Successfully Copied

स्वास्थ्य जनचेतना जगाउने कल्पना

१७ वर्षभन्दा बढी स्वास्थ्य पत्रकारितामा टिकिरहनु सजिलो थिएन । कहिले स्रोत अभाव, कहिले संस्थागत प्राथमिकताको कमी त कहिले सामाजिक बेवास्ताको पनि कल्पनाले सामना गर्नुपर्‍यो ।

धेरै पत्रकारका लागि स्वास्थ्य समाचार आज पनि प्राथमिकतामा पर्दैन । ‘कम बिक्ने‘, ‘कम भ्युज आउने’ विषय भन्ने धारणा अझै पनि धेरै छ । तर यही उपेक्षित क्षेत्र कल्पना आचार्यका लागि समाज बदल्ने सबैभन्दा बलियो आधार बन्यो । रोग लागेपछि उपचार खोज्ने संस्कारभन्दा अघि, रोग नै लाग्न नदिने चेतना फैलाउनुपर्छ भन्ने सोचसँगै सुरु भएको उनको स्वास्थ्य पत्रकारिताको यात्रा आज दुई दशक पार गरिसकेको छ ।
सन् २००२ तिर उनी स्नातक अध्ययनरत थिइन् । गोरखापत्र संस्थानमा विज्ञापन खोज्ने कामबाट मिडियासँगको उनको पहिलो सहकार्य सुरु भयो । ‘त्यतिबेला पत्रकार बन्ने कुनै ठोस योजना थिएन,’ उनी सम्झन्छिन्, ‘तर मिडियाको वातावरणले मलाई आफैं तानेजस्तो लाग्यो ।’ सानो जिम्मेवारीले ठूलो बाटो खोल्यो । विज्ञापनसम्बन्धी काम गर्दै जाँदा उनले मिडियाको भित्री संसार नजिकबाट बुझ्ने अवसर पाइन्, जसले उनको सोच र रुचिलाई पत्रकारितातर्फ मोड्दै लग्यो ।
उनले श्रीलंकन प्रोजेक्टमा इन्टर्नसीप गर्ने मौका पाइन् । विज्ञापन, कन्टेन्ट निर्माण, कार्यक्रम व्यवस्थापनजस्ता विविध पक्ष सिक्दै जाँदा उनी टेलिभिजन सेटसम्म पुगिन् । स्क्रिप्ट लेखन र कार्यक्रम निर्माणमा संलग्न हुँदै गर्दा उनले एउटा महत्वपूर्ण कुरा बुझिन् स्क्रिनमा देखिने केही मिनेटको कार्यक्रम पछाडि ठूलो मेहनत र जिम्मेवारी लुकेको हुन्छ । ‘त्यही बेला लाग्यो, मिडिया केवल मनोरञ्जन होइन, परिवर्तनको माध्यम पनि हुन सक्छ,’ उनी भन्छिन् ।
स्वास्थ्य पत्रकारितातर्फ उनको यात्रा एभिन्युज टेलिभिजनबाट सुरु भयो । क्यान्सर, मुटुरोग, मधुमेहजस्ता नसर्ने रोगबारे चिकित्सकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम उनले सञ्चालन गर्न थालिन् । जटिल मेडिकल शब्दलाई सरल र बुझिने भाषामा प्रस्तुत गर्नु उनका कार्यक्रमको पहिचान बन्यो । ‘स्वास्थ्य कार्यक्रम भनेको डर देखाउने होइन,’ उनी भन्छिन्, ‘मानिसलाई आफ्नो शरीर बुझाउने हो ।’ टेलिभिजनबाट सुरु भएको यो यात्राले जनस्वास्थ्यलाई उनले नियमित एजेन्डा बनाइन् । सुरुवाती दिनमा धेरैले स्वास्थ्यलाई ‘कम आकर्षक’ भने, तर उनी पछि हटिनन् । ‘राजनीति र मनोरञ्जनभन्दा स्वास्थ्य कम महत्वपूर्ण हुँदैन,’ उनी स्पष्ट पार्छिन् ।
१७ वर्षभन्दा बढी स्वास्थ्य पत्रकारितामा टिकिरहन त्यति सजिलो थिएन । कहिले स्रोत अभाव, कहिले संस्थागत प्राथमिकताको कमी त कहिले सामाजिक बेवास्ताको पनि उनले सामना गर्नुपर्‍यो । यी सबै चुनौतीबीच उनले महिला अधिकार, सामाजिक न्याय र जनस्वास्थ्यसँग जोडिएका मुद्दामा निरन्तर आवाज उठाइन् । ‘स्वास्थ्य र अधिकार अलग–अलग कुरा होइनन्,’ उनी भन्छिन्, ‘दुवै जीवनसँग जोडिएका विषय हुन् ।’ विशेषगरी महिलाको स्वास्थ्य, प्रजनन अधिकार र मानसिक स्वास्थ्यजस्ता विषयमा उनले निरन्तर कलम चलाइन् । 


स्वास्थ्य एजेन्डालाई अगाडि बढाउन उनले संस्थागत भूमिकामा पनि सक्रियता जनाइन् । स्वास्थ्य पत्रकार मञ्चकी संस्थापक उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष बनेर उनले अन्य पत्रकारलाई सक्षम बनाउन लागिन् । तालिम, छलफल र नेटवर्किङमार्फत स्वास्थ्य पत्रकारिताको आवाज बलियो बनाउन उनको प्रयास निरन्तर काम गरेको उनले बताइन् । उनले भनिन् ‘एक्लैले होइन, सामूहिक प्रयासले मात्र स्वास्थ्य पत्रकारिता बलियो हुन्छ ।’
सन् २०१५ मा सुरु गरिएको अनलाइन प्लेटफर्म समयसँगै विस्तार हुँदै हेल्थ टिभी अनलाइनका रूपमा स्थापित भयो । ‘अनलाइन माध्यमले जनस्वास्थ्यका कुरा धेरै छिटो र धेरै टाढासम्म पुर्‍यायो,’ उनी भन्छिन् । आज हेल्थ टिभी अनलाइन उपचारभन्दा अघि सूचना दिने प्लेटफर्मका रूपमा चिनिन्छ । कार्यक्रममा पोषण, मानसिक स्वास्थ्य, महिलाको स्वास्थ्य, जीवनशैली तथा नीति–नियमनसम्बन्धी सामग्री नियमित रूपमा सञ्चालन हुन्छन् । उनले भनिन्, ‘मानिस बिरामी भएपछि मात्र खोज्ने होइन, पहिले नै स्वस्थ रहन खोज्नुपर्छ,’ उनी जोड दिन्छिन् । सुर्तीजन्य पदार्थ नियन्त्रणमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष ५० हजार रुपैयाँ राशिसहितको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गर्‍यो । तर यो सम्मानलाई उनी व्यक्तिगत उपलब्धिभन्दा सामूहिक सफलताका रूपमा हेर्छिन् ।
उनको काम नेपालमा मात्र सीमित छैन । उनी एसिया प्यासिफिक मिडिया अलायन्स फर हेल्थ एन्ड डेभलपमेन्टकी संस्थापक सदस्य हुन् भने ग्लोबल एएमआर मिडिया अलायन्सकी दक्षिण–पूर्वी एसिया क्षेत्रीय अध्यक्षसमेत हुन् । एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नसर्ने रोगविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको आवाज सुनिन्छ । महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी उत्कृष्ट रिपोर्टिङका लागि उनले अन्तर्राष्ट्रिय अवार्ड–२०२५ प्राप्त गरिन् । ‘महिलाको स्वास्थ्यले अझै धेरै ठाउँमा प्राथमिकता पाउँदैन’ उनी भन्छिन्, ‘त्यसलाई बोल्ने बनाउन मिडियाको भूमिका ठूलो हुन्छ ।’

 Image