यमुना अर्याल काफ्ले
‘लोग्ने मान्छेको साथ किन चाहिने रहेछ ? घरमा भएका साना भाइलाई भए पनि आमाले दिदीको साथी बनाएर किन पठाउनुहुँदो रहेछ भन्ने कुरा बल्ल थाहा हुँदैछ । पुरुष साथमा हुँदा र नहुँदा जिन्दगीको पाटो नै अलग हुने रहेछ । यो विषयमा पनि तिम्रो कलम चलाउन बैनी ।’
एक महिनाअघि एक दिदीले ‘हिजो म्याम भन्नेहरू एकल हुँदा तिमी भन्न थाले’ शीर्षक राखेर लामो इमेल पठाउनु भयो । दिदीको लामो इमेल निकै मर्मस्पर्शी थियो । दिदी पाँच वर्षदेखि श्रीमान्विहीन हुनुहुन्छ । श्रीमान् सवारी दुर्घटनामा परेर बित्नुभयो । दुई छोराछोरी हुर्काएर अफिस र घरको सम्पूर्ण काम एक्लैले धान्नुभएको छ । माथिल्लै तहमा कार्यरत दिदीलाई एकदिन आफ्नै सहकर्मीले प्रश्न गरेछन्–ओहो तपाईं त अब एकल महिला हुनुभयो होइन ?’
यो प्रश्नले दिदीलाई धेरै पीडा भएछ । दिदीले लेख्नुभएको छ–आफूभन्दा कनिष्टले राखेको भए पनि चित्त दुख्दैनथ्यो होला । श्रीमान् गुमाएको पीडा भुल्न नपाउँदै आएको यस्तो प्रश्न कसरी सामना गर्नु ? एकक्षण त बोलिन । उनले त्यही प्रश्न दोहो¥याएर सोधे । अब मभित्र मडारिएर रहेको उकुसमुकुस बाहिर आयो । आफूभन्दा सिनियर भन्ने ख्यालै नगरी झोंक्किएँ–‘सर तपाईं आफूलाई कतिवटा देख्नुहुन्छ ?’
जवाफ दिए–‘म त एक्लै हुँ, म सिंगो एउटै देख्छु ।’
‘उसो भए तपाईंले कुन अर्थमा मलाई तँ एकल महिला होस् भन्नुभयो ? एकदिन त सबै जानु नै छ, ढिलोचाँडो होला, भवितव्य ममाथि चाँडै आइप¥यो, मेरा श्रीमान् मभन्दा पहिले जानुभयो, उहाँ अकालमा जानुभयो । त्यसको पीडा, बाबुआमाको जिम्मेवारी एक्लै बोकेर बच्चा हुर्काउनुको पीडा, छोरो पनि बुहारी पनि भएर सासू–ससुराको आँसु पुछ्नुको दायित्वबोध त ममाथि छ नि ।
सबै काम म एक्लै गरेकी छु । तर पनि मलाई तँ एकल होस् भनेर अफिसमा भन्न अलिकति पनि लाज लाग्दैन ? यो कुरा अदालतसम्म पु¥याएँ भने के गर्नुहुन्छ ? भोलि तपार्इंका आमा, दिदीबहिनी वा कोही मजस्ता तपाईंका नाताभित्रका महिला पात्रमाथि यस्तै वज्रपात पर्दा पनि तपाईंको बोली यही हुन्छ ?
मेरो कुराले ती महोदय केही बोलेनन् । अन्त्यमा त्यस्तो भनेको होइन भनेर माफी मागे ।
मेरो पद श्रीमान् हुँदा पनि यही हो । नहुँदा पनि यही हो । मैले गर्ने काम पनि बदलिएको छैन । मप्रति हेर्ने पुरुष दृष्टिकोण मात्र बदलिएको हो । सहकर्मीको नजर बदलिएको हो । हिजो त्यही कुर्सीमा मलाई भेट्न आउनेले ओहो म्याडम के छ खबर ? आरामै हुनुहुन्छ भन्थे । बाटोमा भेट्दा पनि आदर गर्थे । तर अहिले बदलिएको पाउँछु ।
स्टाफका छोराको विवाह भोजमा गएकी थिएँ । खाना खाने बेलामा अफिसकै कर्मचारी छेउमा आए । उनी मेरै शाखाका जुनियर हुन् । उनले तिमी भनेर सम्बोधन गरे । म छक्क परें ।
तिमीमा मात्र सीमित भएनन् उनी । कति बेला घर जान्छ्यौ ? को लिन आउँछ ? भनेर सोध्न थाले । मैले भाइलाई लिन बोलाएँ । भाइलाई देखेपछि उनको बोली बन्द भयो ।
घर आएँ । तर मन त्यही भोजमा बस्यो । घर आएन । सोचें–पढेकी, आत्मनिर्भर छु । परिवारका सदस्यको साथ पाएकी छु । श्रीमान्बाहेक सबथोक छ । यति हुँदाहुँदै पनि किन कमजोर ठान्छ हाम्रो समाजले मलाई ? अहिले विकसित भनेको समाजमा त यस्तो छ भने हाम्रा आमाको पालामा कस्तो थियो होला ? हजुरआमाको श्रीमान्विहीन जिन्दगी कति पीडादायी थियो होला ? सम्झदै पीडा भयो । श्रीमान्को फोटो अगाडि हात जोडेर धेरैबेर रोएँ । मलाई शक्ति दिनोस् भनेर पुकारा गरें ।
भोलिपल्ट अफिस गएँ । हिजो तिमी भन्ने कर्मचारी सामुन्ने परेनन् । लगभग एकसाता मेरो कार्यकक्षमै छिरेनन् ।’
दिदीको कारुणिक कथा सुनेपछि यस्तो खालको पीडा भोगेका २० जनासँग कुरा गरें । भोगाइ बुझें । सबैको भोगाइ लगभग समान । श्रीमान् गुमाएका मात्रै होइनन्, केही समयलाई घरबाहिर गएको थाहा पाउँदा पनि हिंसा हुने रहेछ ।
एउटी बहिनीका श्रीमान् शान्तिसेनामा गएका रहेछन् । श्रीमान्स“ग राम्रो दोस्ती भएको साथीको घरमा आउजाउ भइरहन्थ्यो । श्रीमान विदेश गएपछि भाउजु भन्दै घर आउने श्रीमान विदेश गएपछि गिद्धे नजरले हेर्न थालेछन् । अब अति भयो भनेर श्रीमान्लाई स्क्रिन सर्ट पठाइदिइछन् । श्रीमान् तीन छक परे । म नभए पनि घरपरिवारमा आडभरोसा होस् भनेर सबैसँग चिनाइदिएको । आफ्नै श्रीमतीमाथि गिद्देदृष्टि ? विदेशबाटै हकारिदिए ।
बहिनीले सुनाएको यो घटनाले मलाई पनि धेरै दिन तनाव भयो ।
मोटरसाइकल दुर्घटनामा श्रीमान् गुमाएकी एक दिदीको अनुभव पनि उस्तै छ । भाउजू दर्शन भन्दै पसलमा आउने ग्राहक अहिले के छ तिम्रो खबर भन्दै आउन थाल्यो । श्रीमान् नभएको थाहा भएर पनि श्रीमान् कहाँ हुनुहुन्छ भन्दै आउँछन् नजिक हुनलाई । यिनले घाउ कोट्याउन, पीडा दिन र मौकाको फाइदा उठाउने नियतले यस्तो व्यवहार देखाएको ती दिदीको अनुभव छ ।
श्रीमान् नभएपछि निकै दयालाग्दो हुनुपर्ने, बिचराको पात्र हुनुपर्ने भन्ने मान्यता रहेछ । सधै त्यही पीडा बोकेर आफूलाई कति कमजोर बनाउने ? अरुको सामुन्ने चिटिक्क परेर हिँड्दा पनि गाह्रो हुने । दिदीले भन्नुभयो, ‘कोही साथीभाइसँग हाँसेर बोल्दा पनि गाह्रो हुने, मेरो ठाउँमा श्रीमान् भइदिएको भए उहिल्यै अर्की श्रीमती भित्र्याइसक्थे, श्रीमान्को मन नभए पनि समाजले बिचराको ट्याग भिराइदिएर अर्को विवाह गराउँथ्यो । म जहाँ गए पनि भाग्य यही हो । छोराछोरीको मुख हेरेर बस्छु । भोलि छोराछोरीले प्रगति गर्नेआशामा आफ्ना रहर मारेर यिनकै खुसीका लागि बाँचेकी छु । तर समाजले राम्रोसँग बाँच्न पनि दिँदैन ।’
यी प्रतिनिधि पात्र हुन् । यस्ता पात्र प्रशस्त छन् समाजमा । आखिर किन यतिविधि कमजोर ठानिन्छ महिलालाई ? श्रीमान्को साथबाट अलग हुनासाथ किन गिद्धे नजर राखिन्छ ? आत्मनिर्भर भएका महिलामाथि समेत कार्यस्थलमै यस्तो दुव्र्यवहार गरिनुले हाम्रो समाजले असली चेत उजागर गरेको छ ।
सम्मानित जीवन जिउने हक सबैलाई छ । महिला भएकै र साथमा श्रीमान् नभएकै कारण उनीहरूलाई कमजोर ठान्ने पुरुषको कमजोर मानसिकताको उपज हो । श्रीमान्सँगको साथ टुटेको हो, परिवारका अरु सदस्यको साथ छँदैछ । एकजना नहुँदैमा सर्वस्व गुमाएजस्तो गरी महिलालाई यतिविधि कमजोर ठान्ने हर्कत नगरौं ।