्वर, स्युचाटार, कीर्तिपुर आदि क्षेत्रलाई बुझाउने गरिन्थ्यो । ती ग्रामीण क्षेत्रमा उब्जनी भएका अन्न (खपत भई बाँकी रहेका) लाई सहरमा लगेर बिक्री गरी आफ्ना आवश्यकताका वस्तुहरू ल्याउँथे । उक्त प्रचलन आजसम्म पनि छँदैछ ।
विशेषगरी उपत्यकाको ग्रामीण क्षेत्रमा शासक तथा भारदारहरूले आफ्ना गुरु, पुरोहित तथा सेवकहरूलाई गुठी चलाउन (बिर्ता, अग्रहार) र बकसका रूपमा जमिन दिने गरेको प्रमाण शिवदेव र अंशुवर्माको लेलेको (सं ५२६) अभिलेखबाट पुष्टि गर्न सकिन्छ । जहाँ यातायात, पानी, सरसफाइ गर्ने, पूजा गर्ने र वेद पढ्न आदि कार्य गर्नका लागि ग्रामीण क्षेत्रको जमिनलाई उद्देश्यमूलक काममा प्रयोग गरिन्थ्यो भनेर पुष्टि गर्न सकिन्छ ।
मध्यकालमा पनि मल्ल शासकहरू तथा भारदारहरूले ग्रामीण क्षेत्रमा रहेका जमिन (रैकर, बिर्ता र गुठी) हरू जागिरदार, ब्राह्मण, सन्त, महन्त, गुठियार एवं साधारण कृषकहरूबाट सुविधा पाउने गरिदिन्थे । मल्ल शासकहरूले आफ्ना सल्लाहकार, पण्डित र मनपरेका सेवकलाई कुश वृत्ति, ब्रह्म वृत्ति, सुन बिर्ता, खर्क र घाँस वृत्ति दिने गर्दथे । सहरको मध्यभागमा नेवार समुदायको बाक्लो बसोबास भए पनि ग्रामीण क्षेत्रमा ब्राह्मण, क्षेत्रीलगायत सेवक समुदायको बसोबास बाक्लो थियो ।
लिच्छवि कालमा ४ वर्णका अतिरिक्त आभिर, कोलीय र किराँत आदिको बसोबास रहेको देखिन्छ भने मध्यकालमा राजनीतिक, सामाजिक र आर्थिक कारणले विभिन्न जातजाति धर्मावलम्बीहरू यिनै प्रकृतिका जमिन पाई बाहिरबाट आई उपत्यकाको ग्रामीण क्षेत्रमा बसोबास गरेको देखिन्छ ।
आधुनिककालमा गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय गरेपछि गोरखाबाट विभिन्न जातजातिका मानिसहरूलाई गुप्तचरका रूपमा जोगी, संन्यासी, सीपमूलक कार्य गर्ने सम्प्रदाय, ज्योतिष र सेनाका रूपमा ग्रामीण क्षेत्रमा नै व्यवस्थित रूपमा राखे । तिनीहरूको मूल ठाउँ पश्चिमतिर रहेको उनीहरूका सन्ततिले आजसम्म पनि बताउने गरेका छन् । कतिपयले देवमन्दिरमा कार्य गर्न गुठी नै पाई १२ पुस्ता भएको गोकर्ण क्षेत्रका बासिन्दाले बताएका छन् । कतिपयले बालाजुमाथिको धिताल थोकमा बकस पाएको बताएका छन् ।
कोतपर्वको घटनापछि जंगबहादुरले नेपालको सत्ता आफ्नो हातमा लिएपछि मनोहरामा दरबार बनाए । दरबार वरिपरि आफ्ना सेवकहरूलाई गाउँ नै बिर्ता दिई बस्ती बसाले । उक्त बस्तीलाई आजसम्म पनि मूलपानी, गोठाटार, काँडाघारी आदि नामकरण गरिएको छ । ती काँठ भनेर सम्बोधन गरिने क्षेत्र विस्तारै सहरीकरणतर्फ उन्मुख हुँदै गएका छन् ।
यसलाई पृष्ठपोषण गर्नेमा यातायात, संचार, शिक्षा र संस्कृति मिश्रणले प्रत्यक्ष रूपमा भूमिका खेलेको देखिन्छ । २००७ सालको राजनीतिक परिवर्तन गराउन नुवाकोट, धादिङ, त्रिशूली, सिन्धुपाल्चोक, दोलखा र काभ्रेबाट विभिन्न जातजातिका मानिस उपत्यकामा अस्थायी रूपमा बस्ने क्रममा ग्रामीण (काँठ) क्षेत्रलाई विस्तारै स्थायीमा बदलेको तथ्य नै तिनका छोरा–नातिहरूले बताउँछन् ।
२०४६ सालको परिवर्तनपछि पनि बाग्मती र विष्णुमतीको फाँट खुला नै थियो । कात्तिक–मंसिरमा धानका बाला झुल्थे भने फागुन–चैतमा गहुँका बाला झुलेको देखिन्थ्यो । जनघनत्व उति बाक्लो थिएन । साँझमा नै स्याल कराउँथे । भूतप्रेत र किचकन्नीको डर हुन्थ्यो । वातावरण प्रदूषण थिएन । मंसिर महिनाको बालाचतुर्दशी र फागुनमा परेको शिवरात्रिमा ७ दिन झरी पर्थ्यो । यसले गर्दा पनि हिउँदमा रोपिएको बाली राम्रो हुन्थ्यो । धान, गहुँ, कोदो, तोरीलगायतका तरकारीका लागि ऊर्वराभूमि बाग्मती र विष्णुमतीको फाँट मानिन्छ ।
२०५२ मा माओवादीको जनयुद्ध भएपछि मोफसलका मानिसहरूलाई आफ्नो धनजन जोगाउन निकै कठिन हुन थाल्यो । २०५६ सालपछि सुनसान उपत्यकाको ग्रामीण क्षेत्र (काँठ) को फाँट विस्तारै भरिन थाल्यो । जग्गाको मूल्य एकैपटकमा हजारबाट लाख हुँदै करोडमा पुगेको छ । सिस्नो, निगालो र नीलकाँडाको जंगल सिमेन्टको कंक्रिटमा परिवर्तन भयो । खेतीयोग्य जमिन विस्तारै मासिएर नयाँ–नयाँ टोलमा नामकरण भयो । यसरी समाजशास्त्रीय ढंगबाट अध्ययन गर्दा बसाइ सराइले काँठ क्षेत्रको वातावरणलाई विभिन्न पक्षले असर पारेको देखिन्छ ।
सामाजिक पक्ष
काँठ क्षेत्रको खेतीयोग्य जमिनको ठाउँमा उपत्यका बाहिरका मानिसहरूले बसोबास गरेपछि जीवन शैली नै फेरिएको देखिन्छ । ५० वर्षअघिसम्म बिहान ४ बजे उठेर पानी, दैलो, कसेर कुँडो, घाँस र दाउरा गरेपछि १ भारी घाँस काटेर पढ्न जाने वा सहरको अड्डा (कार्यालय) जानका लागि तातो १ गाँस खाई ८ बजे नै दगुर्ने बानीमा परिवर्तन देखिएको छ । सानोतिनो भए पनि सरकारी वा संस्थानमा जागिर खाने सिद्धान्तमा रहेकोमा नयाँ पुस्ता भने १२ कक्षा पास गरेपछि विदेश जाने सपनालाई साकार पारेका छन् । भात–तिहुन (झोल तरकारी) खाई मेला जाने जमात अहिले ज्येष्ठ नागरिकको भत्तामा रमाएको देखिन्छ । तिनका छोरी–बुहारी शिक्षिका र सरकारी सेवामा संलग्न छन् । सासू–बुहारीमा देखिने वैमनस्य आज आमा र छोरीमा परिणत गरिदिएको छ । एकले अर्कालाई सहयोग, सद्भाव र सहानुभूति देखाएको कम पाइन्छ । बोलीचालीको भाषामा अभिजात्य वर्ग (दरबारी शैली) को नक्कल गरेको देखिन्छ ।
काँठ क्षेत्र विस्तारै गतिशील हुने क्रममा झिँगटीको छानो फलाम सिमेन्टको ढलानमा परिणत भइसकेको छ । घरघरमा धारा, भान्सामा तातो र चिसो पानीको सुविधा, कोठामा एसी र पंखाको सुविधा, आँगनमा निजी विद्यालय र कलेज, संचार आदिको सुविधाले गर्दा धान, गहुँ फल्ने खेत सहरीकरण भएको देख्न सकिन्छ ।
धार्मिक तथा सांस्कृतिक पक्ष
काँठ क्षेत्रमा विस्तारै जनघनत्व बढ्दै गएपछि जातीय तथा धार्मिक एकता बढेको देखिन्छ । छुवाछूतमा कट्टर भएको समाज शिक्षित सन्तानको संगतबाट विस्तारै खुकुलो हुँदै गएको देखिन्छ । टोलटोलमा मठमन्दिरको निर्माण, सप्ताह एवं भजन–कीर्तनको सम्मेलन, हर्षोल्लासका साथ जात्रा पर्व सम्पन्न भएको देखिन्छ । साथै बसाइ सरेर आउनेहरूले नयाँ ठाउँमा सम्बन्ध बढाउन मौलिक संस्कृतिलाई भड्किलो बनाएको आरोप पनि लागेको छ । तीजको ३० दिनले दरमा मदिराले स्थान ओगटेको देखिन्छ । हुने र नहुनेका बीचमा ठूलो दूरी देखिन्छ । दसैंमा देखिने भोजभतेर, वेशभूषा र विवाहको शैलीमा आमूल परिवर्तन ल्याएको देखिन्छ ।
आर्थिक पक्ष
गाईभैंसी, भेंडा, बाख्रा पालेर निर्वाह गरेका काँठ क्षेत्रका बासिन्दामा पैतृक सम्पत्ति (खेती योग्य जमिन) बेचेर आएको रकमले कतिपयले निजी लगानी गरी कम्पनी खोलेर श्री वृद्धि गरेका छन् भने कतिपयले सन्तानलाई विदेशमा पठाउनमा खर्चिएको देखिन्छ । केहीमा भने जुवा–तासको लतले घरवारविहीन हुन पुगेको पाइन्छ । यसरी पुर्ख्यौली अचल सम्पत्ति किंवदन्तीमा परिणत हुँदै गएको छ । बाजेको सम्पत्ति बेचेर बसीखाने संस्कृति विकास भएको छ । हेक्टरको जमिन रोपनीमा र रोपनीको पुस्ता आनामा झरेको देखिन्छ ।
राजनीतिक पक्ष
विशेषगरी काठ क्षेत्रमा बसाइ सरेर आउनेहरू नै वैदेशिक रोजगारीमा जान्छन् । यसले गर्दा पनि महिलाहरूले नै घरको नेतृत्व लिन्छन् । प्रत्येक टोलमा महिलाहरू संगठित भई स्वास्थ्य, सरसफाइ, सशक्तीकरण, जनचेतना, देउसीभैलीलगायत ब्रतबन्ध, विवाह र मृत्यु संस्कारमा समेत एकापसमा पारस्परिक सहयोग गर्ने प्रचलन बढी छ । यसले गर्दा नयाँ र पुराना बासिन्दाहरूबीचको चिनापर्ची, मेलमिलाप र एकताको भावना रहेको देखिन्छ । यसरी नयाँ र पुराना बासिन्दाहरूबीचको चिनापर्ची र मेलमिलापले सकारात्मक पक्षलाई उजागर गरेको छ तर काँठ क्षेत्रलाई पहिचान गराउने काँठे भाकाको गीत, पशुप्रतिको प्रेम, ऐंचोपैंचो, पानीपँधेरोमा साथीहरूसँग वेदना पोख्ने प्रचलन, पटुकाको खाजा, छोराछोरीको विवाह गर्दा लमीको प्रचलन, अचल सम्पत्तिको बखान आदि सबै हराएर गैसकेको छ ।
काँठे बोली (ठाडो वा रुखो बोली) अब कुटिलमा परिणत भएको छ । छोरी–बुहारीले गर्दा मेलापात जाने समूह (६० वर्ष माथिका) को पनि वेशभूषा, भाषालगायत दैनिकी जीवन शैलीमा समेत ठूलो परिवर्तन भएको देख्न सकिन्छ । हातहातमा लिने महँगा मोबाइल, यातायातको सुविधा, टिभीमा विभिन्न च्यानलबाट आउने कार्यक्रमले पनि काँठ क्षेत्रको जीवनशैली दिनहुँ परिवर्तन हुँदै गएको छ ।
मोफसलबाट बसाइ सरी आउनेहरूबाट नै जनघनत्वको दर असमान रहेको देखिन्छ । यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवास क्षेत्र र उत्पादन योग्य जमिन भनेर अनिवार्य रूपमा तोक्नुपर्छ । सधै छिमेकी देशको अनाजले कतिन्जेल थेग्न सक्ला र ? बढ्दो सहरीकरणले गर्दा आउने पुस्ताले ‘चिउराको बोट’ को शोध–अनुसन्धान गर्न नपरोस् । यसरी हेर्दा पनि समयको गतिसँगै काँठ क्षेत्र विस्तारै रूपान्तरित हुँदै गएको छ ।
दिनप्रतिदिन उपत्यकामा जनघनत्व बढ्नु, आपराधिक क्रियाकलाप बढ्नु, राज्यले सही नीति नल्याउनुले काँठ क्षेत्रको मौलिक संस्कृति लोप भएर गैसकेको छ भन्नुमा कुनै आपत्ति छैन । एक पुस्ताले मकै–भटमास खाएर कमाएको जग्गाजमिन अर्को पुस्ताले जाँड–रक्सी खाएर सक्दैछ भन्ने उक्ति बसीखाने पुस्ताले प्रयोग गरेको देखिन्छ ।